नेपाली कविताको फाँटमा एकताका सक्रिय नाम उपेन्द्र श्रेष्ठ लेखनमा निरन्तर सक्रिय रहनुभयो । कवि भनेर धेरैले चिन्छन् उहाँलाई कवितामै बढी केन्दि्रत हुनुभयो उहाँ । निरन्तर लेखिरहने, निरन्तर साहित्यिक सभा समारोहमा देखापर्ने कवि उहाँ । यस सन्दर्भमा आफ्ना समकालीन कवि कवयत्रीभन्दा फरक हुनुहुन्थ्यो । मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, कुन्दन शर्मा, द्वारिका श्रेष्ठ आदिमध्ये कतिपय लेखनबाट टाढिइसके भने कतिपय आक्कल झुक्कल कविताका माध्यमबाट देखापर्छन् । निरन्तर लेख्ने र साहित्यिक सभा सम्मेलनमा उपेन्द्र श्रेष्ठ सक्रिय हुनुहुन्थ्यो । नयाँ सडक, गोरखपत्र, मधुपर्क, पिपलबोट, चियापसल प्रायः उपेन्द्र श्रेष्ठलाई भेटिने ठाउँ, भेटिएपछि औपचारिक कुराकानी र स्वास्थ्यको बारेमा कुरा गर्ने उहाँको बानी । उपेन्द्र श्रेष्ठ अस्वस्थ भन्ने समाचार आएको केही समयमै कवि उपेन्द्र श्रेष्ठको निधन भन्ने समाचारले धेरैलाई आश्चर्यमा पारेको होला ।

हिँड्दा हिँड्दैको मान्छे, लेख्दालेख्दैको मान्छे, सहर बजार, सभा समारोहमा देख्दादेख्दैको मान्छे केही समय नदेखिँदैमा उहाँको निधनबारे सुन्नुपर्दा आश्चर्य मात्र होइन, दुःख पनि त्यत्तिकै लागेको हुनुपर्छ धेरैलाई । एउटा स्रष्टाको निधनले दुःख खेपेको समय हो यो ।

७५ वर्षको उमेरमै २०६७ सालको जेठ २४ गते काठमाडौँमा उहाँको निधन भयो । श्वास प्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पाँच वर्षदेखि उहाँलाई यो रोगले दुःख दिइरहेको थियो । वि.सं. १९९२ सालको माघ २० गते मकवानपुरको चिसापानीमा जन्मिनुभएको थियो उहाँ । उहाँको अन्तिम संस्कार भने देवघाटमा गरियो ।

वि.सं. २०१२ सालताका नै कविता लेख्न थाल्ने कवि श्रेष्ठको पहिलो कविता वि.सं. २०१४/१५ तिर ‘उदय’ मा प्रकाशित भयो । पाँच दशकभन्दा लामो समय कवितामानै केन्दि्रत रहेर उहाँले पाँचवटा कविता सङ्ग्रह प्रकाशमा ल्याउनुभयो । निम्तो (२०१७), पञ्चायत (२०२५) उपेन्द्र श्रेष्ठका कविता (२०३९), अस्वीकृत (२०५६) र दासले मसँग मुक्ति मागेको छ (२०५९) यी बाहेक उहाँ अर्को कविता सङ्ग्रह प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो ।

कवितामा नै केन्दि्रत कवि श्रेष्ठसँग २०४४ सालको वैशाख २६ गते भएको पहिलो भेटमै कविताबारे उहाँको धारणा लिएको थिएँ । “कविताको लक्ष्यलाई दुईचार शब्दमा परिभाषित गरेर त्यस परिभाषाको सङ्कुचित घेराभित्र बन्धित गर्न मिल्दैन जस्तो मलाई लाग्छ । किनभने कुनै कविको एउटा कवितालाई विभिन्न पाठक तथा समालोचकहरू आफ्नै दृष्टि अथ्र्याउन पनि सक्छन् । यस दृष्टिले विचार गर्दा मेरा कविताको लक्ष्य मैलेभन्दा मेरा पाठक तथा समालोचकहरूले प्रष्ट्याउनु बेस होला । साँच्चै भन्ने हो भने कविता भनेको मेरो विचारमा जीवन क्रम र पद्धतिको व्याख्या हो ।” उहाँले भने जस्तै कवि उपेन्द्र श्रेष्ठलाई हेर्ने दृष्टिकोण आ-आफ्नै होलान् उहाँको कविताको अर्थ त्यसै अनुरुप पनि लाग्ला । कतिले कवि उपेन्द्र श्रेष्ठलाई रुचाउलान् त कतिले नरुचाउलान पनि । कतिले धेरै पढे होलान् त कतिले कम र पनि कवि उपेन्द्र श्रेष्ठ नेपाली भाषा र साहित्यमा विशेषगरी कविता विधामा सक्रिय भएर लाग्ने कवि भनेर धेरैले मान्छन् । धेरैले चिन्छन् र धेरैले स्वीकार्नैपर्छ ।

त्यसो त कथा पनि लेख्नुभयो, स्तम्भ पनि चलाउनुभयो, साहित्यिक पत्रकारिता पनि गर्नुभयो उहाँले । २०१८ सालमै स्थापित नारायणी कला मन्दिरको संस्थापकमध्ये पनि हुनुभयो । पाँच वर्षअघि मधुपर्कमा उहाँले साहित्यकार श्रीओम श्रेष्ठ रोदनसँग भन्नुभएको थियो – “मान्छे भएर जन्मेपछि केही कुरा गरेर जान सक्यो भने मात्र मान्छेको जीवन सार्थक हुन्छ भन्ने लाग्यो र साहित्यमा लागेँ ।” बिहे लगत्तै दिवङ्गत भएका आफ्नो बालसखाको निधनबाट अत्यन्त मर्माहत हुनुभएको उपेन्द्र श्रेष्ठले ‘जीवनमा केही गरौँ’ भन्ने आदर्शलाई लेखनको माध्यमबाट अघि बढाउनुभयो । जीवनमा उहाँले अरू के के गर्नुभयो ? जीवनमा उहाँले गरेको महत्त्वपूर्ण काम सिर्जना र साधनाकै कारण अहिले हामी उहाँलाई सम्भिmरहेका छौँ । उहाँको निधनबाट दुःखी बन्न पुगेका छौँ ।

गोरखा दक्षिण बाहु चौथो (२०३९), गद्दी आरोहण रजत पदक (२०५२) युगकवि सिद्धिचरण पुरस्कार (०५३) हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार मधुपर्क सम्मान (२०६२) बाट सम्मानित र पुरस्कृत उपेन्द्र श्रेष्ठले आफ्नै सरल व्यक्तित्व, सहज व्यवहार अनि साधना र सिर्जनाका माध्यमबाट आफूलाई सम्भिmरहने सम्मानित नाम बनाएर जानुभएको छ । ‘शिलान्यास’ जस्तो उत्कृष्ट पत्रिकाको सम्पादन, प्रतिध्वनि पाक्षिकमा नारायणी श्रेष्ठको नाममा स्तम्भ लेख्ने उपेन्द्र श्रेष्ठ, कथाकार सँगसँगै कवि उपेन्द्र श्रेष्ठ नेपाली साहित्यमा रहिरहनु हुनेछ । उहाँ गएपनि उहाँले छाडेर गएका सिर्जनाहरू उहाँका सम्झनाका साधक बनिरहने छन्, बनिरहने छन् ।

असार ५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *