Skip to content


घाँसै ला ! कतिले भनेर विचरा सारै गरेथे अरे
ठूलो मानव पो भएर जगमा त्यो पो उदायो भरे
साँचो मानव भन्दथे जगतमा बाँच्नै कठिन हुन्छ रे
हो त्यो पागल हो भनेर कतिले राँची पुर्‍याए अरे

ठूलो कष्ट दिए प्रबुद्ध जनले त्यो जान्नु नै श्राप भो
बाँचुञ्जेल भएन शान्ति मनमा छाती सधैँ राप भो
हो मै पागल हो भनेर कविता भित्रै जलेरै रचे
ठूलो शक्ति अथाह हेर तिनमा आफैँ भएरै बचे ।

मर्दा ती सुनियो बनाउन चिता काठै भएनन् अरे
बाँच्नै निम्ति थियो मरेर पछिता भाको नि त्यस्तो हरे !
सोझो कार्य गरे तथापि तिनले बाङ्गै छ भन्ने गरे
आफ्ना कार्य चले निरन्तर न ती कोही कसैमा डरे

सारै तिक्षण दिमाग थ्यो र तिनका डाहा गरेका थिए
यो पो माथि भयो भनेर सब नै सारै मरेका थिए
गर्दा जे पनि ठेस लाग्छ अति नै छाती नि आफ्नै खने
भेडो नै बरु हे बनाउ भगवान् बाँच्नै कठिन भो भने

गर्‍यो जे पनि छैन हेर सुख नै ठोसेर सारै अति
खुट्टा तानि खसाल्न खोज्छ सब नै होला नि कस्तो मति
कोही माथि गए त देउ किन हो तानेर झार्छौ तल
आफैँ माथि पुगेर टिप्न पछि ती मिल्नेछ मीठो फल

Leave a Reply

Your email address will not be published. Required fields are marked *