Skip to content

नित्सेले भने- “ईश्वरको मृत्यु भयो ।” ईश्वरको लासको छेउमा टुक्रुक्क बसेर उनले यो कुरो भनेका थिएनन् । बरु मानवसभ्यता र आधुनिक चेतनाको भौतिकस्तर बढ्दै गएपछि मानवजीवन र जगतको गतिविधिलाई हेर्दै भनेका थिए । ईश्वरमा विश्वास गर्दै आफ्नो क्षमतामाथि सधैं निम्न मूल्यांकन गर्ने परम्पराबाट मानिसहरू मुक्त हुनथालेपछि र आफ्नै बुद्धि, मिहेनतबाट सफलताका सिँढी चढ्न थालेपछि ईश्वरप्रतिको निर्भरता कम हुँदै गइरहेको देखेका थिए, तिनले ।

अलिपछि आएर नित्सेकै भनाइलाई पछ्याउँदै रोलाँ बार्थले भने, “लेखकको मृत्यु भयो ।” उनले पनि भकाभक दिनैपिच्छे मर्दै गएका लेखकहरूलाई देखेर यो कुरा भनेका थिएनन् । बरु कृति प्रकाशन भइसकेपछि लेखकको भन्दा कृतिको चर्चा हुने, कृतिभित्रका गुणदोषहरू लेखकको पहुँच र जिम्मेदारीबाट टाढा पुग्ने, प्रकाशित कृति लेखकको संशोधन क्षेत्रबाट टाढा पुगिसक्ने र लेखकभन्दा कृतिले वस्तुताको रूप धारण गर्ने देखेर भनेका थिए । लेखकको मृत्युको घोषणा आएपछि एकपल्ट साहित्यिक क्षेत्रमा ठूलै हलचल मच्चिएको थियो । उत्तरआधुनिक चेतनाभित्र लेखकको मृत्युको सन्देश एक सशक्त सूचना बन्यो ।

आज “विचारको पनि मृत्यु भएको कुरा भन्ने बेला हुनलागेकोे छ ।” मानिसले कैयौं शताब्दी खर्च गरेर विचारको स्थापना गरेको थियो । दृष्टिकोण र आस्थाकेन्द्रहरू निर्माण गरेको थियो । सोचाइको शृङखला निर्माण गरेको थियो । कुनै पनि विषयलाई आकार दिन त्यसको औचित्यताको फर्मा निर्माण गरेको थियो । विकास र सभ्यताको यस युगसम्म आइपुग्न प्रत्येक क्षेत्रमा कैयौं खाले वैचारिक रुढताहरू निर्माण गरिएका थिए । सामाजिक, राजनीतिक, धार्मिक अनेक विचारहरूले परम्परागत रूप धारण गरिसकेका थिए । विचार एउटा बाटो बनिसकेको थियो, जसमाथि चढेर समाज र राष्ट्र कतै यात्रा गथ्र्यो । आउँदो पुस्ता तिनै विचारहरूको सामान्य संशोधित तहमा टेकेर अघि बढ्ने गर्थे ।

ठूलठूला सामाजिक तथा राजनीतिक परिवर्तनहरू विचारकै माध्यमबाट हुने गरेका थिए । कुनै स्पष्ट दृष्टिकोणले परिवर्तनलाई सम्बोधन गथ्र्यो । संसारभरि राजशाहीको शासन चलिरहेको बेला, सामन्तवादी संस्कृतिले सत्ता सञ्चालन गरिरहेका बेला, मानव बेचबिखनले कानुनी वैधता पाइरहेका बेला शक्तिशाली विचारको पहाड उठाएका थिए, कार्लमार्क्सले । मार्क्सवादको वैचारिक आन्दोलन प्रत्यक्ष जीवनसँग जोडिन पुगेपछि त्यो सामाजिक तथा राजनीतिक परिवर्तनको संवाहक बनेको थियो । संसारभरि सशक्त विद्रोह र परिवर्तनहरू आएका थिए । मार्क्सवादी चिन्तन सक्रिय भएपछि त्यसको समानान्तरमा अरू दर्शन र चिन्तनहरू सशक्त हुँदै आउन थाले । प्लेटोदेखि हेगेलसम्मका कैयौं विचारहरूको सम्पादन गर्दै मार्क्सले देखेको द्वन्द्ववाद धेरै प्रयोगात्मक र ताथ्यिक बन्यो । वैज्ञानिक समाजवादको राजनीतिक अवधारणाले विश्वकै राज्य सञ्चालनको अल्छीलाग्दो मनोगत परम्पराको अन्त्य गर्यो । प्रत्येक व्यक्ति राज्यसत्ता सञ्चालनको उत्तराधिकारी बन्ने दृष्टिकोणको स्थापना हुन पुग्यो । राज्यको प्रत्येक वस्तुमा प्रत्येक नागरिकको स्वामित्वबोधको चेतना स्थापना हुन थाल्यो । सर्वहारा वर्गको अधिनायकत्वको अवधारणाले मार्क्सवादी दृष्टिकोणसँग फरक मतहरू जमजमाउन थाले । प्रत्येक व्यक्तिको राज्यमाथिको वैयक्तिक अधिकारको सत्ताको खोजी हुन थाल्यो । राजसत्ताहरू ढल्दै जाँदा जनसत्तामा व्यक्तिको हैसियतको खोजी हुन थाल्यो । यस्ता अनेक वैचारिक मन्थनहरू हुनथाले । समाजमा चेतनाको स्तर अत्यन्त छोटो समयमा धेरै अग्लिएर गयो ।

वैचारिक आधारमा मानवविश्व विभाजित हुन थाल्यो । समाजभित्र वैचारिक बहस र चिन्तनहरूले धेरै समय खान थाले । द्वन्द्वको प्रत्यक्ष उपस्थिति देखापर्न थाल्यो । सशस्त्र विद्रोहहरू जनधनको क्षतिको कारक बने । राज्यसत्ता कब्जा गर्ने नयाँ शैलीहरू विकसित हुनथाले । राजनीति, समाजशास्त्र, मनोविज्ञान अनेकतिरबाट समाज र मानवसभ्यतालाई हेर्ने आधुनिक शैली निर्माण हुन थाल्यो । मार्क्सवादी अधिनायकत्वले तर मानिसको सार्वभौम अधिकार फेरि कुण्ठित गर्यो, राजशाहीहरूबाट मुक्त भएकाहरू अधिनायकवादीहरूका कब्जामा पुग्न थाले । लामो समयसम्म सामन्तहरूका अधीनमा बाँधिएको समाज त्यसबाट मुक्त हुँदा एउटा अर्को वर्गीय अधिनायकवादी घेरामा पसिसकेको थियो । मुक्तिको चेतना बन्धनको कसिलो डोरी बन्यो । सामन्ती बन्धनबाट मुक्तिको युद्ध लडियो, तर फेरि पनि अर्को कुनै रुढ कित्ताको अधीनमा पुर्याउने संस्कृतिको स्थापना हुन खोज्यो ।

विश्व वैचारिक रूपमा दुई धुरीमा विभाजित भयो । साम्यवादी र पुँजीवादी धारमा विश्वचेतना विभक्त भयो । सामरिक सम्बन्ध राजनीतिक बोध, आर्थिक संरचना सबै कुरामा धुरीको स्थापना भयो । मानिसभित्र विचारले ठूलो सत्ताको स्थापना गर्यो । सोच्ने शैली अर्कै भयो । यिनै वैचारिक आधारलाई टेकेर अनेकौं उपचिन्तनहरू सक्रिय हुनथाले । साहित्य, कला, संस्कृति अर्थतन्त्र, समाजशास्त्र आदि अनेक क्षेत्रतिर यो फैलिँदै गयो । जताजता गए पनि बोध र चेतका माध्यमले मानिसहरू कुनै आधारभूत आस्थाका बन्दी बनिसकेका थिए ।

दोस्रो विश्वयुद्धको मानवसंघारले सभ्यताको कुरा गरिरहनेहरू निराश भए । सशस्त्र युद्धको कहालीलाग्दो परिणामपछि वैचारिक धरातलमा उथलपुथल आउन थाल्यो । जीवनमा देखापरेको संकटपूर्ण स्थितिले अस्तित्ववाद र विसंगतिवादको चेतना आयो । जीवनलाई एउटा स्थिर दृष्टिकोणबाट विचलनतिर बग्न लागेको देखियो । विश्व राजनीतिमै ठूलठूला परिवर्तनहरू आए । राज्य विलयन र विघटनहरू सँगसँगै हुनथाले । मार्क्सवादको राजनीतिक सत्तामा पनि हलचलहरू देखापर्न थाले । साम्यवादी संसारमा शिथिलता देखापर्न थाल्यो र पुँजीवादी युगको पुनः उदय हुन थाल्यो ।

सन् ६० पछि संसारभरि वैचारिक उथलपुथलहरू देखापरे । एकातिर चीन तथा पूर्वी युरोपका देशहरूमा स्थापना हुँदै गएको नवसाम्यवाद र अर्कोतिर अमेरिकी पुँजीवादी घेरामा समेटिएका जापान, बेलायत आदि मुलुकहरूमा देखापरेको आर्थिक क्रान्तिले विश्वलाई नयाँ मञ्चमा उभ्याउन पुग्यो । खुला अर्थतन्त्रको पुँजीवादी-चुनौती बन्द अर्थतन्त्री साम्यवादीहरूका लागि कठोर बन्यो । दोस्रो विश्वयुद्धपछि जर्मनीको बर्लिनमा लागेको पर्खाल बीसौं शताब्दीको विश्व राजनीतिको सबैभन्दा अनौठो दृश्य थियो ।

आधुनिकतावादले विचारको स्थापना गरेको थियो । हरेक कुराका पछि स्पष्ट विचार र दृष्टिकोणहरू हुन्थे । परिभाषाले बाँधिएको हुन्थ्यो, सबै कुरा । सिद्धान्त र सूत्रमा आबद्ध थियो, जीवनचक्र । कुनै पनि कुराको एउटा सूत्र समातेपछि त्यसलाई बुझ्न र चिन्न जहिले सजिलो थियो । स्पष्टसँग अलग-अलग देखिन्थे, सबै कुराहरू । धर्म, संस्कृति, भाषा, पोसाक सबै कुराहरू अलग-अलग चिनिन्थे ।

तर सन् ६० पछि विस्तारै वस्तुको स्वतन्त्र सत्ता धुमिल हुँदै जान थाल्यो । विचार, कला, दृष्टिकोण कुनै पनि अलग देखिन छोडे । तिनीहरूमा अरू-अरू कुराहरू मिसिएका जस्ता देखिन थाले । एक्लै अलग्गै आफ्नो निजी पहिचानमा कुनै चिज पनि देखिन छोडयो । झलकहरू आउन थाले, किसिम-किसिमका । विश्वभरि नै एउटा विचार, दृष्टिकोण र चेतको सत्ता विघटित हुँदै गयो । अब मानिएका र बानी परेका कैयौं कुराहरू विसर्जन हुनथाले । स्थिर विचार आदर्श र मान्यताहरू भत्किन थाले । परम्पराजस्तै भएका ठूलठूला राजनीतिक सिद्धान्त र दर्शनहरू पनि कमजोर हुँदै गए । त्यसैका निम्ति कैयौं मान्छे मरे, तर फेरि पनि त्यसले आफूलाई उभ्याउन नसक्ने हुन थाल्यो । जब मार्क्सवादी दृष्टिकोणबाट स्थापित भएका सोभियत रूस तथा पूर्वी युरोपका मुलुकहरूबाट साम्यवादी सत्ता ढल्दै गयो, विश्वमा शीतयुद्धको अन्त्य र पुँजीवादी सत्ताको एकल धुरी सशक्त भएर आयो ।

आज विश्वमै विचारको अन्त्य भइरहेको छ । अब मानिस कुनै एउटा निश्चित रुढ विचारको सूत्रमा बाँधिन सक्दैन । कैयौं प्रकारका वैचारिक ‘चिप्स’हरूले सम्प्रेषित छ, आजको मान्छे । उसको आस्थाको रुढ उपस्थिति पनि विखण्डित छ । मानिसले आज आफ्नो वैचारिकताको सुरक्षार्थ लडाइँ लड्न छोडिसक्यो ।

हामी विचारको मृत्युको सानो उदाहरण आफ्नै देशभित्र हेर्न सक्छौं ।

वर्षौंदेखि प्रजातन्त्र, समाजवाद, जनवाद आदि अनेक दृष्टिकोणहरूको पक्षमा लडेर आइरहेका राजनीतिक शक्तिहरूले लामो संघर्षपछि पुरानो सत्तालाई परास्त गरी नयाँ सत्ताको स्थापना गर्न सफल भए । खासगरी प्रजातान्त्रिक समाजवादी धारको नेपाली कांग्रेस र साम्यवादी धारका वामपन्थी शक्तिहरूको कहिले सामूहिक र कहिले पृथक संघर्षको परिणाम निरंकुश राजसत्ता ढल्न पुग्यो । सबैले उत्सव मनाए । आ-आफ्ना विचार र दृष्टिकोणको उल्लेख गरे, भाषण गरे, ठूलठूला ग्रन्थहरू लेखे । तिनै विचारहरूलाई बुझेर जनताले आन्दोलन गरेको भनी प्रचार पनि गरे । तर आफ्नो अनुहारको विजयको रङ राम्ररी पखाल्न पनि नपाउँदै ती राजनीतिक शक्तिहरूबीच अन्तरद्वन्द्व, विघटन तथा एकअर्काका विचारमाथि आक्रमण हुन थाल्यो ।

पार्टीय अनुशासन र वैचारिक आदर्शबाट विचलित राजनीतिकर्मीहरू आफूआफैं अन्योलग्रस्त अवस्थामा छन् । हिजो हिँडेर आएको बाटो, हिजो आफैंले बोलेको अभिव्यक्ति, आफैंले पनि कल्पना गरेको संसार सबै कुरा भ्रमपूर्ण देख्न लागिरहेछन् । आज प्रत्येक मान्छे आफ्नो पूर्वमान्यता र विश्वासबाट विचलित छ । लेखमा, भाषणमा र नारामा पुरानै कुरा दोहोर्याइरहे पनि व्यवहारमा अब ऊ- ‘त्यो’ छैन । संशोधित वा विघटित अवस्थामा ऊ छरपस्टिएको छ । उसको वैचारिक अडान कमजोर भएको छ । विचारले जीवनको यथार्थलाई सम्बोधन गर्न छोडयो । वैचारिक रुढताबाट मुक्तिका ‘स्वर’हरू गुञ्जिँदै गर्दा मानिस थाहै नपाई अव्यवस्थित मैदानमा पछारिन पुगेको छ ।

नेपालको सन्दर्भमा आधा शताब्दीदेखि लड्दै आएको नेपाली कांग्रेस पार्टी र त्यसको वैचारिक धरातल, जसमा टेकेर आजसम्म हजारौं योद्धाहरूले आफ्नो जीवनलाई समर्पण गरे, त्यस पार्टीले आफ्नो स्थापनाकालको घोषणालाई आउँदा-आउँदै बाटोमा कहाँ खसायो, कहाँ । प्रजातान्त्रिक समाजवादको बाटो सत्तामा पुगेपछि कहिले मेटियो, कहिले । सत्तामोह र लिप्सामा फँसेको नेतृत्व पार्टीको आदर्शबाट आफैं खुइलिँदै गयो र आखिरी दुई टुक्रा भयो । पार्टी फुट्दै विचार मर्ने होइन, तर वैचारिक मतभेदले त्यो पार्टी फुटेको थिएन । सत्ताद्वन्द्वको परिणाम थियो । पार्टीको वैचारिक अडानलाई त्यागी वैयक्तिक ऊर्जा संकलनको परिणाम थियो । विचारविहीन द्वन्द्वको परिणाम- फुटेका दुवै पार्टीहरू आज फेरि जुटे पनि त्यो विचार र आदर्श फर्किनसकेको छैन । नेपाली कांग्रेसको कुनै कार्यकर्तालाई “तिमी किन कांग्रेस हौ ?” भनी प्रश्न गरे उसले आफू कांग्रेस हुनुको कुनै उत्तर दिन सक्दैन । दिइहाले- म कम्युनिष्ट र पञ्च हुइन, त्यसैले कांग्रेस भन्ला ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी नेतृत्व महत्त्वाकांक्षाले पटक-पटक टुक्रिँदै र जुट्दै गरिरह्यो । मार्क्सवादको सैद्धान्तिक पातलो आवरण ओढेर आफैंभित्र अहम्को विवादले ग्रस्त भइरहे । दर्जनौं टुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरू वैचारिक रूपले एकठाउँमा संगठित हुन कहिल्यै नसक्ने र मार्क्सवादको आत्मपरक व्याख्या गरी अलग हुने दीर्घ संस्कृतिका संवाहक भएका छन् । कम्युनिष्ट पार्टीहरूमा जुट्नेभन्दा फुट्ने सम्भावना जहिले पनि प्रबल रहन्छ । तर्क र बहसमा विश्वास गर्ने यी पार्टीहरू हार्न नचाहने अहम्का कारण फुट्छन् । छुट्टै, अलग्गै कुनै विशिष्ट वैचारिक मतभेद नभएर पनि उनीहरू फुट्छन् । वैचारिक अन्तरविरोधभन्दा पनि व्यक्तिगत महत्त्वाकांक्षाहरूले निरन्तर विभाजन हुने यी दलहरूभित्र विस्तारै वैचारिक विचलनका डरलाग्दा नमुना देखिन थाले ।

जनआन्दोलन- २ पछाडि देशभित्र भाषिक, जातिक, क्षेत्रीय आदि नाराका साथ देखापरेका समूह र विद्रोहहरूले वैचारिक आस्थाको सीमामाथि अतिक्रमण गरेको छ । हिजोसम्म विभिन्न दलका भ्रातृ संगठनमा आबद्ध देखिएकाहरू ती दलहरूको नियन्त्रणबाट बाहिर पुगे । दलहरूले आफ्नो पकडमा राख्न सकेनन् । बरु दलहरू नै उनीहरूको नाराको पछि लागे र आफ्नो ऐतिहासिक अडान त्यागेर घर न घाट हुनथाले ।

संसारका मजदुरहरू एक हौं, राज्यको सीमाहीन संसारको कल्पना आदि सबै बिर्सेर वामपन्थी दलहरू जाति, भाषा, क्षेत्र, धर्म, संस्कृति, रङ्ग, नाक, भूगोल आदिको विभाजनको नाराका अगुवा हुन खोजे । वर्गीय चेतनालाई स्थगित गरी जातीय नाराका पछि कुद्न थाले । समाजवाद, प्रजातन्त्र समानता, राष्ट्रियताजस्ता मान्यतालाई आदर्श ठान्ने नेपाली कांग्रेसहरू चुनावमा हारिने डरले जुन-जुन क्षेत्रमा जस्ता नारा चल्न थाले, तिनै नाराका अघि आफ्ना झण्डाहरू फर्फराउन पुगे । न वी.पी.को आदर्श काम लाग्यो, न मार्क्सको विचार । असारको भेलमा जे पनि बगेझैं पार्टीहरू सस्तो लोकपि्रयताका लागि विचार र दृष्टिकोणलाई बिर्सेर अघि बढे ।

नेपाली राजनीतिमा विचारको मृत्यु भइरहेको छ । राजनीतिमा विचार मरेपछि समाजका सबै क्षेत्र जहाँ-तहाँ विचार पसेको छ- सबैतिर त्यसको प्रभाव पर्नु स्वाभाविक छ । विचारको मृत्यु सबैभन्दा डरलाग्दो समयको संकेत हो । विचारले बाँधिएको समाज त्यसबाट फुत्केपछि फेरि केले बाँधेर अनुशासित गर्ने ? भाषा, धर्म, जाति, संस्कृति भन्ने कुरा छुट्टाछुट्टै टुक्रा कुरा हुन् । यीबाट सिंगो समाज बाँधिन सक्दैन । सिंगै समाज र राष्ट्रको एउटै गौरवमय बन्धन भनेको विचार हो । तर यो मरिरहेको हेरेर किन रमाइरहेछन्, मानिसहरू । विचारको मृत्युमा किन भोज खाइरहेछन्, मानिसहरू । साँच्चै विचारको समवेदनशीलता मरेको दिन हामीसँग हाम्रो आफ्नो भन्नु केही पनि हुँदैन, मात्र- दासता बाँकी रहन्छ, हामीसँग । अर्काको करिया बनिसकेका हुन्छौं ।

आश्विन ३, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *