नेपाली वाङ्मयका अनन्य साधक भीमनिधि तिवारीको जन्म वि.सं १९६८ फाल्गुण ३० गते र निधन २०३० जेठ १९ गते भएको हो । सातै वर्षको बाल्यावस्थामा मातृममताबाट वञ्चित हुनु परेका भीमनिधि साहित्यका विविध विधामा मूर्धन्य हस्ती हुनाको अलवा कुशल प्रशासक, शिक्षापे्रमी, परोपकारी एवं हिन्दुधर्मप्रति उच्च आस्था राख्ने मर्मज्ञ प्रतिभा थिए । मूलतः उनी साहित्यमा-काव्यनिधि, नाट्यनिधि, निबन्ध एवं प्रवन्धका खानि, कहानी र कथाका स्रोत, श्रृङ्गारिक गजलका सुन्दर छहरा, भजनका समुद्र, उपन्यासका तरङ्ग अनि हास्य व्यङ्ग्यका मूर्धन्य छन् । उनको लेखकीय स्वादलाई अनुभूत गरेका सर्जकहरू उनीबारे भन्छन् – “कवितामा शैली पक्षलाई गौण र भावपक्षलाई प्रधान ठम्याउने तिवारी भावको आवेगबाट शैली स्वयं विकसित हुन्छ भन्ने मान्यतामा थिए ।” पूर्व भारतीय राजदूत नरेन्द्र जैन । यसैगरी समालोचक प्रा. वासुदेव त्रिपाठी – कवि भीमनिधि नेपाली कविताका अत्यन्त चोखा र मौलिक प्रतिभा हुन् ।

भारतीय साहित्य साधक नरेन्द्र जैनले भीमनिधिको कविता ‘सिंहदरवार’ हिन्दीमा उल्था गरी सिंहदरवाबारे कर्मचारीतन्त्रको नामर्द रूप र विकृत तस्वीरलाई छर्लङ्ग बनाएर जनपक्षीय प्रशासनमा रुपान्तर हुन नसकेको नेपालको चाकडीपरस्त कर्मचारीतन्त्रबारे यथार्थ पस्किएका छन् । वाणिर्क, मात्रिक छन्द र मुक्तलयहरूमा सिर्जित उनका कवितामा भोगाइको आलो वासना मगमगएको छ, साहित्य र राजनीतिलाई तुलना गर्दै कवि भन्छन् :
“राजनीति चङ्गा हो, झ्वाट्ट आकाशिन्छ
एक चौटी हानिदिँदा भैँमा पछारिन्छ
साहित्य यो बरको बोट वर्षैपिच्छे बढ्छ,
जति बढ्छ घट्दैन त्यो त्यति अड्छ -अड्छ ।।

कवि तिवारी भान्सेको बाध्यता र गुम्सिएको मनोविज्ञानलाई अति नै रौसी ढंगमा पोख्छन् :-
एउटा भन्छ नुन बिलिनो, अर्को भन्छ चर्को ।
तेस्रो भन्छ पीरो छैन, चौथो झर्कोफर्को ।
कान्छो भन्छ चाम्रो भुटनु, जेठो भन्छ झोल ।
कसको जिभ्रो हेँरु मैले, मान्छे भद्रगोल ।।

यी लयदार र अनुप्रासिकतामा सिंगारिएका लहर सुवोध रूपमा हास्यव्यङ्ग्यात्मक ढङ्गले कटु अनुभूतिलाई सफल रूपमा वाणी दिन पुगेका छन् ।

त्यसैगरी मध्यमवर्गकी श्रीमतीको बहुभूमिकालाई विनोदपूर्ण शैलीमा भन्छन् : मध्यम वर्गकी श्रीमती कामदेवी रती जस्ती, शिवजीकी सती जस्ती, भान्छे बाहुनी जस्ती, भन्दै चाकर्नी, भडार्नी धोबिनी, मालिनी, धाई भन्दैपछि गएर भगवान् विष्णुको दश अवतार जस्तीको बहुमुखी भूमिकामा मातृशक्तिप्रति श्रद्धा तथा ममता अर्थ्याएका छन् । यातायातले नतौलिकन मान्छेको भाडा उठाएकोमा कलमको कोर्रा हान्दै तिवारी गर्जछन् :
“सय सेरकी ढोसे बस्छिन् भाउ बीस पैसा,
बीस सेरकी केटी बस्छे उही बीस पैसा,
वजनको यहाँ वास्ता हुन्न गिन्ती गोटा हुन्छ ।
एउटा घ्याम्पो एउटा भुँड्को जम्मा दोटा हुन्छ ।

यसरी अभिधाभन्दा लक्षणा, लक्षणामाभन्दा व्यञ्जना, शब्दशक्तिमा सामाजिक यथार्थलाई सरल शैली, सुबोध तरिका गम्भीर अर्थ प्रदान गर्ने उनको कवित्व क्षमता अझ गजल र भजनमा समेत झाङ्गिएको छ । उनका प्रबन्ध र निबन्ध पनि काव्यमय छन् । जनजिब्रोलाई वरण गर्ने नाटक, हार्दिक र कोमल काव्य धारा, गजलमा मुस्कुराएको श्रृङ्गार चेत, भजनमा गड्गडाएको भक्तिका समवेत स्वर हेर्दा उनलाई नेपाली वाङ्मयका उज्याला नक्षत्रको रूपमा सम्मान गर्न सकिन्छ । त्यसैले त राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन् : “तिवारीज्यूको देहावसान एक किसिमको सृजनाको जो यौटा क्रम थियो, त्यसको अवसान हो । उनलाई जति सम्मान हुनुपर्थ्यो त्यो भएन भन्ने शोक छ ।” नाट्यसम्राट् बालकृष्ण सम भन्दछन् मानिसहरूलाई मनोरञ्जन दिने हास्यव्यङ्ग्य कवितामा वहाँ ज्यादै सफल हुनुहन्छ ।”

बैसठ्ठी वर्षको उमेरमै इहलीला सामप्त गर्न पुगेका भीमनिधिको अन्तर हृदयको बोली थियो – मेरो भित्र कवि छ कुन ठाउँमा छ म भन्न सक्तिन । कहिले कहाँ कसरी किन उसले मलाई लेख्ने आदेश दिन्छ त्यो पनि म भन्न सक्तिन । जहाँ पनि जैले पनि यहाँ तक कि अध्यरातमा मस्त निदाइरहेको बेलामा समेत अकस्मात ब्युँझाएर मलाई लेख्ने आदेश दिन्छ । त्यो मैले पालन गर्नुपर्छ र गरेकै छु ।” तर्पण (शोककाव्य) कवितानन्द (कविता सङ्ग्रह) वरशिक्षा (औपदेशिक काव्य) यशश्वी शव (शोक काव्य) विस्फोट (कविता सङ्ग्रह) कविता कुञ्ज, सिंहदरबार, बत्तीस पुतली जस्ता पुस्तकाकार काव्य सङ्ग्रहले उनको कविता विधाको दीर्घ साधानालाई प्रष्ट पार्दछ । अमर स्रष्टा भीमनिधि तिवारीको ९९ औं जयन्तीमा श्रद्धासुमन।

शनिबार, गोरखापत्र
फाल्गुन २९, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *