Skip to content

निजत्त्व पाठ र महाकवि

  • by

महाकवि लक्ष्म्ाीप्रसाद देवकोटाको शतवाषिर्कीमा विशेषाङ्क निकाल्न धेरै पत्रिका जुर्मुराएका स्पन्दन मोबाइलमा बज्छन् अनि बिजुलीपत्रमा निस्किन्छन् आजकल । सुखद अनुभव हो । कताकता लाग्छ अब फेरि देवकोटा विषयमा तिनै समालोचनाका वृत्तहरूको पुनरावृत्ति पढिने हो कि । कविसँग तिनै पैसा सिध्दिएका कुरा, कविका रुचिका कुरा, कविको पेन्सिल ठुटो भएर पनि कागतमा धसिएको कुरा, कविले जाडोमा सिरक ओडेर बसेका कुरा अनि तीन महिना र दस दिनमा महाकाव्य लेखिसकेका कुरा, कविले रोमानी शैलीमा कविता लेखेका कुरा, कुनै खास तिथि र मितिमा कविको काव्यधाराको भङ्गालो उतातिर लागेका कुरा फेरि अनेकौँपटक पढिने हो कि भनेर झल्यास्स चेतना खुल्छ । राम्रा कविहरूका समालोचना एउटा समयका समीक्षकहरूले मानक बनाएपछि त्यही परिवृत्तमा धेरै कालसम्म बस्छन् । सबै साहित्यिक परम्परामा त्यस्तो भएको देखिएको छ । अनि गम्भीर भएर विचार गर्छु मैले कवि देवकोटाको विषयमा नयाँ कुरा के लेख्न सक्छु त ? पाठगत, साहित्य र संस्कृति अध्ययनका नयाँ विश्वजनिन आधारहरू, साहित्य हेर्ने लेखकमुखी वा लेखक निरपेक्ष सिद्धान्तहरू, त्यत्रा राष्ट्रको स्पन्दन बोकेका कविका काव्य हेर्ने नवऐतिहासिक आधारहरू, जीवन समयको प्रवाहमा आरोपित गरेका अनि मुक्ति र विद्रोहका सिर्जनशील चेतना भएका ती कविका काव्य हेर्ने राजनीतिक चिन्तनका आधारहरू मैले के तयार गरेको छु ? झसङ्ग हुन्छु । समय निकै बितेछ । मैले यी आधारहरूमाथि कुनै खास काम गरेको रहेनछु ।

निकै वर्षअघि कविको जन्मदिनमा एथेन्सको एक्रोपोलिसमाथि बसेर एउटा उनलाई चिठी लेखेको थिएँ । गोविन्द भट्टराईले सम्पादन गरेको मेरो ‘उत्तरवर्ती कालखण्ड’ किताबमा त्यो पढेर एउटा टाढाका विदेशी मित्र तर लन्डन विश्वविद्यालयका नेपालीका प्राध्यापक माइकल हटले भर्खरै लेखे ‘अभिदाइ, म त्यो पढेर रोएँ ।’ म भावविभोर भएँ । मपछि त्यो निबन्धले रुवाएका ती दोस्रा मानिस थिए । त्यो निबन्धमा फर्केर गएँ । त्यसमा कवि देवकोटाको एक युवकमाथिको प्रभाव र तिनको लेखन र जीवनले बनाएको एक सिर्जनाको कलेवर रहेछ । शतवाषिर्कीका पत्रिकाहरू चलाउने भाइहरूलाई भने म समीक्षा लेख्न तयार रहेनछु । फेरि निजत्व र काव्यिक पाठका सन्दर्भतिर फर्किन्छु ।
‘पराले कटेरो सुनौला हबेली/फुले फूल फुटकर कवित्व प्रभा ली/सुनेभै“m कतै लाग्छ कल्लोल भर्भर/ निदाएर नाला गरेतुल्य बर्बर/अनि कान थापे सुनिने मनोहर/मृदु स्वर जूनैको सरि दिब्य निर्झर ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शरद’ भन्ने कविता स्कुलमा पढेँ । कण्ठै गाउन सक्छु । तर मूलपाठ नभेटेकाले त्यो युवकले कविले दिएको वेग, गति र ज्योतिको उपहार कतिसम्म मिलाएर गाउँदै हिँड्यो लेखाजोखा गर्न सकेको छैन । कविले शरदमा देखेको यो महानगर जुन बेला सरल र सहज थियो त्यो बेला यो कविता गाउँमा लेखेकोभन्दा भिन्न थिएन । म आईएको विद्यार्थी हुँदा आएको काठमाडौंमा त्यति परिवर्तन भएका थिएनन् भने कविले उजागर गरेको यो सहर त कति सरल थियो होला त्यो बेला । नयाँ सडकको आधुनिक नगरका पथहरूबाट एक मिनट भित्रपट्ट िलाग्दा बिहानको कलिलो घाममा किसानका टुँडालमा लसुन, साग र खुर्सानीका झुप्पा सुकेकै हुन्थे । वृद्ध मानिसहरू परम्परागत भोटो र कछाडमा जाडो याममा तमाखु चुसेर बसेको देखेको थिएँ । जात्राहरू तिनै हुन् । तिनमा राजनीतिका व्याख्या जोडिएका छन् । अहिले योजनाहीन वास्तुसंरचनामा बनिएका घरहरूले निस्सासिएको कान्तिपुरमा नाला बर्बर गरेको सुनिदैन । कविको घरबाट धोबीखोला नजिकै भएकाले कतै शरदको स्वात्त आउने भेलको आवाज सुनिन्थ्यो कि । म जान्दिनँ । तर कविले जूनको निर्झर सुने त्यो रात, कुनै रात । एउटा जीवन, जगत र प्रकृतिको एकाकार भएको चेतनालाई भाषाले दिएको ठाउँभरि कविले लेखे । हामी त्यो कविता पढेर अहिले पनि शक्ति ग्रहण गर्छौं ।

कविलाई भेट्ने अवसर नपाएको छँदो मैले बीस सालमा एकजना साहित्यकारको मद्दतले छेवैमा गएर कविको मैतिदेवीको घर हेरेँ । तेरथुमको साबला गाउँमा तिनको मृत्युको समाचार सुन्दा यथार्थिक र आदिभौतिक चिन्ताले बेस्सरी रोएको थिएँ । कविको घर देख्ता भने खुसीले रोएँ । त्यो घरमा गएर माताजी वा कविकी श्रीमती मनदेवीसँग भेट्ने ठूलो इच्छा भयो । साहस गर्न सकिनँ । तर केही वर्ष पहिलेमात्र बिन्दुले एक्रस् पत्रिकामा लेख्नका निम्ति उहाँको अन्तर्वार्ता गरेको मौकामा शालीन, शान्त  माताजीको अनुहार र अभिव्यक्तिमा कविको सबभन्दा आसन्न चित्र भेटेको थिएँ । समालोचकहरूका कवचले छेकेको कविको जीवन्त मानवचित्र त्यहाँ भेटेँ । उहाँको मुखबाट निस्केका इतिहासहरू अनि घटना वर्णनले आफू समयहीन भएर कविलाई समयभित्र बुझेको अनुभव गरेँ । कविको जीवन एउटा गतिले बनिएको थियो । कविको चेतना बिहानको शरदको घामजस्तो उनका कविता पढ्नेका संघारमा पोखिन्थ्यो, अहिले पनि पोखिन्छ । कविलाई राजनीति गर्ने मित्रहरूले बनारसमा झन्झट दिए । माताजीले लिएर आउनुभयो । राज्य र राजनीति अनि तीसँग गरिएका अस्तित्वजनिन क्षणिक सम्झौताहरूले कविको मुक्ति चेतना र काव्यिक सामथ्र्यमा कुनै असर पारेन । आगो, पानी, जून, जनाबर, फूल, खोला, कलिला मुना, बालबालिका, किसान, गरिब, वर्तमान र इतिहासका शक्तिधारी अनि मिथक र सबैले रचना गरेका परिवेशमा कविले कविता लेखे  ।

एउटा समानान्तर ऐतिहासिकी अहिले देख्न सकिन्छ । कविले सात सालपछि देखेको र भोगेको इतिहासका गतिहरू आजको परिवर्तनशील नेपालमा फेरि अर्को रूपमा उजागर भएका छन् । देवकोटाको काव्य नै सामन्तकालीन समाजको संरचनामाथिको विद्रोह हो । देवकोटाका त्यस समयका शासक अनि प्रशासनसँगका असहज सम्बन्ध अनि समकालीन लेखकहरूका संवेदना बुभmने आधारहरू अहिले हामीसँग निकै छन् । पागलपन र शक्तिको खेल खेल्ने राज्य र समाजका रूपकहरू देवकोटाको काव्यमा अहिले मिसेल फुको र अरू ‘क्रिटिकल् थ्योरी’ पढ्ने युवाहरूले सजिलै भेट्छन् । उनीहरूसँग बसेर छलफल गर्ने इच्छा छ । थाहा पाउँछु । देवकोटाका काव्यको फराकिलो वृत्त छ । उनको काव्य स्थानीय संचेतना, वातावरणप्रति संवेदनशील र मुक्त मानिसका चेतनाको एक त्रिवेणी हो । प्रायशः उनका कविताहरूमा त्यो त्रिवेणी परेको हुन्छ ।

काठमाडौंको त्यो जाडो, सफा र गीतजस्तो बिहानमा केही कहिल्यै नगरेको काम गरूँ, कसैलाई भेटूँ जसले मलाई जीवनका केही नयाँ क्षितिज खोलिदेओस्जस्तो लागिरह्यो । सहृदयी मित्रले भने, ‘भाइ, म आफू जान्नँ तर तिमीलाई नाटककार बालकृष्ण समको घर देखाइदिन्छु ।’ धन्य भनेर तिनको पछि लागेँ । समलाई भेट्नु अनि तिनबाट महाकविको विषयमा पनि सुन्नु । के यस्तो अवसर आउला र ? घट्टेकुलाबाट ज्ञानेश्वरका उचाइतिर तिनले लगे । माथि डाँडामा पुग्दा चिसो स्याँठ चल्यो । कविको घरपरिवेश एकपटक माथिबाट खुसीले हेरेँ । ज्ञानेश्वरमा समको घरपरिसरसम्म ती मित्रले पुर्‍याइदिए । पर ढोकैसम्म पुर्‍याएर लौ कोसिस गर भनेर ती फर्के । समको घर एउटा विशाल निर्मित र रूखलतादिले ढाकेको थलो रहेछ । कसैले नचिनाई तिनले भेट्नेछैनन् मलाई लाग्यो । ‘यो कुनै बास हो नाथ मेरो जीवनमार्गको/तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि’ ताम्रपातामा लेखेको टिपेँ । गुरुकुलमा अलिक भिन्न रूपमा त्यो अहिले दखिन्छ । भोलिपल्ट इटहरीका साथी रघुकुमार चौधरीलाई लिएर म सरासर गएँ । एक हँसिलो अनुहार भएका, अनौठो सफा पहिरन लाएका ती नाटककारले उनकै जस्ता दुईवटा आँखा भएको ढोकाबाहिरै आएर हामी बाहिरका फुच्चे विद्यार्थीलाई समातेर भित्र लगे । एउटा अर्का पढेका ठूला लेखकलाई भेटेँ । तिनको कलावस्तु र चित्रकलाले ढाकेको कोठामा ती कहिले देवकोटामाथि बोल्न थाले पत्तो पाइनँ । सम्झना छन् । ‘बिहान’ भन्ने पत्रिकामा त्यही समयमा प्रकाशित गरेँ, ‘समजीसँग एक बिहान’ ।

काठमाडौं, भाद्र २७ २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *