महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम क्षणमा भनेका थिए-‘मुनामदन बाहेक मेरा अरू सबै सिर्जनाहरू जलाइदिनु ।’ सिर्जनाहरू मध्येबाट किन मुनामदनलाई मात्र माया गरेका होलान् त ? उनलाई थाहा हुनुपर्छ, कृति कालजयी हुनेछ र यसको महत्त्व युगयुगसम्म पनि उत्तिकै रहनेछ । देवकोटा बाँचिरहेको भए आज उनी सय वर्षका हुने थिए । साहित्यिक फाँटले देवकोटा सतवाषिर्की मनाइरहेछ । वि.सं. १९९२ मा प्रकाशित मुनामदन खण्डकाव्य अहिले चौहत्तर वर्षको भयो, तर त्यसको क्रेज अहिले पनि उस्तै छ । पाठकहरूको संख्यामै कमी आएको छैन, न त्यसभित्रको कथावस्तु- जुन देवकोटाले तत्कालीन देशको गरिबी र गरिबीको कारण मदनजस्ता युवाहरूले विदेशिनुपरेको यथार्थमा नै परिवर्तन आएको छ ।

ऋणको भारले थिचिँदै गएपछि गरिबीबाट मुक्ति पाउने आसामा मदनले ल्हासाको सुनको सपना देख्न थाल्छ । अनि साहूको ऋण तिर्न, बूढी भएकी आमाको ‘पाटी-पौवा’ बनाउने सपना पूरा गर्न र आफ्नी प्यारी मुनाको हातमा सुनको बाला लगाइदिने चाहना पूरा गर्न मदन भोटतिर लाग्छ । त्यतिबेला धन कमाउन भोट जाने मदनमात्र एक्लो पात्र थिएन भन्ने कुरा मदनलाई हैजा लागेको बेला उसको साथ दिनुको सट्टा ‘ईश्वर सम्झेर बस है’ भन्दै साथीहरूले जंगलमा एक्लै छाडेर हिँड्नुबाट प्रस्ट हुन्छ । यतिका वर्षपछि पनि देशको हालत उस्तै छ । गरिबीका कारण साहूको ऋणबाट मुक्ति पाउने आसामा थुप्रै युवाहरू वर्षेनि विदेशिएका छन्, गाउँबस्तीहरू सुनसान छन् ।

एउटा सर्जकले गरिबीका कारण उत्पन्न देशको समस्यालाई आफ्ना सिर्जनामार्फत जनसमक्ष ल्याइसकेपछि ती समस्यालाई सकेसम्म समाधान गर्ने प्रयास राज्यले गर्न सक्नुपर्छ । मुनामदनमा मदन विदेशिनुको मात्र कुरा छैन, ऊ विदेशिएपछि ‘साग-सिस्नु जे छ, खाएर खुसीसाथ सँगै बाँचौं’ भनेर हरतरहले रोक्न खोज्दा पनि आफूलाई एक्लै छोडेर विदेशिएको लोग्नेको पर्खाइमा दिन गन्दागन्दै अन्त्यमा मदन मर्‍यो भन्ने हल्ला सुनेपछि मृत्युवरण गर्न विवश नारी ‘मुना’ अनि छोराको वियोगमा थला परेकी वृद्धा आमाको करुण कथा छ । यो अहिले पनि दोहोरिइरहेको छ ।

वर्षौं बिते, देशले ठूलठूला राजनीतिक परिवर्तनहरू देखिसक्यो, तर पनि गरिबी फेरिएको छैन । नत मदनजस्ता युवाहरू विदेशिने क्रम नै रोकिएको छ । बरु बढ्दो छ, यो क्रम । जतिबेला देवकोटाले मुनामदन लेखे, त्यतिबेला देश राणाशासनबाट गुजि्ररहेको थियो । निरंकुश शासनभित्र जकडिएको गरिबीलाई उजागर गर्दै मुनामदन लेख्दा उनले यस्तो नदोहोरियोस् भन्ने चाहन्थे होलान् ।  आफूले पनि गरिबीलाई अत्यन्त नजिकबाट अनुभूत गरेको हुनाले पनि होला, देवकोटाले अन्त्यमा आएर मुनामदनलाई मात्र माया गरेको ।
अहिले लाखौं मदनहरू अरब र कुवेतका खाडीहरूमा पसिना बगाइरहेका छन्, मुनाहरूका लागि, आमाहरूका लागि अनि साहूको ऋणबाट मुक्तिका लागि । तर सपना पूरा गर्नसकेका छैनन् । देवकोटाको जस्तो दयालु ‘भोटेदाइ’ अरबका खाडीहरूमा पाइँदैनन् । स्वदेशी र विदेशी दलालहरूबाट ठगिएर कैयौं मदनहरू घरको न घाटको बनिरहेछन् । कति विदेशका जेलमा कोचिएका छन्, कति एकसरो लुगामा खाली हात घर र्फकन बाध्य छन् । प्रचण्ड गर्मीमा अत्यन्त जोखिमपूर्ण काम गर्नुपर्दा कति मदनहरूले विदेशमै ज्यान गुमाएका छन् । भविष्यका सपना फलाउन विदेशिएका मदनहरूको मृत्युपछि कैयौं मुनाहरूको बिचल्ली भएको छ । हरेक महिना वैदेशिक रोजगारमा गएकाहरूमध्ये कोही न कोहीको मृत्यु भएको खबर आई नै रहन्छ । कतारमा डुङ्गा दुर्घटनामा  मृत्यु भएका आश्रतिहरूको आँसु थामिएको छैन । अफ्गानिस्तानमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका युवाहरूमध्ये एकजना विवाह बन्धनमा बाँधिएको केही दिनमै धन कमाउन विदेशिएका रहेछन् । यस्ता थुप्रै घटनाले आज पनि मुनामदनलाई जीवन्तता दिइरहेछन् ।

दशक लामो युद्धको विभीषिकाबाट पार पाउन कति मदनहरू विदेशिए, लेखाजोखा छैन । राजनीतिक परिवर्तनपछि पनि सरकार र दलहरूले केवल राजनीतिक अभीष्टलाई मात्र मूलमुद्दा बनाउन खोजेकालेे मदनहरूको लर्को कम हुनुभन्दा झन् बढिरहेछ । अचेल त मुनाहरू पनि सपना फुलाउन खाडी पुगी शारीरिक र मानसिक शोषण खेप्न बाध्य छन् । घरको जुठोभाँडो र गाईगोठ गर्न उनीहरूलाई लाज लाग्छ, तर विदेशीका जुठाभाँडा र चर्पी सफा गर्न कुनै अप्ठेरो मान्दैनन् । यसको एउटै कारण पैसा भएको छ ।

न त विदेशिनेहरू कुरा बुझ्छन्, न राज्यले नै युवाशक्तिको महत्त्व बुझेको छ । कति जाती हुन्थ्यो, राज्यले कृषिमा अत्यधिक लगानी गरी वैज्ञानिक कृषि प्रणालीद्वारा त्यो युवाशक्तिलाई आकषिर्त गर्नसके । सुन फल्न सक्थ्यो त्यो श्रम, त्यो पसिना स्वदेशमै बगाउनसके । युवाशक्तिलाई केवल राजनीतिक उद्देश्य प्राप्त गर्ने खुड्किलोको रूपमा मात्र प्रयोग गरिने प्रवृत्तिले त्यो वृत्तभन्दा बाहिरको युवाशक्तिमा विदेशमोह बढेको हो । थाहा छैन, कहिलेसम्म दोहोरिइरहने हो, मुनामदनको कथा ।

आश्विन ३, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “उस्तै छ मुनामदनको क्रेज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *