नेपाली साहित्यमा बेलायती सक्रियता

  • by


वर्षदेखि बेलायत बस्दै आइरहनु भएका हरिसिंह थापा यतिखेर नेपाल आउनुभएको छ । देशविदेश धाउने र आवतजावत गर्नेहरूको उल्लेख गरिरहन आवश्यक छैन । तर हरिसिंह थापा जस्ता मान्छेहरू आवतजावत गरेको पनि उल्लेख गर्नुपर्ने हुन्छ । देशको लिएर भन्दा देशलाई दिएर जान सक्नेहरू नै उल्लेख गर्न लायक हुन्छन् । विदेशमा बसेर पनि नेपाली भाषा साहित्य संस्कृतिका लागि काम गर्ने, सक्रिय रहने स्रष्टा हुनुहुन्छ उहाँ । बेलायतमा बसेर पनि नेपाल र नेपाली भाषा सम्झनेमध्ये हरिसिंह थापा पनि पर्नुहुन्छ । यसपटक एकसाथ दुई दुईवटा कृति लिएर उहाँ नेपाल आएका सन्दर्भ पारेर उहाँलाई अघि सारिएको हो ।

जङ्गबहादुरको बेलायत यात्रा नेपाली साहित्यको पुरानो र महफ्वपूर्ण कृति हो । तत्कालीन अवस्थाका जल्दाबल्दा व्यक्तित्व जङ्गबहादुरको बेलायत यात्राबाट थालिएको साहित्यिक यात्राको लामो अवधिमा थुप्रै नेपाली बेलायत पुगिसके । पुगेकामध्ये कपियलले बेलायतको सम्झनामा कृति पनि लेखिसके । बेलायतका सन्दर्भ र संस्मरणमा नियात्रा लेख्नेहरू उल्लेख्य मात्रामा रहेका छन् ।भ नौं बेलायत आवत जावत गर्ने लेखक साहित्यकार पनि त्यतिकै छन् । तर कतिपयले लेखक साहित्यकार भने बेलायतमै बसोबास गर्दै आइरहेका छन् । हरिसिंह थापा ३३ वर्षदेखि बेलायत बस्दै आइरहनुभएको छ र त्यहाँ रहेर पनि साहित्यिक सांस्कृतिक सङ्घ संस्थामा रहेर नेपाली भाषा साहित्य संस्कृतिका लागि काम गर्दै आइरहनुभएको छ । उहाँजस्तै बेलायत बसेर डा. राघवप्रसाद धिताल, ईश्वरप्रसाद मानन्धर, सुरेशजङ्ग शाह, विश्वासदीप तिगेला, टङ्क वानेम, दयाकृष्ण राई, जगत नवोदित, काङवाङ नरेश, वुलिदी राई, होम परिवाग, भगीरथ योगी,गणेश राई, मिजास तेम्बे, सुमन खरेल, डा. गोपाल पौड्याल आदि साहित्य क्षेत्रमा कमल चलाउने गर्नुहुन्छ । डा. माइकलहट जस्ता बेलायती नागरिकसमेत नेपली भाषा साहित्य साहित्य क्षेत्रमा लागिपर्नुभएको छ ।

नेपाल-बेलायतको पुराना सम्बन्धजस्तै बेलायतमा नेपालीहरू बस्ने चलन पनि पुरानो हो । सन् १९६० मा त त्यतिबेला बेलायत पढ्न बसेका पशुपति शम्शेर डा. हेमाङ्ग दीक्षित प्रवलशम्शेर राणा संस्थापक पदाधिकारी र बेलायतको इटन कलेजमा पढ्न बसेका तत्कालीन युवराजाधिराज श्री ५ वीरेन्द्रको संरक्षकत्वमा ‘यती’ नामक संस्थाको स्थापना भएको कुरा ‘गरिमा’ बेलायत विशेषाङ्क, २०६१, कात्तिकमा विद्वान डा. राघवप्रसाद धितालले लेख्नुभएको छ । बेलायतमा साहित्यिक गतिविधि अघि बढाउन सन् १९९५ मा स्थापना भएको नेपाली साहित्य परिषद्, युकेले महफ्वपूर्ण भूमिका निर्वाह गरेको छ । हरिसिंह थापा सन् २००१ देखि आजसम्म यो संस्थाको अध्यक्ष रहनुभएको छ । आठ वर्षे आफ्नो कार्यकालमा नेपालबाट गएका स्रष्टाहरू भेला गरेर खासै कार्यक्रम गर्न नसके पनि त्यहाँ रहेका नेपालीहरू माझ भाषिक साहित्यिक सांस्कृतिक गतिविधि गर्न भने सकिएको बताउनुहुन्छ हरिसिंह थापा । यसबीच परिषद्ले प्रकाशन गरेका चर्चित साहित्यकार गोपाल पराजुलीको समयको प्रस्थान (काव्य) को सन् २००३ को जुलाइमा विमोचन गर्ने काम भने भएको थियो । यी बाहेक नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदिको जन्म जयन्ती पनि मनाउँदै आएको र यस वर्ष महाकवि देवकोटा जन्म शताब्दी पनि मनाइसकेको छ ।

वि.सं. २००३ को फागुन महिनामा ओखलढुङ्गामा जन्मिनुभएका हरिसिंह थापा सन् १९७६ मा बेलायत जानुभयो । सन् १९९५ देखि लेख्न थाल्नुभएका थापा नेपाली साहित्य विकास परिषद्बाहेक विभिन्न सङ्घसंस्थासँग पनि आवद्ध हुनुहुन्छ । यति नेपाली एसोसिएसनका पूर्व वरिष्ठ उपाध्याक्ष, कोसेली नेपाली सांस्कृतिक परिवार, यु.के., बाल साहित्य प्रबन्ध मञ्च लण्डन, अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतसँग आवद्ध थापाले श्री ५ वीरेन्द्र शुभराज्याभिषेक पदक (२०३१), अन्तर्राष्ट्रिय नागरिक स्वर्ण सम्मान (२०६३) अभियान श्री सम्मान (२०६६) समेत पाइसक्नुभएको छ ।

सन् १९९५ देखि लेख्न थाले पनि सन् २००६ मा उहाँको पहिलो कृतिको रूपमा मधुरस कविता सङ्ग्रह प्रकाशमा आयो । सन् २००७ मा मन उड्यो गीति एल्वम प्रकाशमा ल्याउनुभएका थापाका यसपटक भने ‘सुन्तली’ उपन्यास र ‘गुराँस फुलेन’ कविता सङ्ग्रह २००९ प्रकाशमा आए । प्रज्ञा भवनमा आयोजित विमोचन समारोहमा कवि एवं उपन्यासकार थापाले विदेशमा बसेर स्वदेशको मायालाई शब्दमार्फत् पस्कन साहित्यमा कलम चलाएको बताउनुभयो । उहाँ आफू मात्र कलम चलाउनु हुन्न बेलायतमा बस्ने भाइबहिनीले पनि लेखुन्, आफ्नो कला संस्कृति नबिर्सुन् भनेर आफूहरू सक्रिय रहेको बताउनुहुन्छ । ठूलो ठाउँ, त्यसमा पनि छरिएर रहेका नेपालीहरूका कारण साहित्यमा मान्छे जुटाउन हम्मे पर्ने गरेको तीतो अनुभव सँगाल्नु भएका थापा सानो ठाउँ भएपनि नेपालमा साहित्यका लागि प्रशस्त गर्न सकिने वातावरण आफूले पाएको र ठूलाठूला स्रष्टा साधकहरू, पाठकहरू बढी भएकोले नेपाली भाषा र साहित्यका लागि आफ्नो मुलुक जति उपयुक्त थलो अन्यत्र नहुने धारणा छ उहाँको ।

हरिसिंह थापाले भन्नु भएजस्तै पक्कै पनि हो तर बेलायत, अमेरिका, हङकङ, जर्मनी, कुवेत, म्यान्मार, रुस, बहराइन, कुवेत, जापान, अष्टे्रलिया, दुबई, मलेशिया आदि मुलुकमा बसेर पनि नेपाली साहित्यमा जुन उत्साहपूर्वक काम भइरहेको छ त्यो प्रशंसनीय छ । साहित्य सिर्जना, सङ्घ संस्थाको स्थापना, पत्रपत्रिकाको प्रकाशन आदिमा देखिएको उत्साह मात्र होइन साहित्यिक सद्भाव भ्रमण र कार्यक्रम आयोजनले अचेल नेपाली स्रष्टाहरू नजिक बनेका छन् । नेपालीहरू जहाँ पुगे पनि आफ्नो भाषा साहित्य, कला संस्कृतिलाई बिर्सन सक्दैनन् र केही न केही गतिविधि गरिरहन्छन् भने उदाहरण मनग्गे पाइन्छ । त्यसैले त हरिसिंह थापाजस्ता स्रष्टा साधक नेपाल आएको प्रसङ्ग पनि उल्लेख्य हुनपुग्छ ।

शनिबार, गोरखापत्र
मंशीर १३, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *