Skip to content


मस्को सहरमा ब्युँझदा मन फूलको थुँगा भएको छ । हरिया रूखलाई छोएर उड्ने सिरसिरे बतासले होला, पातलो भुइँकुहिराको प्वाँखजस्तो सिमलको भुवाले होला । ओसिला काला सडकमा कमिलाका ताँती बग्न थालेका छन् । हाम्रो लाम्घारे बस त्यसैमा मिसियो ।

आज टाढा जानुछ— यास्नाया पोल्याना । टाल्स्टायको जन्मभूमिलाई स्पर्श गर्न यो मन श्रद्धा र प्रेमले भिजेको छ । विशाल सहरको अनन्त विस्तृति कटेपछि अप्रदूषित प्रकृतिसँग भेट भयो । हरिया, अझ काला न काला जङ्गल, होचा वृक्ष— पोथ्रयानले भरिएको, कतै नाङ्गो उदात्त चउर र बन्सोघारी, सङ्ला डरलाग्दा तलाउ र निर्मल नदीहरू । मलाई पोहोरको स्कटल्यान्डले छोयोे । सिमसिमे पानी, ओसिलो बतास, छ जूनको बिहान ।

तीन घन्टापछि ऐतिहासिक सहर तुला काट्यौं । फेरि उही निर्जन प्रदेशमा पस्यौं, अन्त्यमा एउटा स-सानो बजारमा पुगेर ओर्लियौं । त्यहाँ पार्किङ, केही शोभनिर दोकान अनि बिहे गर्ने— गरिसकेका जोडीहरू थिए । सेता वस्त्रमा बेहुलीहरू, कालो सुटका बेहुला । सायद यतै कतै चर्च-मन्दिर होला । यो सामूहिक विवाह पो हो कि ? वरिपरि सुन्दरी, नयाँ वस्त्रमा हँसिलो मुद्राका युवाहरू, लिमोजिन गाडी र रङ्गीचङ्गीहरू । तर हाम्रो मन त्यता थिएन । त्यसैले बाटो काटेर हामी थुम्कीतिर चढ्यौं ।

थुम्कीबाट एउटा बाटो जङ्गलै-जङ्गल अलिअलि उकालोभित्र पस्यो । अत्यन्तै अग्ला अकासिने भोजपत्रका फेदैफेद हिँड्ने बाटामा गुड्दै एउटा घोडाबग्गी आयो, फुत्त जङ्गलबाट निस्केर खत्रक-खत्रक-खत्रक…। बग्गी सुन्दर र आकर्षक थियो । रित्तो कुनै मानिस बेगरको । बाटो फराक तर कच्ची थियो माटाको, यो टाल्स्टाय महानको घरतिर जाने बाटो । पचासजना रूसी-नेपालीको यो टोली । उच्च साहित्यिक-सांस्कृतिक चेतना भएका मस्कोका विशिष्ट नेपालीहरू स्वयम् राजदूतसमेत । अनेक संघ-संस्थामा आबद्धहरू, मस्कोका विशिष्ट नेपालीहरू । हामी एक सामूहिक तीर्थयात्रामा थियौं, टल्स्टाय जन्मभूमिको दर्शनलाई एकदिनको साहित्यिक कार्यक्रम बनाएर त्यहाँ पुगेका । कालो जङ्गलको मुखमा पुगेर हामी हरियो छाता ओढ्ने अङ्ग्रेजीभाषी पातलीका पछि लाग्यौं । अलिक पर पुर्‍याएर पातलीले सुनाई— टाल्स्टाय सन् १८२८ मा यही ठाउँमा जन्मेका थिए । हामीमात्र होइन, यहाँ त मान्छेको धारो छ । दोहोरीलत्ता जाने-आउनेहरू, विभिन्न भाषी अनेक वस्त्रका, स्वरूप र उमेरका, बेग्ला-बेग्लै रङ्गका छाता ओढेर कुध्ने गाइडका पछिपछि त्यो झुन्ड अघि बढ्दो छ, सम्पूर्ण बाटो ढाकेर ।

पातली एकछिन उभिएर बोली— ‘यो सारा सयौं हेक्टर भूमि टाल्स्टायको आफ्नै थियो । उनका बाबु-बाजेको जमिनदारी सम्पत्ति सर्दै आएको । यहाँ यस्ता अनेक जङ्गल छन्, पार गरिनसक्नुका । उनका बारीमा ३० जातका स्याउ फल्थे, अनेकौं तेज घोडा थिए, विशाल खेतीपाती र भव्य चहलपहल थियो ।

अलिकति दम्स्याइलो उकालो कटेपछि जङ्गलले छोडेको एउटा फराकिलो उचाइमा लुकेर बसेको सेतो घर आयो । दुई तले, सिसाका अनेक झ्याल भएको, पुष्प लहरा बार्दलीमा चढेको स-साना फूलबारीले घेरिएको, छानामा चिम्नीहरू बसेको घर । अाँगनमा पाँच सय दर्शक पालो पर्खिरहेका थिए । भर्‍याङदेखि परै कहाँ-कहाँसम्म खैरो कार्पेट टम्म विछिएको थियो । तिनै कार्पेट टेक्तै हामी गेस्टरूममा पस्यौं । त्यो तलामाथिको पहिलो कोठा थियो । टेबुलमाथि चाइनाका कपप्लेट, जग र अरू सोपिस थिए । पर्तिर सोफा, सिसाका टेबुल र एउटा बाक्सा आकारभित्र टाल्स्टायका केही पाण्डुलिपि । उता कलात्मक कुर्सीका बीचमा लामो टेबुल, सेतो ढकनी र बल्न तयार लम्फा, कुनामा इन्डोर प्लान्ट । सेतो भित्तामा सफा गरी टाँगिएका पोटर््रेटहरू— तेह्र वर्षे टाल्स्टायको, छोरीको, पत्नी सोफियाको, हजुरबाको, बूढा हजुरबाको यी सारा चरित्रहरू परोक्ष रूपले उनको वार एन्ड पिसका पात्रहरू । यथावत राखिएका कुर्सी-टेबुल छन्, बाकस छन् । छेउमा एक पियानो छ । पातलीले भनी- लाइफ विदाउट पियानो वाज इम्पोसिबल । अझ त्यो सम्पन्न घरानामा मनोरञ्जनको यो प्राचीन माध्यम साँच्चै अनिवार्य थियो होला । पियानोको छेउमा अरू बैठकहरू थिए । दोस्रो कोठामा पस्यौं । यहाँ पनि तान्या र नतासा, टेबुल, सोफा, लेख्ने सानो डेस्क, उनकी पत्नीले साफी गरिदिएको पाण्डुलिपि र वार एन्ड पिस थालेको, अन्ना करेनिना लेखेको ठाउँ ।

अर्कोमा पस्यौं— पहेँला काठका सुन्दर ढोका उघार्दै पातली अघि लाग्छे । यहाँ छालाका गहिरा खाल्डे सोफाजस्ता बस्ने थिए, जहाँ टाल्स्टायका तेह्र सन्तान जन्मेका थिए । भित्तामा पत्नीको पोर्टे्रट, उनको र अरूको पनि । सिसाभित्र उनका पाण्डुलिपिहरू । कुनामा होचा कुर्सी र एक टेबुल जहाँ बसेर उनी पढ्ने गर्थे । बाहिर निस्कने कुनाको टेबुलमा एउटा बहुमूल्य लाग्ने बाकस थियो, टमस आल्वा एडिसनले टाल्स्टायलाई उपहार दिएको ग्रामोफोन रेकर्डरको ।

मैले सोधेँ, “पातली, यो बाजामा टाल्स्टायको आवाज सुन्न सकिन्छ ?”

“बजारमा पाइन्छ, यहाँ छैन”, पातली बोली ।

त्यसैको कुनामा एउटा बेड थियो । ओछिन लगाएर ठिक्क पारिएको होचो । फलामे बार र पित्तलका बुट्टे डन्डीले सजिएको माथिबाट एकटुक्रा गलैंचाले छोपेको त्यो । एउटा कुनामा एक्सरसाइज गर्ने फलामका गाँठा, भित्तामा उनकै हर्स-राइडिङको पोटर््रेट । स-सानो तर बस्न पनि मिल्ने एक लौरो, तात्यानाले गरेका पेन्टिङ, बेडमाथि उनले लगाउने एउटा सर्टजस्तो आधी टाँके सेतो ‘ब्लाउज’ त्यो बेला यो फेसनमा थियो ।

हेर्दै-हेर्दै हामी उनको स्टडी रूममा पस्यौं । एक्लै बस्ने कुर्सी-टेबुल, लेख्ने ठाउँ, पाण्डुलिपि र उज्यालो कोठा । अन्तिम कोठा थियो, उनको पुस्तकालय । ठूलो कोठा किताबै-किताबले टम्मै दराज भरिभरि साँचो लागेका । पातलीले भनिन्— यो टाल्स्टायको निजी सङ्कलन विभिन्न २३ भाषाका गरी २९ हजार पुस्तक छन् । सिसाका दराजहरू ती पुस्तकले टनाटन थिए ।

