Skip to content


सीता भृकुटी बालकै हुन् जनक थिए बालक
रामकृष्ण बालकै हुन् श्रवणकुमार बालक
देवकोटा, सम, पारिजात यी पनि थिए बालक
आजका साना बालबालिका संसारका चालक ।
कारखानामा मजदूर बन्छन् बाटामा सुत्छन् बालक
होटेलमा जुठा भाँडा माझ्छन् हाम्रा बालक
बालिका यौन शिकार बन्छन् खाते हाम्रा बालक
नयाँ नेपालमा देख्दैछौँ हामी बालबालिकाको हालत ।
खल्र्याङ खुट्टी रूखछुत खेल्ने गुलेली र गुच्चा
घरआँगन रमाइलो पार्ने हामी फुच्ची फुच्चा
यति राम्रो बिरुवालाई मलजल देऊ
निमोठेमा पाप लाग्छ फुल्न फल्न देऊ ।
पढाइ लेखाइ सफा सुग्घर बनाऊ बाबुआमा
तिम्रा दुःख हटाउँला गरी ठूला काम
बालअधिकार प्रयोग गर्न पाऊँ समाजमा
विधान बनोस् हाम्रो पनि नयाँ नेपालमा ।
साम्प्रदायिक दुर्भावना हामीलाई चाहिन्न है
भौगोलिक भेदभाव हामीलाई चाहिन्न है
रातो रगत सबको हुन्छ फरक पाइन्न है
जन्मने एकै पटक हो फेरि आइन्न है ।
संसारका बालबालिका सबै एक होऔँ
लाञ्छना र अभावका सबै दाग धोऔँ
शिक्षा-दिक्षा खेलकुद औषधिमूलो लिऊँ
स्वतन्त्र भै स्वस्थ आहार स्वच्छ पानी पिऊँ ।
बाल अधिकारको रथ हाँक्छौँ सारथी भै हामी
सयर गरौँ संसारमा बुद्ध जस्तै बनी
अधिकार भन्ने कुरा पाइन्न मागेर
आजै हिडौँ मुक्तिका लागि काँधमा काँध थापेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *