प्रकृतिको यो विशाल साम्राज्यमा मानिस मात्र एउटा यस्तो प्राणी छ जसले आफ्नो बुद्धि र विवेकले सबै विषय र वस्तुलाई नियालेर हेर्छ र त्यसको यर्थातातिर इंगित गरेर अरूलाई चिनाउने कोशिस गर्छ । त्यस्ता व्यक्तिको मस्तिष्क सारै नै उर्वर हुन्छ र ऊ बोलेर वा आफ्ना विचारलाई भाषाको माध्यमबाट अरूलाई लेखेर बुझाउन खोज्छ । त्यस्ता व्यक्ति वैज्ञानिक, इतिहासकार कवि लेखक वा मानव शास्त्री आदि चिन्तनशील हुन्छन् । त्यस्ता व्यक्तिहरूको बेला बेलामा पृथ्वीको कुनै न कुनै भागमा प्रादुर्भाव हुन्छ । त्यस्तै तिनै गुणहरू मध्ये हाम्रो नेपालको माटोमा एक व्यक्तिको विक्रम सम्वत् १९६६ को लक्ष्मी पूजाको दिन दीपमालिका लहर बीचमा कान्तिपुरी नगरीको डिल्लीबजारमा पं. तील माधव देवकोटाको घरमा तेस्रो छोराको रूपमा एक बालकले जन्म लिए । खुशी भएका पिताले पण्डितले भन्दा पैले नै नाम राखिदिए सायद लक्ष्मी (धनकीदेवी) प्रसाद, तर ज्योतिषले ग्रह नक्षत्र गणना गरेर बालकको नाम ‘तीर्थ माधव’ जुराएर त्यही नाम राखिदिए तर उनी यही लक्ष्मीप्रसाद नामले ख्यातिमा पुगे ।
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ उद्गार पोख्ने उनीले आफ्नो कविता यात्रा दश वर्षको उमेर बाटै सुरु गरेका थिए । आफूले लेखेको दुई हरपे कविता आफ्नो माता अमर राज्य लक्ष्मी र पिता तील माधवलाई देखाउँदा दुवै ज्यादै नै खुशी भएका थिए । ‘हुने विरुवाको चिल्लो पात’ भन्ने उखान चरितार्थ गर्दै तीर्थ माधव पनि सर्वप्रथम शिक्षा क्षेत्रमा अघि बढ्दै गए र उनले दरबार स्कूल, त्रिचन्द्र कलेज र पटना विश्वविद्यालय हुँदै बी.ए., बी.एल. सम्मको पढाइ पूर्ण गरे । उनको यो शैक्षिक योग्यता नेपाली समाजका औसत व्यक्तिले आर्जिन सक्ने शिक्षा हासिल गरे पनि त्यसलाई थान्को लगाएर त्यसको बदला वृत्ति आर्जन गर्न गाह्रै थियो । किनकि उनको परिवार ठूलो थियो । मातापिता दिदी बहिनी र दाजुभाइमध्येका लक्ष्मीप्रसाद साइँला थिए । त्यो बेला इज्जत कमाउन जति सजिलो थियो त्यति नै कठिन थियो त्यसलाई जोगाउन त्यतिनै कठिन थियो ।
देवकोटाजी स्वाभिमानी र स्वतन्त्र विचारका व्यक्ति थिए । मानववादी विचारधाराका उनी मान्छेमा ईश्वरको अस्तित्व देख्थे भने, उनको उद्देश्य वा लक्ष्य धरातलभन्दा बाहिर विचरण गर्न खोज्थ्यो । स्वतन्त्र विचारका उनी आफ्नो भावनालाई बन्धनमा राखेर बस्न सक्दैनथे त्यसैले त उनका हरेक रचना चाहे त्यो गद्य होस् वा पद्य स्वतन्त्रोन्मुख हुन्थे ।
मैले देवकोटाजीलाई २००७ साल पहिले करिव तीन महिना छात्रको रूपमा र त्यसपछि आफूले पनि केही लेखी टोपल्ने हुनाले सहधर्मीको रूपमा बेलाबेलामा भेट्ने र सँगै बसेर केही समय उहाँका विचार लिने र त्यसलाई चिन्तन मनन गर्ने मौका लिएको छु । एकदिन बिहान पुस महिनाको जाडो थियो । त्यो २०११ सालको कुरो हो गोविन्द वियोगी मकहाँ आए । उनले भने ‘खेतालाजी आज एक दिन मेरो निम्ति यो बिहानी खर्च गर्नुहोस् न हुन्छ ? तपाईं त बराबर उहाँ कहाँ जानुहुन्छ, मेरो अहिले सम्म उहाँसँग सामान्य परिचय मात्र छ, तपाईंसँग त घनिष्ठता नै छ । तपाईं बराबर उहाँको घरमा पनि त जानुहुन्छ ।’ मैले भनेँ, ‘लामो भूमिका किन बाँध्नु पर्यो । किन र के का निम्ति जाने भनन ।’ तपाईंले बिर्सनु भए जस्तो छ, केही दिन पैले ….’ । मैले भनें, ‘ए मैले सम्झेँ .. जयबागीश्वरी पुस्तकालयद्वारा आयोजना गरिने बृहत साहित्य सम्मेलन बारे उहाँसँग परामर्श गर्ने, यही होइन त ? लौ हिँड, यतिबेला त अवस्य भेट पाइन्छ । यो उहाँको ट्यूशनको बेला हो ।’ लुगा लगाएर श्रीमतीसँग बिदा लिएर हिँडें । त्यसबेला झण्डै आठ बज्ने बेला नै भएको थियो । चाबहिलबाट मैती फाँट देवकोटाजीको घर कवि कुञ्जसम्म पुग्न झण्डै पैँतालीस मिनेट जति लाग्यो ।
देवकोटाजी दुईजना अगाडि राखेर आफ्नो ट्यूसनमा मस्त हुनुहुन्थ्यो । हाम्रो प्रवेशले व्यवधान ल्यायो । एकछिनको भलाकुसारी पछि हामीले आफ्ना कुरा राख्यौँ । उहाँले शनिवारको दिन फुर्सद हुन्छ त्यसै दिन सल्लाह पनि गर्ने र मैले भनेको स्वीकार गर्ने कहाँ गएर आर्थिक सहयोग जुटाउँला । माघको १० वा ११ गते गर्ने निधो गर्नुहोस् । सकेसम्म सम, लेखनाथ, आदि ठूलादेखि युवा साहित्यकारलाई नछुटाउनुहोस् । भारतबाट आएका राहुल सांकृत्यायन जस्ता पनि नछुटुन् । अरू सबै कुरा शनिवार नै भेटमा गरुँला । शनिवार सात बजेसम्म आउनुहोस् ।
कुरा सकियो, अब बसिरहनु आवश्यक थिएन । हामी बिदा लिएर त्यहाँबाट निस्कियौँ । बाटोमा मैले वियोगीसँग सोधें उहाँले जे सल्लाह दिनुहो दिनुभो, मलाई त ठीकै लाग्यो । तिम्रो के विचार छ ?’ उनले भने विचार ठीकै हो, तर उहाँ अर्थ सङ्कलनमा संलग्न हुनुहुन्छ कि हुन्न’ । गोविन्दले भने ‘एक पटक भनी हेरौँ, एक दुई ठूला ठाउँमा र मन्त्री कहाँको लागि, उहाँ गैदिनु भो भने अलि चन्दा असुल्न सजिलो हुन्छ ।’ ‘तर सम्मेलनमा सभापति उहाँलाई नै बनाउनुपर्छ, त्यसका लागि तपाईंले नै जोर गर्नुपर्छ । हामीले इच्छा गरेजस्तै यो २०१० साल माघ १० गते उहाँकै सभापतित्वमा सम्मेलन भयो जुन विशाल थियो ।
चुरोट प्रसङ्ग म त्यतिबेला चुरोट खान्थेँ । खान्थेँ मात्रै होइन धेरै नै चाहिन्थ्यो, र अक्सर फूलमार वा मोटरमार दिन पन्ध्रदेखि बीससम्म चाहिन्थ्यो । त्योभन्दा माथिल्लो स्तरको निम्ति आर्थिक आर्जनले भ्याउन्नथ्यो । मैले चुरोट खानेकुरा देवकोटाजीलाई थाहा थियो । उहाँ कहाँ गएका बेलामा बराबर आदानप्रदान गथ्र्यो । एक दिनको कुरा हो, म आफ्ना एक मित्रको काम लिएर उहाँको घर गएको थिएँ । शनिवारको दिन थियो । त्यो दिन उहाँको ट्यूशन रहेनछ । उहाँ केही लेख्नमा व्यस्त हुनुहुन्थ्यो । हामी बस्यौँ । हाम्रा कुरा भए । कुरोकै सिलसिलामा उहाँले चुरोटको कुरा निकाल्नुभो । मैले चुरोट झिकेँ तर त्यो दिन मसँग फूल मार वा मोटरमार नभएर पानामा चुरोट थियो बट्टामा पाँच – छ मात्र थियो । त्यो चुरोट देखेर उहाँले बट्टाबाट एउटा मात्र झिक्दै प्रश्न गर्नु भो – ‘तपाईं दिनमा कति चुरोट खानुहुन्छ ? मैले उत्तर दिएँ त्यस्तै दश बाह्र, ‘अरूलाई पनि दिनु पर्यो भने’, ‘त्यस्तै दश बाह्र नै सम्झौँन’, एउटा बट्टाको कति पर्छ ?’ त्यति बेला त्यो चुरोट एक बट्टाको सायद एक रुपियाँ वा तीन मोहोर पथ्र्यो होला । हाम्रो अहिलेको औगातले भ्याउने मोटर र फूल मार मात्र हो । किनकि हाम्रो अहिलेको स्थितिअनुसार हामी मोटर वा फूलमार मान्छे । औगातले भ्याउने र धीत पनि मर्ने । मैले भने ‘आफूले किनेर त कहाँ खान सक्नु, गौचर भन्सारमा एउटा साथी जाँचकीमा नायव सुब्बा छ, हिजो भेट्न आउँदा छोडेर गएको ।