त्यहाँबाट ओर्लेर अर्को भल्टेड रूममा पस्यौं— अलि चिसो अँध्यारो घोप्टे कोठा जहाँ उनले सिर्जना गर्दै अनेक वर्ष बिताएका थिए । यो एकप्रकारको भण्डार कोठा थियो । उनले २० वर्षको लेखन यही गोप्यजस्तो कोठामा बिताएका थिए । उनले वार एन्ड पिसको धेरै अंश यहीं रचेका थिए । यस्ता महान सर्जक, सत्य र

अहिंसाका पुजारी टाल्सटाय जीवनको अन्त्यकालतिर पूर्वीय दर्शनका अतिरिक्त अहिंसा र प्रेम अनि बौद्ध दर्शनबाट प्रेरित भएका थिए । ८२ वर्षमा उनको देहान्त भयो र त्यसबेला ७ सय मानिस भेला भए । उनलाई यहाँ नजिकै समाधिस्थ गराइयो ।

हामी सिकुवामा झर्‍यौं । मान्छेको धारो त्यत्तिकै थियो । आँगनमा उभिएर त्यो पवित्र मन्दिर सामुन्ने तस्वीर खिच्यौं र टाल्स्टायको समाधिस्थलतिर अघि बढ्यौ । एउटा गोठ र केही झुप्रा आए, त्यसपछिको मार्ग अँध्यारो जङ्गलमा पस्यो । कोइलीको बोली चिनियो, झ्याउँकिरीको आवाज सुनियो । अन्त्यमा एउटा स-सानो खाली ठाउँमा पुग्यौं । सात हात लम्माइको मानवाकृति सुतेको ढिस्को, वरिपरिका ढुङ्गालाई झ्याउले ढाकेको । माटामाथि माटैको ढिस्को । त्यसमाथि स-साना झारका टुसा जमराजस्तै पलाएका । घामले नदेखेर ओसमा लुरुक्क नुहेका । वरिपरि बन्सोजस्तो हरियो चउरी स-सानो आकारमा थियो, समाधिका छेउमा फूल र पातका गुच्छा ठडिएका ।

महात्मा गान्धी र टाल्सटायका बीचमा पत्राचार थियो, तर टाल्सटायले कुनै नेपालीलाई चिने होलान् जस्तो लाग्दैन । आज एक शताब्दीपछि पचासजना नेपाली एकैचोटी उनको पाइला खोज्दै श्रद्धा र प्रेम बोकेर यहाँ आएका छौं । उनको प्रेम र सिर्जनाले विश्वलाई आह्वान गरेको छ । त्यो देउरालीलाई केही पाती चढायौं र शिर झुकाएर हामी विदा भयौं । त्यतिखेर मलाई लाग्यो— यो मानवचोला धन्य छ । यो अमर दिनको सधैं सम्झना रहनेछ ।

बौद्धिकता र सोन्दर्यको प्रेमलाई हृदयमा हुर्काउँदै लेखिएको वार एन्ड पिस, ५ सय ५९ जना पात्रले निर्मित विश्वकै महानतम एक कृति । युद्धको व्यर्थता प्रकट गर्ने कृति । तिमी सिपाही अनि लेखक, तिमी शिक्षक, चिन्तक, अध्यात्मवादी र दार्शनिक । लामो जीवनयात्राले ईश्वरलाई छुन पुगेका अहिंसाका पुजारी । त्यो महान यात्राको उज्यालोले हामीलाई समेत यो तीर्थस्थलमा उतार्‍यो । तिमीसँग भेट हुने आशाले मास्टर एन्ड म्यान पढेँ, द फर्स्ट्स अब इन्लाइटेन्मेन्ट पढेँ, अन्नाकरेनिना पढेँ, ह्वाट इज आर्ट पढेँ, यतिखेर द किङ्स अब गड इज विदिन यु सिरानेमा राखेर सुतेको छु । मेरो देशलाई हिंसा र द्वन्द्वले डामेका घाउ अझै आलै छन्, अझै यो भय र क्रूरताले सञ्चालित छ, हाम्रा दिन र रात दुवै अँध्यारा छन् । तिम्रा प्रेम र अहिंसाको फूलले हामीलाई अलिकति ब्युँझाउँथ्यो कि ? त्यो प्रेम र अहिंसाको उज्यालो मन्दिर ओझेल पर्नुअघि मैले यही प्रार्थना गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *