२९ भदौ सोमबार २०१६ को त्यो साँझ महाकवि देवकोटाको निधनको खबर सुन्दा आफूले प्रत्यक्ष नदेखेको भए पनि ‘भिखारी’, ‘सुनको बिहान’ तथा अन्यत्रसमेत कलाकार केशव दुवाडीले कोरेका चित्रहरूमा देखेका महाकवि देवकोटाको अनुहारको सम्झनामा रुमल्लिरहेँ ! ‘मुनामदन’, ‘सुनको बिहान’ ‘भिखारी’ का कविताहरू तथा नेपाली पद्यसङ्ग्रह भाग- १ का पाठ्यक्रममा घोकेका श्लोकहरू मुखाग्र आइरहे ! राष्ट्रिय शोकका रूपमा राजा त्रिभुवनको शोक अनुभव गरेको यो लेखकले दोस्रो शोकको रूपमा महाकवि देवकोटाको मृत्युशोक थियो ।
त्यतिखेरका समाचारपत्रहरूमा महाकवि अवसानका खबरहरू तथा विभिन्न व्यक्ति वा सङ्घ-संस्थाले पारित गरेका शोक प्रस्तावहरू छापिएका थिए ! त्यस्ता पत्रपत्रिकाले छापेका समाचारहरूका टिपोट नमुनाको रूपमा प्रस्तुत छ ।
दैनिकरूपमा प्रकाशित ‘कल्पना’ ले ३१ भदौमा महाकविप्रति श्रद्धाञ्जली शीर्षकमा निम्न समाचार छापेको छ-
काठमाँडु, भाद्र ३१ (आँ.स.) नेपाल एकेडेमीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधनमा निम्न लिखित शोक प्रस्ताव पास गरेको छ ः-
नेपाल एकेडेमीका महान् प्रतिभा सम्पन्न सदस्य लक्ष्मीप्रसाद देवकोटाको निधनमा हामी सारा एकेडेमी परिवार शोकसन्तप्त भई यस देशको साहित्यजगत्को अपूरणीय क्षतिको अनुभव गरिरहेका छौँ । भावना र बुद्धिको यस्तो सम्पन्नता कुनै एउटै व्यक्तिमा निहित भएको अन्यत्र पाउन गाह्रै छ । उहाँको ज्ञान सम्पन्नताको सहयोग एकेडेमीले केवल दुई वर्ष मात्र पाई आज उहाँको अमूल्य सहयोगबाट सदाको निमित्त वञ्चित हुनुपर्दा एकेडेमी परिवार एउटा व्यापक शोकले आच्छादित भइरहेको छ । उहाँको आत्मालाई शान्ति प्राप्त होओस् र उहाँका सन्तप्त परिवारलाई यो महान् कष्ट सहने बल मिलोस् भन्ने भगवान्सित हाम्रो प्रार्थना छ ।
नेपाल एकेडेमीका सदस्य महाकवि लक्ष्मीप्रसाद देवकोटाका सारा अप्रकाशित कृतिहरू उहाँका उत्तराधिकारीहरूद्वारा अथवा उहाँहरूले प्रकाशित गराउन असमर्थ भए अनुमतिपूर्वक एकेडेमीले नै प्रकाशित गराउने निर्णय गर्यो । यस कामको अभिभारा एकेडेमीका सदस्य माधवप्रसाद घिमिरेलाई सुम्पिएको छ ।”
यसै समाचार मुन्तिरपट्टि हृदयचन्द्रसिंह प्रधानद्वारा श्रद्धाञ्जली शीर्षकमा यस्तो समाचार लेखिएको छ-
”हृदयचन्द्रसिंह प्रधानले लक्ष्मीप्रसाद देवकोटाको निधनउपर समवेदना प्रकट गर्दै भन्नुभएको छ, हतपती पूरा हुन नसक्ने क्षति हुन गएको छ । अन्त समयमा पनि दिवङ्गत महाकविसँग भेट गर्न नपाएकोमा उहाँले हार्दिक अपशोस पनि प्रकट गर्नुभएको छ ।”
स्मरणीय छ, हृदयचन्द्रसिंह प्रधानको पनि त्यसै सालको माघ १० गते निधन भएको थियो !
४ असोज २०१६ को ‘कल्पना’ दैनिकले ‘महाकवि देवकोटाको स्मारक स्थापनामा नेपाली लेखक सङ्घ प्रयत्नशील’ शीर्षकमा लेखेको छ – ”काठमाँडु , आश्विन ४ (नि.सं.) हिजो बिहान सञ्चारमन्त्री गणेशमान सिंहको निवास स्थानमा नेपालका प्रतिष्ठित लेखक, कवि तथा शिक्षित वर्गको एक बैठक नेपाली लेखक सङ्घको आयोजनामा भएको थियो । बैठकले स्वर्गीय महाकवि देवकोटाको निधनमा शोक प्रकट गर्दै उहाँको तेह्रौँ दिनको दिन यही आश्विन १० गते एक मौन जुलुस निकाली शोक सभा गर्ने निर्णय गर्यो । एक कार्य सञ्चालन समिति गठन गरियो, जसमा कवि शिरोमणि लेखनाथ सभापति र सेक्रेटरी विजय मल्ल छानिनुभयो । यसको साथै निम्नलिखित व्यक्तिहरू पनि सम्मिलित गरिनुभएको छ ः –
यसको साथै उक्त बैठकले देवकोटासम्बन्धी स्मारक विषयमा ठोस कदम चाल्ने विचार गर्यो ।
यो शोकसभाको जुलुसमा यो लेखक पनि सम्मिलित थियो ।
जुलुस भानुभक्तको शालिक (दरबार हाइस्कुल) मा भेला भएर टुँडिखेल खरीको बोटमा सभामा परिणत भएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको सभापतित्वमा भएको सो सभामा प्रधानमन्त्री, शिक्षामन्त्री, सञ्चारमन्त्री, भारतीय राजदूत, कार्य सञ्चालन समितिका महानुभावहरू तथा अन्य अतिथिहरूको उपस्थिति थियो ।
सभामा सुरुमा प्रधानमन्त्री, शिक्षामन्त्री, सञ्चारमन्त्री, महामहिम भारतीय राजदूत तथा अन्य विशिष्ट महानुभावहरूले महाकविको फोटोमा माल्यार्पण तथा फूलका गुच्छा चढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । विजय मल्लले राजाबाट व्यक्त भएको शोक सन्देश पढेर सुनाउनुभएको थियो । शोक सन्देशको सार थियो- असाधारण प्रतिभासम्पन्न नेपाली विद्वान् र कविको असामयिक निधनले राष्ट्रको ठूलो क्षति भएको छ ।
अखबारले अन्तमा लेखेको छ- “नेपाल राष्ट्रमा यो पहिलो मौका थियो, जब साधारण दुनियाँ रैतीका छोरा भएर पनि असाधारण प्रतिभासम्पन्न एक कवि सरकारी र गैरसरकारी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा यस्तो व्यापक शोक मनाइयो ।”
शोक समारोहमा डा. मिलरले अङ्ग्रेजीमा भारतीय राजदूत भगवान् सहाय तथा सांस्कृतिक सहचारी शिव मङ्गलसिंह ‘सुमन’ ले हिन्दीमा बोल्नुभएको थियो । त्यतिखेर प्रकाशित हालखबरले महाकवि देवकोटासम्बन्धी लेखरचना छापेको थियो भने नयाँ समाजले केही रचनाहरू छापेका थिए । ‘गोरखापत्र’ हप्ताको तीनपटक प्रकाशित हुन्थ्यो, त्यसमा पनि केही छापिएका थिए ।
महाकविको निधनपछि ‘प्रहरी’ (तीन महिने), ‘महाकवि लक्ष्मीप्रसाद श्रद्धाञ्जली अङ्क’ र ‘साहित्य सङ्गम’ (दुई महिने)ले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति अङ्क’ प्रकाशित गरेका थिए । यसैगरी ‘स्वास्नीमान्छे’ (तीन महिने साहित्यिक पत्रिका) दोस्रो वर्ष दोस्रो भेटले “महाकवि लक्ष्मीप्रसाद देवकोटाको देहान्त” शीर्षकमा यसरी समाचार छापेको थियो ।
“गत भदौ २९ साँझ पशुपति आर्यघाटमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको देहान्त भयो । उहाँ निकै महिनादेखि लिभर क्यान्सर रोगबाट थला पर्नुभएको थियो । उहाँको निधनमा शोक प्रकट गर्न संसद्को दुवै सदनका कामहरू एकदिनको निमित्त स्थगित गरिए । अड्डाखानाहरू बन्द राखिए र राष्ट्रिय झण्डा आधा निहुर्याइयो । उहाँको देहान्तको भोलिपल्ट नै सरकारले महाकविको पारिवारिक रिन तिर्न २२ हजार, किरिया खर्च ३ हजार र दुई जना छोराहरूलाई बालिग नहोउञ्जेलसम्मको निम्ति पढाइ खर्च महिनाको एक-एक सय रुपियाँ दिने कुरा जनायो । महाकविको देहान्तबाट खिन्न भएका स्वदेश-विदेशका सारा नेपालीहरूले अनेक शोकसभाहरू गरे, मौन जुलुसहरू निक्ले, समवेदनाका सन्देशहरू पठाए, स्मारकहरू बनाउने निधो गरे र उहाँका अप्रकाशित कृतिहरूलाई प्रकाशित गर्ने निधो गरे । यसभन्दा अघि कुनै नेपाली साहित्यकारको देहावसानमा यति व्यापकरूपमा शोक मनाइएको थिएन । मरेपछि महाकविप्रति यस्तो बिघ्न श्रद्धा देखाउनेहरूले उहाँ बाँच्नुभएकै बेलामा राम्रो वास्ता राखिदिएका भए ५१ वर्षको अर्धायुमा नै उहाँले यसरी जानुपर्ने थिएन । उहाँको निधनबाट चोखो मन भएका अरू दिदीबहिनी- दाजुभाइहरूलाईझैँ हाम्रो हृदयमा पनि ठूलो घाउ लाग्न गएको छ ।”
‘शारदा’ मासिकसँग महाकवि देवकोटाको जन्मकालदेखि नै अटुट सम्बन्ध गाँसिएको थियो । ‘शारदा’ का प्रकाशित अङ्कहरूमा सबभन्दा धेरै लेखरचना छपाउनेमा महाकवि देवकोटा नै पहिलो हुनुहुन्छ । देवकोटाले कतिपय ‘शारदा’का अङ्कहरूमा सम्पादकीय लेख्नुभएको छ ।
‘शारदा’ ले वर्ष २४ अङ्क १ मा लेखेको सम्पादकीय विचारपट्ट िएकछिन ध्यान दिउँ ।
“साहित्यका महान् व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको निधन अकस्मात् हुन गयो । नेपाली साहित्यको ‘एउटा उज्ज्वल तारा’ लुप्त भयो । उहाँको यस अवसानले साहित्यमा एउटा विराट रिक्तता भएको छ । सम्पूर्ण साहित्यिकहरू यस सम्ााचारले स्वभावतः शोकाकुल, विहृवल भएका छन् । नेपाली जनताले एक महान् चिन्तक, विचारक, एउटा प्रतिभावान्, मेघावी, शीर्षस्थ कविलाई हराएको छ । उहाँको यस महाप्रस्थानले, साहित्यको एउटा सशक्त धारा- ‘काव्य’ मा महाशून्यता व्याप्त गरेको छ ।
‘शारदा’ पत्रिकासँग महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त घनिष्ठ सम्बन्ध थियो । उहाँको प्रथम कालमा लेखिएका विविध सुन्दर स्वप्निल कविताहरू सर्वप्रथम ‘शारदा’ मा नै प्रकाशित भएका थिए । त्यसबेला १९९० सालदेखि श्री लक्ष्मीप्रसाद देवकोटा र ‘शारदा’ परस्परमा गुँथिएका थिए । देवकोटाज्यू र सिद्धिचरणज्यू यी काव्यजगत्का दुई ताराहरू ‘शारदा’ पत्रिकाको माध्यमबाट नेपालभर सुप्रसिद्ध भइसकेका थिए । श्री देवकोटाज्यूको लामो साहित्यिक जीवनमा ‘शारदा’ ले सदा सर्वदा सहयोग, सल्लाह र विचारधाराहरू पाउँदै आएको थियो र उहाँको अथक परिश्रम र सेवाले ‘शारदा’ सधैँ ऋणि रहिरहने छ ।”
त्यतिखेरको ‘हालखबर’ दैनिकले पनि महाकवि देवकोटासम्बन्धी लेखरचना छापेको थियो । सिद्धिचरण श्रेष्ठद्वारा लिखित ‘ब्रहृमनालमा’ लामो कविता त्यसमा छापिएको थियो ।
‘प्रहरी’ श्रद्धाञ्जली अङ्कमा महाकवि देवकोटाको विषयमा लेखिएको सम्पादकीय नमुना-
लक्ष्मीप्रसाद देवकोटा ! कालसँग कुस्ती खेले पनि पछार्न सक्ने शरीर ! कसैको आँखामा हाले पनि नबिजाउने बानी
बेहोरा ! मुनामदनका स्रष्टा । बैँस र जवानीको नायक, हाम्रो प्यारो कवि, हाम्रो यशस्वी महाकवि ! अब हाम्रो बीचमा
छैनन् ! यो कस्तो दुःख कुरा हो ! सारा देशवासीले यो महाशोकलाई जसरी अनुभव गर्यो, त्यो अभूतपूर्व थियो ।’
नेपालमा सर्वप्रथम महाकवि शब्दले उहाँलाई नै पुकारियो । कुनै बेला सल्लाहकार सभामा उहाँ विरोधी पक्षको नेता पनि चुनिनु भो । श्री ५ को सरकारमा शिक्षामन्त्री पनि बन्नुभयो र अन्तिम समयसम्म नेपाल एकेडेमीका सदस्य र युनिभर्सिटी कमिशनको सदस्य पनि हुनुहुन्थ्यो । यो महान् व्यक्तित्वले सबै क्षेत्रमा समानरूपले प्रभाव पारेको थियो र यसको मूल्य सबैले बुझेका पनि थिए तर हामीले यो व्यक्तिलाई आफ्नो माझमा धेरै समयसम्म जगाई राख्न सकेनौँ, यो विधिकै विडम्बना थियो । आजको प्रजातन्त्रको युगमा, नेपालले नयाँनयाँ सिर्जना गर्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपाली प्रतिभाले प्रभावित पार्ने मौकामा, यस्तो बहुमुखी प्रतिभा भएका महाकविबाट वञ्चित हुनु हाम्रो निम्ति अझ खड्किने कुरा हो ।