एकदिनको अर्को घटना उहाँसँगको । प्रसङ्ग २०१३ या १४ सालतिरको वर्षको सम्झना भएन । त्यतिबेला भर्खरै मात्र टंकप्रसाद आचार्य भर्खरै मात्र प्रधानमन्त्री थिए । माघ महिना थियो । मिति र बारको भने सम्झना भएन । भारतका राजदूतमा भगवान् सहाय थिए । माघ महिना १३।१४ गतेतिरको कुरा हो । म आफ्ना व्यक्तिगत काम विशेषले डिल्लीबजार सम्म जाने उद्देश्य लिएर बिहान सात बजेतिर निस्किएँ । म ढोकाबाट निस्कँदै थिएँ । एकजना साइकल चढी आए । उनले मेरो नाम लिएर घर सोधे । मैले ‘त्यो व्यक्ति म नै हुँ’ भनेपछि, एउटा खम र पियून बुक अघि सारेँ । दस्तखत गरेर खाम लिएर हेरेँ, भारतीय दूतावासबाट पत्र आएको थियो । अक्सर गणतन्त्र दिवस र भारतबाट साहित्यकारहरू आएका बेला मलाई निमन्त्रणा आउँथ्यो । शनिवारको साँझ रोयल होटेल, शनिवारको निम्ता थियो । विषय थियो भारतबाट आएका डा. शिवमंगल सिंह सुमनसहित केही अरू साहित्यकारको सम्मानमा कवि गोष्ठीको निम्ता थियो । काम सकेर र्फकंदा पिपलको रुखनिर महाकविज्यूलाई भेटेँ । कुराको सिलसिलामा उहाँले उक्त निम्ताबारे कुरा झिक्नु भो । राति बोलाएका रहेछन् । तपाईंलाई पनि आएको छ कि छैन ?’ निम्ता त आएको छ, राति घर टाढा छ, जाने नजाने मैले निश्चय गरेको छैन ।’ मैले उहाँलाई भनेँ ।’ ‘तपाईं आउनुहोस् सँगै नै जाउँला हामी छुट्टयिौँ । म घरतिर लागेँ ।
शनिवार बिहानको खाना खान मैले बानेश्वर जानुपर्ने थियो । किनकि श्रीमती बिहानै गइसकेकी थिइन् । म एक बजेतिर महाकवि कहाँ पुग्दा कविजी कविता लेख्दै हुनुहुन्थ्यो । उहाँले खाना पनि खानु भएको रहेनछ । बल्ल बल्ल उहाँ खाना खाएर तयार हुनुभयो र हामी निस्कियौँ । चार बजिसकेको थियो । निम्तामा समय पाँच बजेको दिइएको थियो । डिल्लीबजार कालिका स्थान जाने सडक मोडमै एकजना लाइन वा काजी भनिनेको चिया पसल थियो । त्यहाँ पुगेपछि उहाँ पसलभित्र पस्नुभो । म बाहिरै थिएँ । डाक्नुभो र भन्नु भो ‘मरे कति बेला हुन्छ, अलिकति क्यै खाएर जाऊँ । उहाँले आज्ञा दिइसक्नु भएको रहेछ । दुई दुई अण्डाको अम्लेट र चिया खाएर त्यहीँनिर बाट एउटा भाडाको मोटर लिएर हामी रोयल होटल पुग्दा त राजदूत बाहेक सबै आइसकेका रहेछन् । एकछिन पछि राजदूत आइपुगे । त्यसको एकछिनपछि प्रधानमन्त्री टंकप्रसाद पनि आए । करिब सात बजेतिर कार्यक्रम सुरु भयो । यो औपचारिक सम्मेलन नभएर साधारण काव्य गोष्ठी मात्र थियो, तैपनि त्यसमा अन्दाजी पन्ध्रजना जति थियौँ । सबभन्दा धेरै कविता सुमन र देवकोटाजीबाट सुनाइएको थियो । त्यहाँबाट हामी निस्कँदा अन्दाजी बाह्र बजेको थियो । पानी परिरहेको थियो । हामी दुईलाई डिल्लीबजार पुलिस सेन्ट्रीमा छोडिदिए मोटरबाट । त्यहाँबाट देवकोटाजीको घर पसेर रेनकोट र टर्चलाइट लिएर म घर पुग्दा रातको अन्दाजी दुई बजेको थियो । यो उहाँसँगको मेरो सम्झना हृदयमा चित्र जस्तै भएर बसेको छ ।
शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६
