‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो ।

एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

पुरानो नेपाली साहित्यमा त दादा शब्द प्रचलनमा आएको देखिएन; तर बोलीचोलीमा यो शब्द चल्थ्यो– १९८२ साल या त्यसको अलिपछिसम्म । नेपालमा करियाप्रथा उन्मूलन नहुञ्जेल, अर्थात् कमाराकमारीको किनबेच हुन नछाडुञ्जेल दादा शब्दलाई नेपाली भाषाले पचाएको थियो । घरमा पैलादेखि बसेका या आफूभन्दा जेठा कमाराहरूलाई मालिकहरूले दादा भन्थे– नाम जोडेर या नजोडीकनै । करियाप्रथा अन्त्य भएपछि यो शब्द पनि विलायो । विस्थापित भयो ।

तर फेरि यो स्थापित भयो अलिपछि, नेपालमा हिन्दी सिनेमा चल्न थालेपछि । पहिले पहिले त यसको स्वरुप राम्रै थियो– बाजे, हजुरबाको अर्थमा चलुन्जेल । पछि त्यही हिन्दी सिनेमामा बम्बईको प्रभाव परेर ‘दादा’ ले टोलको हुल्याहा, बद्मास, गुण्डा जनाउन थाल्यो । त्यसले शब्दको नै अवमूल्यन ग¥यो ।

यो म किन भन्न सक्छु भने– सन् १९१६ मा छापिएको बृहत् हिन्दी शब्दकोशमा ‘दादा’ शब्दको अर्थ– पितामह (भन्नाले बाजे) मात्र दिएको छ, गुण्डा या बद्मास दिएको छैन । पछिका कोशमा यी अर्थ पनि छन् । हिन्दीमा भन्दा बङ्गाली भाषामा ‘दादा’ शब्द बढी प्रचलित छ । त्यहाँ मुख्यतः दादा भन्ने शब्दले दाइ या दाजुलाई जनाउँछ । तर अचम्म लाग्छ बङ्गाली शब्दकोशमा दादा शब्दको “पितामह, मातामह, जेष्ठभ्राता” बाहेक “कनिष्ट भ्राता, पौत्र दौहित्र प्रभृति” लाई “स्नेह सम्बोधन” को समेत अर्थ दिइएको छ । अर्थात् के भने बङ्गाली भाषामा जल्लाई पनि आदर या माया गरेर “दादा” भन्न सकिने रहेछ । यस्तो मीठो शब्द पश्चिम भारत (बम्बईतिर) पुग्दा गुण्डा, बद्मास या मसहुर हुल्याहाको भागमा कसरी प¥यो, बुझन सकिँदैन । त्यतापट्टि नलागी हामी चाहिँ नेपाली ‘दादा’ तिरै फर्कूँ ।

नेपालमा पहिले छापिएको (१९९८) चक्रपाणि चालिसेको ‘नेपाली बगली कोश’मा दादा शब्द छैन । तर, त्यसभन्दा झ्ण्डै दश वर्षअघि छापिएको टर्नरको नेपाली डिक्स्नेरीमा भने यो शब्दको प्रविष्टि छ । अर्थ उही छ, कमाराका लागिको आदरार्थी शब्द । अनि पछिबाट दाजु भन्ने अर्थ पनि दिइएको छ, त्यहाँ । दादा त भयो नै, टर्नरले दादी पनि दिएका छन् । अर्थ छ, “ओल्ड स्लेभ उमन” (बूढी कमारी) । बालचन्द्र शर्माले पनि दादालाई प्रवेश गराएका छन् आफ्नो कोशमा, अर्थ दिइएको छ, “दाइ, दाजु (बालबोलीमा); कमाराका लागि आदरार्थी शब्द” भन्ने ।

नेपाली बृहत् शब्दकोश (प्रज्ञा–प्रतिष्ठान) ले पनि दादालाई छाड्न सकेन । अर्थ उही दियो तर ‘दादागिरी’ भन्ने शब्द थपेर जसलाई बलप्रयोग गर्ने बद्माससँग जोडिदिएको छ । प्रज्ञाले दाइ पनि दादा पनि दुवैलाई संस्कृतको ‘दायाद’ (अंशियार) ले जन्माएको भनेको छ । महानन्द सापकोटाले पनि यी दुई शब्दलाई ‘दायाद’ कै सन्तान मानेका छन् । तर दाजु, दाइ, दाजीलाई माने पनि दादालाई उनले आफ्नो ‘नेपाली शब्द परिचय’ (२०३४) मा भिœयाएका छैनन् । समुद्रपारका नेपाली विद्वान् फादर विल्यम बर्कले आफ्नो ‘सही शब्द’ (१९९४ ई.) (पर्यायवाची शब्दकोश) मा दाज्युको दाइ, दाज्यैका साथ दादालाई पनि पर्यायवाची मानेर हालेका छन् ।

नेपालीमा दाजु र दाजी सँगसँगै भेटिन्छन् । तर नेपाली घरहरूमा ‘दाजी’ भन्ने शब्द अचेल उति सुनिँदैन । केही कालअघिसम्म नेपाली अभिजात्य वर्ग (राणा, शाह) हरूमा चल्थ्यो यो शब्द । उनीहरू दाजुलाई दाजी भन्थे, सर्वसाधारणले दाइ भने जस्तो । त्यो दाजी दाइजीको अपभ्रंश हो कि भन्नलाई आर.डी. चटौतको ‘डोट्याली शब्दकोश’ले बाटो छेक्छ । भन्छ, डोटीमा दाजी, दाजि, त्यहाँ पैलेदेखि नै चलेको हो रे !

दाजिलाई छाडेर हामी फेरि दादामै आऊँ । दादा बङ्गालीमा बढी चलेको छ, भनियो माथि । त्यसो हो भने त्यहाँ (कोशमा) यसका व्युत्पत्तिमा के दिएको रहेछ भनेर हेरेँ मैले । सन् १९४० भन्दा पहिले आशुतोष देवले निकालेको ‘नूतन बाङ्ला अभिधान’ भन्ने कोश छ । त्यहाँ दादाको तल ‘फार्सी’ भनेर लेखिएको छ । त्यसको माने उनका हिसाबले ‘दादा’ शब्द फार्सीबाट आएको हो भन्ने भयो । फार्सीमा आफ्नो गति नभएकाले मैले फार्सीको सन्तान उर्दूको लुगात (कोश) पल्टाएँ । तर उर्दूमा दादा भन्ने शब्द नै छैन ! हिन्दीमा छ, यो शब्द उर्दूमा छैन भनेपछि हिन्दीमा यो कसरी आयो त भनी खोजी हेर्नुप¥यो मैले । काशी नागरी प्रचारिणी सभाले १९१६ ई.मा प्रकाशन गरेको (४ भाग भएको) ‘हिन्दी शब्दसागर’ मा सम्पादक श्यामसुन्दर दासले दादाको जन्म संस्कृतको ‘तात’ बाट भएको भनी मानेको देखियो ।
तर हामी यस्तो विद्वत्ताको झ्मेलामा नपसूँ । दादालाई हामीले राख्ने कि फाल्ने भन्ने मात्र हेरुँ ।

नेपालीमा हामी बाजेलाई दादा भन्दैनौँ । गुण्डासुण्डाका लागि पनि हामीसँग आफ्नै हुल्याहा शब्द छँदैछ, हिन्दी फिल्मका दादा हामीलाई किन चाहियो ? अब हाम्रामा कमारा या करिया पनि रहेनन्, माया गरेर हामीले दादालाई पाली राख्नाको औचित्य छैन । दाजुलाई दादा भन्दा रहेछौँ हामी कतै कतै तर अत्यल्प सङ्ख्यामा । भनेपछि हामीलाई दादा चाहिएन भनी घोषणा किन नगर्ने ?

गर्न हुन्थ्यो । तर मलाई ड्याग पर्छ । मलाई रातो बङ्गला स्कूलका विद्यार्थी, गुरु, गुरुआमाहरू र निकै जना अभिभावकहरू समेत दादा या दादाजी भन्छन् । उनीहरूको भोक्याबुलरी (शब्दभण्डार) बाट यो शब्द झ्कििदिने हो भने म कहाँ रहुँला ? त्यही द्विविधा भो !

यसलाई अलि अथ्र्याऔँ । म दादा नै कसरी भएँ त्यो भनूँ । हाम्रो घर पहिलेदेखि नै हिन्दी भन्दा बङ्गाली भाषाको नजिक थियो । त्यसैले बङ्गालीको सिको गरेर मेरा भाइबहिनीले मलाई दादा भने । काकाफुपूहरूले दादा भनेकाले मेरा छोराछोरी र दाजुभाइका छोराछोरीको पनि म दादा नै भएँ । हुँदाहुँदा बुहारीहरू, ज्वाईँहरू र नातिनातिना, भाञ्जाभाञ्जीको पनि म दादा हुनपुगेँ । यस्तैमा रातो बङ्गला स्कूल खुल्यो । म त्यहाँ शिक्षक भएँ । प्रिन्सिपलहरूले मलाई दादा भनेको सुनेर गुरुगुरुआमाले पनि नाम काढेर ‘कमल सर’ भन्न सकेनन् । बरु प्रिन्सिपल र डाइरेक्टरहरूले भन्ने दादामा ‘जी’ थपे उनीहरूले । अनि म दादाजी भएँ । यो दादाजीलाई अब म फाल्न सक्तिनँ ।

म त फाल्न सक्तिनँ यो ‘दादाजी’ भैहाल्यो । तर आमापट्टिको मामा न बाबुपट्टिको काका यो, नेपाली भाषाले फालिदिए हुन्न यो शब्द– ‘दादा’ ?

२०६१ असोज १८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *