Skip to content

‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ होइन ‘लोशर’

  • by


एसिया महादेशका विभिन्न भूभागहरूमा विशेष गरी भारतीय उपमहाद्वीपमा बसोबास गर्ने शेर्पाहरूले आदिमकालदेखि प्रचलनमा ल्याएको संवत्सरको उत्सवलाई शेर्पा भाषामा ‘लोशर’ भनिन्छ । यो शब्द शेर्पा भाषाका ‘लो (संवत्सर/वर्ष)’ तथा ‘शर (उदाउनु/पूवर्)’ भन्ने शब्दबाट संयोजन भएको हुनाले यसको अर्थ “घाम उदाउने ठाउँको/पूर्वको संवत्सर” हुन्छ । यसका साथै यसलाई ‘शरब-लोशर’ पनि भनिन्छ (ऐजन्) । यो शब्द शेर्पा भाषाका ‘शरब (शेर्पा),’ ‘लो (संवत्सर/वर्ष)’ तथा ‘शर (उदाउनु/पूर्व)’ भन्ने शब्दहरूबाट संयोजन भएको हुनाले यसको पनि अर्थ “शेर्पाहरूको पूर्वीय संवत्सर” हुन्छ ।

यसबाट ‘लोशर’ भनेको पूर्बेली जाति भनिने शेर्पाहरूको पूर्वीय संवत्सरको उत्सव रहेछ भन्ने कुरा बुझिन्छ । तर तिब्बती (भोटे) हरूले भने ‘शरब-लोशर’ भन्ने शेर्पा भाषाको यस शब्दलाई अपभ्रंश गरेर ‘लो-गसर’ भनी ‘लो’ तथा ‘गसर’ भन्ने शब्दहरूबाट क्रमशः ‘संवत्सर/वर्ष’ तथा ‘नयाँ’ भनी अर्थ्याएर नयाँ वर्षको उत्सवको रूपमा परिभाषित गरेको देखिन्छ । त्यसकारण अहिलेसम्म यस विश्वका सबै विद्वान्हरूले ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूका आधारमा यस उपमहाद्वीपका सर्वप्राचीन मूलवासी ठहरिएका आग्नेयी मूलका शेर्पाहरूलाई चीनी-मङ्गोलमूलका भोट-बर्मेली जनजाति अर्थात् भोटे (तिब्बती) जातिका रूपमा चित्रण गरी यस शरब-लोशरलाई पनि नयाँ वर्षको रूपमा अर्थ्याई ‘ल्होछार,’ ‘ल्होसार,’ लोसार’ आदि भनेर व्याकरणीय शुद्धतालाई समेत ख्याल नगरी भोट (तिब्बत)बाट यस उपमहाद्वीपमा आयातित गरेको चाडका रूपमा उल्लेख गरेको छ ।

चीन, जापान, कोरिया, भियतनाम, भूटान आदि देशका आदिवासीहरूले पनि यस चाडकै मान्यता अनुसार अहिले पनि चान्द्र पात्रोको पहिलो वर्षको पहिलो महिनाको पहिलो दिनमा सुरु गरेर आधिकारिक रूपले पन्ध्रौँ दिनसम्म कुलदेवताको प्रार्थना गरी उत्सवका रूपमा मनाउने गर्छन् । तैपनि विशेषगरी नेपालका चीनी-मङ्गोल मूलका भोट-बर्मेली परिवारका तामाङ, गुरुङ, हृयोल्मो आदि जनजातिले पनि त्यही पारामा यस शरब-लोशरलाई ‘लोशर’ अथवा ‘शरब-लोशर’ भन्नु पर्नेमा “पूर्वीय संवत्सरको उत्सव” नै भन्न नमिल्ने गरी यस चाडको अर्थलाई नै लोप गराएर यो शेर्पाहरूको मौलिक चाड नभई भोट (तिब्बत)बाट आयातीत गरेको चाड हो भनी ‘ल्होछार,’ ‘ल्होसार,’ ‘लोसार’ आदि भन्ने गरेका छन् ।

यसबाट लोशर चाडको मौलिकतामा आघात पुग्न गई यो चाड नेपालका शेर्पा आदिवासीहरूको वासन्ती चाड नै होइन भन्ने भ्रम फैलिएको देखिन्छ । किनभने ‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ भन्ने शब्दहरूमध्येको ‘ल्होछार’ भन्ने शब्दको अन्त्य प्रत्ययको रूपमा रहेको ‘छार’ भन्ने शब्द तामाङ् तथा गुरुङ भाषाको ‘नयाँ’ भनेर अर्थिने शब्द भए पनि ‘ल्हो’ तथा ‘लो’ भन्ने शब्दहरू क्रमशः “हेर/हेर्नुहोस्” तथा ‘संवत्सर/वर्ष’ भनी अर्थिने शेर्पा भाषाका शब्दहरू हुन् र ‘सार’ भन्ने शब्द चाहिँ “कुनै वस्तु वा पदार्थको मूल तत्त्व” भनेर अर्थिने संस्कृत भाषाको शब्द हो ।

त्यसैले ‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ भन्ने शब्दहरूका क्रमशः “नयाँ हेर,” “कुनै वस्तु वा पदार्थको मूल तत्त्व हेर” तथा “कुनै वस्तु वा पदार्थको मूल तत्त्वको संवत्सर/वर्ष” भन्ने अर्थहरू हुन्छन् । तर, शेर्पा भाषामा शेर्पा जातिका मानिसको विशेषणलाई बुझाउने ‘शरब’ भन्ने शब्दको ‘शर’ भन्ने उपसर्ग र ‘लोशर’ भन्ने शब्दको ‘शर’ भन्ने अन्त्य प्रत्यय एउटै भएको हुनाले यो चाड निश्चितरूपमा सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिको सिर्जना गर्ने शेर्पा आदिवासीहरूकै मौलिक चाड हो भन्ने तथ्यको पुष्टि हुन्छ । त्यसैले सुनीतिकुमार च्याटर्जी, होरेन् टुडु आदि बहुसङ्ख्यक विद्वान्हरूले यस उपमहाद्वीपका आदिम आदिवासीहरू कालावर्णका ‘कोल’ तथा ‘शवर’ समेत भनिएका आदिम आग्नेयीहरू हुन् भनेर यस तथ्यको पुष्टि गरेको देखिन्छ (सुनीतिकुमार च्याटर्जी, किराँत-जन-कृति ः द इन्डो-मङ्गोल्वाइड्स्, १९७४! रिप्रिन्ट एड., ः अमलेन्दु डे, १९९८ः२६) । यस तथ्यलाई पुष्टि गरेर नै अहिले पनि शेर्पा भाषामा ‘शरब’ भनिएका आग्नेयी मूलका शेर्पाहरूलाई ऋग्वेदको दसौँ मण्डलको १२५ सूक्तको छैटौँ मन्त्रमा पनि यही शब्दलाई केही अपभ्रंश गरी ‘शरव’ भन्नुका साथै शेर्पा भाषाको यही ‘शरब’ भन्ने शब्दलाई फेरि अपभ्रंश गरी ऋग्वेदकै मूल ग्रन्थ ऐतरेय ब्राहृमण (३३अ.६.पृ.नं.८५६)मा ‘शवर’ भनिएको देखिन्छ (भवानीलाल भारतीय, ओ३म् ऋग्वेदीय अध्यात्म शतक, दिल्ली ः विजयकमार गोविन्दराम हासानन्द, ई. सं. १९९९ः९६) । यसका साथै शेर्पा भाषाको यस ‘शरब’ भन्ने शब्दले ‘शर (घाम लाग्ने ठाउँ/पूर्व)’ तथा ‘ब/बा (वाला/मालिक)’ भन्ने शब्दहरूको संयोजन गरेर “घाम लाग्ने ठाउँको मालिक/पूर्वमा बस्नेवाला/पूर्वीय/पूर्बेली” भनी अर्थिएको देखिन्छ । त्यसैले सहस्राब्दीको पन्ध्रौं शताब्दी इस्वी पूर्वदेखि दक्षिण-पूर्वी युरोपको ककेसस पहाडबाट यस उपमहाद्वीपमा बसाइँ सरेर आएका ककेसियाली मूलका भारोपेली (भारतीय भएका युरोपेली) ऋग्वैदिक आर्यहरूले पनि ऋग्वेदको दोस्रो मण्डलको १४औँ सूक्तको छैटौँ मन्त्रमा यस उपमहाद्वीपका मूलवासी यी आद्य-आग्नेयी अनार्य शेर्पा आदिवासीहरूलाई दक्षिण-पूर्वी युरोपको ककेसस पहाडको पूर्वमा पर्ने भारतीय उपमहाद्वीपमा बस्ने सनातनी पूर्वीयहरू भनेर ‘शम्बर’ भनी दानवहरूको रूपमा चित्रण गरेर “शम्बरस्य पुरो विभेदाश्मनेव पूर्वीः” भनेका देखिन्छन् -राजबहादुर पाण्डेय, ऋग्वेद, नई दिल्ली ः डायमंड पाकेट बुक्स प्रा. लि., ई.. सं. २००२ः३९) ।

त्यसैगरी यस उपमहाद्वीपकै सरस्वती नदीको नाम पनि शेर्पा भाषामा “त्यो घाम झुल्कने ठाउँको/पूर्वको नदी” अर्थिने शेर्पा भाषाका ‘शर (घाम झुल्कने ठाउँ/पूर्व),’ ‘स (भूमि/जमिन),’ ‘ती (त्यो)’ तथा संस्कृत भाषाको ‘नदी (कुनै पर्वत, दह आदिबाट निस्केर निश्चित स्थानबाट बगी आफैं वा अरू जल-प्रवाहमा मिसिएर समुद्रमा मिसिने प्राकृतिक जल-प्रवाह)’ भन्ने शब्दहरूको संयोजनबाट बनेको ‘शर-स-ती-नदी’ भन्ने शब्दबाट रहेको देखिन्छ । यसबाट यो उपमहाद्वीप पूर्वीय उपमहाद्वीप हो, यसका भूभाग र यी भूभागमा बग्ने नदीनाला घाम लाग्ने ठाउँका पूर्वीय भूमिहरू र नदीनालाहरू हुनुका साथै यस उपमहाद्वीपका मूलवासी भएर बसोबास गर्ने शेर्पाहरू पनि पूर्बेलीहरू हुन् र उनीहरूको यो चाड पनि पूर्वीय नै हो भनेर प्रमाणित भएको देखिन्छ ।

सिन्धु उपत्यकामा पुरातात्त्विक उत्खनन हुँदा मोहनजोदारोमा प्राप्त साँढेको शिरपोस (श्रीपेच) लगाएर बायाँ हातमा धनु र दायाँ हातमा धनुषबाण (तीर) बोकी रूखका पातहरूले सजाएको पोसाकमा सजिएर पश्चिमतिर हेर्दै आदिम अनार्य शेर्पा आदिवासीहरू पूर्बेली भएको तथ्यलाई सङ्केत गर्दै पूर्वतिर दौडिरहेको एक सिकारी रूपको शेर्पाहरूका कुलदेवता वृषशम्बरको आकृति अङ्कति पाको माटाको सीलमूर्तिबाट पनि पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ (आ. सी. मजुम्दार अएन्ड ए. के. पुसल्कर, सं., द वेदिक एज्, लन्डन ः निओर्ज अल्लेन अएन्ड अन्वीन् लिमिटेड, १९५७ः१८७) । यसबाट यो वसन्ती चाड शरब-लोशर यस उपमहाद्वीपमा सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिको सिर्जना गर्ने “शरब” भनिने पूर्वीय शेर्पा आदिवासीहरूको पूर्वीय संवत्सरको पूर्बेली चाड हो भनेर प्रमाणित भएको देखिन्छ ।

इशाईहरूको पवित्र धार्मिक ग्रन्थ बाइबलमा बेबिलोनको चान्द्र पञ्चाङ्ग अनुसार मनाइने पूर्वीय चाडमार्फत इसु खि्रष्टले मरेर पनि केही समयपछि जीवित भएको स्मरणोत्सव मनाएको उल्लेख भएको पाइन्छ । यसबाट आदिम कालमा यो पूर्वीय चाड लोशरलाई यस उपमहाद्वीपमा मात्र होइन वर्तमान इराकको युफ्रेटेस नदीको छेउमा अवस्थित मेसोपोटामियाको प्राचीन सहर बेबिलोनमा समेत मनाउने गरेका थिए भन्ने तथ्यको पुष्टि हुन्छ । यसबाट सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिका सिर्जनाकार आग्नेयी मूलका शेर्पाहरूले यस पूर्वीय संवत्सरको यो पूर्बेली वसन्ती चाड शरब-लोशरमार्फत मेसोपोटामियाको सभ्यता र संस्कृतिमा पनि ठूलो योगदान पुर्‍याएको तथ्यको पुष्टि हुन्छ । यस तथ्यलाई अविनाशचन्द्र दासलगायतका बहुमत विद्वान्हरूले सिन्धु तथा नेपाली सभ्यता र संस्कृतिका सिर्जनाकार आग्नेयी मूलका पणि समेत भनिएका शेर्पाहरूलाई पहिचान गर्न नसकेर आर्यहरूको रूपमा पहिचान गरेको भए पनि यी शेर्पा आदिवासीहरूका ज्योतिष शास्त्रीय ज्ञानले मेसोपोटामियामा पनि बेबिलोनको चान्द्र पञ्चाङ्गलाई लागू गरेर यो पूर्वीय संवत्सरको पूर्वीय चाड लोशरलाई प्रचलनमा ल्याएको तथ्यलाई सङ्केत गरेको देखिएबाट पुष्टि गर्न सकिन्छ (अविनाशचन्द्र दास, ऋग्वेदिक इन्डिया, दिल्ली ः सुन्दरलाल जैन, मोतिलाल बनारसिदास, १९७१ः२२६-२८) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *