अचम्म यसमा होइन सम्पादक महोदय, तपाईंले कथाकारसँग कथा माग्नुभएको छ, छोटो, मीठो र राम्रो । अब यस्ता खाले परिभाषामा कसले कति कथा लेखेको छन्, यो त मलाई थाहा भएन । हो, मेरा कथाकारले भने तपाईंले भने तपाईंको यस परिभाष्य कथामा अट्ने रचना लेखेका छैनन् ।
म पात्र हुँ मेरो कथाकारको कथाबाट उछिट्टिएको । उछिट्टिएर कथाकारसँगसँगै हिँड्ने पात्र सर्वप्रथम मै हुँ । तपाईंहरू कथा छाप्ता प्राथमिकतापूर्वक मान्छे हेरेर छाप्नुहुन्छ, हो कि
होइन ? लेनदेनको परिधि बाँधिएका महाशयवृन्दहरूका कथा कति प्राथमिकता र हर्षका साथ छाप्नुहुन्छ, त्यो कथा जतिसुकै लामो होस्, नराम्रो होस्, राम्रो भनेर छाप्नुहुन्छ । यस्तोमा मेरा कथाकारको कथा भने … ? यथार्थमा मेरा कथाकार मिडियापीडित व्यक्ति हुन् । उनीबारेको सूचना सकेसम्म कसैले दिन चाहेका छैनन् भने कथा त झन् कनिकुथी छाप्छन् । किन ? यो मलाई थाहा छैन । मलाई यति थाहा छ, मेरो कथाकार यस मुलुकको पीडित एवम् सर्वोच्चताहीन नागरिक हुन् ।
यो कुनै गुनासो वा निराशाको दृश्य होइन । यथार्थको सानो झलक मात्र हो । यो व्यक्त नगरे मेरो आफ्नो पात्र हुनुको पात्रगत चर्चा पूरा नै हुनेछैन, किन भने म पात्र हुँ, एउटा त्यस्तो पात्र, जो आफ्ना कथाकारको कथाबाट उछिट्टिएर हिँडेको छ, त्यो पनि कथाकारसँगै । तपाईंले भन्नुभएको छोटो कथासरि छोटैरूपमा भन्नुपर्दा यस्तो भन्नुपर्छ मैले कथाकारले मलाई कथा लेखिरहेकै बेला घरको समस्याले अठ्याउँछ । अब कथाकार कथा लेखून् कि समस्या टारुन् । कथा लेखि नै रहेको हो । दैनिक समस्या नटारी पनि त सुखै छैन । अनि त के ? कलम रोक्छन् । झोला बोक्छन् । बाहिरिन्छन् । म अपूरो कथाको पात्र हुन्छु । कथाबाट उछिट्टिएर आफ्ना कथाकारसँगै यात्रारत हुन्छु, किन भने कथाकारले मलाई नलेखे पनि म त हेर्न सक्छु नि उनको जीवन, जीवन चर्या, सुखदुख, कथाव्यथा र देशकाल परिस्थिति ।
म पात्र हुँ, उनी मेरा कथाकार यस मुलुकको नागरिक जस्तै । परापूर्वदेखि थिचिँदै, पेलिँदै आएका नागरिकहरूको हूलमा हाम्रो पनि अस्तित्व मिचिएको छ । अहिलेसम्म त्यस्तो प्रक्रिया जारी छ भने सम्पादक महोदय, म कस्ता खाले साना कथामा प्रयुक्त बनेर छापिऊँ ? उनी कस्ता खाले कथा लेखेर दिऊन् ? निरीह वा साना पात्रको कथा साना नै हुन्छ । तपाईंको छाप्ने प्रक्रिया त ठूला मान्छेको ठूला कथा होला, हैन त ?
कथाकारको जीवनको एउटा कथा । प्रतिगमन युगमा प्रखर मण्डलधारी जरावन ‘नयाँ प्रेमी’ भनिने शाहीगुन्डाले मेरा कथाकारको बाँच्नुमा रोक लगाएको हो । मैले अग्रगमनका बारे आफ्नो पात्रता दर्शाएको हुँ । त्यसका लागि मेरा कथाकारले मलाई अभिव्यक्त गरेका हुन् । यो देखेर त्यो मोरो गुन्डोलाई मन परेन र कथाकारलाई आफ्नै देशका शरणार्थीसरह बेकारी बनाइदिएको हो । जब कथाकार नै त्यस्तरी पीडित हुन्छन् भने म जस्ता पात्रको स्थिति के हुने हो ?
यसपछि यस प्रखर गणतान्त्रिक लोकतन्त्रमा पनि मेरा कथाकार अझै बेकारी जीवन भोगिरहेछन् । जताततै चिनेका मान्छे छन् तर काम दिने कोही छैनन् । राजनीतिले आफ्ना छाउराहरूलाई महल र बाँच्ने प्रत्याभूति बाँडिरहेका छन् । मेरो कथाकार निरीह एक्लो, ती बाँडिने प्रक्रियामा कहाँ पर्नु ? सधैँ रोजगारहीन ।
लोकतन्त्रमा कसैको हार हुँदैन भनेर नेताले भनेका हुन् तर कथाकारको भने हारैहार देखिएको छ । म पात्र त्यस्तो अनुभूत गर्छु भनेर यो बखान गरेको होइन । यो सत्य हो, जुन म देख्तै छु र भोग्दै छु । कहाँ कहाँ मात्र कथाकार पुगेनन्
र ? सबै ठाउँमा निराशा । म पात्र उनको कथाबाट उछिट्टिए पनि कथाकारिताबाट भने उछिट्टिएको छैन । कथाकारको स्थिति भयावह छ । उनले कस्तो स्वघोषित कालजयी कथा लेखून् अब ?
कतिसम्म भने कथाकारले जम्मा गरेका आफ्ना पुस्तकहरू बेच्तै गुजारा पनि गर्दै गरेको म देख्तै छु । समस्याको खातमा रहेर म पात्र त आत्महत्या सोच्छु भने कथाकारले किन नसोचून्
आत्महत्या ? सम्पादक महोदय, मेरा कथाकारले भने त्यस्तो सोचेका छैनन् । जस्तै निराशा होस् उनी सङ्घर्ष गर्नेछन् । उनकोस ङ्घर्ष उनको जिउनु हो । कुनै स्वघोषित ‘नागरिक सर्वोच्चता’ भन्दा पक्कै पनि कम र कमजोर छैन ।
मुलुकभित्र नेताहरू ‘नागरिक सर्वोच्चता’ को हूल बढाइरहेछन् । नागरिकहरू महँगीको सर्वोच्चतामा पिल्सिरहेछन् । यो सत्य हुन सक्छ, कतिपय नागरिकलाई ‘नागरिक सर्वोच्चता’ को नाटक थाहा छैन तर यो पनि त्यतिकै सत्य हो, सबै नेताहरूलाइ आलुको सर्वोच्च भाउ थाहा छैन । नेता नागरिक सर्वोच्चताबारे पेट्रोल छर्कन्छन्, अनुयायीहरू थप्पडी मारेर नाच्न थान्छन् । बिचरा नागरिकहरू ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर बजारभित्र छिर्छन् त बजारभित्र कतै पनि राज्य उपस्थित छैन त्यस रकम थोरै, महँगी धेरै । के किन्ने, के खाने ? दुविधाग्रस्त भएर कथाकार कथा होइन, आफ्नो जीवनका अनेक कष्टप्रद नियतिलाई बोकेर रनभुल्लमा पर्दछन् ।
सम्पादक महोदय, तपाईं कथा माग्नुहुन्छ – कस्तो खाले ? डान्सबारको यौनबारे ? समलिङ्गीको अधिकारबारे ? न्यायायलयको विवशताबारे ? नेताहरूको चर्चितकलाबारे ? मुलुकको दुर्दशाबारे ? कस्तो बारे ? अब यी सबै पनि चाहिने, कथा छोटो पनि हुनुपर्ने – त्यस्तो कहाँ हुन्छ र महाशय ‘यसैले तपाईंलाई यति भनेर म यो कथा अधुरो बनाउँदै छु, पात्र भएरै, कथाकार भएर होइन किनभने यो अधुरो कथाको पूरा भने जुनसुकै पाठकले स्वतः गर्नेछन् ।
कथा टुङ्गिनुभन्दा अगाडि एउटा दृश्य । ‘नागरिक सर्वोच्चता’ को एउटा हूल नाच्तै, गाउँदै देशको दुर्दशाबारे हाँस्तै गरेको देखिन्छ । कथाकार किनमेल गर्न नसकेर बाँच्न नसकेका अभिशप्तित नागरिकसरह एउटा कुनामा उभिएर टोलाइरहेका छन् । ‘नागरिक सर्वोच्चता’ नाच्तानाच्तै नारा लिएर उफ्रन थाल्छन् । ‘मुर्दावाद … मुर्दावाद … नागरिकता सर्वोच्चता कायम गर् ….सरकार विघटन गर… ।’ नाराजन्य हूलबाट एक नागरिक उछिट्टिएर कथाकारका अगाडि आइपुग्छ र सोध्न थाल्छ ।
– दाइ, यो नागरिक सर्वोच्चता भनेको के हो ?
– नागरिक सर्वोच्चता भनेको नेतालाई नागरिकको काँधमा राखेर अभिनन्दन गर्नु हो भाइ ।
– अभिनन्दन भनेको के हो नि ?
– नागरिक भोको भएर सर्वहारादेखि वर्गहारासम्मका नेतालाई करोडौँ जाने पजेरो, घर उपलब्ध गराउनु हो ।
– ए रात्तै ! हाम्रो सपना जहिले पनि यसरी नै तुहिने रहेछ, हैन त दाइ ?
के भन्ने ? कथाकारसँग रित्तो झोला छ, उत्तर छैन । त्यही रित्तो झोलामा नियतिका सुस्केराहरू बोकेर घर र्फकन्छन् । यसरी एउटा दिन मर्छ ।
सम्पादक महोदय, कथा यति हो । अब यसलाई सानो भन्नोस वा छटो कथा भन्नोस वा व्यथा के फरक पर्छ र ?
शनिबार, गोरखापत्र
१३ मंशीर, २०६६
