पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ जो बडो म हुँ भनी सोच्दै नसोची तर ।

केही काम लिएर हिँड्छ मनुवा छोडेर आफ्नो घर
पानी झम्झम बर्सिदिन्छ पथमा पुग्दा-नपुग्दै पर
बाटोमा घर छैन त्यो यदि भने बस्नेछ ओडारमा
त्यो एकैछिनको बसाइ उसको पर्ने छ दोधारमा ।

के हो मानिसका निमित्त भनिने ओडार वा आलय ?
कस्को बास भएर मानिसहरू बन्छन् नि तेजोमय ?
सोही तत्त्व बुझाउने मन भई केही कुरा गर्दछु
साँचो तर्क छ यो बुझुन् सबजना विश्वासमा पर्दछु ।

लाहाको दरबार होस् कि, अथवा निर्माण होस् बज्रले
दुङ्गाले अनि मृत्तिका र खरले निर्माण होस् काठले
त्यो ओडार समान हो बुझिगए राम्रो बनोस् तापनि
पानी छल्न बसे समान सबले छोडेर जान्छन् अनि ।

लाक्षाको घर तर्जुमा गर भनी षड्यन्त्रको ताण्डव
ती दुर्योधन गर्दथे र घरका आत्मा थिए पाण्डव
आगो लाग्नु अगाडि नै सबजना सोचेर भाग्दै थिए
लाहाको घर दन्दनी बलिरहृयो बाँचेर आत्मा गए ।

लाक्षाको दरबार एकछिनको सोप्ना समानै भयो
पाँचै पाण्डव निस्किएपछि डढी सारा खरानी भयो
मान्छेको पनि त्यै छ हालत यहाँ ओडार नै हो घर
आत्माको घर ज्याँन हो मनुजको भत्कन्छ यो के छ र !

जस्तै सुन्दर होस्, महामहल होस्, दर्बार होस्, तापनि
ओतैलाग्नु समान एकछिनको ओडार हो त्यो पनि
यस्तै तर्क-वितर्क गर्छु म सधैँ सम्झन्छु धेरै कुरा
यो सारा सपना रहेछ भ्रमको मौलाउने आँकुरा ।

आत्माको घर हुन्छ वस्त्र पहिलो दोस्रो त हो आलय
आत्माले जब छोड्छ यी सबकुरा हुन्छन् क्रमैले लय
यस्तै गूढ रहस्य बुझ्नु सबले मिथ्या छ संसार यो
यो मेरो घर-वस्त्र भन्नु कसरी ? चोला बदल्दै गयो ।

आत्माले घर भन्छ किन्तु उसको यो देह ओडार हो !
मान्छेले घर भन्छ किन्तु यसको यो गेह ओडार हो !!
लागौँ ओत भनेर बस्नु छ यही ओडारमा क्यै छिन !
मेरो खेल समाप्त हुन्छ अनि यो ओडार छोड्ने दिन !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *