नेपालका अधिनायक शासकहरूले यहाँका स्रष्टाहरूप्रति देखाएको व्यवहार, स्रष्टाहरूप्रतिको कठोरता, असहिष्णुता आदिका अनेक उदाहरणहरू हाम्रा अगाडि छन् । मकैको खेती लेखेबापत कृष्णलाल अधिकारीले जेलमै प्राण विसर्जन गर्नु परेको थियो । धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीले लामो अवधिसम्म निर्वासित भएर रहनु परेको थियो । सोमनाथ सिग्देल, शम्भुप्रसाद ढुङ्गेल, बाबुराम आचार्य, चित्तधर हृदय, चक्रपाणी चालिसेदेखि यता आएर स्रष्टा दमनको लामो शृङ्खलाले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, चन्द्रमान मास्केसम्म पुगेर कठोर निरङ्कुशताको अरू अनेक नमुनाहरू प्रस्तुत गरेको थियो ।
भीमशमशेरलाई चन्द्रशमशेरभन्दा तुलनात्मक रूपमा केही उदार मानिन्थ्यो । उनी नेपालको प्रधानमन्त्री वा श्री ३ महाराज भनिने पदमा आसीन भएपछि केही चेतनशील व्यक्तिहरूले काठमाडौँको मछेन्द्र बहालमा पुस्तकालय स्थापना गर्ने निर्णय गरे तर ‘श्री ३ महाराज’ को स्वीकृतिवेगर त्यसबेला कुनै पनि कार्य गर्न निषेध थियो । त्यसैले पुस्तकालय खोल्ने स्वीकृतिको माग राखेर, भीमशमशेरलाई दिन एउटा आवेदन पत्र तयार पारियो । त्यसमा पैंतालीस जना जतिले हस्ताक्षर गरिसकेका थिए । अरू केहीले हस्ताक्षर गर्न बाँकी थियो । त्यो आवेदन पत्रमा कुनै राजनीतिक रङ थिएन, त्यसलाई गोप्य पनि राखिएको थिएन । विशुद्ध तवरले पुस्तकालय खोल्ने अनुमतिको माग मात्र त्यसमा थियो तर केही चेतनशील समूहको सामूहिक प्रयत्न त्यसमा रहेकाले, त्यसलाई राणाहरूले सहन गर्न सकेनन् । त्यो निवेदन जफत गरियो र त्यसमा दस्तखत गर्नेहरू – कृष्णप्रसाद कोइराला, जोगवीर सिंह कंसाकार, चित्तधर हृदय, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, महेन्द्रविक्रम शाह, शंकरदेव पन्त, वैकुण्ठप्रसाद लाकौल, तुलसीमेहर, प्रेमबहादुर कंसाकारलगायत धेरैलाई वि.सं. १९८७ को वैशाखमा पक्राउ गरियो । सुरुमा पक्राउ गरिएका सबैलाई कडा नियन्त्रणमा राखेर श्री ३ को गाथगद्दी ताकेको अभियोग लगाइएको थियो तर केही दिनपछि सबैलाई एक-एक सय जरिवाना गरेर छाडियो ।
यसरी महाकवि देवकोटाले तरुणवयमा नै साहित्यिक क्षेत्रमा आफ्नो सुदृ्ढ पाइला टेक्नुभन्दा पहिले देशको निमित्त केही गर्न खोज्दा, पुस्तकालयको स्थापना गर्न खोज्दा राणाहरूबाट सजायको भागी हुनु परेको थियो । त्यसभन्दा निकै पहिलेदेखि राणातन्त्रले देशको अघि जाने सबै मार्गहरू अवरुद्ध गरेर मुलुकलाई अन्धकारतिर धकेलिरहेको यथार्थप्रति उहाँ सचेत हुनुहुन्थ्यो ।
वि.सं. १९९७ साल काण्डमा जागरणका कविता लेखेबापत सिद्धिचरण श्रेष्ठलाई तथा केदारमान व्यथित, चित्तधर हृदयहरूले पनि जेलको कठोर यातना बेहोर्नु पर्यो । त्यस काण्डमा महाकवि देवकोटालाई पनि कडा निगरानीमा राखिएको थियो । श्री ३ महाराजको स्तुति नलेखेर, विशुद्ध साहित्यको रचना गरेकोमा राणाहरूको कडा दृष्टि देवकोटामाथि परिसकेको थियो ।
वि.सं. २००३ को माघमा नेपाली राष्ट्रिय काङ्ग्रेसको कलकत्तामा विधिवत गठन भयो । त्यसले देशभित्रका चेतनशील वर्गलाई नयाँ उत्साह प्रदान गर्यो । त्यही उत्साहमा नेपाली राष्ट्रिय काङ्ग्रेसलाई सहयोग गर्न महाकवि देवकोटा २००४ मा भूमिगतरूपले बनारस पुग्नुभयो । २००४ को वसन्त पञ्चमीको दिनदेखि नेपाली राष्ट्रिय काङ्ग्रेसको मुखपत्रको रूपमा- ‘युगवाणी’ को प्रकाशन प्रारम्भ भयो । महाकवि देवकोटाले त्यसको सम्पादन समूहमा रहेर काम गर्नुभएको थियो । त्यसैबेला उहाँले सरल भाषामा लेखेको – ‘पहाडी पुकार’ र अरू कतिपय कविताहरू नेपालको जनसङ्घर्षलाई अघि बढ्न साहस र उत्साह प्रदान गर्ने क्रान्तिकारी कविताहरू थिए ।
२००७ को जन-क्रान्ति र त्यसभन्दा केही पहिले नेपालका अरू पनि कविलेखहरू निरङ्कुश राणातन्त्रको विरोधमा सक्रियताका साथ संलग्न हुनुभयो । केदारमान व्यथित र विजय मल्लले भारत र नेपालको जेलमा लामो यातना बेहोर्नु पर्यो । गोविन्द गोठाले, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, युद्धप्रसाद मिश्र आदि पनि राणातन्त्रको विरोध अभियानमा लाग्नुभयो ।
२००७ को मङ्सिर १९ गते काठमाडौँ जुलुस प्रदर्शनको बर्बर दमनमा न्हुछेरत्नले शहादत प्राप्त गरे । सहिद न्हुछेरत्नप्रति सम्मान प्रक्रट गर्दै, मङ्सिर २० गते बालकृष्णशमशेर र जङ्गबहादुर राणाले असनस्थित न्हुछेरत्नको घरमा पुगेर, त्यसै दिनदेखि उहाँले आफू र आफ्नो परिवारको नामबाट – ‘शेरजङ्गबहादुर राणा’ भन्ने शब्दावलीलाई हटाएर बाँकी रहेको ‘शम’ लाई समतामूलक शब्द- ‘सम’ मा परिणत गरेर, आफू सत्तासीन राणाबाट सर्वसाधरण – बालकृष्ण सम भएर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैदिन, मङ्सिर २० गते अपरान्ह बालकृष्ण सम, उहाँका छोरा त्यसबेलाका युवा साहित्यकार जनार्दन सम, बालकृष्ण समकै छोरी- कवयित्री रश्मी राज्यलक्ष्मी शााह एवं उपन्यासकार डायमण्डशमशेर राणासमेत राणाहरूकै एक समूहबाट एकतन्त्रीय राणाशासनको विरोधमा जुलुस प्रदर्शन भएको थियो । उहाँहरू सबैलाई जुलुसबाटै पक्राउ गरिएको थियो । यसरी देशमा प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महाकवि देवकोटा, सम र सिद्धिचरणलगायत अरू अनेक कवि-लेखकहरूले आफूलाई समाहित गर्नुभएको थियो ।
देशमा प्रजातन्त्रको स्थापना गर्न तथा प्रजातान्त्रिक सुदृढ पारेर, नेपाललाई सम्पूर्ण नेपालीहरूको आस्थाको धरोहरूको रूपमा उभ्याएर, नेपाललाई शान्त, स्निग्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न मन, वचन, लेखन र अरू कर्मले महाकवि देवकोटा लागिरहनुभयो ।
२००९ को वैशाख १ गते गठन गरिएको सल्लाहकार सभाको सदस्यमा महाकवि देवकोटा पनि रहनुभएको थियो । २००९ को असारमा यो सल्लाहकार सभाको राजा त्रिभुवनबाट उद्घाटन भयो । त्यसको पहिलो बैठक सिंहदरबारको ग्यालरी बैठकमा बस्यो । त्यसको अध्यक्षमा कृष्णप्रसाद भट्टराई र उपाध्यक्षमा शिवपतिप्रताप शाह छानिनुभएको थियो । साधारणतः संसद्कै रूपमा यो सल्लाहकार सभालाई सञ्चालन गरिएको थियो । त्यसैले त्यसमा प्रतिपक्षी बेञ्चलाई पनि मान्यता दिइएको थियो । ऋषिकेश शाह प्रतिपक्षी दलको नेता र केदारमान व्यथित उपनेता हुनुहुन्थ्यो । यो प्रतिपक्षी दलमा रहने अरू चार जना सदस्यहरूमा लक्ष्मीप्रसाद देवकोटा, पुन्यप्रभादेवी ढुङ्गाना, गुलावनारायण झा र शिवप्रसाद रौनियार हुनुहुन्थ्यो । छोटो अवधिसम्म मात्र यो सल्लाहकार सभा सञ्चालन भयो तर त्यसलाई संसदीय परम्परा, संसदीय प्रणाली र संसदीय आदर्शअनुरूपले अघि बढाउन देवकोटाले महìवपूर्ण योगदान पुर्याउनुभएको थियो । राजा त्रिभुवनले संवैधानिक राजाको सीमारेखालाई अतिक्रमण गरेर जाने क्रममा, २००९ को भदौ २० गते यो सल्लाहकार सभालाई विघटन गरियो ।
२०११ वैशाख १ गते पुनः अर्काे सल्लाहकार सभाको गठन भयो । त्यसमा पनि महाकवि देवकोटालाई मनोनित गरिएको थियो तर नेपाली काङ्ग्रेसले त्यसमा भाग लिएन । महाकवि देवकोटाले त्यो सल्लाहकार सभाको बैठकमा पनि प्रजातान्त्रिक परिपाटीलाई संस्थागतरूपले अघि बढाउन, देशको उत्थानमा ध्यान दिन र राष्ट्र र जनताको हित विपरीतका कार्यहरू रोक्न अनेकपटक सरकारको ध्यान आकर्षण गराउनुभएको थियो ।
२०१४ मा डा. के. आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डलमा महाकवि देवकोटालाई शिक्षामन्त्री बनाइएको थियो । देश सङ्कटमा परेको बेला, सङ्कट निराकरणमा यसरी राजनीतिमा सक्रियताका साथ संलग्न भएर महाकविले राजनीतिक क्षेत्रमा आफ्ना अमूल्य समय प्रदान गर्नुभएको थियो ।
महाकवि देवकोटाको यही-देश र जनताको हित र हकप्रतिको प्रतिबद्धता र निरङ्कुशताको विरोध, आत्मसमर्पण नगर्ने स्वाभिमान-यिनै कारणले राजा महेन्द्रबाट उहाँका प्रति कठोर व्यवहार गरिएको थियो । नेपालमा एकेडेमीको निर्माणमा महाकवि देवकोटाले अथक प्रयत्न गर्नुभएको थियो । यसमा वी.पी. कोइरालाले उहाँलाई अनेक तरहले सहयोग गर्नुभएको थियो । यसबारेमा सम्पूर्ण कुराहरू अघि बढेपछि राजा महेन्द्रले पनि यसमा उचित ध्यान दिन थालेका थिए ।
