मर्स्याङदीसँगै बग्दै

  • by


कलकल सुन्दै मनाङमा उकाली-ओराली हिँड्दा १०-१२ घन्टाको थकाइ पनि चटक्क बिर्सिइन्छ । लोडसेडिङको नामोनिसान छैन । मर्स्याङदीका पावर हाउसले पहाडका धेरैजसो घरमा बत्ती पुगिसकेको छ ।

आर्थिक दृष्टिकोणले मनाङवासीलाई उत्तम मान्न सकिन्छ । यहाँ जनसंख्याभन्दा झन्डै ४ दोब्बर बढी पर्यटक आउँदारहेछन् । धान नफल्ने मनाङमा पर्यटकलाई भात ख्वाइन्छ । फापर र मकैको ढिँडो खाउँ भन्दा “आच्या, काठमाडौंको मान्द्रेले पनि ढ््याँडो खान्छ र” केही होटेलमा भने पनि ।

“प्रायः सरकारी कर्मचारी जाडो बेला बस्दैनन् । मानिसहरू पनि काम लिएर आउँदैनन् ।” यो कुरा बारम्बार त्यहाँ सुनियो । “गोरा पर्यटक आउने बेलामा यहाँ नेपालीलाई साह्रै हेप्छन्, बास नै दिँदैनन् ।” धेरैले मनाङमा यसो भनेको सुनियो ।

एक उच्च सरकारी कर्मचारी पनि यस्तो घटनाको भुक्तभोगी रहेछ । नेपालीहरू जुनसुकै कामले मनाङ गए पनि त्यहाँका लागि त पर्यटक नै हुन् । यसरी नेपाली पर्यटकलाई बेवास्ता गर्दा र अपमान गरेको सुन्दा मर्स्याङदीसँग गरेको रमाइलोपन र मस्तीमा चाहिँ पक्कै पनि कमी आउँछ ।

नेपाली पर्यटकमात्र होइन, गाइडलाई पनि यस्तै परेको कुरो छिरिङ शेर्पाले सुनाए, “१७ जना टुरिष्ट लिएर आएको म र मेरो साथी पेनाङमा बसेका थियौं । सबै टुरिष्टलाई कोठा दिएपछि हामी पनि एउटा कोठामा बस्यौं । एकछिन बाहिर निस्केर पछि हाम्रो कोठामा जाँदा त गोराहरू पो सुतेका । साहुनीले अर्को होटेलमा जानुस् भन्यो, सबै टुरिष्ट लिएर जान्छौं भनेपछि भान्छाको टेबुलमा सुत्न पाइयो ।” यस्ता घटनाहरू ठाउँ-ठाउँमा सुनिए ।

चामेमा सुवर्ण दिदीले हामीलाई साह्रै राम्रो व्यवस्था गरिन् । उनलाई सोध्यौं पनि, “त्यसो हुँदै नभएको होइन, तर टुरिष्ट सिजनमा कोठै नभएको बेला छैन भन्नैपर्‍यो । हामीलाई पहिले खबर गरेको रहेछ भने त कोठा दिइहाल्छौ नि ।”

यस्ता मान-अपमानका केही घटनाहरू हेर्दा-सुन्दा खल्लो लागे पनि मनाङका अन्य कतिपय विशेषताहरूले यसलाई घुम्न र हेर्न लायकको ठाउँ बनाएको छ ।

हामी मनाङ जाँदा यहाँका कुन-कुन जडीबुटीहरूमा क्यान्सर रोगसँग लड्ने क्षमता हुन्छ भनेर एक अमेरिकी विश्वविद्यालयसँग त्रिभुवन विश्वविद्यालय विज्ञानशास्त्रका विद्यार्थीहरू अनुसन्धान गर्दै रहेछन् । एकजना युवतीले भनिन्, “हामी यी जडीबुटी अमेरिका पठाउँछौं । क्यासर विरुद्धको औषधी बन्यो भने कति ठूलो उपलब्धि हुन्थ्यो होला ?” उनका स्वरमा झल्केको गर्व र उनको उमेरले मलाई प्रफुल्लित गरायो । युवा पुस्ताले राम्रो निर्देशन पाए कति धेरै काम गर्दारहेछन् भन्ने भाव मनमा आयो ।

“हामीकहाँ जटामसी, वन लसुन, कुरिलो, शिलाजितको भण्डार छ । के गर्नु यहाँका मानिसले अहिले यसको मूल्य जान्दैनन्”, एक बूढीआमाले भनिन् । यार्चागुम्बा टिप्न गोरखा, रोल्पा र तनहुँबाट आएका भन्ने थुप्रै मान्छेहरू फेला परे । “यसपाली त यार्चागुम्बा नै टिप्न सकिएन, दुखःमात्रै भयो”, २० वषर्ीय पेम्बाले भने, “पहिले-पहिले त ४० हजार कमाउँथ्यौं, अहिले त खोइ ५-७ हजारमात्र भयो । आएको खर्च पनि उठेन ।” “यसपाली किन हो यार्चागुम्बा त्यति बिक्री भएन” भन्नेदेखि लिएर हामीले ५०० गोटा यार्चागुम्बा प्रतिगोटा २०० मा बिक्री गर्‍यौं भन्नेहरू पनि भेटिए ।

माथिका गाउँमा त स्कुले केटाकेटीदेखि स्वास्थ्यकर्मीहरू पनि यार्चागुम्बा टिप्न जाने चलन रहेछ ।

शान्ति परियार नामकी एक राजनीतिक कार्यकर्ताले बारम्बार भनिरहिन्, “हामीसँग यत्रो मर्स्याङदी छ, तर नदीम्ाा माछा नै छैन ।” उनको कुरा पहिले त विश्वास लागेको थिएन । तर पछि अरूले पनि भनेपछि त विश्वास नलाग्ने कुरै भएन । अर्को अचम्मचाहिँ त्यति ठूलो मनाङ जिल्लामा एकजना पनि स्थायी वासिन्दाहरू बाहुन रहेनछन् । जिल्ला विकास समितिको एक चिनारीमा लेखिएको रहेछ । तर सरकारी कर्मचारी, विभिन्न कार्यक्रम लिएर जाने संघ-संस्था वा पर्यटककै रूपमा चाहिँ पर्याप्त मात्रामा आउँदारहेछन् बाहुन जातिहरू ।

यहाँको एक अलिखित नियमअनुसार बाहिरका मानिसहरूले घरजग्गा किनेर बसोबास गर्न नपाइने रहेछ । त्यसैले गोरखा, रोल्पा, लमजुङ आदिका लोग्नेमानिसहरू केही कामबाट आउँदा त्यहाँकी स्थानीय युवतीसँग प्रेम परेर घरजम गरी त्यहीं बस्दारहेछन् । केही मानिसहरू जाडो लागेपछि जिम्बु र जडीबुटी लिएर तल ओर्लिन्छन् र हिउँ पग्लेपछि पुनः माथि जान्छन् ।

मनाङमा करिब १४८ वटा होटेल रहेछन् । हिँडाइले खुट्टा दुखेको बेला नुन र तितेपाती पानीमा उमालेर धुनाले थकाइ र दुखाइ कम हुनेरहेछ ।

“यहाँका मानिसले नेपालीहरू पनि पर्यटक हुन् र अपमान गर्नुहुन्न भन्ने कुरा बिस्तारै सिक्दैछन् । ‘तपाईंहरूले आएर सिकाउनु पनि त पर्छ नि’ एमालेकी कार्यकर्ता शान्ति परियारले भनिन् ।

मनाङको बारेमा लेख्नुपर्ने थुप्रै रमाइला कुराहरू अझै छन् । त्यहाँको स्थानीय कानुन, मर्दा र विवाह हुँदाको विशेषता, आपसी सम्बन्धहरूबारे लेखेरमात्र पुग्दैन, नेपाली भएर जन्मेपछि एक न एकचोटी त मनाङ जानैपर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *