शुक्रबारको दिनलाई गुड फ्राइडे भन्ने गर्छन् पश्चिमाहरू । शुक्रबार काम गरेपछि शनिबार र आइतबार बिदा हुने भएकोले पनि यस्तो भन्ने गरिएको होला भन्ने सोझो अर्थ लगाउँछौँ हामीले । पश्चिमाहरूको मात्रै पेवा हो र गुड फ्राइडे ? गुड फ्राइडे भन्ने चलन भएकोले ज-जसले चलनलाई मान्छन् उनीहरूको पनि हुनसक्छ भन्ने कुरालाई चरितार्थ गर्न मेरो परिवार र कुमार राईजीको परिवार शुक्रबारकै दिन पारेर नयाँ दिल्लीबाट विशुद्ध पर्यटकीय यात्रामा निस्किएका छौँ हरिद्वार, देहरादुन र मसुरीको सेरोफेरोलाई नियाल्न ।
कार्यक्रमअनुसार जुन २२, २००७ तदनुसार शुक्रबार, असार ८, २०६४ को साँझ एक्काइस बजेर दस मिनेट जाँदा पुरानो दिल्लीको सराय रोहिल्ला स्टेसनमा पुगेका हुन्छौँ हामीहरू । हामी अर्थात् मेरी धर्मपत्नी रत्ना तथा कुमार राईजीकी श्रीमती लङ्केश्वरी र छोरी कृतिका । प्लेटफार्म नं. पाँचमा पुगेर ‘मसुरी एक्सप्रेस’ कुन प्लेटफार्ममा लाग्छ ? भन्ने कुरा पत्ता लगाउन कुमारजी र म सोधखोज गर्नेतर्फ लाग्छौं । प्लेटफार्म नं. पाँचमा नै लाग्ने भएको सूचना पाएपछि निश्चिन्त भएर बस्छौँ हामी ।
रेलको समयअनुसार नै विस्तारै लिकमा घस्रदै आउँछ रेल । प्लेटफार्ममा रोकिएपछि आफ्नो सिट सुरक्षित गरेको वर्थमा चढ्छौँ हामी । एकपट्टिको लहरै तीनवटा र अर्कोतर्फको तल्लो तलाको सिट रहेकोले तल्लो तलाको दुई सिटमा रत्ना र लङ्केश्वरी तथा कृतिकाको लागि हुन्छ भने बीचको तलाको सिटमा म र सबैभन्दा माथिल्लो तल्लामा कुमारजीको लागि भनेर सिट मिलाउने काम गर्छौं हामी आपसमा ।
रेल आफ्नै तालमा बढिरहेको हुन्छ अगाडि र हामी गफिदै बसिरहन्छौ सिटमा । कुमारजीकी सानीछोरी कृतिका भने रेलमा स्याण्डवीच दिन्छ कि दिँदैन ? भनी सोधिरहेकी हुन्छिन् आफ्नी आमासँग । राजधानी एक्सप्रेस र शताब्दी एक्सप्रेसमा पाइने सुबिधा अन्य रेलहरूमा नपाइने कुरा कलिला बालबालिकाले बुझ्दैनन् । किनकि अन्य एक्सप्रेस रेलहरूभन्दा राजधानी र शताब्दी एक्स्प्रेसको भाडा दोब्बरै महँगो पर्छ । त्यसैले राजधानी र शताब्दीमा खाने कुराहरू प्याण्ट्री कार (रेलमा खाना आदि तयार पार्ने डब्बा)ले अन्य थप रकम नलिई खानेकुराहरू निःशुल्क वितरण गर्ने गर्दछन् तर अन्य रेलहरूमा खाना चाहिने हो भने अर्डर गरेपछि आउने हुन्छ । यस्तो जटिल कुरा कसरी बुझ्न सक्छिन् र तीन-चार वर्षकी बच्चीले । त्यसैले जुनसुकै रेलमा चढे पनि मीठोमीठो खाने कुरा पाइन्छ भन्ने धारणा बनाएकी कृतिकाले यसपल्टको रेलयात्रामा पनि स्याण्डवीच पाइन्छ भन्ने सोची घरमा खानै नमानी यात्रामा जुटेकी रहिछिन् । त्यसैले स्याण्डवीच बारेमा बराबर सोधिरहने गरेकी रहिछन् ।
हामी चढेको रेल पुरानो दिल्ली रेल्वे स्टेशन (चाँदनी चोक) भएर उत्तर प्रदेशको गाजियाबाद हुँदै हापुर पुगिसकेछ । यस्तैमा टिकट जाँचकी आएर टिकट माग्नु भयो । चारै जनाको टिकट मसँग भएकोले निकालेर दिएँ । टिकट जाँचकी त नेपालीभाषी हुनुहुँदोरहेछ । त्यसैले सोध्नु भयो-‘कुनै समस्या छ कि ?’ ‘खास त्यस्तो केही छैन ।’ मैले जवाफ दिएपछि उनले बोकेको लिस्टमा हाम्रो नाम मिलाएर टिकटको बीचमा धर्का तानी फिर्ता दिनु भयो । यात्रामा निस्कँदा नसोचेको र नभोगेको कुरा दुवै सम्भव छ भन्ने कुरा साँचो लाग्यो मलाई । विशाल भारतको अनगिन्ती रेलहरूमध्ये हामी चढेकै रेलको टिकट जाँचकी नेपालीभाषी हुनु भनेको कम अनौठो कुरा होइन् । कुनै पनि मनले त्यस्तो सोचेर रेलयात्रामा जुटेका पनि होइन हामी । छोटो समयको रेलयात्रामा नेपालीभाषी टिकट जाँचकीसँग भेट हुँदा सधैं चढिरहेको रेलमा बसिरहेकोजस्तै अनुभूति भयो मलाई ।
साढे दस बजेतिर आ-आफ्नो सिटमा बसिसकेका हुन्छौँ हामी । दिल्लीबाट प्रस्थान गरेको भए पनि रेलयात्राको हाम्रो धेरै समय उत्तर प्रदेशको भूमिमा बितिरहेको हुन्छ । हापुरबाट बढेर गजरौला हुँदै मुजफ्फरनगरतिर आइसकेका हुन्छौँ हामी । रातको एकछत्र निरङ्कुश शासन चलिरहेको हुनाले रेलको वर्थमा रहेको सहयात्रीहरू बाहेक केही देख्न सकिँदैन यसबेला । त्यसैले क्रमशः निःशब्द र सुनसानसँग समानान्तर बन्ने प्रयासमा लागिपर्छौं हामी पनि । अँध्यारोलाई चिर्दै सानी कृतिका भने- ”बदमास रहेछ रेल । स्याण्डवीच पनि नदिने ।” भन्दै आमासँग गुनासो गरिरहेकी हुन्छिन् बेलाबेलामा । विस्तारैविस्तारै कृतिकाको स्वर पनि मत्थर हुँदै जान्छ अन्धकारको भयावह बढ्दै गएजस्तै ।
चल्ती रेलको सुनसान वर्थमा यात्रारत हुन्छौँ हामी । त्यसपछि कुन बेला नाजियावाद पुग्छौँ र कोटद्वार स्टेसन पार गरेर अगाडि बढेको हुन्छ रेल थाहा हुँदैन हामी । एक्कासि बिहानको ६:२५ बजे हरिद्वार रेल्वे स्टेसनमा पुगी घ्याच्च रोकिँदा पो झसङ्गिदै ब्यँूझन पुग्छु म ।
हरिद्वारमा बिहानै चिया बेच्नेहरूको आवाजले रेलका वर्थहरू जुरमुराउन थाले । सहयात्रीहरू चियाका पारखी नहुनु भएको कारणले चिया लिनु भएन । मैले भा.रु. पाँच तिरी एक कप चिया लिएँ । हरिद्वारमा करिब एक घण्टा रोकिने रहेछ रेल । त्यसैले धेरै यात्रीहरूले बिहानको नित्यकर्म गर्न भ्याए यसै स्टेसनमा । यसबेला पनि कृतिका भने सोधिरहेकी हुन्छिन् रत्नालाई -”रेलको ब्याट्री सकियो कि क्या हो ठूलीआमा ! नत्र किन रेल चुपचाप बसेको हँ यहाँ ?” बालसुलभ प्रश्न तेस्र्याइन् कृतिकाले । रत्नले हाँस्दै कृतिकालाई काखमा लिइन् । मानाँै कृतिकाले रेललाई गुडियाजस्तै मानेकी छिन् । किनकि ब्याट्रीचालित गुडियाको ब्याट्री सकिएपछि चल्दैन भन्ने ज्ञान छ तिनलाई ।
हरिद्वारमा धेरैबेर रोकिएपछि देहरादुनको लागि प्रस्थान गर्यो रेलले । बिहानको आठ पनि बजिसकेछ । खुसरोपार्क स्टेसनमा एकैछिन रोकियो र यसैबेला प्याण्ट्रीवालासँग एक कप कडाखालको कफी मागेँ मैले । कडाखालको कफीको भा.रु. सात पर्ने रहेछ । एक कप कफी लिएर पिएँ मज्जाले । एक प्रकार चिया र कफीको अम्मली नै बनेको छुभन्दा पनि फरक पर्दैन । चिया र कफी सुलभ तरिकाले मिल्दा दिनमा कम्तीमा पनि छ वा सात कपसम्म पिउने गर्छु म । यसरी चियाको अम्मली कसरी बन्न पुगेँ । आफैँलाई थाहा छैन ।
बिहानको नौ बजे पुग्छौँ देहरादुन रेलवे स्टेसनमा । भा.रु. पच्चीसमा अटो रिजर्भ गर्छौ राजा रोडस्थित होटल सौरव जानलाई । अटोमा चढेपछि अटोवालाले यहाँ थुप्रै सस्ता होटलहरू छन्, सौरव महँगो छ, यदि अरू होटल हेर्ने भए त्यतैतिर लगिदिन्छु भनी जानकारी दिन्छन् तर नयाँ दिल्लीबाट नै मुम्बईकी साहित्यकार श्रीमती कुसुमलता दिदीको छोरा क्याप्टेन रणपालसँग कुरा हुँदा उहाँले आˆनो ज्वाइँको होटल रहेकोले त्यसैमा बस्न राम्रो हुन्छ भनी भनिसक्नु भएको छ । सेमी डिलक्स डब्बल रुमको भा.रु. आठ सय रहेछ होटल सौरवमा । देहरादुन आइपुगेपछि प्रतीक जुयल (होटल मालिक) सँग भेट्नुहोला भनी भन्नुभएको थियो । त्यसैले हामी होटल सौरवमा नै जानुपर्ने भएकोले अटोवालालाई सिधै त्यहीँ लैजान भन्यौँ ।
सवा नौ बजे होटलमा पुग्दा प्रतीक जुयेल रहेनछन् त्यहाँ । फोनबाट क्या. रणपाललाई जानकारी दिएँ मैले । उनले बस्नुहोस् म कुरा गरिदिन्छु भन्नुभयो । त्यसपछि कुमारजीकी श्रीमती लङ्केश्वरी र म गयौ कोठा हेर्न । ठीकै खालका रहेछन् कोठाहरू । कुमारजी र परिवारलाई रुम नं.३०२ र हाम्रोलागि रुम नं. ३०३ बुक गरी सामान राख्यौँ । सामान राखेर ताजा हुने क्रममा नुहायौं हामीले । नुहाइसकेपछि मसुरी जानु छ हामीलाई । त्यसैले हतारिदैँँ निस्कियौं होटलबाट ।
राजारोडबाट बायाँ लागेर गान्धी रोडमा निस्कियौं हतारहतारमा । गान्धीरोडबाट बायाँ अर्थात् दक्षिणतर्फ लागेर खाना खाने होटल खोज्दै बढ्याँै अगाडि । गान्धीरोडको दायँाबायाँतर्फ त्यति मनपर्दो रेष्टुराँ पाइएन । तैपनि केही नखाई यात्रा गर्न कठिन हुने भएकोले सानोसानो रेष्टुराँमा पसी रत्न र मैले छोलेभटुरे र दही खाने काम गर्यौँ । कुमारजी र परिवारले दाल, भात तथा चिसो पिउनु भयो ।
लन्च समाप्त भएपछि देहरादुनका भूपेन्द्र अधिकारीलाई फोन गरेँ । पहिले पनि देहरादुको कार्यक्रम बताई होटल सौरवमा बस्ने जानकारी गराई आइतबार बिहान भेट्ने कबुल गर्नुभएको थियो । त्यसैले देहरादुन आइपुगेको र आज मसुरी गई फर्किने कार्यक्रम बताएँ मैले । मसुरीका लागि एक जनाको भा.रु. असीका दरले माइक्रोले लिने कुरा बताउनुभयो उहाँले । ट्याक्सी स्ट्याण्ड रेलवे स्टेसनको अगाडि रहेको कुरासमेत जानकारी गराउनुभयो भूपेन्द्रजीले । भेट्नका लागि होटलमा फोन गरी तपाईंहरू फर्किएको, नफर्किएको निधो गरी आउँछु भन्नुभयो । त्यसपछि फोन राखी ट्याक्सी स्ट्याण्डतर्फ लाग्यौँ हामी । खाना खाएको होटलदेखि पाँच मिनेटको बाटोमा रहेछ ट्याक्सी स्ट्याण्ड ।
ट्याक्सीवालाहरूको ठूलै जमात रहेछ यहाँ । खासखुस कुरा गर्न खोजेपछि पालैपालो सिण्डिकेटले छोड्ने भएकोले दलाली नचल्ने रहेछ यहाँ । त्यसैले पालोमा परेको ट्याँक्सी नं. युए ०७-२३७३ को ट्याक्सीवालासँग कुरा मिलाई एघार बजेर पैँतालीस मिनेट जाँदा मसुरीका लागि रमाना भयौँ हामी ।
ट्याक्सी चालक गढवाली रहेछन् । उनले आफ्नो नाम बबी राना भनी बताए । चालक असल खालको भएकोले कुमारजीले कुरा उठाउनु भयो- “मसुरी जानलाई त भा.रु. ३२०/- भन्नुभएको छ तर दिनभरि मसुरी घुमेर देहरादुन यही मोटरबाट र्फकन चाहन्छौँ । कति भन्नुहुन्छ एकमुष्ट ?” चालकले भने – “बाह्र सय दिनुहुन्छ भने केम्पटीफल, मसुरी सहर र मसुरी ताल देखाई देहरादुन फर्काएर ल्याउन सक्छु ।” “अलिक मनासिव दर बताउनुहोस् न बबीजी !” कुमारजीले अनुरोध गर्दै भन्नुभयो । कुराकानीकै क्रममा एघार सयमा कुरा मिल्यो उहाँहरूको । त्यसैमा स्वीकृति जनायौँ हामी सबैले ।
ट्याक्सी देहरादुनको गान्धी रोड, क्लक टावर, सर्भे चोक, वाटर वर्कस हँुदै राजपुर रोडमा हुँइकिन थाल्यो अगाडि । चालककै छेउको सिटमा बसेर दृश्यपान गरिरहेको हुन्छु म । पछाडि सिटमा रत्ना, लङ्केश्वरी बहिनी, सानी कृतिका र कुमारजी बस्नु भएको छ । चालक खुब गफ गर्ने खालको भएकोले स्टेरिङ घुमाउँदै वरिपरिका दृश्यहरूका बारेमा बताउनुहुन्छ मलाई । “आप लोग नेपाली हैं ? देहरादुनके गढी कैन्ट मे बहुत नेपाली लोग रहते है । यहाँ पर क्लक टावरके साउथ मे पल्टन बजार भी है । टाईम हो तो देखके जाइए ।”
‘जरुर देख लँेगे भाइ ! क्यू कि देखने और जान्ने के लिए इधर आया हूँ हम सब लोक ।’ मैले छोटो जवाफ दिएँ । यस्तैमा अङ्ग्रेजी शराबकी दूकानको साइनबोर्ड देखेपछि प्रश्न गर्छु म- ‘बोलिए, शराव कौन पिता है इधर ?’
चालकले सटिक जवाफ दिन्छन् मलाई- ‘शाम ढल्नेके साथसाथ अङ्ग्रेजीका शराब तो नहीँ, कच्चा दारु पीते है यहाँ के लोग । कच्चा दारु पिनेवाले नेपाली और गढवाली होते हैँ साब ।’ ‘किस्को कहते हैँ कच्चा दारु भाइ ?’ ‘मकान मे बनाने वाला दारु ।’ झट्ट चालकको जवाफ सुन्दा नेपालको कुनै गाउँतिर पुगेको अनुभूति भयो मलाई । देहरादुनमा कच्चा दारु भनिने रक्सीलाई नेपालको गाउँतिर खोयाबिर्के भन्ने चलन छ । खोयाबिर्के -घरपालुवा रक्सी बनाएर प्रयोग भइसकेको पुरानो बोतलमा खोयाको बिर्को लगाइने भएकोले) रक्सीहरू प्रायः साप्ताहिक हाटमा निश्चित स्थानमा बिक्री वितरण हुने गर्दछ र प्रायः बजार भर्नेहरूले त्यो स्थानमा गई सेवन गरेर खुट्टा ठीक ठाउँमा नटेक्ने भएकोले मादक पदार्थ बिक्री गर्ने र सेवन गर्ने स्थानलाई बाङ्गेबजार भनेर पनि चिन्ने गर्दछन् नेपालको पूर्वी भागमा । ठीक त्यही दृश्यहरू नाच्न लाग्यो मेरो मनभरि र सोचेँ -देहरादुनमा पनि कच्चा दारु पिउनेहरूको खुट्टा ठेगानमा हुन्छ कि हुँदैन होला ?
डियर पार्क छोडेपछि बाटो उकालिएको छ मसुरी पुग्नलाई । नागबेली बाटोमा घुमिरहेको छ हामी चढेको ट्याक्सी । कहिले डाँडामा त कहिले खोँचमा पस्दै लुकामारी खेलिरहेका छौँ प्रकृतिसँग । एकप्रकार रमाइलो लाग्छ मलाई । यो बाटोमा हिँडिरहँदा कहिले बाइरोडको बाटोको सात घुम्ती त कहिले बाह्र घुम्ती, कहिले नौबिसेदेखि थानकोट पुग्दाको बाटोलाई सम्झन पुग्छु म । कुनै डाँडा दाह्री खौरिएको जस्तो चिल्लोचिल्लो लाग्छ । अनि जङ्गलको बीचमा गाउँहरू देख्दा मसुरीबाट सुटुक्कै भागेर देहरादूनतर्फ झर्नेक्रममा थाकेर आरामका लागि बसेकाजस्ता लाग्छन् मलाई । अर्थात् कुनै गाउँहरू मसुरीको डाँडाबाट भागेर आई जङ्गलको बीचमा लुकेर बसेकोजस्तै लाग्छन् ।
देहरादुनबाट हिँडेका आधा घण्टा अर्थात् बाह्र बजे पानीवाला मोडमा पुगी एकैछिन बिसायो ट्याक्सीले । यहाँ ट्याक्सीको टेङ्कीमा पानी लगाउने काम गरे बबीले । हामीले पनि खाली बोतलमा पानी भर्ने काम गर्यौँ । पहाडी धाराको चिसो पानी पिउँदाको आनन्द एकदम फरक भयो मलाई । भोजपुरस्थित वास्तिमको घरमा रहँदा खेतीपातीको समयमा असुवा जान्थ्यौँ हामी । असुवामा धेरै खेत छ । हाम्रो गाउँको र असुवामा पुगेपछि जरुवाको पानी खोसामार गर्दै पिउथ्यौँ । ठूलो सिमलको बोटमुनि प्रकृतिले पानी उमारिदिएको छ । त्यसैलाई जरुवा भन्ने आम चलन छ वास्तिममा । अहिले मसुरी जानेक्रममा पानीवाला मोडमा पानी घटघटी पिउँदा जरुवाको र जन्मथलो वास्तिमको सम्झना एकदम जीवित भएर आयो ममा ।
पानीवाला मोडको एकैछिनको विश्रामपछि उकालिन थाल्यो ट्याक्सी । पहाडका ठाउँठाउँमा सूचनाहरू टाँसिएका देखिन्छन्- ‘धिमी गति जीवन बचाती है । गति सीमा २० कि.मि., कोल्डु खेत ३८०० फिट उचाइ’ आदि । बाह्र बजेर पन्ध्र मिनेट जाँदा एउटा सुन्दर साइनबोर्डले मेरो मनलाई पूरै खिच्यो आफूतिर ‘पहाडाँे की रानी मसुरी मे आपका स्वागत है’ । सोह्र घण्टापछि त्यही ठाउँको माटोमा आइपुगेका छौँ हामी । यात्रामा ननिस्किएको भए जहीँका तहीँ रहेका हुन्थ्यौ हामी । अलिकति दुःख गरेर के भो र ? दुई-चार पैसा खर्च गरेर के भो र ? अलिकति समय खर्चेर के भो ? तर नयाँ दुनियाँ, नयाँ स्थान, नयाँ भौगोलिक र नयाँ सामाजिक रहनसहनको चास्नी चुटुक्क चाख्न, केही मनोरञ्जन, केही ज्ञान र यात्राका अनुभूति सँगाल्न सक्यौँ । आँखाको पानी नसुकुञ्जेल हेर्न र खुट्टा चलुञ्जेल घुम्न र खर्चले धान्न सकिञ्जेल नै घुमे र फिरेको कुरा नै आफ्नो हुने हो जीवनमा । हातपाउ चल्न छोडेपछि वारिसनामा दिएर अरूलाई पठाउँदा हुने कुरा होइन यात्रा । त्यसैले, गच्छेअनुसार यथासम्भव र यथेष्टरूपमा घुम्दा राम्रो हुन्छ भन्ने लागिरहन्छ मलाई । किनकि नघुमे पृथ्वीको एक पाना मात्र पढ्न र बुभ\mन सकिन्छ । जति घुम्यो पृथ्वीको त्यत्ति पाना पढ्न र बुझ्न सकिन्छ भन्ने मान्यता छ मेरो । त्यसैले मसुरीको माटोमा गुडिरहँदा अत्यन्तै हर्षको नसाले लटि्ठएकोजस्तैै प्रतीत भइरहेको छ मलाई ।
कोल्डुखेतको अग्लो उचाइमा पुगेर तलको देहरादुन बजार देख्दा कोसी अञ्चल, नेपालको साँगुरी भञ्ज्याङबाट धरान देखिएजस्तै लाग्यो मलाई । हुन त यो मीठो भ्रम हो । तैपनि आˆनो देश, आˆनोपन जहिले पनि नजिक हुने रहेछ । त्यसैले बिगतको जस्तोसुकै बेला पनि सम्झना गर्ने हक मान्छेलाई हुने रहेछ । त्यही मान्छेमध्येकै म पनि एउटा मान्छे भएकोले विगतहरूलाई समयसापेक्षरूपमा सम्भिmने गर्छु म । कोल्डुखेतमा उभेर माथिको मसुरी बजारलाई देख्दा कताकता पश्चिम बङ्गालको कालिम्पोङजस्तो वा सिक्किमको गान्तोक बजारजस्तै पनि लाग्यो । मलाईजस्तै अनुभूति रत्नालाई पनि भएछ । देहरादुनबाट उकालिँदा वरिपरिका पहाडी भू-भाग झण्डैझण्डै सिक्किमको भू-भागजस्तै देखिएको कुरा बराबर बताइरहन्छिन् रत्ना । यसरी विस्मृत स्थान र दृश्यहरूको स्मरण गरिरहेका हुन्छौँ हामी । देहरादून र मसुरीलाई क्रमशः धरान र कालिम्पोङ वा गान्तोकको रूपमा देख्छौँ हामी । वास्तवमा जीवन भनेकै भ्रम हो । विविध तरिकाले अभिनय गर्छौं’ केही क्षण र भ्रमकै बीचमा बाँच्छौँ हामीहरू । भ्रम सिवाय अरू के नै पालेका हुन्छौँ र हामीले ? अनि जे पालेका छौँ, त्यही हुर्कन्छ र त्यही नै समाप्त हुने न हो । त्योभन्दा पर के नै हुन्छ र जीवनमा ?
मनमा कुराहरू खेलिरहेकै बेला मसुरीको किताबघर आइपुगेको जानकारी दिन्छन् मोटर चालक बबी रानाले । यसबेला बजारको कान्लामुनिबाट ट्याक्सी दौडिरहेको छ र देब्रेतिर देखिन्छ लाइब्रेरी । लाइब्रेरीलाई किताबघर भनेका रहेछन् बबीले । घडी हेरें, बाह्र बजेर चालीस मिनेट भएको रहेछ यसबेला । किताबघरबाट उकालो लागि गान्धीचोक गेट पार गर्छ ट्याक्सीले । माल रोडलाई छोडी चार्ली वील रोड भएर अगाडि बढ्दै चकराता मार्ग, रोड टु प्याराडाइज हँुदै ओरालो लाग्न थाल्छ ट्याक्सी । यसबेला मसुरी बजारलाई छोडी कैम्पटी फल हेर्न गइरहेका हुन्छौँ हामी । कैम्पटी फल मसुरीको एउटा आकर्षणको केन्द्र हो भनेर थाहा पाएकोले त्यतैतिर हुँइकिएका छौँ यसबेला । मसुरी मेन बजारदेखि १५ कि.मी. टाढा रहेको छ कैप्टी फल ।
केही समय अगाडि देहरादुनबाट उकालिएर डाँडाको शिखरमा रहेको मसुरी आइपुगेका थियौँ हामी । अहिले कैम्पटी फल हेर्नलाई ओह्रालिरहेको छौँ । ओह्रालिने क्रममा तेह्र बजेर तीस मिनेटमा उत्तराखण्ड (पहिले उत्तराञ्चल भनिन्थ्यो) को अर्को जिल्ला तेहरी जिल्लामा प्रवेश गर्नेक्रममा छौँ र चालकले रोड शेषबापत रू. १०/- लाग्ने कुरा बताएपछि निकालेर दिन्छु म । तेहरी जिल्ला भित्रिनु अगावै एउटा मज्जाको रेष्टुराँ देखेर चिया पिउने प्रस्ताव राख्छु म । कुमारजीकी श्रीमती लङ्केश्वरीलाई मोसन सिक्नेसले लखतरान पारेको हुन्छ । त्यसैले आफू अगाडि नजाने भनी अडान राख्ने काम गर्नुहुन्छ । म र चालक बबी राना चिया पिउँछौँ । कुमारजी, लङ्केश्वरीजी लेमोन र कृतिका पेप्सी पिउँछिन् । रत्नलाई केही पनि खाउँपिउँजस्तो पटक्कै लागेको छैन भनी तर्किन्छन् त्यत्तिकै । जे जसरी भए पनि केहीबेर आराम गछौर्ं हामी तेहरी जिल्लाको वेलकम रेष्टुराँमा ।
वेलकम रेष्टुराँबाट तलतिर हेर्दा खाँेचमा केही भएजस्तो देखिन्छ । मान्छेहरू सलबलाई रहेको भीड पनि सहजै देख्छौँ हामी र त्यही भीडमा मिसिन जुट्छौँ यात्रामा । तेहरी जिल्लामा प्रवेश गर्दा शुल्कबापत रू. दस भुक्तानी गर्छन् चालकले । चालक बबीले “ये रास्ते से सिधै आगे चल्ने से यमोनेत्री एवं गङ्गोत्री पहुचेंगे । बहुत लम्बा रास्ता है ये ।” भन्दै जानकारी दिनपछि पर्दैनन् । हुन पनि नागबेली बाटो पहाडको छातीभरि टाङ्गएिको छ परपरसम्म ।
यस्तैमा चौध बजे कैम्पटी फल छेउको रेष्टुराँको पार्किङ क्षेत्रमा लगेर ट्याक्सीलाई विश्राम दिन रोक्छन् बबीले । यहाँबाट पनि निकै टाढा छ कैम्पटी फल । कार एवं ट्याक्सी अगाडि जानै नसक्ने गरी पार्किङ गरिएको छ स्पष्टै देख्छौँ । त्यसैले हामीले पनि रेष्टुराँको छेउबाट चियायाँै कैम्पटी फललाई । वास्तवमा कुनै ताज्जुब र आश्चर्य लाग्दो पटक्कै लागेन मलाई कैम्पटी फल । अमेरिका र क्यानाडाबीचमा पर्ने नियाग्रा फल्स हेरेको मान्छेलाई एकदम खल्लो लाग्नु कुनै नौलो कुरा पनि भएन । फेरि हाम्रो देशमा रहेका अनगिन्ती सुन्दर पहाडी छाँगोहरू देखिरहेको मान्छेलाई कैम्पटी फल हेर्नुमा कुनै तुक नै नभएकोजस्तोे लाग्यो । किनकि कैम्पटी फल पोढी जिल्ला (मसुरी) र तेहरी जिल्लाबीचको सानो खोल्सामा यताउताको पानीलाई एकत्र गरी तेहरी ड्याम बनाई छाँगोबाट खसालिएको छ । छाँगोमुनि पानी जम्मा गरी पोखरी बनाइएको छ । पर्यटकहरूका मनोरञ्जनका लागि डुङ्गाहरू पनि राखिएका छन् तर उदासलाग्दो कुरा पोखरीमुनिको खोला एकदम सुख्खा छ । कृत्रिम हाँसो हाँसेकोजस्तै लाग्यो कैम्पटी फललाई हेरिरहँदा । गुलाबको भर्सेली फुलेको बगैँचालाई छोडी रबरको फूलको प्रदर्शनी हेर्न पुगेजस्तै अनुभूति भयो मलाई ।
त्यसैले कैम्पटी भ्यु रेष्टुराँमा धेरैबेर नबसी चौध बजेर पन्ध्र मिनेट जाँदा मसुरीतर्फ नै र्फकने तरखरमा जुट्यौ हामी । ठीक एक घण्टा लाग्यो मसुरी मेनबजारको गान्धीचोक आइपुग्नलाई । गान्धीचोकबाट तलतिर रहेको लाइब्रेरी बजार छेउको मोटर स्ट्याण्डमा पुर्याइ इण्डिका कारलाई रोके बबीले । त्यसपछि तपाइर्ंहरू बजार तथा वरिपरिका हेर्ने स्थानहरू हेरी समयमै आउनु होला भनी अनुरोधसमेत गरे चालकले ।
मोटर स्ट्याण्डबाट नजिककै खुड्किला चढेर मलरोडमा पुग्यौँ हामी । मल रोडमा लङ्केश्वरी बहिनीले काँक्रा र मैले पोलेको मकै किनौँ । कस्तो महँगो रहेछ मकै, बाफ रे ! दिल्लीमा तीन रुपियाँ पर्ने मकै मसुरीको मल रोडमा ठ्याक्कै दस रुपियाँ तिर्नु पर्यो मैलै । हुन पनि दिल्लीबाट करिब २५० माइल उत्तरमा रहेको मसुरी समुद्री सतहभन्दा ७००० फिट उचाइमा रहेको गढवाली हिमालय पर्वत शृङ्खलामा रहेको सुन्दर हिल रिसोर्ट हो । हिल रिसोर्ट भएकै कारणले पनि महँगो मूल्य चुकाउनै पर्छ हामीले । यो एउटा बाध्यता र विवशता पनि हो पर्यटकका लागि । त्यसैले चुपचाप भनेजति पैसा भुक्तानी गरेर सामान लिनु नै उपयुक्त र बुद्धिमानी ठान्यौँ ।
हुन त नेपाली हुनुको नाताले केही सम्बन्ध त छ गढवाली क्षेत्रसँग तर इतिहास जत्तिक्कै पुरानु नाता । नाता कोट्याउने हो भने सन् १८०३ मा नेपाली वीर योद्धा अमरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले गढवाल र देहरादुनमाथि विजय हासिल गरेपछि स्वतः मसुरी पनि नेपालमा गाभिन आएको कुरामा इतिहास साक्षी छ तर दुर्भाग्यवश नोभेम्बर १, १८१४ मा बि्रटिस फौजले देहरादुनमाथि कब्जा जमाइ गोर्खाली सेनालाई पछि हटाएको थियो । त्यसपछि वस्तुभाउहरूको चरणको रूपमा रहेको मसुरीको सुन्दरताले वशीभूतभई क्या. योङ्ले सन् १८२० मा होलिडे होमको रूपमा विकास गरेका थिए । बि्रटिसहरू यहाँ आउनु अगाडि भेँडा गोठालाहरूको चरनको रूपमा जानिन्थ्यो भने बि्रटिसले क्रमिकरूपमा विकास गर्दै जाने ध्येयले त्यस इलाकामा भेँडाले चरनमा खोजेर खानेे ‘मन्सुर’ जातिको घाँसको नामबाट मसुरी नामकरणण्समेत गरेर बस्ती बसाए । त्यही नामले प्रख्यात रहेको छ अहिले मसुरी तर त्यस कुराको स्मरण गर्नबाहेक नजिकको नाता भने छैन मसुरीसँग हाम्रो । यसरी ऐतिहासिक नाता रहेकोे भूमिमा घुम्न र डुल्न पाउँदा अहोभाग्य नै मानिरहेको छु मैले ।
मसुरी बजारको मलरोडमा छौं अहिले । मलरोडबाट पूर्वतर्फ बढिरहेका छौँ हामी । बाटोमा लङ्केश्वरी बहिनीले आइस्क्रीम खरिद गर्नुभएकोले चिसो आइस्क्रीम खाँदै अगाडि बढ्याँै हामी । वास्तवमा गनहिल जाने कार्यक्रम बनाएर हिँडिरहेका छौँ हामी । मलरोडबाट आधा किलो मिटर हिँडेपछि पुगिने कैमलरोडमा रोप वे रहेको छ गनहिल पुग्नलाई । त्यसैले कस्सिएर हिँड्दै छौँ अहिले । यस्तैमा मलरोडकै कुट्चरी (कचहरी) रोडबाट बायाँ उकालो चढेमा दस मिनेटमा गनहिल पुगिने सूचना देखेपछि हिँडेर जाने निश्चय गरँे मैले । त्यसपछि आफ्नो मनसाय सुनाउँदै
अरुलाई रोप वेमा चढेर आउन भनी आफू लागेँ उकालो । किनकि यसरी हिँड्न पाउनु भनेको पनि अपूर्वको संयोग हो । हिँडेरै माथि पुगिन्छ भने किन रोप वे प्रयोग गर्ने ? हिँड्दाको मज्जा नै बेग्लै हुन्छ भनेर यस्तो निर्णय गरेँ मैले ।
कुट्चरी (कचहरी) रोडबाट जेरीजस्तै घुमेको नागबेली बाटोमा उकालिएँ म गनहिललाई ताकेर । पसिनाले निथ्रुक्कै भिजेँ मसुरीमा । उकालो हिँडिरहँदा भोजपुर जाँदा हिँड्ने पानीविनाको उकालो मार्ताङगाउँको उकालोको सालघारी र सतीवयरको पोथ्राहरूबीच हिँडिरहेझैं लाग्यो कताकता । पढेको छु गोसाइकुण्ड जाँदा पनि यस्तै उकालो छ रे लौरीविनाएकको उकालो । सासै फुत्किने गरी उकालो चढी सोह्र बजेर दस मिनेट जाँदा पुगँे गनहिलको शिखरमा । साँच्चै दस मिनेटमा नै कचहरी रोडबाट पुगिने रहेछ गनहिलको शिखरमा । दुई हजार एक सय बाइस मिटरको उचाइमा पुगेर अग्लो सास फेरेँ मैले र एउटा अकल्पित युद्ध वा बाजी जितेकोजस्तै आभास भयो मलाई । अत्यन्त खुसीको क्षण र थकित शरीरलाई ढुङ्गाको न्यानो आतिथ्यमा बसिरहेको बेला कुमारजीले फोन गर्नुभयो मोबाइलबाट र भन्नुभयो ‘दाइ रोप वे त दुई घण्टापछि मात्र गनहिल आउने रहेछ । त्यसैले माथि नचढी र्फकने निश्चय गर्यौं हामीले । तपाइर्ं कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ ? चाँडो गरेर तल आउनु होला । बरु कहाँ पर्खंदा ठीक
होला ? हामी त्यहीँ बसिरहेका हुन्छौँ ।’ आनन्द र दुःखको बीचमा नराम्ररी चेपिएँं म । ‘ठीकै छ कचहरी कर्नरमा पर्खनु होला । गनहिलमा छु अहिले म । तपाईंहरूलाई पर्खिरहेको थिएँ तर तपाइर्ंहरू नआउने भएकोमा निकै दुःख लागेको छ । केहीबेर पछि ओर्लन्छु ।’ कुमारजीलाई मोबाइलबाटै खबर गरेँ गनहिलको शिखरबाट ।
घुम्न र हेर्न भनी आएका हौँ मसुरीमा तर रत्ना, कुमारजी लङ्केश्वरी बहिनी र सानीछोरी कृतिकाले गनहिलको सुरम्य दृश्यलाई देख्न नपाएकोमा निकै दुःखित बनेँ म ।
फेरि कहिले समय मिल्छ र मसुरीमा आउनलाई ! यस्तै अनुभूति भएथ्यो अस्ट्रेलियाको तस्मानियास्थित क्रेडल माउण्टेन चढ्दा पनि । ट्रेनिङको लागि सन् १९९४ मा तस्मानिया पुगेको बेला लन्सेस्टनस्थित युनिभर्सिटी अफ तस्मानियाले सबै तालिमका लागि आएका विद्यार्थीहरूलाई फिल्ड भिजिट भनी लैजाने काम गरेका थिए । त्यसबेला हामी धेरै जना क्रेडल माउण्टेनको शिखरमा पुगेका थियौँ । केही साथीभाइ फेदीमा नै छुटेका थिए । त्यसबेला पनि साह्रै खल्लो लागेको थियो मलाई । आज पनि त्यस्तै परिस्थितिले गाँजेको छ मलाई ।
फोन राखेर सिद्धपीठ माँ पार्वती मन्दिरको दर्शन गरेर गनहिल शिखरको वरिपरि घुम्ने काम गरेँँँ मैले । रोप वेबाट फेदीमा ओर्लनका लागि पर्यटकहरूको लामो लाइन रहेको देखेँ मैले । वरिपरि घुम्नेक्रममा केही सूचना बोर्डहरू पनि देखिए । ती सूचना बोर्डमा लेखिएका कुराहरू आˆनो नोट कपीमा सुटुक्क सारेँ मैले । ‘रोप वे सन् १९७० देखि सञ्चालन आएको, सन् १९०६ मा शिखरमा पानी टैंकी बनाइ मसुरी सहरमा पानी वितरण गर्ने कार्य सुरु भएको र १८५७ देखि यस पहाडको शिखरमा तोप राखी सर्वसाधारणलाई समय जानकारी गराउन दिनको ठीक बाह्र बजे तोप पड्काउने कार्य सुरु भएको ।’ यिनै सूचना बोर्डका अक्षरहरू नै सबैभन्दा विश्वास र आधिकारिक जानकारी गराउने मसुरी सहरको मित्र सम्झे मैले । शिखरको सेरोफेरोमा काठबाट निर्मित उपहारका सामानहरू बेच्ने पसल, सानो बन्दुकले तारो हानेर जित्ने खेलहरूको पसल र शिखर स्टुडियोमा गढ्वाली भेष लगाएर फोटो खिच्ने पसलहरूलाई राम्ररी नियालेँ । एक प्रकार हर्ष र खुसीको रङ्गमञ्चमा आइपुगेजस्तै लाग्यो मलाई । हुन पनि शिखर चढेपछि धेरै कुराहरू तलतिर पर्छन् र टाढाटाढासम्मका दृश्यहरूलाई समेट्न सकिन्छ भन्ने कुराको हेक्का मिल्यो मलाई । अहिले गनहिलको शिखरबाट बुण्डेरपञ्च, श्रीकण्ठ, पिथबरा, गङ्गोत्री शृङ्खला र मसुरी सहरको मनोरम दृश्य र दून उपत्यकालाई सजिलैसँग हेर्न सकिरहेको छु । यस शिखरबाट बाह्र बजे तोप पड्काइन्थ्यो भन्ने जानकारी मिल्दा काठमाडाँैको सम्झना पनि झल्झल्ली आयो ममा । भोजपुरको वास्तिमबाट २०३४ सालमा काठमाडौँ आउँदा टुँडिखेलमा बाह्र बजे तोप पड्केको आवाज सुन्ने गरेको थिएँ मैले । त्यसैले नै होला गनहिलको शिखरमा घुमिरहँदा काठमाडौँको टँुँडिखेलमा घुमिरहेको आभाससमेत मिलिरहेछ यतिबेला ।
वास्तवमा कचहरी रोडबाट उकालिँदा सन् १९९४ को एक दिन अस्ट्रेलियास्थित तस्मानियाको क्रेडल माउण्टेनको शिखरतिर चढिरहेजस्तो, जर्मनीको बोनस्थित खोनिङ्स्विण्टरको ड्राखेन फेलको चुचुरोतिर पाइला बढाइरहेजस्तो र अझ त्योभन्दा पनि बढी भोजपुरस्थित आफ्नो घर वास्तिम जानेक्रममा भोजपुरकै पानीविनाको एकदम ठाडो उकाली चढी रहेझैं लागिरहथ्यो । गनहिलको शिखरमा पुगेपछि त्यसबाट देखिने अर्बौँ रुपियाँ बराबरको प्राकृतिक दृश्यभित्र हराएँ एकाएक म । गनहिलबाट देखिने वरिपरिको मनोरम दृश्य आफ्नैजस्तो लागिरहृयो मलाई । वास्तिमबाट देखिने ट्याम्के, सेल्मे र श्यामासिलाका सुन्दर पहाडी डाँडाहरूजस्तै लागे बुण्डेरपन्च, श्रीकण्ठ, पिथवरा तथा गङ्गोत्री पर्वत शृङ्खलाहरू देख्दा । त्यसैले त सधैँ देखेको स्थान, हिँडडुल गरेको ठाउँ र स्पर्श गरिरहेको माटोझँै लाग्यो गनहिलको काख मलाई ।
वास्तवमा हतार थोपरिएको छ ममाथि । सहयात्रीहरू शिखरको फेदीमै बसेर मास्तिर हेर्दाहेर्दा आँखै टट्याउन लागिसकेको हुनसक्छ भन्ने त्रास मभित्र कताकता लुकिरहेको आभास हुन्छ । त्यसैले गनहिलसँगको हिमचिमलाई छोट्याउँदै लागेँ ओह्रालिन ।
तोप टिब्बा वा गनहिलबाट अपरान्ह सोह्र बजेर दस मिनेट जाँदा प्रस्थान गरी कचहरीको कोप्चे मोडमा सोह्र बजेर सत्र मिनेटमा आइपुगेँ म । रत्ना, लङ्केश्वरी र कृतिकाले पर्खिरहेका रहेछन् त्यहाँ । कुमारजी भने घुम्न जानुभएको रहेछ । एकैछिन पछि कुमारजी पनि आइपुग्नु भयो टुप्लुक्कै । त्यसपछि मलरोडतर्फ तेर्सियांै हामी । बाटोमा रत्नाले एकजोर स्याण्डल (जुत्ता) किनिन् भा. रु. साठीमा । सायद त्योबाहेक मसुरीको चिनोस्वरूप केही किनेनाँै हामीले । एक प्रकार आजको हाम्रो समय निखि्रन लागेको छ । यस्तैमा मसुरीको वरिपरि रहेको पर्वत शृङ्खलाहरूलाई घना बादलले छेक्दै ल्याएको स्पष्टै देखिन लाग्यो । त्यसैले मोटरपार्कतर्फ बढ्यौँ हतारिँदै । चालक बबी राना पनि हामै्र प्रतीक्षामा अल्झिरहेका रहेछन् ।
मोटर स्ट्याण्डमा पुग्नासाथ इण्डिका कारभित्र भित्रियाँै हामी पाँचै जना र कार विस्तारै ओरालोतर्फ घस्रन थाल्यो मसुरीलाई छोड्दै । यसबेला मनमनै सोचिरहेँछु – मसुरीलाई पहाडकी रानी भनिनुभन्दा आनन्दमासको सदरमुकामभन्दा न्यायोचित हुने लाग्यो मलाई । किनकि आनन्दमास बिताउनलाई उपयुक्तस्थल हुनको साथसाथै अनुकूल उचाइमा रहेकोले मनोरम दृश्यमा निथ्रुक्क भिजेर आनन्द लिन सकिने स्थानको रूपमा पाएँ मसुरीलाई । घोडामा चढेर सहर परिक्रमा गर्दाको आनन्द र क्यामल रोडबाट रोप वे चढेर गनहिलको सुरम्य वातावरणमा रुझ्दाको मीठो अनुभूति बटल्नुको मज्जा नै बेग्लै हुने र शिखरमा खुसी बटुल्नुको आनन्द सदा स्मरणीय हुने कुराको ठम्याइ रहृयो मेरो । हनिमुन सदरमुकामको काखमा केहीबेर लुट्पटिएपछि देहरादूनका लागि प्रस्थान गर्यौँ हामी ।
हाल – नयाँदिल्ली
