भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक “भाईहरू”लाई आकर्षक राखी पठाइने गरिएर दिदीभाईको सम्बन्ध विस्तार गर्ने गरिएको छ । इच्छा गर्ने हो भने कोही पनि दाजुभाइले राजधानीमा भाइटीकाको दिन निधार राख्नुपर्ने छैन । समाजशास्त्रीहरू यस्तो नातालाई सामाजिक सम्बन्ध विस्तार र सामाजिक सुरक्षा प्राप्त गर्ने संगठन भन्न रूचाउँछन् । तर, यस्तो नाता भने अस्थायी मात्र होइन क्षणिक पनि देखिएको छ ।

नेपाली समाजमा रहेका विचित्र विशेषतामध्ये यहाँभित्र समाजलाई एकीकरण गर्न अपनाइएका विभिन्न तरिकामा यस्ता नातेदारीले आफ्नै प्रकारको महत्व राख्ने गरेका छन् । यस्ता नाताबाहेक नेपालीमा समाजमा रचित नाता (पिक्टीभ किनसिप) ले विगतमा अत्यन्त महत्व राखेका थिए । ग्रामीण समाजमा अहिले पनि तिहारमा मितिनी दिदी वा बहिनसिँग टीका लगाउने दाजुभाई प्रशस्त पाइन्छन् । दशैंमा मित वा अथवा आमाको हातको टीका लगाएर जन्माउने बाबुआमाको तिसर्ना मेटाउनेहरू अहिले पनि पाइन्छन् । आफ्नो पारिवारिक आकार बृद्धि गर्नका लागि यस्ता नाताहरू निकै सहायक भएका थिए विगतमा । मित नाता खासगरी आफ्नो रक्त नाताभन्दा बाहिरका अझ खासगरी, अन्तरजातीयरूपमा लगाइने भएकाले यसबाट पारिवारिक र सामाजिक एकतालाई बल पुग्ने गरेको थियो । आज तिहार र दशैको सन्दर्भमा मात्र होइन जातजातिभित्र एक किसिमको जातीय तिक्तता बढ्दै गएको अवस्थामा मीतेरी साइनोलाई प्रभावकारी बनाउने हो भने यसले दिदीबहिनी र दाजुभाइको रिक्ततामात्र होइन बढ्दै गएको जातीय तिक्तता पनि बिर्साउन सक्दछ । तर नेपाली समाज यसको विपरीत दिशातिर गइरहेको छ । मीत नाताले समाजलाई मात्र नभएर मुलुकमुलुकबीचको सम्बन्धलाई पनि विस्तार गर्न सक्ने भएकाले नेपाल-चीनबीचको “मितेरी पुल”मा प्रयोग गरिएको मितेरी शब्दको गहनाता कति छ भनेर अनुमान लगाउन सकिन्छ ।

समाज सरलताबाट जटिलतातिर उन्मुख हुने क्रममा हामीले विगतामा अभ्यास गरिएका नाताहरूको प्रभावकारितामा कमी आउदै छ । यसैकारण वर्तमानमा सबै साथीका श्रीमतीलाई भाउजु र बाबुका साथीलाई अङ्कल भनिने हलुवामा बलुवा मिसाएजस्तो चकलाबन्दी नाताको विकास भइरहेको छ । रक्त र वैबाहिक सम्बन्धबाट बाँधिन नसकेकालाई मितेरी नाताले एकताको सुत्रमा बाँध्ने गर्दछ । तर नेपाली समाजमा अहिले यस्तो नाता कम वा प्रभावशून्य अवस्थामा पुगेको छ । रक्त र वैबाहिक सम्बन्ध नै कमजोर हुँदै गएको अवस्थामा रानी पोखरीस्थित मन्दिरका दिदी बहिनी वा अञ्जली दिदीको हालबाट टीका लगाउने अथवा ओम शान्तिका दादीहरूबाट राखी बाँधिने सम्बन्ध प्रगाढ हुने कुरै भएन । यस्ता दिदीभाइको सम्बन्भ टीकाको वा जनैपूणिर्माको एक दिनभन्दा धेरै समयका लागि प्रभावकारी हुने गरेका छैनन् । रानी पोखरी मन्दिरमा को दिदीबहिनी बस्छन् भन्नेकुरा दाजुभाइलाई थाहा हुदैन । न त टीकापछि दिदीबहिनी र दाजुभाईको भेट होला । न त ओम शान्तिका दादीहरूको अनुहार नै चिन्दछन् दाजु भाइले ।

प्राचीनतालाई हेर्ने हो भने धार्मिकरूपमा पनि रचित (मितेरी) नाता प्रभावकारी थिए । श्रीस्वस्थानीय ब्रतकथाको प्रसाद “छोरा भए छोरालाई, नभए मीत छोरालाई दिनु” भनेर मीत नाताको महत्व र ओज देखाइएको छ । नेपालको एकीकरणमा मीत साइनोको प्रभाव पनि निकै महत्वपूर्ण देखिएको छ । इतिहासकार डा. सुरेन्द केसीका अनुसार भक्तपुरे राजा रणजीत मल्ल्ाका छोरा वीरनरसिंह मल्लसँग मित लगाएर गोरखाका तत्कालीन राजाका छोरा पृथ्वीनारायण शाहले मीतबाउको घरमा बसेर भक्तपुर लगायत उपत्यकाको राजनीतिको राम्रो अध्ययन गर्ने अवसर पाएका थिए । यसैगरी, काठमाडौका राजा जयप्रकाश मल्लसँगको मति नाताको प्रयोग गरी पृथ्वीनारायण शाहले मुलुकको एकीकरणका लागि ऊर्जा प्राप्त गरेका थिए । यसलाई नकारात्मक र सकारात्मक दुबै दृष्टिकोणबाट पनि विवेचना गर्न सकिन्छ तर समग्रमा विगतकालीन नेपाली समाजमा सामाजिक सम्बन्ध विस्तार, सामाजिक सुरक्षा लगायतका उद्देश्य प्राप्तिका लागि मितेरी साइनो प्रभावकारी थियो । त्यसोत, नेपाली समाजमा अहिले पनि मित साइनोको प्रभाव छदैछ, तर पातलो र प्रभावहीन ।

शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *