अविस्मरणीय व्यक्तित्व मोतीराम

  • by


नेपाली भाषाको श्रीवृद्धिमा मोतीराम भट्टको महत्त्वपूर्ण योगदान छ । तीस वर्षको कलिलो उमेरमा बिते पनि नेपाली साहित्यमा बहुप्रतिभाशाली व्यक्तिको रूपमा यिनको स्मरण गरिन्छ । छोटोे उमेरमा मोतीरामले नेपाली भाषाप्रति लगाएको गुन ज्यादै अतुलनीय छ । नेपाली भाषालाई छापेर विश्ववाङ्मयमा पुर्‍याउने, आदिकवि भानुभक्तको खोजी गरेर उनलाई नेपालीमाझ चिनाउने, गजललाई नेपालमा भित्र्याउने एवं नेपाली पत्रकारिताको थालनी गर्ने बहुप्रतिभाशाली व्यक्तिका रूपमा उनको नाम नेपाली साहित्य आकाशमा चम्किरहेको छ ।
पिता दयाराम भट्ट र माता रिपुमर्दिनीका एकमात्र सुपुत्रका रूपमा जन्म लिएका मोतीराम भट्टको जन्म १९२३ साल भाद्रकृष्ण औंशी अर्थात् कुशेऔंशीको दिन भएको थियो । यिनी पाँचै वर्षको हुँदा यिनका पिता काशीतर्फ लागेका हुनाले छ वर्षको उमेर हुँदा माताको साथमा यिनी पनि काशी गएका थिए । काशीमा पुगेर आठवर्षको उमेरमा व्रतबन्ध गरिएपछि तीनचार वर्षसम्म यिनले संस्कृतको अध्ययन गरे । त्यसबेलाको समयमा बनारसमा विशेषगरी पढाइ उर्दूभाषामै हुनेहुनाले पनि यिनका पिताले यिनलाई फारसी स्कुलमा भर्ना गरिदिए । फारसी भाषामा भएका कविताहरू रसपूर्ण हुनेहुनाले पनि यिनी दत्तचित्त भएर यो भाषा पढ्नथाले । फलस्वरूप साहित्यको रसास्वादन गर्नपाए यिनले ।
बनारसमा रहेका सड्ढीत मण्डलीहरूको संसर्गले यिनले सड्ढीत पनि सिके । गाउने, सितार बजाउनेे कलामा निपुण भए । त्यसबेला बनारसमा भइरहने नाटकमा कविताका सेरहरूलाई सड्ढीत हाल्नथाले । १९३७ सालमा यिनी नेपाल फर्के, पन्ध्र वर्षकै उमेरमा उनको विवाह भयो । यसपछि नेपालमै बसेर अङ्ग्रेजी र संस्कृतको अध्ययन गर्नथाले । त्यतिबेलासम्म नेपाली भाषाको त्यत्ति चलन थिएन । यिनलाई पनि नेपाली भाषाको उत्ति राम्रो ज्ञान थिएन । यसकारण आफ्नो मातृभाषामा केही गर्ने प्रेरणा उनमा जाग्यो । सानैदेखि बनारसमा बसेकाले अरू भाषाको प्रभाव बढिरहेको हुनाले नेपालीभाषामा कविता लेख्न यिनलाई साह्रै मुस्किल परेको थियो । यस्तैमा एकजना साथीको विवाहमा निम्ता आयो । उतिबेला रातभरि लगाएर विवाह गरिने भएकोले जन्तीहरूले रातभर विभिन्न नेपाली श्लोकहरू गाएर मनोरञ्जन गरे । ती श्लोकमा पुराना कविहरूका कविता र विशेषगरी भानुभक्तकृत रामायणका श्लोकहरू थिए । यो सुन्दा नेपाली भाषामै केही गर्ने अठोट लिएका मोतीराम भट्टलाई झन् यसप्रति समर्पित हुने प्रेरणा दियो ।
त्यतिबेला भानुभक्तीय रामायण मानिसहरूले आंशिकरूपमा कण्ठ गरेका हुन्थे । मोतीरामले भानुभक्तका रामायणको खोजी गर्नथाले, तर पाएनन् । बल्लबल्ल एउटा बालकाण्डसम्म फेला पारे । यसैबीच १९३८ सालमा यिनी काशीतर्फ लागे । काशी गएपछि पुनः यिनले अङ्ग्रेजी स्कुलमा भर्ना भई पढ्नथाले । तर मनमा भने मातृभाषाप्रतिको अनुराग कायमै थियो । यसैकारण पनि फुर्सदको समयमा बनारसमै पनि नेपाली दाजुभाइहरू जम्मा गरेर दिनहुँ नेपाली भाषामा कविता लेख्ने, भन्ने अभ्यास गर्न थाले । भानुभक्तीय रामायणको श्ल्ाोक रचना पदविन्यास र सरल भावहरू देखेर यिनी ज्यादै प्रेरित हुन्थे । भानुभक्तको कविताले नै उनलाई कविता लेख्नका लागि दिन प्रतिदिन प्रेरणा दिन्थ्यो । यसैक्रममा साथीहरूसँगै मिलेर मनोद्वेग प्रवाह भन्ने कविता सङ्ग्रह बनाए ।
त्यस बेलासम्म नेपाली भाषाको साहित्य छापिएकै थिएन । आफ्नो मातृभाषामा एक अक्षर पनि नछापिनु अन्य भाषामा छापिएर आएका ठूल्ठुला ग्रन्थहरू देखेर यिनलाई साह्रै बिस्मात् लाग्यो । यसैकारण एकजना साथीसँग मिलेर यिनले भारतजीवन नामक प्रेस खोले ।
त्यसबेला भारतमा करिब ४० हजार नेपाली थिए । प्रत्येकले १/१ रूपियाँ मात्र दिए पनि आफूले चाहेको जस्तो काम गर्नसक्ने विश्वास उनलाई थियो । यसैबेला उनले आफूले खोलेको प्रेसबाट नेपाली भाषाको प्रथम छापा भानुभक्तकृत रामायण बालकाण्ड छपाए । यो पुस्तक पहिलो संस्करणको रूपमा बेलायतको लाइब्रेरीमा अद्यापि छ । यसपछि पुनः भानुभक्तीय रामायणको सातैकाण्ड खोजी गरी छपाए । यी पुस्तकहरू राम्ररी बिके । उनले यसैबेला ‘गोरखा भारतजीवन’ नामक नेपाली भाषाको अखवार पनि चलाएका थिए । सोही छापाखानाबाट उनले गजेन्द्रमोक्ष कवितासङ्ग्रह, पञ्चप्रपञ्चक, स्वप्नाध्याय, आदि ग्रन्थ छपाए, तिनलाई पाठकहरूले ज्यादै रूचाएका थिए । यसबाट एकातिर उनलाई त हजारौं रूपियाँको फाइदा भयो नै, आफ्नो मात्भाषाको उन्नतिका लागि समेत ठूलो योगदान दिन सफल भए । भारतमा रहेको यिनको ख्याति सुनेर नेपालमा तत्कालीन राजगरू लोकराज पण्डितबाट १९४४ मा उनलाई झिकाइयो ।
मोतीरामको नेपाली भाषाको प्रचारका लागि काठमाडौंमा पुस्तकालय खोल्ने उद्देश्य रहेको थियो । यसैअनुरूप मामा कृष्णदेव पाँडेसँग मिलेर यिनले १९४५ सालमा ठहिटिमा ‘मोतीकृष्ण कम्पनी’ नामक पुस्तकालय खोले । यसै संस्थाबाट मातृभाषाको उन्नति गर्नुपर्छ भन्ने ध्येयले उनले विद्वान्हरूको मण्डलीसमेत बनाएर अभ्यास गराएका थिए । विसं. १९४७ सालमा दरवार हाइस्कुलमा भर्ना भई सेकेन्ड क्लासमा पढ्नथाले । यसैबेला यिनले भानुभक्तीय जीवन चरित्र लेख्न विचार गरेका थिए । आचार्यका भतिजा रामदत्तसँग भेटी पाएसम्म जानकारी लिई भानुभक्तको जीवनचरित्र तयार पारे । यस पुस्तकको प्रकाशनपछि भानुभक्तका छोरा रमानाथसँग पनि मोतीरामको भेट भएको थियो । रमानाथले दुःख पाएको देखेर श्री ३ बाट सहयोग पनि दिलाएका थिए ।
१९४८ मा बेलायतबाट आएका लर्ड खर्टले मुक्तकण्ठले मोतीरामको प्रशंसा गर्नुका साथै विभिन्न पुस्तकसमेत दिएका थिए । यसैबेला उनले कलकत्तामा गएर ‘इन्ट्रान्स’ परीक्षा दिए । सोहीबेला उनले पि्रयदर्शिका नामक नाटक तयार पारेका थिए । यसरी कलकत्तामा पढाइसमेत चालु राख्दै नेपाली साहित्यको सेवा गरी उनले तीन वर्ष बिताए । १९५२ सालमा उनलाई विषम ज्वरले हमला गर्‍यो । व्यथा घट्नुको साटो बढ्दै गएपछि नेपालीभाषामा साहित्यका लागि मरिमेट्ने मोतीको कलम चल्न छोड्यो । लगातार सातमहिना थला परी १९५३ को भाद्र कृष्ण औंशीकै दिन उनले ३० वर्षको कलिलो उमेरमा आफ्नो देहत्याग गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *