विषयप्रवेश
लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको सय वर्ष पुगेछ र मृत्यु भएको पचास वर्ष । यी पचास वर्षमा देवकोटा पुरानो हुनुको साटो झन्झन् ताजा र नयाँ बनेका छन् सबैथरी विचार राख्नेहरूले उनका रचनाहरूको गम्भीरपूर्वक अध्ययन-चिन्तन गर्न थालेको पाइन्छ । इतिहासलाई ठीकठीक ढङ्गले मूल्याङ्कन गरे मात्र त्यसको महìव र मूल्यलाई सुरक्षित राख्न सकिन्छ । देवकोटालगायत आˆनो समयमा साहित्यकलामार्फत चेतना जगाउने स्रष्टाहरूको वैज्ञानिक अध्ययन हुनु आवश्यक छ ।
नेपाली साहित्यमा देवकोटाका बारेमा जति लेखिएको छ, त्यति अरू कसैका बारेमा लेखिएको छैन । पाठ्यपुस्तकमा समावेश गरिएकाहरूको पठनपाठनका सन्दर्भमा चर्चा-परिचर्चा हुने गर्दछ तर देवकोटा कालजयी बनेर राष्ट्रिय चासो र सन्दर्भका विषय बनिरहेका छन् । एउटा स्रष्टाका लागि यो गौरवको विषय हो । सबै लेखकहरूसित यस्तो गौरवमय इतिहास जोडिँदैन ।
देवकोटालाई सर्वप्रिय र लोकप्रिय बनाउने काम उनका शब्द र कर्मले गरेका हुन् । उनको सङ्घर्षशील जीवन, स्वाभिमान र आत्मसम्मानका साथ बाँच्न उनले गरेको सङ्घर्ष, गरिबी, अभाव र पीडाका बीच पनि प्रकट हुने दृढ इच्छाशक्ति र नैतिक बल, राजनीतिक-आर्थिक विसङ्गतिप्रति तीव्र व्यङ्ग्य, विद्रोह र परिवर्तन चेतनाको उत्कट अभिलाषाले उनलाई श्रद्धाको पात्र बनायो । व्यक्तिवादी स्वार्थ, लोभ र क्षणिक उद्देश्य प्राप्तिका लागि जस्तोसुकै पात्र बन्न र जे पनि गर्न तम्तयार हुने हनुमानहरू र कुपमण्डूकहरूकाबीच त्याग, स्वाभिमान र सङ्घर्ष आदर्शप्रतिको समर्पणले उनलाई आदर्शपुरुष र महाकवि बनायो ।
जीवनजस्तै उनका कृतिहरू रहे । उनको जीवन सरलताबाट जटिलतातर्फ विचार विकासको एउटा निरन्तरतामा अघि बढ्यो । यही कुरा हामी उनका रचनामा पनि पाउँछौँ । निमुखावर्गप्रतिको सहानुभूति वर्गसङ्घर्ष र रुपान्तरणसम्म पुगेको हो । ‘गरिब’, ‘मुनामदन’, ‘साँढे’, ‘पहाडीपुकार’ हुँदै उनी प्रमिथसको यात्रा आरम्भ गरेर ‘चुकूल’ ठोक्तै ‘माओत्से-तुङ’ सम्म पुगेका छन् । कृतिमाझैँ देवकोटा सत्यको खोजीमा, प्रजातन्त्रबाट मोहभङ्ग भएर समाजवादको बाटोमा डोरिएका छन् ।
लेखन, चिन्तन र सिङ्गोजीवन पहाडबाट झरेको सानो खहरे नदीमा परिणत भएर अनि विशाल समुद्र बनेझैँ छ । यस्तै छ । रचनाहरूको प्रकृति र प्रवृत्ति पनि । देवकोटामा रचनाहरूको प्रवृत्ति किटान यसै अर्थमा सबैका लागि एउटा चुनौती भएको छ । अन्त्यमा गएर उनको आस्था समाजवादमा टिकेको हो । यो महानदीमा उनी गहिराइमा पुग्न सकेनन् र छिपछिपेमै खुट्टा चोबलेर खेल्न थाले तर अञ्जुलीभरि उनले पानी लिएकै हुन् ।
विचारयात्रा ः उत्कर्ष
देवकोटाको विचारयात्रा र काव्ययात्रालाई सहयोग पुर्याउन उनका थुप्रैथुप्रै रचनाहरू साक्षी र सहयोगी बनेका छन् । त्यसको एउटा प्रतिनिधिमूलक रचना रुसको तासकन्दमा अफ्रो-एसियाली लेखक सम्मेलनमा (२०१४) दिएको प्रवचन, सम्भाषण हो । देवकोटाले दिएको यो प्रवचनलाई अनुवादक तथा प्रकाशकहरूले ‘नेपाली साहित्य’ शीर्षक दिएर प्रकाशित गरेका छन् । यो भाषणबाट देवकोटाको विचार विकासको गति र स्थिति वर्गीय चेतना र लेखकहरूको भूमिकाका बारेमा साथै नेपाली साहित्यको तत्कालीन इतिहास र अन्तर्विरोधको अध्ययन गर्न पनि सघाउ पुग्दछ । मूलप्रति नभएर अनुवाद भएकोले कतिपय शब्द चयनमा विरोधाभास पाइन्छ । फेरि प्रतिनिधिमण्डलको तर्फबाट बोल्नु परेकाले शब्दचयनमा केही सोध-सिमाना मिलाउनु परेको कुरा अनुभूत गर्न सकिन्छ तापनि यो प्रवचन, ‘नेपाली साहित्य’ देवकोटाले हिँडेको, रोजेको र नेपाली साहित्यलाई गन्तव्यतर्फ लैजान खोजेको बाटो हो भन्ने कुरामा विवाद छैन ।
‘नेपाली साहित्य’ नाम दिएर प्रकाशित सो प्रवचन पढेपछि त्यसमा व्यक्त कुरालाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छÙ
१) यस प्रवचनमा सुरुमा सम्मेलनमा सहभागी हुन पाएकोमा खुसी र आभार प्रकट गरिएको छ ।
२) त्यसपछि नेपाल र सगरमाथाको सङ्क्षिप्त गौरवगाथा छ ।
३) त्यसपछि नेपाली संस्कृति र सभ्यताको गौरवगाथाको महिमा वर्णन छ ।
४) वैदिककालदेखि वर्तमानसम्मको इतिहासको सङ्क्षिप्तावलोकन छ ।
यो मूलतः नपाली समाज र संस्कृतिको इतिहास मात्र हो ।
१) त्यसपछि देवकोटा नेपाली साहित्यमा प्रवेश गरेका छन् र कालक्रमिक वर्णन गरेका छन् ।
२) भानुभक्त, मोतीराम हुँदै लेखनाथ पौड्यालबाट आधुनिककाल आरम्भ भएको भनेका छन् ।
३) त्यसपछि देवकोटाले नेपाली साहित्यमा पूर्वीय र पाश्चात्य साहित्यिक चिन्तन र लेखनको प्रभाव पारेको कुरा उल्लेख गर्दै स्वच्छन्दतावादबाट पाश्चात्य साहित्यको प्रभाव परेको कुरा उल्लेख गरेका छन् ।
४) स्वच्छन्दतावादमा नेपाली लेखकहरू नअडिई यथार्थावादको बाटो समातेर नेपाली लेखकहरूले राणाशाहीविरुद्ध विद्रोह र क्रान्तिको झण्डा उचालेको कुरा गरेका छन् ।
५) सात सालपछिका स्रष्टाहरूको नाम र तथ्याङ्क प्रस्तुत गरेर देवकोटाले नेपाली साहित्यको तत्कालीन स्थिति र त्यस अवस्थामा पनि लेखकहरू सङ्घर्षमा सहभागी भएको र फेरि पनि हुनुपर्ने कुरा उठाएका छन् ।
दोस्रो भागमा नेपाली साहित्यको इतिहास, प्रमुख स्रष्टाहरूको नाम र राणाशाहीविरुद्ध उनीहरूले खेलेको भूमिकाको इतिहासको चर्चा छ ।
तेस्रो भागमा देवकोटा बढी दार्शनिक र वैचारिक बनेका छन् । उनको चिन्तन वर्तमानको विश्लेषण र संश्लेषण गर्दै भविष्यप्रति केन्दि्रत रहेको छ ।
१) यसमा समकालीन राजनीतिक-आर्थिक र सांस्कृतिक यथार्थको चित्रण गरिएको छ र विविध साहित्यिक प्रवृत्तिहरूको चिरफार गरिएको छ ।
२) त्यतिबेलाका विविध साहित्यिक प्रवृत्तिहरूले सामन्त, पूँजीपति वर्ग र सम्पन्नहरूको पक्षमा बोल्ने भएकाले त्यस्तो साहित्यको आवश्यकता नभएको र स्रष्टाहरूले समाजमा आˆनो भूमिका विस्तार गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
४) यथार्थवाद र राजनीतिसित गाँसिएका स्रष्टाहरूले पनि हिजोको भन्दा अझ उच्च भूमिका पूरा गर्नुपर्ने भएकोले वर्गसाहित्यको पक्षमा दृढताका साथ उभिएर सामन्तवाद-साम्राज्यवाद विरोधी आन्दोलनमा सरिक हुन आहृवान गरिएको छ ।
५) साहित्यलाई वर्ग हतियार बनाउन जोड दिँदै पक्षधरतालाई प्रतिबद्धतामा फेर्न र समाजको स्वतन्त्रतासित लेखकको स्वतन्त्रता जोडिएकाले राजनीति-आर्थिक परिवर्तनको अंश बन्न लेखकहरूलाई आहृवान गरिएको छ ।
