उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ ।

‘नमस्ते’ बाटोमा जब यो सुन्छन्, एकफेर उनको मुन्टो परक्क घुम्छ, पाइला रोकिन्छ र आँखा मोडिन्छ । तर बोलाउनेले उनलाई देखेकै हुँदैन र ऊ कसैसँग अभिवादन गररिहेको रहेछ भन्ने पत्तो पाउँछन्, नमस्तेलाल टाउको छाम्छन्, ‘हत्तेरी, फेर िझुक्किएँ ।’

एकपटक होइन, दुईपटक होइन, एक वर्षदेखि होइन, दुई वर्षदेखि होइन, बुझ्ने भएदेखि नामसँगको यो रमाइलो/नरमाइलो बेहोररिहेका छन् नमस्तेलाल ।

‘कस्तो नाम हो यो ?’ कोही सोधिदिन्छ ।

‘कसले राखेको ?’ कोही भनिदिन्छ ।

‘किन राखेको ?’ कोही जान्न खोज्छ ।

‘कतिलाई भन्नु ?’ नमस्तेलाल फिस्स हाँस्छन्, ‘के भन्नु ?’ यसै साता चिसोचिसो एक बिहान उनी आफ्नै नाम र कामबारे गफिन थालेका थिए । ‘यो नाम कसले राख्यो मलाई पनि थाहा छैन,’ भने, ‘किन राख्यो त्यो पनि थाहा छैन ।’

बाआमालाई सोध्दा पनि चित्तबुझ्दो जवाफ उनले पाएनछन् । सानोमा चकचके भएकाले ‘बरु नमस्ते गर्छु, नचल न बाबु’ भन्दाभन्दै नामै नमस्ते पो भएको हो कि भन्ने अनुमान पनि उनी गर्छन् ।

‘त्यत्तिकै राखिदिएको’ यो धर्ती छाड्नुअघि एकदिन उनकी आमाले भनेकी थिइन् रे, ‘नाम जे राखे पनि त भइहाल्छ नि ।’

सानो काँटीका नमस्तेलालको एउटा सपना छ, यो देशलाई पूरै सफा पार्ने ।

‘साबुन-पानीले हात धुनुहोस्,’ उनी सधैँ सल्लाह दिई नै रहेका हुन्छन्, ‘शौचालय बनाउनुहोस्, सफा पानी खानुहोस् ।’

यो देशमा धेरै रोगको एउटै कारण ठानेका छन् उनले, साबुन-पानीले हात नधुनु ।

तर यति सानो कुरो पनि साह्रै कम मान्छेले पालना गरेको देख्दा उनको आँखीभौं जहिल्यै आश्चर्यमा खुम्चिँदोरहेछ । उनको अनुभवले के भन्छ भने जति सम्झाए पनि धेरै मान्छेहरू सरसफाइ गर्दैनन्, खानुअघि साबुन-पानीले हात धुँदैनन् । गाउँका अपठितले त यसको महत्त्व बुझेनन् रे लौ । ‘सहरका पढेलेखेका मान्छे पनि स्वास्थ्यको ख्यालै गर्दैनन्,’ युनिसेफ नेपालका सरसफाइ विशेषज्ञ नमस्तेलाल हल्का झोँक्किए पनि, ‘बानी बदल्न असाध्यै गाह्रो बा !’

साँच्चै हाम्रो देशमा मात्रै होला कि संसारैभरका मानिस हात नधोलान् ? मैले यो सोध्नै आँटेको थिएँ, नमस्तेलालले युनिसेफले पाँच वर्षअघि गरेको सर्वेक्षणको निष्कर्ष सम्झाए । तीन प्रतिशत मानिसले मात्रै शौचालय गरेपछि राम्ररी हात धुने मुलुक पनि यो ग्रहमा रहेछ । विकसित देशमा पनि ४५ प्रतिशत मान्छेले मात्रै हात धुँदारहेछन् । ‘नेपालमा चाहिँ,’ उनले भने, ‘१७ प्रतिशतले मात्रै धुन्छन् ।’ ओहो ! माने ८३ प्रतिशत मान्छे हातै नधोई खानेकुरा खान्छन् ?

‘हजुर,’ नमस्तेलालले टाउको हल्लाए ।

‘उसो भए तपाईँ कति प्रतिशतमा पर्नुभो ?’ उनै नमस्तेलालद्वारा विश्व हात धुने दिवसका दिन यसबारे भलाकुसारी गर्न बोलाइएका जनादेश साप्ताहिकका सम्पादक मनऋषि धिताललाई मैले सोधेको थिएँ ।

‘जंगलमा हुँदा कताको साबुन, कताको पानी !’ यी माओवादी कलमकर्मीले सजिलै भनिदिए, ‘तर अहिले त १७ मै पर्छु !’

साबुनले हात धोए, सफा पानी पिए र शौचालय सबैले प्रयोग गरे पृथ्वीमा हैजा, टाइफाइड, आउँ अरू धेरै महामारी नलाग्ने अनि अर्बाैं रुपैयाँ यसको उपचारमा खर्च हुनबाट जोगाउन सकिने युनिसेफको यो निष्कर्षअघि तीसभन्दा बढी अध्ययन र अनुसन्धान भइसकेको रहेछ ।

गएको वर्षदेखि संसारैभर विश्व हात धुने दिवस मनाउन पनि युनिसेफ अघि सर्यो, जसलाई स्वागत गर्दै पृथ्वीमा ८० देशले अनेक रमाइला योजना ल्याएर यसपाला पनि मनाए । विश्वभर भएका कार्यक्रममध्ये नेपालले छुट्टै योजना चलायो, विद्यालय सरसफाइ अभियान, जो अरू देशका तुलनामा निकै उत्कृष्ट ठानियो । यसको पूरै योजना बनाउने काम गरेका रहेछन् यिनै नमस्तेलालले ।

‘ठूलालाई भन्दा सानालाई सिकाउन निकै सजिलो,’ छोटो समयमा २३ जिल्लाका ३ सयभन्दा बढी विद्यालय र लगभग यति नै गाउँमा पूर्ण सरसफाइ लागू भएको तथ्यांक तेस्र्याउँदै नमस्तेलाल मुस्कुराए, ‘पाकिस्तान, भारत अरू धेरै देशका मान्छे हाम्रो नमुना सरसफाइ हेर्न आउँछन् ।’

तनहुँको बन्दिपुरमा उनी जन्मे, हुर्के, पढे र बढे । उनका बा कपडाका व्यापारी थिए । लखनउ, कानपुरबाट कपडा ल्याउँथे, यता बेच्थे ।

‘तर उहाँलाई पार्टनरले धोका दियो,’ आफूलाई धेरै वर्षअघि छाडेर गइसकेका बालाई उनले सम्झिए, ‘उहाँले धेरै घाटा पनि खानुभो अनि खेती-किसानी गर्न थाल्नुभो ।’

उनका बाबुको धेरै छोराछोरी र थोरै आम्दानीबीच तालमेल नमिल्दा नमस्तेलालले अनेक सास्ती खेप्दै हुर्किनुपर्यो । धेरै ठाउँमा ‘काम गर्दै र पढ्दै’ गर्नुपर्यो ।

नमस्तेलाल पढ्नमा चखिला थिए । भूगोलमा उधुमै चाख दिन्थे ।

‘पूरै किताब मलाई कण्ठै हुन्थ्यो,’ उनले बाल्यकालीन सम्झनाको क्षितिज नियाले, ‘भूगोलवेत्ता बनुँला भन्ने थियो ।’

प्रवेशिकापछि भूगोल पढ्न काठमाडौं जानुपथ्र्याे । त्यसका लागि पैसा भएन । उनी भरतपुर पुगे र राजनीतिशास्त्र पढे । त्यतिखेर नेपालमा

समाजशास्त्र पढाइ सुरु हुनै आँटेको थियो र सरकारले केही विद्यार्थीलाई बनारसमा छात्रवृत्तिका लागि पठाउने भयो । सर्त एउटै थियो, जुनै विषय पढेको भए पनि ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने । यहाँ पनि उनको एकै प्रतिशत पुगेन ।

बनारस जान नपाएको तोडले नमस्तेलाल आगरा विश्वविद्यालय पुगे र समाजशास्त्र नै पढे । यसरी उनी नेपालको पहिलो पुस्ताको ‘समाजशास्त्री’ मा अनुवाद भए, जुन ज्ञान अब व्यवहारमै देखाउन लागि परे । हुनलाई सामाजिक सेवामा उनी सानैमा लागिपरेका थिए ।

बन्दिपुरमा एउटा पुरानो पुस्तकालय थियो, जो मान्छेको उति माया नपाउँदा बन्द थियो ।

‘मैले धेरै लागिपरेर त्यो चलाएँ,’ १६ वर्षे जोश उनी अहिले पनि भुल्दैनन्, ‘सबलाई घरघरै पुगेर बोलाएँ, छलफल गरेँ र समिति गठन गरेँ ।’

त्यो पुस्तकालय अहिले पनि चलिरहेको र आफू त्यसको अझै पनि संयोजक भएकामा उनी खुसी नै छन् ।

बन्दिपुरको पारपिट्ट िभन्सार भन्ने गाउँ छ । त्यहीँ शारदा शिक्षा सदन पनि छ । नमस्तेलाल त्यहाँ हेडमास्टर भए, जो भर्खर १८ लागेका थिए र त्यसै साल स्नातक पनि सिध्याएका थिए ।

त्यहाँ उनले बन्दिपुरदेखिको ढुंगा आफैँले पनि बोकेर, विद्यार्थी र तिनका अभिभावकलाई पनि बोकाएर विद्यालय पुर्याए । भवन बनाए । पढाइमा धेरै सुधार पनि ल्याए । मास्टरहरूलाई तलबको केही पैसा कटाएर विद्यार्थीलाई छात्रवृत्ति दिन पनि उक्साए । २ सय ९२ रुपैयाँ पचास पैसा उनको तलब थियो । ‘त्यसमध्ये २० प्रतिशत मैले समाजसेवामा छुटयाएँ,’ उनले भने, ‘यो नियम आज पनि मैले बदलेको छैन ।’

नमस्तेलालको हेडमास्टरीलाई गाउँलेले मन पराए । काठमाडौं पढ्न गएका आफ्ना छोराछोरीलाई नत्र किन गाउँमै झिकाएर पढ्न हालिदिन्थे ? होमराज लोहनी तिनैमध्येका थिए, जो काठमाडौंबाट आफ्नो गाउँ भन्सारमा पढ्न आए ।

नमस्तेलालका राम्रा विद्यार्थीमध्येका उनी पछि त्यही विद्यालयको प्रधानाध्यापक भए, जो एक दशकअघि माओवादीद्वारा मारएि र जसको नाम अहिले विद्यालयले पाएको छ- ‘सहिद होमराज लोहनी उच्च मावि’ ।

नमस्तेलालचाहिँ विद्यालय छाडेर काठमाडौं आए । युनाइटेड मिसन टु नेपाल र नेपाल प्रहरीको निरीक्षक पदमा उनको नाम एकैपटक निक्लियो । जागिर कता खाने ?

‘धेरैबेर घोरएिँ,’ उनले भने, ‘किन-किन प्रहरीतिर जान मन लागेन ।’

युनाइटेड मिसनमा उनको काम विदेशीलाई नेपाली भाषा र संस्कृति सिकाउनु हुन्थ्यो । कामकै पछि लागेर उनी जुम्ला पुगे । त्यहाँको फोहोरले उनलाई बेस्सरी अत्याएछ ।

‘कसैका घरमा चर्पी थिएन,’ नमस्तेलालको ५५ वर्षे निधार झन् बढी खुम्चियो, ‘बाटामा टेक्ने ठाउँ नै नहुने गरी फोहोर गर्थे ।’

खाने पानी उस्तै फोहोर । उनले बडो प्रयत्नपछि गाउँमा दुइटा धारो बनाउने काममा गाउँलेलाई जुटाए । आफ्नै पैसा पनि लगाए । चर्पी बनाउन पनि उक्साए । त्यहाँबाट र्फकेदेखि उनी सरसफाइमा लागेको अहिले पनि रोकिएका छैनन् ।

युनिसेफमा उनले काम गरेको २२ वर्ष लागिसकेको छ । यसबीच नमस्तेलालले पचहत्तरै जिल्ला र २५ भन्दा बढी देश घुमी पनि सकेका छन् । जहाँ जाँदा, जति कुरा हेरे पनि उनी सरसफाइबारे घोत्लिएकै हुन्छन् ।

‘दक्षिण एसिया निकै फोहोर छ, त्यसमा पनि अफगानिस्तान ज्यादा फोहोर,’ उनले भने, ‘बंगलादेश र पाकिस्तानभन्दा हामी अलि सफा, भारत र नेपाल उस्तै, श्रीलंका र मालदिभ्स अलि सफा ।’

उनले सरसफाइ अभियान थाल्दा नेपालमा जम्मा ३ प्रतिशत घरमा शौचालय थियो रे ।

‘यतिका वर्षपछि पनि त्यो ५१ भन्दा बढी नाघेको छैन,’ उनले भने, ‘कणर्ालीका हुम्ला-जुम्ला र तराईका धेरै ठाउँमा बाहिरै शौच गर्छन् अहिले पनि ।’युरोप र अमेरकिा उनलाई निकै सफा लाग्छ । सफामध्येमा पर्ने अमेरकिामा तेस्रो पटक गएको वर्ष उनले ३० वर्षअघि छुट्टएिकी युवतीलाई भेटे, जससँग अनेक तालमेल नमिल्दा उनको घरबार बस्न सकेको थिएन ।

‘ऊ निकै बूढी भइसकिछ,’ दुई छोरीका पिता नमस्तेलालको जुँगा चल्यो, ‘छोरीचाहिँ राम्री थिई, मेरै जस्तो ।’

‘ओहो, तिमी त अझै फुर्तिला र तरुनै देखिन्छौ,’ उसले नमस्तेलालाई हेरेको हेर्‍यै गरी रे ।

छुट्टिने बेलामा पूर्वसुन्दरीले नमस्तेलाललाई इमेल पनि दिएकी थिई । त्यस विद्युतीय ठेगानामा यतिका वर्षपछि फेला परेकी साथीका लागि चिठी लेख्ने फुर्सद र जाँगर दुवै छैन उनीसँग ।

कान्तिपुर कोशेली
२०६६ कार्तिक १४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *