Skip to content


काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो । कोइलीले गाउन थालेपछि किसानहरू खेतीबाली लगाउन तम्सन्थे । कृषकहरूको सहयोगी चरा भए पनि कोइली अत्यन्त लजालु स्वभावको पक्षी थियो । ऊ कहिल्यै मानिसले देख्ने ठाउँमा बसेर कुहु-कुहु गर्दैनथ्यो ।
मीठो गाउन सक्ने कोइलीले कागको जस्तो घमण्डी र आडम्बर राखेन । कोइलीलाई घमण्डले आफैँलाई क्षति हुन्छ भन्ने थियो । अनावश्यक कुरामा एउटै रूखमा बस्ने छिमेकी-छिमेकीबीच घमण्ड गर्नु मूर्खता सिवाय केही होइन भन्ने सोच्दथ्यो ।
एकदिनको कुरो हो, कोइली रूखको हाँगामा बसेर कुहु-कुहु गर्दै गाउँदै थियो । कागले जिस्काउँदै भन्यो – ए कोइली भाइ ! त्यो धोद्रे स्वरमा कति कराउँछौ ? चुप लाग । सधैँ गाउन त मीठो स्वर हुनु पर्‍यो नि !
कागले त्यस्तो भनेको सुनेपछि कोइलीलाई नरमाइलो लाग्यो । तथापि ऊ चुपचाप सहनेतर्फ लाग्यो । कागसँग झगडा गर्नु मनासिब लागेन ।
केही दिनपछि पुनः कागले त्यसै रूखको हाँगामा मासुको एउटा चोक्टो लिएर आयो र कोइलीलाई भन्यो -“ए धोद्रे स्वरमा गाउने कोइली भाइ, लौ हेर मैले शक्तिशाली बाघलाई छक्काएर मासु खाएँ । हेर, मासु खान त बुद्धि हुनुपर्‍यो नि !”
बुद्धि लगाउन आफू सिपालु भएको दम्भी काग आफ्नो स्वर नराम्रो भएकोमा निक्कै दुःखित थियो । काग स्वर नराम्रो भए पनि सधैँ कागकाग गर्दै कराई बस्थ्यो । ऊ कोइलीको स्वर सुनेर डाहले भुतुक्कै हुन्थ्यो ।
कागले दिन प्रतिदिन आफूलाई हेपेको कोइलीलाई पटक्कै मन परेको थिएन । तथापि कोइलीका दम्पती चुपचाप सहेर बसेका थिए । काग भने दिनदिनै कोइली जोडीलाई खिसीटिउरी गर्ने, हेप्ने र आफूभन्दा चलाख कुनै पक्षी छैन भन्ने धाक लगाउन छाड्दैनथ्यो ।
समय यसरी नै बित्यो । अति नै भएपछि कोइली जोडीलाई कागदेखि अचाक्ली रिस उठ्यो । कोइली जोडीले कागको घमण्डलाई कसरी तल झार्ने भन्ने सोच्नथाले ।
वासन्तीयाम भएको हुनाले पोथी कोइलीले अण्डा कोरल्ने दिन नजिकिँदै थियो । काग भने केही दिन अगाडि त्यसै रूखको हाँगामा गुँड लगाई अण्डा कोरली ओथारो बसेका थिए ।
कोइली जोडीले युक्ति निकाले -हेर, कसले गुँड लगाई अण्डा कोरली ओथारो बस्ने ? बरु त्यो कागलाई झुक्याएर उसको गँुडमा अण्डा कोरली देऊ । बच्चा कोरल्ने काम कागलाई दिउ”m, उनीहरूले सल्लाह गरे ।
आफ्नो श्रीमान्को जुक्ति पोथी कोइलीलाई मनपर्‍यो । खुब बाठो हुँ भन्ने कागको सेखी झार्न कोइलीदम्पतीले यो उपाय निकाले ।
कोइली जोडील कागदम्पतीले कुन बेला अण्डा छोड्छन भन्ने चियो गर्न थाले । केही समयपछि त्यस रूख नजिकै एउटा बडेमानको साँढे मृत अवस्थामा पल्टिरहेको थियो । त्यहाँ धेरै काग काग-काग गर्दै चोक्टा लुछ्न घुमिरहेका थिए ।
मासु खाने लोभले कागदम्पती गुँडमा ओथारो बसेको अण्डा त्यसै छाडेर सिनु लुछ्न काग-काग गर्दै दौडिए ।
सधैँ आलो-पालो गर्दै ओथारो बसेका कागका जोडी अण्डा छोडेर गएपछि कोइली जोडीलाई ‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो ।
त्यही मौकामा कोइलीको जोडी कागको गुँडमा पुगे । पहिले दुवैले कागको अण्डा खाइदिए । अण्डा कोरल्न आतुर पोथी कोइलीले कागको गुँडमा अण्डा कोरली दिई ।
कोइली जोडी पुरानै ठाउँमा गएर कुहु-कुहु गर्न थाले । मासुको लोभमा गुँडमा अण्डा छाडेर गएका काग जोडी पुनः गुँडमा आएर ओथारो बसे । कागका जोडी पालो गरी गरी ओथारो बस्न थालेपछि कोइली जोडी पनि ढुक्क भए । निक्कै चलाख हुँ भन्दै घमण्ड गर्ने काग जोडीले कोइलीको चलाखीको सुइँकोसम्म पाएनन् । केही समयपछि कागदम्पतीले बच्चा कोरले । यो सम्पूर्ण कुरा कोइलीदम्पतीले नियालिरहेका थिए ।
एकदिनको कुरो हो । कागदम्पती बच्चालाई चारो खोज्न जङ्गल गएको मौका छोपी कोइली जोडीले आफ्नो बच्चाको न्वारन समेत गरिदिए । काग नभएको मौकामा कोइलीदम्पती कागको गुँडमा हुर्कँर्दै गएका आफ्ना बच्चालाई चारो समेत खुवाउने गर्थे ।
समय यसरी नै बित्यो । कोइलीका बच्चा कागको गुँडमा हुर्किएर पखेटा लाग्ने भए । पखेटा लाग्ने भएपछि कागलाई झुक्याएर कोइलीले आफ्ना बच्चा लिएर अन्तै गए ।
कागदम्पती गुँडमा आउँदा आफ्ना बच्चा नभेटेपछि निकै बिलौना गर्न थाले । कागदम्पती बच्चा खोज्न धेरै ठाउँ पुगे तर पनि बच्चा भेटेनन् । उनीहरू बेलुकी गुँडमा फर्किएर बिलौना गरिरहन्थे ।
छिमेकीलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने लागेर त्यही रूखको पातमा गुँड बनाई बस्ने पाते फिस्टोले सम्पूर्ण कुरा कागलाई बताइदियो । काग जोडी कोइलीको यसप्रकारको चलाखीबाट छाँगोबाट खसेझैँ भए । कागदम्पती आफ्नो घमण्डबाट पछुताउन थाले ।
त्यसैबेलादेखि घटनाको प्रत्यक्षदर्शी पाते फिस्टोले उखानै चलाइदियो – “कागभन्दा कोइली चलाख ।” र “काग बाठा भए गू खान्छ ।” यस घटनाले कागदम्पतीको घमण्ड चकनाचुर भयो । घमण्ड गरे दुःख पाइन्छ भन्ने कुरा कागदम्पतीले यस घटनाबाट थाहा पाए ।

1 thought on “कागभन्दा कोइली चलाख”

Leave a Reply to Sabin Rana Cancel reply

Your email address will not be published. Required fields are marked *