वि.सं.१८७१ साल आषाढ २९ गते आइतवार अपरान्ह समयमा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका कोखबाट गण्डकी अञ्चलको तनहूँ जिल्लास्थित चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्त आचार्य नेपाली भाषीका लागि स्मरणीय व्यक्तित्व हुन् । घरदेखि टाढा रहेको सरकारी कार्यालयमा आफ्ना पिता कार्यरत भएका कारण बाल्यकालमा पितृसान्निध्यबाट टाढिनपुगेका भानुभक्तले हजुरबुबा श्रीकृष्ण आचार्यको संरक्षकत्वमा वर्तमानको जस्तो विद्यालयीय शिक्षा प्रणाली नभएको तत्कालीन परिवेशमा उनीबाटै गुरुकुल शिक्षा जस्तै गरी अमरकोष र लघुकौमुदी पढेका थिए । समयान्तरालमा श्रीकृष्ण आचार्यको काशीकल्पवाससँगै भानुभक्तले पनि दुई वर्ष त्यहीं रही विभिन्न विद्वान्बाट ज्ञानार्जन गरेका थिए । त्यहाँ भगवान् विश्वनाथबाट प्राप्त ‘रामनाम तारकमन्त्र’को गूढरहस्य बुझेर तनहूँ र्फकेका भानुभक्तले २२ वर्षको उमेरमा घाँसीबाट प्राप्त उपदेशलाई हृदयङ्गम गरी कविता रचना गर्दै संस्कृतको अध्यात्मरामायणलाई मौलिकता दिंदै नेपालीमा अनुवाद गरे । नेपालीमा काव्य लेख्दा तल्लो कोटीको मानिने तत्कालीन परिवेशमा नेपालीभाषामै काव्य लेखेर चुनौती सामना गरेकाले भानुभक्त क्रान्तिकारी साधक बन्नपुगेका छन् । उनको रामायणले नेपाली भाषा र काव्य विकासका लागि महत्त्वपूर्ण योगदान दिएको छ ।
भानुभक्तको रामायण प्राथमिककालीन नेपाली कविताको भगवद्-भक्तिधारामध्ये रामभक्तिधारामा निर्गुणब्रहृमचेतको केन्द्रबिन्दु समाती साङ्ख्य र वेदान्तदर्शनका बौद्धिक ऊर्जासमेत ग्रहण गरी आध्यात्मिकतातर्फ निकै अभिमुख छ । रामायणमा मुख्यतः संंस्कृत वर्णमात्रिक छन्दहरूको प्रयोगका साथै अन्त्यानुप्रासलगायत शब्दालङ्कारतर्फको काव्यीय चासोलाई मनन गर्दै शास्त्रीय छन्दको साङ्गीतिक श्रुतिरम्यतातर्फ कवि भानुभक्त सचेत रहेका देखिन्छन् । कविताका भाषिक लालित्य, लयात्मक माधुर्य र शैलीशिल्पको सौन्दर्य एवं रसभावको रमणीयताप्रतिको आकर्षण केही मात्रामा प्रकट भएको तर अनुवाद र रूपान्तर एवं अध्यात्मदर्शन प्रतिपादन भएकाले भगवद् स्तुतिले नै रामायण ओतप्रोत भएको भेटिन्छ । भानुभक्तको रामायणले मौलिकता र अनुवादकै दोसाँधमा रहेर पनि यस चरणको महाकाव्यप्रयासलाई प्रकट गर्दछ । यसरी नेपालीकविताको उत्तरप्राथमिक काल वा भक्तिधाराका सर्वोच्च कविका रूपमा भानुभक्त आचार्य नै देखापर्ने भएकाले उनीभन्दा अघि अनेक अग्रज कवि देखापरिसकेको वर्तमान परिप्रेक्ष्यमा लाक्षणिकरूपमा नै भानुभक्तलाई आदिकवि मानिन्छ ।
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । उनका फुटकर रचनामा बाहेक रामायणमा अनुष्टुप् छन्द नै छैन भने पनि अत्युक्ति नहोला । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहुँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव, नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही-परगृही, द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउनसकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठीमा आयुको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनी पनि ज्योतिषी थिए भन्ने प्रमाण पाइन्छ । फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलेको प्रसङ्गले द्युतक्रीडामा पनि उनको ज्ञान भएको देखिन्छ । हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रूपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको ठहर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वणिर्त औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरूले उनको वैद्यत्व प्रमाणित गर्छ । ‘ई नेपाल्-सरि पूण्य भूमि त अहो देखीन मैले कतै’ भन्ने हरफबाट आदिकविको राष्ट्रप्रेम हदैसम्म झल्किएकाले भानुभक्त वास्तविक नेपाली कवि भएको थाहा पाइन्छ ।
रामायणी श्लोकका पद-पदमा र भक्तमालाका अंश-अंशमा भगवद्भक्ति दर्शाउने आदिकविको हास्यव्यङ्ग्य क्षेत्र पनि उत्तिकै सशक्त छ । थुनामा बस्दाको अवस्था वर्णन, सरकारी कामकार्यमा भएको ढिलासुस्तीप्रतिको व्यङ्ग्य अत्यन्त रोचक छ । प्रायः सबै रसको प्रयोग रामायणमा गरिसकेका कविले शृङ्गाररसलाई फुटकर कवितामा पनि खन्याएका छन् । वर्तमानमा आएर साक्षात्कार गरिरहेको कान्तिपुरी (काठमाडौं) नगरीको तत्कालीन शब्दचित्रणले कवि भविष्यद्रष्टा भएको देखाउँछ । ‘ न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते’ अर्थात् घर घर होइन तर गृहिणी घर हुन् भन्ने नीतिवचनलाई राम्रोसँग बुझेका आदिकविले वधूशिक्षा बनाउनुमा यही कारण देखिन्छ । हाम्रो समाजले नारीलाई सम्मान गरेको छ । तर सम्मानित व्यक्तित्वबाटै अपमानित व्यवहार हुनु निन्दनीय हुने देखेर प्रस्तावनामा मित्र सम्बोधन गरी लेखिएको वधूशिक्षा नारीमा मात्र सीमित नरही सम्पूर्ण मानिसका लागि उपयुक्त हुने देखिन्छ । आद्य जगद्गुरु शङ्कराचार्यको संस्कृतपद्यलाई रूपान्तरण गरी रचिएको प्रश्नोत्तर कवितामा सम्प्रेषणात्मकता पाइन्छ । यसबाट कविमा आधुनिक शिक्षा प्रणालीको सम्प्रेषणात्मक विधिको समेत ज्ञान भएको सिद्ध हुन्छ । घरपरिवारमा कलह भएमा समाजमै अनिष्ट हुनेतर्फ लक्षित गरी आदिकविले वधूशिक्षा बनाएकाले कविमा सामाजिक भावना ओतप्रोत भएको पाइन्छ । त्यसो त खेतमा पानी लैजान कुलो बनाउन थालेको प्रसङ्ग पनि सामाजिक क्षेत्रका लागि स्मरणीय छ । यिनै कुराले उनलाई वरिष्ठ समाजसेवीका रूपमा समेत स्थापित गरेको छ ।
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । तर पनि वर्षभर बिर्सेर एकदिन मात्रै सम्झने र नेपालीभाषाका एकीकरणकर्ताले नै नेपाली समाजमा स्थान नपाउने वा हराउनुपर्ने परिस्थितिले भने दुःखद पक्ष उद्घाटन गराउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले कम्तीमा पनि दार्जिलिङका प्रवासी नेपालीहरूले जत्तिकै आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।
