पुरानो नेपालको घुस्याहासँग नयाँ नेपालको घुस्याहाको जम्काभेट भयो । दुवै एकअर्काका नजिकका सम्बन्धी नै थिए । नयाँ नेपालको घुस्याहा पुरानो नेपालको घुस्याहाको ज्वाइँ पथ्र्याे । सायद भान्जी-ज्वाइँ । अथवा बहिनी-ज्वाइँ । यस्तै कुनै ज्वाइँ नै । भतिजी-ज्वाइँ पनि हुन सक्थ्यो । तसर्थ सामान्य औपचारिकताको सहज आदान-प्रदान हुने नै भयो ।
‘ढोग हजुर ।’
‘पर्दैन-पर्दैन, ज्वाइँसाब ।’ निहुरिएको नयाँ नेपालको घुस्याहाको टाउकोलाई पुरानो नेपालको घुस्याहाले रोक्यो ।
यसको जवाफमा नयाँ नेपालको घुस्याहा कृतज्ञताको भावमा पुरानो नेपालको घुस्याहातिर हेर्न थाल्यो ।
दुवै यही मुद्रामा केही बेरसम्म उभिइरहे ।
यसबीच कसैको वक फुटेन ।
दुवै ज्वाइँ-ससुरा मर्निङवाकमा निस्केका थिए । यतातिर शरीरमा बोसो बढेकोले नयाँ नेपालको घुस्याहा त्यसको कटौतीमा लागेको थियो । बिहान-बिहान घुम्न थालेको त्यति भइसकेको थिएन । पुरानो नेपालको घुस्याहाले चाहिँ नियमित मर्निङवाक गरेको वर्षौं भइसकेको थियो । सरकारी जागिरबाट रिटायर भइसकेपछि पनि एकदिन रोकिएको थिएन ।
‘ज्वाइँसाबको काम कस्तो चलिरहेछ ?’ पुरानो नेपालको घुस्याहाले मुख खोल्यो ।
‘राम्रैसँग चलिरहेछ हजुर ।’ नयाँ नेपालको घुस्याहाले हाजिरजवाफी पारामा भन्यो ।
‘तर हल्ला त के-के सुनिन्छ नि ज्वाइँसाब ?’
‘के हजुर ?’
‘तपाईं कुन्नि के केसमा पर्नुभयो रे ।’ पुरानो नेपालको घुस्याहाले सुस्तरी भन्यो, ‘हो र ज्वाइँसाब ?’
‘त्यस्तो केही होइन हजुर ।’ नयाँ नेपालको घुस्याहाले नराम्ररी अनुहार बिगार्यो, ‘स्पष्टीकरणसम्म सोधिएको हो ।’
‘हाम्रो पालामा यस्तो केही हुँदैनथ्यो, हामी सबथोक मिलाएर काम गथ्र्याैं ।’
‘त्यस्तो केही पनि होइन हजुर ।’ नयाँ नेपालको घुस्याहाले अलिक ठूलो स्वरमा आफूलाई दोहोर्यायो ।
‘कस्तो स्पष्टीकरण हो ज्वाइँसाब ?’ पुरानो नेपालको घुस्याहाले सोध्यो ।
‘खास केही होइन हजुर, सबै ठीकठाक भइसक्यो भने हुन्छ ।’
‘हो र ?’
‘हजुर ।’
‘हाम्रो पालामा कसैले यस्तो साहस गर्न सक्दैनथ्यो ।’ पुरानो नेपालको घुस्याहाले आफ्नै सुरमा भन्यो, ‘हामीसँग अनुभव थियो ।’
‘हामी पनि कम छैनौं ।’ नयाँ नेपालको घुस्याहाको आत्मसम्मान एकदमसँग जाग्यो, ‘यस्तो सानोतिनो स्पष्टीकरण-सिस्पष्टीकरणले केही लछारपाटो लाउँदैन ।’
‘ज्वाइँसाबको अनुभव अलि पुगेको छैन ।’
‘होइन, हामीमा पनि केही कमी छैन ।’
‘बिस्तारै सिक्दै जाने हो ज्वाइँसाब यस्तो कुरा ।’
‘होइन-होइन हजुर ।’
‘हामी त जस्तोसुकै गलत काम पनि सही पारेर गथ्र्याैं ।’ पुरानो नेपालको घुस्याहाले गम्भीर भएर भन्यो, ‘कसैले समात्न सक्दैनथ्यो ।’
‘हजुर पनि एकपटक जंगल फँडानी काण्डमा समातिनुभएको होइन र ?’ नयाँ नेपालको घुस्याहाले पुरानो नेपालको घुस्याहालाई स्मरण गरायो ।
‘त्यो त तुरुन्तै वन विभागको डाइरेक्टरलाई घूस खुवाएर छुटिहालेँ नि ।’ पुरानो नेपालको घुस्याहा यो एकाएकको आक्रमणले हडबडायो ।
‘हजुरले पनि घूस खुवाउनपर्यो नि ?’ नयाँ नेपालको घुस्याहा मुस्कुरायो ।
दुवै नेपाली घुस्याहा अर्थात् पुरानो नेपालको घुस्याहा र नयाँ नेपालको घुस्याहा एकअर्का अघि दह्रोसँग उभिएका थिए । कोही पनि अर्कासँग दबिन तयार थिएन । खास गरेर घूसको मामलामा यो पुस्ताको लडाइँ थियो । पुरानो नेपालको घुस्याहा र नयाँ नेपालको घुस्याहा आ-आफ्ना अडानमा थिए । त्यसकारण एकाबिहानै दुवै घुस्याहाबीच तनाव उत्पन्न भएको थियो ।
‘सञ्चै त हुनुहुन्छ हजुर ?’ केही समयपछि नयाँ नेपालको घुस्याहाले वातावरण सपार्न खोज्यो ।
‘सञ्चै छु ज्वाइँसाब ।’ पुरानो नेपालको घुस्याहा मुस्कुरायो, ‘अनि ज्वाइँसाब नि ?’
‘म पनि सञ्चै छु हजुर ।’
‘सञ्चो त हुनैपर्यो नि, होइन त ज्वाइँसाब ?’
‘हजुर ।’
‘हामीहरूलाई पनि सञ्चो नभए अरू कसलाई हुन्छ ?’ पुरानो नेपालको घुस्याहाको मुस्कान हाँसोमा बदलियो ।
त्यसपछि नयाँ नेपालको घुस्याहाले पनि पुरानो नेपालको घुस्याहालाई हाँसोमा साथ दियो । दुवै निकै समयसम्म फुटपाथमा उभिएर हाँसिरहे । मानौं हाँसोको प्रतियोगिता भइरहेको थियो । ह-ह, हा-हा-हा, हिँ-हिँ-हिँ, हेँ-हेँ-हेँ, हो-हो-हो, हौ-हौ-हौ… । पुरानो नेपालको घुस्याहा र नयाँ नेपालको घुस्याहा परस्पर हाँसोमा बल लगाएर भिडी नै रहेका थिए । लगभग आधा घन्टापछि एक्कासी हाँसो रोकेर पुरानो नेपालको घुस्याहाले नयाँ नेपालको घुस्याहासँग भन्यो, ‘पुग्यो-पुग्यो ज्वाइँसाब, अब योभन्दा बेसी नहाँसौं ।’
आश्विन ३, २०६६
