निन्द्रबाट ब्यूँझिएर
काल्पनिक सँसारको क्षितिजसम्म
लक्ष्यलाइ तेर्साउँदै
भौंतारिने यन्त्रमानव
अनन्तको विलय भन्दा
अकल्पनीय केहि छैन ।
दर्शनको यथार्थताबाट
साँसारिक मोजमस्तीमा ह्याक गर्ने
कम्यूटर भाइरसहरू जस्तै
जिन्दगीका डेटाहरूलाई
क्षतबिक्षत बनाएर
विभाजन गरिदैछ ।
विश्वासका पर्खालहरूमा
उन्मातका पौरखीहरूले
एकाधिकार जमाउँदै
सँसार नै समाहित बनाउन
माइक्रो चिम्सको विकासबाट
सानो पार्दैछन् ।
नाइलको यात्रामा
पेरिसको सभ्यताबाट
ग्लोबलाइज्ड गर्दै
सिस्टमको उत्पादन र
सफ्टवेयरको विकासले
बिनाशको परिकल्पना हुँदैछ ।
र त अचेल
कवि तथा साहित्यकारहरू पनि
सिस्टमको डिजिटल चौतारीमा
झुण्ड झुण्ड बनाउदै
साहित्यिक सभा सम्मेलनमा
समाहित बनेका छन् ।
