Skip to content

महाकवि र उनको साहित्यिक पत्रकारिता

  • by


शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्तिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निम्ति लेख्दिन, लेख्तछु- लेख्नका लागि र आएका विचार मानवहरूलाई सच्चा प्रकाशमा गर्नाका निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले कला बिग्रन्छ । मन तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ।
महाकवि देवकोटा
l तिलमाधव देवकोटा र राज्यलक्ष्मीदेवीबाट वि.संं. १९६६ कात्तिक २७ गते धोबीधारा काठमाडौँमा जन्मिएका तीर्थमाधव नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा नामबाट प्रसिद्ध भए । गाई-तिहारे औंसी- लक्ष्मीपूजाका दिन जन्मिएका कारण उनको नाम लक्ष्मीप्रसाद राखिएको भनिन्छ ।
l तत्कालीन समयका उच्चशिक्षित- बी.ए., बीएल र एम.ए को पनि अध्ययन गरेका देवकोटा अत्यन्त तीक्ष्ण बुद्धि र ज्ञानका धनी थिए । उनीले आफ्नो सम्पूर्ण जीवन लेखनमा नै अर्पित गरे । वि.सं. १९९१ म्ाा ‘पूणिर्माको जलधि’ कविता गोर्खापत्रमा छापिएपछि पाठकसामु देखा परेका देवकोटाले १९९३ मा गोसाइँकुण्डको यात्रा गरेपछि यात्राबाट प्रभावित भएर पहाडी जीवन, मुनामदन, लुनी, म्हेन्दु आदि कृतिहरू रचना गरेको कुरा उल्लेख छ ।
घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले देवकोटा म्याट्रिक गरेपछि नै ट्यु्सनमा लागेका थिए । अनि आजीवन ट्युसन मास्टरकै रूपमा परिचित भए ।
पचासभन्दा बढी ग्रन्थका रचयिता देवकोटाका थुप्रै रचनाहरू अझै पनि अप्रकाशित छन् भनेेर विज्ञहरू बताउने गर्छन् । पत्रपत्रिकामा छापिएका थुप्रै रचनाहरू सङ्गृहित हुन बाँकी नै छन् । निधन भएको पचास वर्ष पुगिसकेको छ । अनि यसवर्ष जन्मशताब्दी मनाइँदै छ ।
मानवतावाद
र्फकर्फक हे आउ समाउ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ
मानिसहरू भई ईश्वरको त्यो, दिव्य मुहार हसाउ ।
मेरो अमृत मानिसहरूको सेवा मानवतावादी, प्रकृतिवादी, राष्ट्रवादी र क्रान्तिकारी हुन् देवकोटा भनेर विभिन्न रूपमा व्याख्या-विश्लेषण गर्नेहरू पनि छन् ।
धर्तीको यो मालिक्याइँ ठाउँबाट खोस
एक आवाज गर किसान एकै डल्लो बनी
हजार गरिब एकातिर अर्कोतिर धनी
हातमा लाठी लेउ सबै (कृषिबाला)
राष्ट्रियभाव
“हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको झल्को झन् सबैभन्दा सानो हुन्छ । नेपाल पृथ्वीको सानो सिरिबिन्दु नै होस् तर यही परमानन्द घनीभूत छ ।” यसरी देवकोटाले नेपाललाई एउटा सानो विश्वका रूपमा कल्पना गर्छन् ।
फुल्दो गुलावबीच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तìव खुल्छन् ।
“यहाँ बाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन्, इलियट र टर्नर भेडा चराउँदा हुन्, सेक्रेेटिज गुफामा घोत्लिरहेका होलान् । म कहाँ सान्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन किलरहरू गीत गाउँछन्, यहाँ कति सावित्री छन् जसको कथा संसारले सुनेको छैन, यहाँ कति साहित्य छ- जो लेखिएकै छैन…।”
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेको स्वर्ग समुच्च जाति यसका छन् विचित्र ।
पुस्तकालय काण्ड
देवकोटासहित छयालीस जनाले हस्ताक्षर गरेर पुस्तकालय खोल्ने अनुमतिका लागि श्री ३ भीमशमशेरकहाँ बिन्तीपत्र दिएका थिए तर पुस्तकालय खोलेर राजनीति गर्न लागेको आरोपमा सबैलाई पक्राउ र जरिवाना गरियो । जसमा एक सय रुपियाँ जरिवाना र आइन्दा कुनै पनि यस्ता काम नगर्ने भनेर सर्तसहित छोडिएको थियो । यो घटना थियो- वि.सं. १९८७ वैशाखको । महाकवि देवकोटाले पुस्तकालय खोलेर सरस्वतीको साधना-अध्ययन लेखन गर्न खोज्दा सय रू. जरिवाना र आइन्दा यस्तो काम नगर्ने भनेर कागज, गर्नुपर्दा त्यसैबेलादेखि राणाशासन विरुद्धको अन्तर्चेतना जागृत हुँदैगएको देखिन्छ ।
इन्दि्रय गोरु शरीर हलोमा बाँधी बाँधी खनखन खेत
बीउ छन् जगमा कर्म हजारौँ रोप, फलाउ लहलह खेत ।
छोटो छ जीवन सबै गरुँला भनेको
बन्दैन एक रतिसम्म बसी गुनेको
निर्वासनसँगै युगवाणी नेपाली साहित्यपरिषद्का सभापति बनेर भाषा साहित्यको सेवामा समर्पित भएका देवकोटा राणातन्त्रबाट दुःखी भएर २००४ साउन ३ गते काठमाडौँबाट बनारसतिर लागे । (चूम बन्धु देवकोटा पृ.२४६ ) तत्कालीन अवस्था- राणासत्ताका बेला राणाविरोधी गतिविधिमा संलग्न भएको भनी घर खानतलासी भयो । त्यतिबेला पत्नी छोराछोरीको दुर्दशा भएको थियो । बनारसमा नेपाली राष्ट्रिय काङ्गे्रससँग आबद्ध भएर रहन थालेका देवकोटा २००४ माघ १३ देखि पहिलो प्रकाशन प्रारम्भ भएको ‘युगवाणी’ पत्रिकाको सम्पादक बने । बनारस बसेकै बेला युगवाणीको सम्पादनसँगै बीसवटा विभिन्न कृतिहरू रचना गरेका थिए ।
युगवाणीको प्रथम अङ्कको आवरणमा उल्लेख भएअनुसार- भट्टराईबन्धु प्रकाशन/ साप्ताहिक/सम्पादक मण्डल ः लक्ष्मीप्रसाद देवकोटा, नारायणप्रसाद उपाध्याय, बालचन्द्र शर्मा, कृष्णप्रसाद उपाध्याय भनेर विवरण पाइन्छ ।
l “नेपाली भाषाभाषीहरूको आवश्यकताको अनुभव गरी युगवाणीको प्रकाशन सुरु गरिएको । भाषा, साहित्यको प्रचारप्रसारसँगै निष्पक्ष राजनीतिक विवेचना गर्नु पनि यस पत्रिकाको उद्देश्य हो । समाजको विकासका लागि सामाजिक स्तर विकसित हुनुपर्छ, यसनिम्ति समाजशास्त्रको अध्ययन आवश्यक छ । त्यसकारण पत्रिकाले समाजशास्त्रको दिग्दर्शन गराउने काम पनि लिएको छ । देशका मान्छेलाई शिक्षित र सम्पन्न बनाउन शैक्षिक र आर्थिक योजना पनि प्रकाशित गर्दै लैजाने ।”
युगवाणी अङ्क १ को सम्पादकीय यो सारांशसँगै अर्को सानो अंश ः
“ऋषि आज छैनन् भन्नु फुलो हो । बन्न सक्तैनन् भन्नु धुलो हो । युग नचिनेर हाड घोट्नु कट्टरता हो । … युगवाणी भन्ने शब्द आजको यथार्थ आवाज हो । … यहाँ छ ताजा नरम सत्य अहिलेको /आजको हल भोलिको बालीको बीउ । यसको नाम युगवाणी हो । सम्पादकीय १/१ पृ.३ .
जनचेतना जागरण
डेढ करोडका आँसु यसमा, यसमा डेढ करोडौँ यात्रा
यसमा सारा नेपालीको अन्तर्हृदयको नवभाषा
यसमा स्वर्ग नवीन मनोहर, यसमा शीतल जलखानी
भविष्यचेता अन्तस्तलको उद्गारित यो युगवाणी ।- देवकोटा
युगौँदेखिको अन्धकार हटाउन युगवाणी प्रारम्भ गरिएको र यसले नेपालभित्र र बाहिर समेतका डेढ करोड नेपालीलाई जगाउने काम गर्नेछ भनेर देवकोटा स्वयंले लेखेका छन् । ‘युगवाणी’ को प्रमुख उद्देश्य तत्कालीन राणासत्ता समाप्त पार्ने अभियानमा वैचारिक चेतना जगाउनु रहे पनि यसको प्रकाशन सामग्री हेर्दा साहित्यिक पत्रकारिताको विकासमा पनि राम्रो योगदान दिएको देखिन्छ । देवकोटाका साहित्यिक लेख, रचना, सम्पादकीय र कविताहरू युगवाणीका मुख्य स्तम्भ बनेका छन् । त्यस्तै अन्य साहित्यकारहरूको रचना पनि छापिने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *