तिमीलाई यो अस्ताउन लागेको कलिलो घाममा भेटेँछु । तिमी मेरो सिकुवा र सङ्घारमा बिहानको घाम भई खस्छ्यौ । लुङ्गा, तिम्रो र मेरो प्रेम खोलाको त्यो नभाँचिने लहराजस्तो अजरअमर छ । सबै संसार निदायो । परस्पर समुद्रहरू पनि निदाए, पर्बत पनि निदाए ।
यी कुनै एक वा दुई वा तीन कविले लेखेर छापेका कविताका हरफ होइनन् । लिम्बू संस्कृतिभित्र मेरो चेतनाको गोधूलिमा मेरोवरिपरि सिर्जनाका झड्का भएर खोलैखोला हिँडिबस्ने अभिव्यक्ति हुन् । यी अभिव्यक्तिबाहेक अरू धेरै सम्झना छन् मेरा । मेरो घर लिम्बुवानको तेह्रथुम साबला अनि म्याङ्लुङ् र मावली सुभाङ्का वृत्तमा लिम्बू युपायुवतीले हाटबजारबाट छुट्ने बेलामा भनेका उक्ति हुन् । पूजाआजामा साम्बा र फेदाङ्बाले बोलेको महान् मौखिक काव्यात्मक पाठको किनारामा फुलेका एकाध फूलहरू हुन् । मैले जहाँ गए पनि, जति जे पढे पनि लिम्बू संस्कृतिको काव्यात्मक पक्षको झन्झनाहट कहिल्यै भुलिनँ । केन्द्रीय अङ्ग्रेजी विभागमा पढ्न आएका आठजना जति लिम्बू विद्यार्थीलाई त्यही झन्झनाहटको खोजी गर्न निकै वर्षदेखि थेसिसहरू लेखाएँ । आफूले नाटक लेखेँ । यो चेतनाले आजको बहुलताभित्र साझा संस्कृतिको खोजीमा लागेको देशमा एउटा शक्तिसञ्चार गरेको बुझेको छु । हिजो आज समीक्षकहरूले गुनासो गरेका लेखहरू पढेको छु । ती भन्दै छन्, नेपाली साहित्यको स्तर खस्कियो । हिजोका कविहरूका सिर्जनाका सामथ्र्य अहिले हराउन लागे । ए, हो र ऊ ठूलैहरूले लेखेपछि सुन्नु त पर्यो नि । फलाना कविदेखि फलाना कविसम्म एकखाले धारा, अनि फलाना कविदेखि यताको ढुङ्गेधारा भएछ । त्यो धारामा पानी सुकिसकेछ । गाग्रीहरू रित्तै लाम लागेछन् ब्यर्थ । सुकेका पानीका धार गाग्रीभित्र खसेनन् । अभिदाइ, यो सङ्कलनचाहिँ त्यत्ति धाराहरूको कोलाहल हो है, सुन्नु । कत्ति राम्रोगरी छापिएछ गाँठे । हिजोआजको प्रेस त मान्नुपर्छ । भन्छु ।
नेपालीमा लेखेका कविताको स्तर गिरेछ । होइन, गजलमय भएछ । होइन स्तर बढेछ । कस्ता क्रान्तिका चेतना छन् । कृष्ण सेन इच्छुकको चन्द्रागिरी कविता पढ्छु । नरेश शाक्यका समयको रूपकजस्ता कविता गुन्गुनाउँछु । कुरा त साँचै हो । अनि यो देशको काव्यलेखनमा सिर्जनाका आयाम खोज्ने आरम्भबिन्दु के हो ? प्रश्न गर्छु । गणतान्त्रिक नेपालमा एकलवादी सामन्ती मान्यता भत्किन लागेका छन् । त्यसैले एकलवादी साहित्यका मानक खोज्नु व्यर्थ छ । मिल्दैन । अहिले ठोकेर भन्छु । एउटा अमेरिकी नामी र विवादमा पनि परेका समीक्षक ह्यारोल्ड ब्लुम्को किताब ‘मानक र सन्दर्भ’ यहाँको प्रसङ्गमा मिल्छ । ती भन्छन्- हिजोको कुनै अग्रज कविको प्रभाव परेछ मज्जाले भने त सकिँदैन निकाल्न । त्यसैले बहकाउँछ । खोलानाला, सहर जता गए पनि त्यसले समातिबस्छ । कविले त्यस्तै लेखिबस्छ । अनि अर्को कुरा ती भन्छन् साहित्यमा एउटा मानक भएन भने काम लाग्दैन । अराजक हुन्छ । तिनका दुवै कुराले निकै छलफल जन्माएको छ तर मान्छे फेरि तिन्कै कुरा गरिबस्छन् प्राज्ञिक र समीक्षाका वृत्तमा ।
गाँठी कुरा अर्कै रहेछ । नेपाली काव्यसाहित्यमा लेखनको समस्या होइन समीक्षा र व्याख्याको समस्या रहेछ । नेपाली काव्यमा विभिन्न जनजाति, भौगोलिक, भाषिक र सांस्कृतिक वृत्तहरूबाट बलिया सिर्जनका सामथ्र्य ओइरिएर आइरहेका रहेछन् । एकलवादी मानक लिएर लेख्ने समीक्षक र त्यस्तै पढ्ने पाठकहरू त्यो अलिक नदेख्ने रहेछन् । मैले राम्ररी बुझेको र लेख्न सक्ने भाषा नेपाली भएकाले मैले त्यो भाषाको काव्य फेरि एकपटक भयानक शक्ति लिएर आउन लागेको देखेँ । मैले राम्ररी भन्न सक्ने र मैले बालककालदेखि देखिआएको सिर्जनाको ज्योति र नभाँचिने लहराजस्तो सिर्जना बुझेको लिम्बू संस्कृतिभित्रबाट यो देशको काव्यिक चेतनामा कसरी कविहरूले शक्ति भरिरहेछन् भन्ने एकाध उदाहरणहरू राख्छु । त्यसो त छुट्टै लामो लेख लेख्नुपर्छ यस विषयमा । रङ्गमा बोल्ने यी मेरा कविहरू सतचालीस सालको परिवर्तनपछि आएका युवा हुन् । यो समीक्षा होइन । एउटा समय-रेखा हो ।
एक युवाकवि समदर्शी काइँलाले, लिम्बुवानबाट हामीजस्तै यहाँ आउँदाका अनुभवको कति उस्तै प्रकृति तर फरक मर्म बुझेछन्– “मखमली जीवन बाँच्नुको रहरमा सहरमा पुग्दा/कौशीको गमलाको बैँशालु फूलहरू/बिनामाली बेस्याहार क्रमशः मरिरहेको देखेँ’ -‘मान्छेको आत्महत्याको जगा’) । समदर्शीको कविले सहरमा अग्रज काइँला बैरागी देख्छ, तेस्रो आयाम देख्छ अनि चौथो आयाम अस्मिता बोकेर हिँडिरहेका ऊजस्तै काइँलाका हूलहरू देख्छ । नाटकीय संवाद हुन्छ । यी युवा लिम्बू संस्कृतिका कविहरूको काव्य पुस्ता र विधाले संवादिक छ । साहित्यका विद्यार्थीले भए यहाँ बाख्तिनको विचार ल्याउने थिए । कवि चन्द्र योङ्याँ ‘भीर’ शीर्षक सङ्ग्रहमा लेख्छन् — ‘हेलो ऊ हेलो ऊ/धर्मेन्द्र दाइ मेरो कविता बिरामी भयो ।’… चन्द्रवीरु कुन डाक्टरकोमा लाने अनि ? डाक्टर अभि सुवेदीकोमा लाने भन्या । ठीक छउ ठीक छउ त्यै बूढाकोमा लाने हो त ? मेरो पनि पाठेघर सप्पै हेरिदिन्छुु भन्या छ ।’ नेपाली कविताका संवादिक आयाममा यति व्यङ्ग्यात्मक तरिकाले समीक्षक, कविता चिरा गरेर पढाउने र सिद्धान्तवादीको अधिकाव्यिक विडम्बना उद्घाटन भएको मैले पढेको थिइनँ । नाम रूपक हुन् । तर म काव्यले झस्केँ ।
योङ्याँको जस्तै कवि चन्द्रवीर तुम्बापोको ‘रङ्गैरङ्ग भीरैभीर’ नामको सङ्कलनमा पाठेघरको विम्ब नैरन्तर्य पाउँछ –‘पाठेघरभित्रबाट/बाहिर आउनुअघि/बेहिसाब रिनको भागीदार/बिनादोष/सजायको भागीदार/संविधानको दाम्लोले बाँधिएका/राष्ट्रिय जनावर ।’ यो काव्यिक जन्मका राजनीतिक आधार छन् । जनजातीय संचेतनादेखि सम्पूर्ण राष्ट्रिय विडम्बनाको व्यङ्ग्य बोल्छ तुम्बापोको कवि । कविहरूका सहगान चराका साँझका गान होइनन् । बाँसघारीमा गाउने चराहरूले अनेकौँ रङ्गको साँझ देख्छन् । स्वप्नील स्मृति, बिमला तुमखेबादेखि यी चारवटा अस्तिदेखि पढिबसेका युवाकविहरूका कोरस्भित्र वैविध्य छन् । धर्मेन्रविक्रम नेम्बाङको काव्यमा विचारका सिँढी उक्लँदै काव्य बोल्छ–‘सामान्य मान्यताले गएर छुएको/पूर्वकल्पनाले भेटेको/आगमनले भेटेर लिइआएको वस्त्र/एउटा लामो शृङ्खलालाई/निगमन चाहिन्छ- को लागि/मनको छोटोपना/व्यक्ति साहित्य हो सौन्दर्यशास्त्र रङ्ग हुन्छ/मिल्छ नखाघत कवि एतै/पात । पात । पात ।/खसेर एक्लो ।’
यी कविहरू र अरूहरूलाई संवेगले पढ्दै छु । गोविन्द भट्टराई, सञ्जीब उप्रेती, कृष्ण गौतमजस्ता विद्वानले यी कविलाई चिनेर लेखे । राम्रो गरे । आजको नेपाली काव्यमा सिर्जना भएन भन्नेहरूले देशभित्रका विविध संस्कार, भाषा र चलनका पृष्ठभूमिबाट आएर नेपाली काव्य समृद्ध हुँदै गएको नदेख्नुका कारण छन् । ती चिन्तक कि त पढ्दैनन् कि त सिर्जनाका नयाँ हाँक लिन सक्तैनन् । धेरैतिरबाट सिर्जना खुलेका छन् । मेरो सानो कथासँग जोडिएको एउटा उदाहरणमात्र हो यो ।
म्याङ्लुङ्को बैसठ्ठी वर्ष पुरानो सिंहबाहिनी स्कुलबाट पढ्नेहरूको सम्मान गर्न तिनका पत्तोफाँट खोल्दै जान्छन् तोयानाथ भट्टराई प्रज्ञाप्रतिष्ठानको हलमा । प्राध्यापक जगतबहादुर केसी इतिहास खोल्दै जान्छन् । ती मेरो कथा बल्झाइदिन्छन् । छुवाछूतको बिरोधमा मैले स्कुलमा पढ्दै उठाएका जुलुसमा सहभागी भएको ती दाइ सुनाउँछन् । चक्रबहादुर विश्वकर्मा ‘शङ्कर’ लाई स्कुलबाहिर राखेर पढाएको कथा सुनाउँछन् । मेरो अभिव्यञ्जनामा एकजना महिला कविको नाम आउँछ । तिनको नाम लक्ष्मी तुम्बाहाम्फे थियो । तिनका बालाई ढापे भन्थ्यौँ तिनका खेतको नामले । सिंहबाहिनी हाइस्कुल भएपछि पढ्न आएकी पहिलो लिम्बू चेली थिइन् ती । तिनको पहिलो प्यास कविता लेख्नु थियो । ती ठाडो कविता लेख्थिन् । अर्की लिम्बू कवि मैयादेवी थाङ्देन थिइन् । मसँग एउटै कक्षामा धेरै वर्ष पढेकी साथी । लक्ष्मीले जातपातको विरोधमा उठेका जुलुसमा मलाई साथ दिएको सम्भिएँ ।
लिम्बू काल्पनिकी एक नचुँडिने लहरा हो मेरो चेतनामा । त्यो युवाहरूका सिर्जनामा मुखरित भएर यो देशको अभिव्यञ्जना भएको देख्न लागेको छु ।
