चाकडी, चुक्ली र चाप्लुसी यो सहरको वातावरणको अनौठो विशेषता हो । यी विशेषतालाई बुझेको र यसलाई व्यवहारमा उतारेको हुँदा उसले निकै उन्नति र प्रगति गरेको छ । वातावरणअनुसार चाकडी, चुक्ली र चाप्लुसी गर्न जानेको हुादा उसले सुख र चैनले बाँच्नकालागि नभइ नहुने तीनवटै चीन प्रशस्तै पाएको छ, जस्तै पद, पावर र पैसा । त्यसपछि यी तीनवटा चीजले पाउन सकिने कुराको त गन्ती नै छैन । थरीथरी गाडी र बङ्गला अनि थरीथरी सुरा र सुनदरी त उसका लागि सामान्य भइसकेका छन् ।
सहरमा बेलाबेलामा मौसम परिवर्तन भइरहन्छ । यो त प्रकेतिको नियम नै हो । सहरमा जब जब मौसम परिवर्तन हुने सङ्केत देखिन थाल्दछ, उसमा पनि परिवर्तनका लक्षणहरू देखिन थाल्दछन् । मौसममा भएको परिवर्तनअनुसार सहरमा कहिले तातो हावा चल्छ र कहिले चिसो हावा चल्छ । कहिले गर्मी हुन्छ र कहिले जाडो हुन्छ । जब यसरी मौसम परिवर्तन हुन्छ, ऊ स्वयं पनि परिवर्तन हुन थाल्दछ । उसको परिवर्तनको लक्षणको रूपमा उसको अनुहारमा ग्लानि, खिन्नता, चिन्ता र छटपटीका भाव प्रकट हुन थाल्दछन् । उसको अनुहारमा यस्तो ग्लाखि, खिन्नता, चिन्ता र छटपटी तबसम्म रहिरहन्छ, जबसम्म सहरमा तातो हावा बहिरहन्छ अथवा तातो हावाको कारण सहरका ठाउँठाउँमा आगो सक्लिरहन्छ । जबसम्म सहरमा आगो सल्किरहन्छ, तबसम्म उसको अनुहारमा ग्लानि, खिननता, चिन्ता र छटपटी कायमै रहन्छ । जब तातो हावा र पोल्ने आगोसँगसँगै सहरमा मौसम परिवर्तन हुन्छ, अनि उसले पनि आफूलाई परिवर्तन गर्छ । अनि बल्ल उसको अनुहारको त्यो ग्लानि, चिन्ता, खिन्नता र छटपटी हराउन थाल्छ । अनि क्रमशः ऊ सहरको नयाँ मौसम र नयाँ वातावरणसित अलिअलि गरेर पूर्णतः घुलमिल हुँदै जान्छ । अनि फेरि ऊ पूर्ववत् खुसी भएर ठाँटले छाती फर्काएर हिँड्न थाल्दछ ।
उसको जन्मजात स्वभावै यस्तो हो कि तातो हावा चल्यो कि ऊ चुप लागेर एक ठाउँमा बस्नै सक्दैन । तातो हावा चल्यो कि उसको शरीरभित्र ऊर्जा भरिएजस्तो लाग्न थाल्छ उसलाई । अनि तातो हावा भरिएको बेलुनजस्तै उसलाई त्यसैत्यसै कताकता उडूँउडूँ लाग्न थाल्छ । अनि मौका मिल्नेबित्तिकै तातो हावासागै ऊ पनि यताबाट उता र उताबाट यता बढहन थाल्दछ । अर्थात् जताजता त्यो तातो हावा जान्छ, ऊ पनि त्यतै त्यतै पुग्न थाल्दछ । यसरी तातो हावासँगै उड्दा उसलाई फाइदा नै हुने गरेको छ । त्यसैले मान्नै पर्छ कि मौसमअनुसार परिवर्तन हुनसक्ने उसको यो स्वभाव उसका लागि निकै फापसिद्ध भएको छ ।
संयोग नै भन्नुपर्छ, पछिल्लो पटक यो सहरमा मात्रै होइन, पूरै देशमा गर्मीको मौसम निकै समयसम्म चलिरहृयो । गर्मीको मौसमसँगसँगै तातो हावापनि धेरै दिनसम्म चलिरहृयो । देशको कुनैकुनै भागमा अत्यधिक तातो हावाको कारण छिटपुट आगो पनि सल्कियो । आगोमा परेर कैयौं घरटहराहरू जले । आगोले पोलेर धेरै मानिसहरू मरे र थुप्रै घाइते भए । नागरिक समाजको दबावपछि राज्यले आगोले पोलेर मरेका मानिसका परिवारलाई क्षतिपूर्ति दियो । कसैकसैलाई सहिद पनि घोषणा गर्यो । अनि सख्त घाइत, अङ्गभङ्ग भएका र जिन्दगीभर त्यो आगोको पीडा खपेर बाँच्न विवश भएकाहरूलाई राज्यले उपचार खर्च पनि बेहोर्ने भयो ।
सहरमा आगो सल्किरहँदा अखबारवालाहरूको व्यापार निकै फस्टायो । निकै ठूल्ठूला र आकर्षक हेडलाइनसहित रङ्गनि कलेवरमा छापिने दैनिक अखबारहरूले प्रशस्तै कमाए । यी अखबारहरूमा छापिने उत्तेजक, विभत्स, पीडादायी समाचार मानिसहरूका लागि बिहानको समयमा चिया खाँदै अखबार हातमा लिएर अखबारमा छापिएको समाचारकै विषयमा गफिएर टाइम पास गर्ने बहाना पनि बन्यो । त्यसैले दुई चार जना मरे पनि, दुई चार जनालाई आघात परे पनि, दुई चारवटा घर जले पनि, दुई चार वटा नाका बन्द भए पनि, नभई नहुने खाद्यान्न, पेट्रोल, डिजेल, ग्याँस र मट्टितेल भित्रिने राजमार्ग ठप्प भए पनि र केही मानिसहरूको जीवन निर्वाह कठिन भए पनि कसैकसैलाई भने रमाइलोसित टाइम पास गर्ने विषय र बहाना पनि बन्यो सहरहरूमा आगो सल्किएको घटना । वास्तविकतामा अलिअलि उत्तेजना थपेरै भए पनि यही मौकाको फाइदा उठाए अखबारवालाहरूले । सायद यही त हो असल व्यापार नीति!
मध्य सहरमा तातो हावा चलिरहादा र आगो सल्किरहँदा उसको मनभित्र भने ठूलो आँधीबेरी चलिरहृयो र छटपटी भइरहृयो । चिन्ताले गर्दा उसलाई निद्रा लागेन । भोक लागेन । प्यास लागेन । थकाइ पनि लागेन र उसका लागि ओछ्यान तताएर उसलाई पर्हिरहने उसकी पि्रय श्रीमतीको पनि वास्ता भएन उसलाई । ऊ दिनराज मनमा चिन्ता लिएर यताउता भौतारिन थाल्यो । ऊ आफ्नै मनको छटपटीले छटपटिँदै र आफ्नै मनको आँधीबेरीमा हुत्तिँदै र बतासिँदै एउटा सुरक्षित नयाँ गन्तव्यको खोजीमा कताकता दौडिरहृयो ।
मौसम परिवर्तनको यस्तो संघारमा आफ्ना लागि एउटा सुरक्षित र सुनिश्चित गन्तव्य खोज्नु उसका लागि निकै कठिन कार्य बन्ने गरेको छ, जुन गन्तव्यले उसका लागि सदाझैं पद, पावर र पैसा दिलाओस् । अनि नयाँ नयाँ कार र बङ्गला खरिद गर्ने क्षमता दिलाओस् र नयाा नयाँ सुरा र सुन्दरीसँग समय व्यतित गर्ने सुनौलो अवसर देओस्. । हो, सहरको हरेक मौसम परिवर्तनसँगसँगै यस्तो अवसर दिने सुरक्षित र सुनिश्चित गन्तव्यको खोजीमा ऊ निकै व्यग्रतापूर्वक भौतारिने गर्दछ । त्यो गन्तव्य प्राप्तिका लागि ऊ जे पनि गर्न तयार हुन्छ र अन्ततोगत्वा उसले यस्तो सुरक्षित गन्तव्य प्राप्त गर्ने गर्दछ ।
एउटा भन्नैपर्ने कुरा के हो भने सहरमा हुने हरेक मौसम रिवर्तनसँगसँगै आफ्ना लागि फाइदाजनक एउटा सुरक्षित गन्तव्य खोज्ने खुबी उससित प्रशस्तै छ र यो खुबीलाई उसले निरन्तरता दिँदै आएको छ । यसका लागि ऊ बुझ पचाउनमात्रै होइन, लाज पचाउन पनि तयार छ । मान, सम्मान र इमान बेच्न पनि तयार छ । अनि मुखुण्डाभित्र आफ्नो अनुहार लुकाउन पनि तया छ । हरेक नयाा मौसम परिवर्तनसँगै एउटा नयाँ मुखुण्डो पहिरिन उसले जानेको छ र अहिलेसम्म उसले यस्तै नै गर्दै आइरहेको छ । उसको यही गुणले गर्दा ऊ हरेक पटक नयाँ परिवर्तन सँगसागै आफूलाई परिवर्तन गर्दछ र आफ्ना लागि एउटा सुरक्षित र सुनिश्चित गन्तव्यमा पुग्न ऊ सक्षम हुँदै आएको छ र त्यो गन्तव्यमा पुगेर ऊ पद, पावर र पैसाको बलले कार, बङ्गला अनि सुरा र सुन्दरीको साथमा खुसी हुँदै आएको छ, रमाउँदै आएको छ ।
हेर्दाहेर्दै फेरि गर्मी मौसम पनि आयो अर्थात सहरमा फेरि एउटा अर्को परिवर्तनको दिन आइपुग्ो । फेरि एकपटक तातो हावा बहन थाल्यो । आफ्नो जन्तजात स्वभावअनुसार उसले फेरि पनि त्यो तातो हावासँगसँगै बहने निर्णय गर्यो । अनि फेरि एकपटक मुखुण्डोभित्र आफ्नो अनुहार लकाएर ऊ त्यो तातो हावाले पहिल्याएको परिवर्तनको दिशातिर उन्मुख भयो ।
यतिखेर त्यही मुखुण्डो पहिरेको मान्छे मेरोसामु उभिएर ङिच्च कालो दाँत देखाएर दुई हात जोडेर उभिएको छ । यतिखेर उसको त्यो नक्कली अनुहारमा परिवर्तनका लागि उसले गरेका काला कर्तुतहरूको प्रतिबिम्ब म प्रस्टसित देखिरहेछु । तर उसले मेरा निम्ति जोडेको हातको जवाफ म कसरी दिऊँ त्यसका बारेमा भने मैले केही सोच्नै भ्याएको छैन ।
शनिबार, गोरखापत्र
भदौ २०, २०६६
