अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्‍यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी – बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ?

विनिताले आफ्नोबारे अरूसँग कुरा काट्छे भन्ने थाहा पाउँदापाउँदै पनि अनिषा भने विनिताको साथ छोड्दैनथी । साथी भएपछि साँचो हृदयले साथ निर्वाह गर्नुपर्छ भन्ने कुराको राम्रै ज्ञान थियो अनिषालाई ।

एकदिनको कुरा हो बाबाले शैक्षिक भ्रमणमा जान स्कुलमा बुझाउन दिनुभएको तीन सय रुपियाँ अनिषाले किताबको झोलामा राखेकी थिई । दिउँसो टिफिन समयमा बाहिर निस्केको बेलामा विनिताले सुटुक्क निकाली । कक्षा शिक्षकलाई बुझाउने बेलामा खोज्दा नभेटेपछि अनिषाले आत्तिँदै भनी – विनिता ! मेरो पैसा हराएछ । तिमीले देख्यौ ?

अनिषाको वाक्य टुङ्गनि पनि नपाउँदै विनिता एक्कासि जङ्गइिर् – बरू बोल्न मन नलागे नबोले भैहाल्यो नि । त्यत्तिकै चोर दोष लाउनुपर्छ ? कसैको तीन सय चोर्न नपाएर मर्‍या छैन ।

हैन विनिता ! मैले तिमीलाई चोर दोष लगाएकी होइन । बरू देख्यो कि ? भनेर सोधेको पो त ! नदेख्या भए देख्या छैन भन न ! त्यसै किन रिसाउँछ्यौ ? अनिषाले शान्तिपूर्वक भनी ।

त्यो दिन विनिता मुन्टो बटारेर हिँडी । अनिषाले विनिताको चोरी थाहा पाएर पनि साथीको नाताले कसैलाई केही भनिन तर विनिता चोरेर पनि स्वीकार्न तयार भइन । त्यो घटना भएको दिनदेखि विनिताले अनिषासँग बोल्न नै छोडी । अनिषा भने सधैँ बोल्न खोज्दथी । जवाफमा विनिता आँखा तरेर हिँड्थी ।

विनितामा चोर्ने कुलत नै थियो । उनी आफ्नै साथीहरूको कहिले कलम, कहिले किताब त कहिले पैसा चोर्ने गर्दथी ।

अर्को एकदिन उनीहरूकै कक्षामा पढ्ने दिपिन भन्ने केटाको अङ्ग्रेजी शब्दकोश हरायो । विनिताको चोर्ने बानीका बारेमा थाहा पाएका दिपिनलाई पुस्तक विनिताले नै चोरेकी हो भन्ने निक्र्योलमा पुग्न गाह्रो भएन । हुन पनि विनिताले नै चोरेकी थिई । विनिता घर गैसकेपछि सबै साथी जम्मा भएर भोलिपल्टको एसेम्लीमा स्कुलभरिका सबैको अगाडि विनिताको बेइज्जती गर्ने सल्लाह गरे । साथीहरूको योजना सुनेर अनिषालाई बेचैनी भयो । आफ्नो साथीलाई बेइज्जती गर्न लागेकोले मन थाम्नै सकिन र बोलचाल नै नभए पनि स्कुलबाट घर गएपछि ड्रेस फेरेर अनिषा सरासर विनिताको घरमा गई ।

विनितालाई सम्झाउन अनिषाले धेरै कोसिस गरी – हेर विनिता । भोलि एसेम्लीमा सबैको अगाडि तिम्रो बदनाम गर्ने सल्लाह गरेका छन् साथीहरूले । तिमीले अन्यथा नसोची दिपिनको शब्दकोश मलाई देऊ ! म तिमीलाई बचाउन सक्छु ।

अनिषाको कुराले विनितालाई केही असर गरेन । बरु उल्टै गाली गर्न थाली – आखिर बोल्दै नबोल्दा पनि सुख नपाउनु । कतिसम्म चोर दोष लगाउन सकेको ! मेरो घरमा आएर मसँग नै मुख छोड्न लाज लाग्दैन ? मेरो घरबाट गैहाले हुन्छ ।

विनिताले जे भने पनि अनिषालाई पक्का थियो, दिपिनको शब्दकोश विनितासँग नै छ । त्यसैले जबरजस्ती खोजेर भए पनि अनिषाले विनिताकै घरमा सो पुस्तक भेट्टाई र लिएर गई ।

भोलिपल्ट ऐसेम्लीको समयमा पि्रन्सिपलसँग सोधेर दिपिन अगाडि गयो र सबैको सामुन्ने भन्न थाल्यो – विनिता चोर्नी हो । उसले मेरो किताब चोरी । करुणाको इन्स्ट्रुमेन्ट बक्स र अनिषाको पैसा पनि उसैले चोरेकी हो । त्यसैले उसलाई कडा कारवाही गर्नुपर्छ ।

ऊ सँगसँगै सबै साथीहरूले पनि हो मा हो मिलाउँदै भने – हो, हो । विनितालाई कारवाही गर्नैपर्छ ।

दिपिनको कुरा सुनेलगत्तै शब्दकोश हातमै च्यापेर अनिषा अगाडि गई र भन्न थाली – दिपिनको कुरा गलत हो । विनिता यस्तो नीच काम कहिल्यै गर्दिन । उनी चोर्नी होइनन् । मेरो पैसा त ब्यागबाट खसेर हराएको हो । दिपिनको किताब पनि विनिताले चोरेकी होइनन् । बरु दिपिनको बेन्चमुनि खसेको थियो । उसले चालै पाएनछ । मैले देखेर घर लगेर राखेका थिएँ । आज ल्याइदिएको छु । यति भन्दै अनिषाले दिपिनको शब्दकोश फिर्ता गरिदिई ।

विनिता त्यहीँ थिई । आफूले जति नराम्रो व्यवहार गर्दा पनि आफ्नो इज्जतका लागि साथीले त्यति ठूलो सहयोग गरेको देखेर विनिता छक्कै परी । त्यो दिन कक्षामा लाचारी र हीनताबोधले विनिताले अनिषाको मुखमा हेर्न समेत सकिन । स्कुलबाट घर फर्केपछि विनिता अनिषाको घरमा गई । गृहकार्य गरिरहेकी अनिषा विनितालाई देखेर छक्क पर्दै भनी – ओहो ! विनिता तिमी यहाँ ? आउ न बस !

विनितालाई झनै लाजमर्नुभयो अनिषाको सम्मानजनक व्यवहार देखेर । तैपनि आफूले असल साथी चिन्नमा भुल गरेको स्वीकार गर्दै भनी – अनिषा ! मैले तिमीजस्तो महान् साथीलाई बुझ्न सकिनँ तिम्रो धेरै चित्त दुखाएँ । मलाई माफ गर । तिमीले लगाएको गुन म तिर्न सक्दिनँ । बिन्ती छ, एकपटक माफी देऊ । अबदेखि म तिमीसँग कहिल्यै रिसाउँदिन र चोरी गर्ने कार्य (बानी) पनि सदाका लागि छोड्छु ।

विनिताको कुरा सुनेर अनिषा असाध्यै हषिर्त भई । विनिताले पनि चोरीलगायत सबै नराम्रा बानी त्यागी । त्यसपछि उनीहरू एक अर्काका असल साथी बनेर रहिरहे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *