Skip to content


लक्ष्मीप्रसाद देवकोटा पण्डित परिवारमा जन्मेर धार्मिक वातावरणमा हुर्केका थिए । त्यसैले उनी युवावस्थाको पहिलो चरणसम्म ईश्वरवादी थिए, भाग्य र परलोकमा विश्वास गर्थे । उनका सुरुका कृतिहरूमा यत्रतत्र यी कुरा व्यक्त भएका छन् । उनको १९९० सालको नाटक ‘सावित्री सत्यवान्’ धार्मिक र ‘ईश्वरीय आस्थाको’ ज्वलन्त नमुना हो । आफ्नो नाटकको प्रमुख पात्र सत्यवान्को शब्दमा देवकोटा भन्दछन्-
सेवा ईश्वरको, जस्ले स्वर्ग लैजान्छ, पितृको
जस्ले ऋण तिरी दिन्छ, बन्धुवर्ग पराइको
जस्ले सौन्दर्यले भर्छ संसार सब, देशको
प्राणीको जसमा आफैँ अन्तर्गत छ ईश्वर ।

१९९२ मा रचित सबभन्दा लोकप्रिय कृति ‘मुनामदन’ र अन्य रचनामा ईश्वर, सृष्टि, स्वर्ग, ब्रहृमजस्ता कुरा विभिन्न पात्रका माध्यमबाट प्रस्तुत गरेका छन् देवकोटाले-
‘ईश्वर माथि मुटु छ साथी जङ्घार तरुँला ।’
‘ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस्
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?’
‘कर्ममै पूजा ईश्वर भन्छ यो लक्ष्मी प्रसाद ।’
(मुनामदन)

‘बाबा हुन् ब्रहृम हाम्रा’ (जीवन वन) आदि ।

पैंतीसको उमेरतिर लेखेको एक निबन्धमा उनले ईश्वरवादका विरोधीहरू र वैधानिकहरूलाई अन्धा भनेका छन- “ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हुँदैन ।…. यत्रो विश्वको काँट र अडान देख्दादेख्दै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिँदैन भन्नु अन्धोपन हो । … वैज्ञानिकहरू अन्धोकाकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन ।”
(पाँचोटा चाहिने कुराहरू)

यसप्रकार ईश्वर, स्वर्गजस्ता कुरामा दृढ विश्वास हुँदाहुँदै पनि युवा देवकोटामा मानवतालाई उच्च स्थान दिने प्रवृत्ति थियो ।
बुद्ध देवको नजर अगाडि
यही भिखारी आएथ्यो
मूर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो ।
(भिखारी)

मानवतावादी दर्शन दैवी सत्तालाई भन्दा मानवीय सत्तालाई माथि राख्ने सामाजिक चिन्तनको क्रममा अघि बढेको हो । १९९७ सालको सहिद काण्डले देवकोटाको मानवतावादलाई तीव्ररूपले उत्प्रेरित गर्‍यो । त्यसबेला उनमा देवतालाई भन्दा सहिदलाई, स्वर्गलाई भन्दा धर्तीलाई महत्व दिने चिन्तन देखापर्‍यो-
धर्म बोले- “कुन मन्दिरमा पूजा गर्छौ आऊ,”
मैले बोलेँ “वीरहरूको बलिदान भएका ठाउँ ।”
योगी बोले- ”चढाऊ समाधि खुल्छ तिमीकन स्वर्गद्वार ।”
मैले बोलेँ- ”बाल्नुछ बत्ती अझ छ अँध्यारो संसार ।”
(बन)

तर १९९७ को घटनाले उनमा पारेको प्रभाव केही समयपछि अलि धूमिल भएजस्तो देखिन्छ । २००२ र ०३ सालमा रचेका ‘शाकुन्तल’, ‘सुलोचना’ ‘महाराणा प्रताप’ आदि जस्ता महाकाव्यमा उनले गाई र ब्राहृमणलाई सुखी बनाउने, हिन्दू राज्यको किल्ला ठडाउने ‘लेच्छ’ (हिन्दूधर्मका विरोधी)हरूको संहार गर्ने, प्राचीन धर्म संस्कृतिलाई नेपालमा हुर्काउनेजस्ता कुराको दुन्दुभिघोष गर्छन्-
“हामी यहाँ बनाउँला ऋषिको सपना नयाँ
गो-ब्राहृमण सुखी पाली धर्मको दुनियाँ हरा
स्वर्गीय भारती राज्य हिन्दू किल्ला रमाइलो ।”
(‘सुलोचना’ मा दुष्ट मर्दन)

तर जब देवकोटा २००४ सालमा बनारस गई ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’को मुखपत्र ‘युगवाणी’ को सम्पादन गर्न थाले, अत्याचारी निरङ्कुश राणाशाहीविरुद्ध कलम चलाउने क्रममा उनी ‘प्राचीन हिन्दू राज्य’ को सपनाबाट वर्तमान लोकतन्त्र स्थापनाको यथार्थ धरातलमा ओर्ले । उनको स्वाभिमान गज्र्यो-
ज्यानै यो जाओस् प्राणै यो जाओस् पर्वाह गर्दैैनौँ
मानिसलाई चाहिने हक नलिई छाड्दैनौँ,
मर्नु त एक दिन अवश्यै पर्छ पशुझैँ नजिऊँ
मानिस हुँ भने मानिसझैँ जिऊँ मानिसको हक लिऊँ ।
(पहाडी पुकार, २००५)

बनारसमा काङ्ग्रेसको केन्द्रीय कार्यालयमा बसेर क्रान्तिकारी पत्रकारिता गर्दा काङ्ग्रेस नेतृत्वको पदको झगडा र दक्षिणपन्थी गठबन्धन देख्दा देवकोटा दिक्क भए । त्यहाँ आफू जस्तै दिक्क भएका पुष्पलालजस्ता वामपन्थी नेतासँग छलफल र माक्र्सवादको अध्ययन गर्दागर्दै उनको झुकाउ क्रमशः वामपन्थतिर बढ्न थाल्यो । २००६ सालमा उनले ‘ईश्वरवाद र अनिश्वरवाद’ शीर्षकमा माक्र्सवाद उन्मुख पहिलो लेख लेखे । त्यसमा उनी भन्छन्- “ईश्वरमा प्रशस्त घून-कीरा छन् । ईश्वरवादसँग निरङ्कुशतन्त्रको भूत, देवतन्त्रको भूत, थिचाइ मिचाइ, अत्याचार नादिरशाही तथा जातिलुट चलेकाले ईश्वरवाद आधुनिक संसारको नाकमा धेरै गन्हाएको छ । ….. ईश्वरवादमा अनावश्यक चलाकीहरू छन् । एकदृष्टिकोण पूरा गर्नका लागि अनन्त क्लेश र गडबडसमेत यसमा पाइन्छन् । ईश्वरवादले गर्दा ध्वंसात्मक वृत्तिहरू पैदा गरेको छ । …. क्रियाशील, प्रगतिशील, मानव विकासको नैतिक अनिश्वरवाद, निस्कृय, अनुन्नत, अवकाश, अनैतिक अन्धा उल्टो, मोलको ईश्वरवाद भन्दा समाजोपयोगी छ ।”

यसरी देवकोटा वामपक्षतिर झुक्न थालेपछि काङ्ग्रेस पार्टीबाट उनी उपेक्षित हुँदै गए । आर्थिक प्रबन्धबाट वञ्चित हुँदै गएपछि उनी बाध्य भएर २००६ को दसैँतिर नेपाल फर्के । २००७ को परिवर्तनबाट उनी पूरा सन्तुष्ट भएनन् । त्यसपछिको नेतृत्वको आलोचनामा उनले लेखे-
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जनअधिकारको डंडाल्नोको भांच हेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *