Skip to content

“आमा ! आज बजार घुम्न जाऔँ न ! बजारमा राम्राराम्रा खेलौनाहरू पाइन्छन् । आज बिदा पनि छ ।” नवीनाले जिद्दी गरेर भनी । बाह्र वर्षकी नवीना ज्यादै जिद्दिवाल छे । उसलाई आज बजारमा घुम्न जाने रहर जागेको छ ।
उसको जिद्दीमा आमाले हार खानुपर्छ सधैँ । ऊ आमाबाबुकी एक्ली छोरी भएकीले ज्यादै पुल्पुलिएकी छे । ऊ अलि अग्ली, अलि पातली छे । उसका आँखा चञ्चले छन् । चञ्चले आँखा घुमाउँदै आमालाई जहिले पनि जिद्दी गरिरहन्छे । त्यसैले आज पनि उसकी आमाले उसलाई बजार घुमाउन लानै परेको छ ।
आमा-छोरी दुवै बजारमा घुम्न गए । एक/दुईवटा पसल पनि चहारे । केही खेलौना पनि लिए । नवीना दङ्ग पर्दै फुत्रुक-फुत्रुक उफ्रँदै बाटोमा हिँडिरहेकी थिई ।
त्यत्तिकैमा उनीहरूको अगाडि एकजना हेर्दै डरलाग्दो मान्छे ठिङ्ग उभियो । त्यो मान्छेको अनुहार ज्यादै डरलाग्दो थियो ।
“आमा !” त्यस मान्छेको अनुहार देखेर नवीना चिच्याई ।
“के भयो किन चिच्याएकी ?” आमाले सोध्नुभयो तर नवीना थरथर कामिरहेकी थिई । त्यो मान्छेको अनुहारमा घाउको खतैखतै थियो । कालो अनुहार, जुङ्गा त झन् डरलाग्दो थियो ।
“खै बाटो छोड्नुहोस् ।” नवीनाकी आमा त्यो मान्छेबाट पन्छिन खोजी तर त्यो मान्छे ठूलाठूला आँखा पारेर उनीहरूलाई नै हेरिरहेको थियो । नवीनालाई तान्दै आमा अगाडि सर्न थालिन् तर त्यो मान्छेले उनीहरूको बाटो छेकिदियो ।
नवीना झन् डराई । बजारमा फाट्टफुट्ट मानिसहरू हिँडिरहेका थिए । उनीहरूले त्यहाँ के भइरहेछ भन्ने कुरामा कुनै वास्ता गरेका थिएनन् । त्यसैले नवीनाको आमा पनि डराइन् ।
“खै त्यो सिक्री ले ! त्यो फुच्चीले बोकेको खेलौना पनि ले ।” उसले डरलाग्दो स्वरमा भन्यो ।
आमाछोरी आत्तिए ! उनीहरू केही पछि हटे तर पनि त्यो मान्छेले बाटो छोडेन । उसले हात लम्काएर नवीनाको पुतली खोस्यो र आमाको सिक्री पनि खोस्न थाल्यो ।
त्यत्तिकैमा नवीना चिच्याई- “लौन यो मान्छेले मेरो खेलौना लुट्यो । आमाको पनि सिक्री लुछ्दै छ ।” ऊ रुन थाली ।
आमा र त्यो मान्छे सिक्री खोसाखोस गर्दै थिए । त्यत्तिकैमा त्यहाँ दुई/चार मान्छे जम्मा भए । उनीहरूले त्यो डरलाग्दो बदमासलाई चिने । तिनीहरूले उसलाई केही गर्न खोजेनन् । टुलुटुलु हेरिरहे । आमा र उसको लुछाचुँडी भइरहेको थियो । त्यत्तिकैमा नवीनाले उफ्रेर त्यस मान्छेको लामो जुङ्गा समातेर बेस्सरी तानी ।
‘अइया !’ भन्दै त्यो मान्छेे नवीनाबाट पन्छिन खोज्यो । नवीनाले त्यसको जुङ्गा बल गरेर तानि नै रही । त्यसपछि नवीनाकी आमाले त्यो मान्छेको हातबाट सिक्री खोसेर लिइन् ।
बाटामा हिँड्ने बटुवाहरू कसैले पनि नवीना र नवीनाका आमालाई सहयोग गर्ने हुति देखाएनन् । त्यहाँ एक किसिमको रमिता नै भयो । तुरुन्त भीड जम्मा भयो । सबै त्यहाँ ट्वाल्ल परेर हेरिरहे, सिनेमा हेरेजस्तो ।
त्यतिकैमा त्यहाँ पुलिसको साइरन बजेको सुनियो । अनि त्यो बदमास हतारहतार त्यहाँबाट भाग्न खोज्यो तर आमा र नवीनाले उसलाई छाडेनन् । नवीना त उसको जुङ्गा समातेर झुन्डिरही । त्यो बदमासले नवीनालाई केही परसम्म घिसारेरै लान खोज्यो । तै पुलिस आइपुग्यो ।
त्यहाँ जम्मा भएका मानिसहरू वाल्ल परेर हेरिरहेका थिए । नवीनाकी आमा आफ्ना लुगा मिलाउन थालिन् । सबै कुरा थाहा पाएपछि पुलिसले नवीनाको साहसको प्रशंसा गर्दै धन्यवाद दियो । नवीना पनि मख्ख परी तर बाटामा हिँड्नेहरूको चाला देखेर भने दुःख मानी । बाटोमा हिँडिरहेकाहरूले पनि उसले जस्तै साहस देखाएको भए पो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *