Skip to content


परिचय

 गोपाल पराजुली (२००२) नेपाली साहित्यका सिद्धहस्त हस्ताक्षरको नाम हो । धेरैवर्षसम्म निजामती सेवामा कार्य गरी अवकासप्राप्त जीवन व्यतीत गरिरहेका पराजुली धेरै हल्ला नगरीकन ठूला-ठूला कार्य गर्ने साहित्यकार हुन् । उनी हल्लामा भन्दा कर्ममा विश्वास गर्दछन् । कविका रूपमा स्थापित भएर बालसाहित्यमा सशक्त कदम चलाउँदाचलाउँदै उनी जीवनीसाहित्यमा आइपुगेका हुन् । बालसाहित्यमा उनले ‘नानीको बानी’ (बाल निबन्धसङ्ग्रह), रूपाको साहस (बाल कथासङ्ग्रह), ‘एक दिनको यात्रा (बाल उपन्यास) प्रकाशित गरिसकेका छन् । सरल शैलीद्वारा गहन भावले प्रस्तुत गर्न उनी निकै नै खप्पिस छन् । सामान्य बोलचालको भाषालाई कलात्मक तरिकाले प्रस्तुत गर्नु उनको विशेषता हो । शुद्ध, प्रस्ट र प्राञ्जल भाषाको उनी सफल साधक नै हुन् । तथ्यपरक विषयलाई निबन्धात्मक शैलीद्वारा गहन भाव प्रस्तुत गर्न उनी निकै नै खप्पिस छन् । सामान्य बोलचालको भाषालाई कलात्मक तरिकाले प्रस्तुत गर्नु उनको विशेषता हो । तथ्यपरक विषयलाई निबन्धात्मक शैलीद्वारा प्रस्तुत गर्नु उनको जीवनीपरक साहित्यको विशेषता हो । तथ्यपरक विषयलाई साहित्यिक मसला भर्न उनी सिपालु छन् ।

पच्चीस प्रतिभा ः भाग चारको अध्ययन र विश्लेषण साहित्यकार गोपाल पराजुलीले जीवनी साहित्यमा एउटा नयाँ प्रयोग गर्दै आइरहेका छन् । उनले नेपाली साहित्यमा विशिष्ट छाप छोडेर दिवंगत भएका साहित्यकारहरूलाई खोजी-खोजी प्रकाशनमा ल्याइरहेका छन् । जीवित साहित्यकारलाई उनी आफ्नो जीवनी लेखनभित्र समेट्दैनन् । जतिसुकै स्वनामधन्य भए तापनि त्यसलाई उनी आफ्नो जीवनी लेखनको सामग्री बनाउँदैनन् । यो नै उनले जीवनी लेखनमा प्रारम्भ गरेको नयाँ प्रयोग हो । जीवित रहँदा साहित्यकार कुनै न कुनै विवादमा मुछिइरहेको हुन्छ साथै एउटाको लेख्दा अर्को रिसाउने प्रबल सम्भावना पनि रहन्छ । त्यसर्थ मृत भइसकेपछि लेखियो भने कसैले औँलो ठड्याउने पनि गर्दैन । त्यति मात्र होइन मरेपछि धेरैजसो साहित्यकारलाई मानिसले बिर्सने गरेका छन् । उनले मरेकालाई सधैँ सम्झिरहन पनि यो कार्य गरेका हुन् ।

जीवनीकार गोपाल पराजुलीले अहिलेसम चारओटा जीवनीपरक पुस्तकाकारकृति बजारमा ल्याइसकेका छन् । जम्मा एकसय जना मृत साहित्यकारहरूलाई आफ्नो जीवनी साहित्यभित्र समेटिसकेका छन् । प्रत्येक प्रकाशनमा पच्चीस-पच्चीस जनाका दरले कृतिको स्वरूप तयार गरेका छन् । अप्राप्य, दुर्लभ भइसकेका साहित्यकारलाई खोजी-खोजी लिपिबद्ध गरेका छन् । विशेष गरेर बालबालिकालाई बुझ्न सजिलो होस् भन्ने उद्देश्य राखेर जीवनी साहित्यको लेखन र प्रकाशन गर्न थालेका हुन् । बालबालिकालाई आफ्ना देशका साहित्यकारहरूको सरल र सहज तरिकाले परिचय दिँदै जानुपर्दछ । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति रुचि जगाउन सकिएन भने उनीहरूले आफ्नो राष्ट्र र राष्ट्रियताका निम्ति मरिमेट्न जान्दैनन् । बालबालिकाद्वारा देशको भविष्यको निर्धारण हुन्छ । अतः बालबालिकालाई ध्यानमा राखेर कुनै पनि कार्य गरियो भने त्यसले बढीभन्दा बढी सार्थकता प्राप्त गर्दछ । जुन कार्य गोपाल पराजुलीले गरिरहेका छन् । पराजुलीले यस्तो कार्य गरिरहेका छन्, जसबाट बालबालिका त लाभान्वित हुन्छन् नै त्यसको साथसाथै वयस्क र प्रौढ सबैलाई लाभ हुने कार्य गरेका छन् । उनले अहिलेसम्म प्रकाशित गरेका पच्चीस प्रतिभा नामक पुस्तकहरू निम्नमाध्यमिक विद्यालयका विद्यार्थीहरूदेखि लिएर विश्वविद्यालयमा पढ्ने र पढाउने सबैलाई लाभकारी सिद्ध भएका छन् । धेरैजसो साहित्यकारको जीवनवृत्त पढाउने प्राध्यापकहरूलाई पनि थाहा छैन । त्यति मात्र होइन दिवंगत साहित्यकारहरूको जीवनवृत्त लेखकैपिच्छे अलगअलग किसिमले छापिने गरेका छन् । ती सबैको समाधान गोपाल पराजुलीका पच्चीस प्रतिभाहरूले गरेका छन् । उनले धेरै मिहिनेत गरी आधिकारिक विषयको प्रस्तुति दिएका छन् । धेरैथरीका किताब पल्टाउनुको बदला एउटै किताब पल्टाउँदा लेखक/पाठक ढुक्क हुने एउटै पुस्तक पच्चीस प्रतिभा बनेको छ । त्यस हिसाबले यसको महत्त्व आफ्नो ठाउँमा सुरक्षित छ ।

गोपाल पराजुलीका पच्चीस प्रतिभा जीवनीपरक समालोचना पनि हो । उनले गुणदर्शन परम्पराका आधारबाट यसको लेखन गरेका छन् । कुनै पनि साहित्यकारको अप्राप्तिलाई भन्दा प्राप्तिलाई मलजल गरी लेखेका छन् । साहित्यकारको विशेषता कुन विधामा बढी चरितार्थ भएको छ, त्यसको उनले उचित किसिमले प्रस्ट्याएका छन् । धेरैओटा विधामा कलम चलाएको भए तापनि त्यो साहित्यकार कुन विधामा खरो उत्रिएको छ त्यसको उचित निर्णय लेखक पराजुलीले गरेका छन् । साहित्यकारलाई उचित र चित्तबुझ्दो विशेषण दिई शीर्षक निर्माण गरेका छन् । यो उनको समालोचकीय सीपको सफल पक्ष मान्न सकिन्छ । जो जस्तो साहित्यकार हो त्यसलाई सोही किसिमको विशेषण दिनु निकै ठूलो कार्य हो । त्यसका निम्ति गहन अध्ययनको जरुरत पर्दछ । जुन कार्य लेखक पराजुलीले गरेका छन् । उनले धेरै अध्ययन गरेर नौनी निकालेका छन् । तिनै नौनीहरूको प्रस्तुति नै ‘पच्चीस प्रतिभा’हरू हुन् ।

‘पच्चीस प्रतिभा’ भाग चार साहित्यकार पराजुलीको नवीनतम जीवनीपरक समालोचना सङ्ग्रह हो । यसको प्रकाशन रत्नपुस्तक भण्डार, काठमाडौँबाट २०६४ सालमा भएको हो । कुमार आलेको तस्बिर सौजन्यमा मोहन कोइरालाको तस्बिर कृतिको आवरणमा सजाइएको छ । प्रसिद्ध समालोचक डा.कुमारबहादुर जोशीले यसको भूमिका तयार गरेका छन् । लेखकको लेखकीय र भूमिकाबाहेक यो पुस्तकले छयानब्बे पेज ओगटेको छ । वि.सं. १८१२ मा जन्मिएका उदयानन्द अर्यालदेखि लिएर १९९९ सालमा जन्मिएका घटराज भट्टराईसम्मका इतिवृत्त यस सङ्ग्रहमा समेटिएको छ । उदयानन्द अर्याललाई आदिमहाकवि उदयानन्द अर्याल शीर्षक दिएर उनको जन्म र मृत्युको यथार्थ विवरण दिएर उनी नेपाली, संस्कृत, उर्दू, फारसी, हिन्दी, मैथिली र नेवारी गरी जम्मा सातओटा भाषा जान्दथे भन्ने कुरा लेखक पराजुलीले गरेका छन् । ‘नेपाल भाषाका महाकवि सिद्धिदास अमात्य’ शीर्षक दिएर सिद्धिदासको यथार्थ विवरण खिचेर उनको नेवारी भाषाप्रतिको मोहलाई स्पष्ट पारिएको छ । राणाहरूले नेवारी भाषालाई हेला गरेको हुनाले यसतर्फ विशेष सक्रियता देखाएका हुन् भनिएको छ । ‘साहित्यकार झपटबहादु्र राणा’ शीर्षकभित्र राणाले सपनामा भगवान् शिवबाट इच्छामरणको वरदान पाएको उल्लेख गरिएको छ । माधवप्रसाद देवकोटालाई कविरत्नको उपाधि दिएर उनको विद्वताको बारेमा विस्तृत प्रकाश पारिएको छ । ‘पण्डित छविलाल पोख्रेल’ भित्र पोख्रेलको समाजसेवा समाजसेवा र साहित्यको चर्चा गरिएको छ । हरिप्रसाद गोर्खा राईलाई भाषासेवीको सङ्ज्ञा दिएर राईको बहुमुखी व्यक्तित्वको चिनारी दिइएको छ । ‘साहित्यसेवी खड्मान मल्ल’ शीर्षकभित्र मल्ल शुद्ध र राम्रो अक्षर लेख्ने भएको हुँदा उनलाई रुद्रराज पाण्डेको सिफारिसमा बालकृष्ण समले नेपाली भाषा प्रकाशिनी समितिमा मासिक रु. ३५।- पाउने गरी जागिर दिएका थिए भन्ने कुरा पराजुलीले उल्लेख गरेका छन् । करुणाकर वैद्यलाई लोककथाकारकारूपमा चित्रण गरेर उनले २०३८ सालमा युनेस्कोबाट नेपालको दन्त्यकथा शीर्षकका पुस्तकका लागि पुरस्कार पाएको कुरा बताइएको छ । ‘सरल समालोचक रत्नध्वज जोशी’ शीर्षकभित्र जोशीको नेवारी र नेपाली भाषाप्रतिको मोहलाई स्पष्ट पार्दै ‘समालोचक कविको कमारो होइन’ भन्ने उनको धारणालाई लिपिबद्ध गरिएको छ । प्रख्यात हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेललाई ठूलो हास्यव्यङ्ग्यकार भन्दै पराजुलीले लुइँटेलका ‘भूतको भिनाजु’ लगायतका सैंतीसभन्दा बढी साहित्यिक उपनामको सूची दिएका छन् । पोखराका अलि मियाँलाई ‘लोककवि अलि मियाँ’ शीर्षक दिएर उनको व्यक्तित्वमाथि गहन प्रकाश पारिएको छ । ‘मन’ उपन्यास लेखेर चर्चाको शिखरमा पुगेका लीलाध्वज थापालाई लेखक पराजुलीले उपन्यासकार भनेर सम्बोधन गरी उनको बहुमुखी व्यक्तित्वलाई पनि समेटेका छन् । महाकाव्य, खण्डकाव्य, कवितासङ्ग्रह र उपन्यास लेखेर चर्चाको शिखरमा पुगेका हरिहर शास्त्रीलाई कविका रूपमा परिभाषित गरिएको छ । अधिकारी थरका हरिहरले शास्त्री परीक्षा उत्तीर्ण गरेको हुनाले शास्त्री लेख्न थालेको कुरालाई स्पष्ट पारिएको छ । लेखक पराजुलीले भरतराज शर्मा ‘मन्थलीय’ लाई विद्वान् कविको उपाधि दिएका छन् । घिमिरे थरका मन्थलीय विद्वताका खानी नै थिए । प्रयोगवादी कवि हस्ताक्षर मोहन कोइरालालाई प्रसिद्ध गद्यकवि भनी उनको वास्तविक नाम डकारप्रसाद भएको स्पष्ट पारिएको छ ।

जीवनीकार पराजुलीले माधुरी भट्टराईलाई भक्तकवभित्रीको सङ्ज्ञा दिएर उनी प्रसिद्ध शिक्षासेवी वासुदेव भट्टराईकी बुहारी भएको स्पष्टोक्ति गरेका छन् । अभिलेख सङ्ग्रहकर्ता धन बज्राचार्यलाई इतिहासकार भनी उनको साहित्यप्रतिको झुकावलाई स्पष्ट पारिएको छ । ‘अनुसन्धाता डा.गणेश भण्डारी’ शीषर्कमा पराजुलीले भण्डारीको समग्र जीवनीको आँकलन गरेका छन् । ध.च.गोतामेलाई यस कृतिभित्र कुशलशिल्पीको दर्जा दिइएको छ । उनको ‘धामका पाइला’ उपन्यासले यो कुरालाई प्रमाणित गरेको छ । धु्रवकृष्ण ‘दीप’ लाई बालगीतकारको दर्जा दिएर लेखक पराजुलीले उनलाई संस्कृतिविद्का रूपमा चिनाएका छन् । ‘दवला’ महाकाव्य लेख्ने नीरविक्रम ‘प्यासी’ लाई गीतकार एवं कविको उपाधि दिएर उनी राणापरिवारको सदस्य भएको पुष्टि गरिएको छ । भारतीय नेपाली कवि कृष्णप्रसाद ज्ञवालीलाई यहाँ स्रष्टा र सम्पादकको रूपमा चिनारी दिइएको छ । उनको प्रखर कवित्वको पनि पुष्टि गरिएको छ । जागिरे जीवनमा बूढो सुब्बाको दर्जा पाएका जनकप्रसाद हुमागाइँलाई पराजुलीले बालसाहित्यकारको रूपमा राम्रो चिनारी दिएका छन् । हुमागाइँको बालसाहित्यका क्षेत्रमा विशिष्ट स्थान सुरक्षित छ । लामो समयसम्म प्राध्यापन क्षेत्रमा समय व्यतीत गरेका डा.नरेन्द्र चापागाइँलाई सफल समालोचकको रूपमा उभ्याइएको छ । यस जीवनी सङ्ग्रहको अन्तिम व्यक्तित्वको नाम घटराज भट्टराई हो । भट्टराईलाई लेखक पराजुलीले परिश्रमी साहित्यकारको रूपमा चित्रण गरेका छन् । मृदु स्वभावका धनी भट्टराईको बहुमुखी व्यक्तित्वमाथि प्रकाश पारिएको छ ।

मूल्याङ्कन एवं निष्कर्ष ः

जीवनीकार गोपाल पराजुलीले नेपाली साहित्यमा ‘पच्चीस प्रतिभा’ कृतिको आविष्कार गरेर दिवंगत साहित्यकारहरूप्रति ठूलो भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । अग्रज एवं दिवंगत आत्माहरूप्रति सम्मान गर्ने परिपाटी बसालेका छन् । लोपोन्मुख सामग्रीलाई सार्वजनिक गरेका छन् । किताबको जङ्गलबाट जीवनीपरक समालोचनाको लेखनको वैज्ञानिक गोरेटो तयार गरेका छन् । मूलतः लेखकले लेखकको कदर-सम्मान गर्दै उसको जीवनीलाई सुरक्षित-व्यस्थित गरी सार्वजनिक गर्ने परम्पराको थालनी गरेका छन् । यसअर्थमा उनलाई साधुवाद दिनैपर्दछ । उनले गुणको कदर गर्ने अध्यायको शुभारम्भ गरेका छन् ।

‘पच्चीस प्रतिभा’ एकदेखि लिएर भाग चारसम्म आइपुग्दा पराजुलीको जीवनीकारले नेपाली जीवनीपरक समालोचनाको फाँटलाई विस्तृति प्रदान गरेको छ । उनी नै यस्ता जीवनीकार बनेका छन् जसभित्र अनुसन्धाता र समीक्षक पनि अटाएको छ । उनले अनुसन्धानमूलक ढङ्गबाट प्रत्येक स्रष्टाको जीवनीलाई समीक्षात्मक शैलीद्वारा प्रस्तुत गरेका छन् । उनको लेखनमा विषयको गहनता र शैलीको स्वादुपन पाइन्छ । भाग चारसम्मको प्रकाशले यो कुराको पुष्टि गरेको छ ।

पराजुलीले आफ्नो लेखनमा कुनै पनि स्रष्टाको जीवनी मात्रै खोतलेका छैनन् । तिनीहरूको अप्राप्य र दुर्लभ फोटाहरू अङ्कति गर्नाले यी पुस्तकहरूको गरिमा अझ बढ्न गएको छ । पुराना पुस्ताका साहित्यकारहरूका फोटाहरू वर्तमानमा धेरै पाठकहरूले देख्न पाएका छैनन् । त्यसलाई सुगम बनाइदिने काम पराजुलीको कलमले गरेको छ ।

भाषामा राम्रो पकड बनाइसकेका पराजुलीको लेखकीय सीप पूर्ववर्ती सङ्ग्रहमा जस्तै ‘पच्चीस प्रतिभा’ भाग चारमा पनि खरो उत्रिएको छ । आगामी प्रकाशनमा केही प्राविधिक त्रुटिहरू सच्चाउँदै गएको खण्डमा पराजुलीको लेखनलाई कसैले पनि औँलो ठड्याउने ठाउँ रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *