Skip to content

अविरको पर्दा र पनौतीको जात्रा

  • by


जेष्ठ शुक्ल पूणिर्माका दिन प्रत्येक वर्ष झैँ काभ्रेस्थित ऐतिहासिक सहर पनौतीमा सांस्कृतिक महत्त्वको प्रसिद्ध पनौतीजात्रा अर्थात् भैरवभद्रकालीजात्रा हुँदैछ । पनौती आफैमा एक प्राचीन धार्मिक स्थल हो । पुण्यमती र रोशी नदीको सङ्गमस्थलमा रहेको पनौतीमा इन्द्रेश्वर महादेवको मन्दिर सबैभन्दा प्राचीन, ठूलो र महत्त्वपूर्ण मन्दिर मानिन्छ । यसै पवित्र स्थानमा अनेकौँ मठमन्दिर, मूर्ति, कलाकौशलका साथै वास्तुकलाका अद्वितीय सम्पदाहरू प्रशस्तै छन् । बिहानैदेखि त्रिवेणी घाटमा नुवाइधुवाइ गरी रथ जुधाएको हेरेमा वर्षभरिको पापबाट मुक्त हुने विश्वास छ । त्यसैले पापमोचन हुने जात्राका रूपमा समेत लिइने पनौतीजात्रालाई अनेक नामले पनि चिनिने गरिन्छ । यो जात्रा वर्षामासको हिलोसँगै सुरू हुन्छ भने यसै जात्रामा घुम र चिउरीको व्यापार पनि खुबै हुने गर्दछ । त्यसैले यस जात्रामा एउटा भनाइ निकैप्रचलित छ । त्यो हो घुमजात्रा र चिउरीको व्यापार ! यस जात्राले सांस्कृतिक सचेतता मात्र होइन समयचेत पनि गराउने विश्वास गरिन्छ । वर्षामौसमको आगमनसँगै खेतीपातीको व्यस्त समय आएको सङ्केत यसले गर्दछ । जात्रापछि तुरून्तै खेतीपातीको काम थालिन्छ । अर्को कुरा आजैको पूणिर्माको दिनलाई वर्षभरिमा सबैभन्दा लामो दिन मानिन्छ ।

यसैबीच ‘जेष्ठ शुक्ल पूणिर्माका दिन काम नगर्ने र मार्ग पूणिर्माको रात निद्रा पुर्‍याउन नसक्नेले जीवनमा कहिल्यै पनि सुख पाउँदैन’ भन्ने लोकोक्ति पनि लोकपि्रय छ । किनभने सबैभन्दा लामो दिनमा काम गर्न नसक्ने र लामो रातमा निद्रा पुर्‍याउन कहिल्यै सक्दैन । जात्राका अवसरमा बिहानैदेखि पनौतीघाटमा नुहाउनेहरूको घुइँचो लाग्दछ । जात्रा गर्ने, जात्रा हेर्ने, स्थानीय र पाहुना परिवारको भेलाले पनौतीमा स्वाभाविक रूपले ठूलो मेला लाग्नु स्वाभाविक हो । यतिबेला पनौती त्यही रमझममा झुमेको देख्न पाइन्छ ।

आठ दिनसम्म जात्राको चहलपहल ताजै रहने भए पनि पूणिर्माको दिन यस जात्राको विशेष रौनक देख्न सकिन्छ । त्यस रौनकमा मौलिक सांस्कृतिक झाँकीको प्रदर्शन र जनसमूहको लहरले मानवीय समुद्र नै उर्लिएको अनुभूति प्रत्येक व्यक्तिलाई हुने गर्दछ । जात्रामा उन्मत्तभैरवको खटले पछाडिबाट र इन्द्रेश्वर महादेवको रथले अगाडिबाट भद्रकालीको रथसँग जुधाउने परम्परागत प्रक्रिया निकैरोमाञ्चक हुन्छ । जात्राको प्रमुख आकर्षणको पाटो नै यही हो । परम्परागत बाजागाजाका साथ खटलाई पनौतीका विभिन्न टोल र चोकमा परिक्रमा गराएपछि सहरको मध्यभागको डबलीमा पुर्‍याइ खट जुधाइन्छ । यस स्थानलाई लायकु दरबारको प्राङ्गण भनिन्छ । यो ठाउँ खुला भएकाले जात्रा हेर्ने श्रद्धालुहरूले टाढा-टाढाबाट जात्राको रमाइलो राम्ररी हेर्न पाउँछन् ।

लायकु दरबार प्राङ्गणको सोही स्थलमा रथ तीनपटक जुधाउने परम्परा रहेको छ । निश्चित टोलहरू परिक्रमापछि लायकु दरबारमा रथलाई तीनपटक जुधाएर अबिरले हान्ने प्रचलन छ । जात्राकैक्रममा लायकु दरबारमा पहिला भद्रकाली र भैरवका रथ तीनपटक तथा महादेव र भद्रकालीको खट चारपटक ठोक्काउने प्रचलन रहेको छ । यस जात्राको यो क्षणलाई नै अत्यन्त रोमाञ्चक पक्ष मान्ने गरिन्छ । यसरी रथ जुधाउँदा रथजात्रामा संलग्न व्यक्तिहरूले चारैतिरबाट अबिरको लगातार वर्षा गराउँछन् । यस बखत बाजाको तालमा पनि तीव्रता दिइन्छ । उपस्थित जनसमुदाय पनि हर्ष र उमङ्गका साथ जात्राको यो सुन्दर अनि रोमाञ्चक क्षणमा रमाउन उत्सुकतापूर्वक सम्मिलित हुन्छन् । यो रमाइलो दृश्य सांस्कृतिक मनोरञ्जनका हिसावले समेत अत्यन्त रोमाञ्चकारी हुने गर्दछ । यसरी रथ जुधाउनुको अर्थ देवीदेवताबीच यौनक्रिडा गराएको र सो अरूले देख्न नसकोस् भन्ने आशयले हावामा अबिर छरेर त्यसले पर्दाको काम गर्ने गरिएको हो भन्ने विश्वास गरिन्छ । पहिले-पहिले त यो कार्यको लागि जात्रा साटो राति सम्पन्न गरिने परम्परा थियो ।

अनौठो र रहस्यपूर्ण यो जात्रामा धेरै किम्बदन्ती र कथाहरू पनि गाँसिएर रहेको पाइन्छ । यसै जात्रासँग जोडिएर रहेको एउटा भनाइलाई अहिलेसम्म पनि विश्वास गरिन्छ । भनाइअनुसार -सत्ययुगमा महादेवलाई चौसो योगिनीले पिछा गर्दा भागेर पनौतीस्थित त्रिवेणीमा उनले हामफाले तर त्यहाँ पनि योगिनीले पछ्याउन आएपछि महादेवले उन्मत्तभैरवको रूप धारण गरे ।

यस जात्रामा महादेव, भद्रकाली र भैरवका रथलाई पनौतीका प्रत्येक घरबाट सानो ठूलो बलिसहित पूजाआजा एवम् जात्रा गरिन्छ । जात्रामा रोशीको किनार हुँदै पनौती परिक्रमा गराउने क्रममा सोर्‍हखुट्टे पाटी, डबली हुँदै लायकु दरबार ल्याइन्छ । रथजात्रा गरिँदा महादेवको खटलाई हल्लाइ-हल्लाइ नचाएर बोकी नगर परिक्रमा गर्ने प्रचलन छ । यसका साथै पुजारीले खटमा उभिएर डमरू बजाउनुपर्दछ । मल्लकालीन समयदेखि प्रचलनमा आएको विश्वास गरिने यस जात्रालाई भगवान् शिव र योगिनीको अनौठो मिलनको रथजात्राका रूपमा लिइन्छ । पूणिर्माको दिन हुने मुख्य जात्राबाहेक त्रयोदशी र चतुर्दशीको जात्रा पनि महत्त्वपूर्ण हुन्छ । द्वादशीसम्म स्थानीय देवस्थलहरूमा पनौतीवासीबाट विशेष पूजाआजा गरिन्छ ।

यही जात्राको सिलसिलामा ‘दुइँचा ङेकेगु’ (राजबाहक हिँडाउने) कार्य पनि गरिन्छ । यसमा एउटा पुरानो भनाइ रहेको पाइन्छ । तान्त्रिक विधिपूर्वक ब्रहृमायणीको पूजा गर्न पुण्यमाता खोला पारिको मन्दिरमा जान पुल भाँच्चियो । त्यसपछि तुरून्तै वासुकि नागले पुलको रूप दिई जात्रालुलाई उद्धार पुर्‍याएका थिए । यसरी नागको चिप्लो शरीर पुलको रूपमा प्रयोग गरिएको हुँदा आजसम्म पनि यस जात्राका बेला उक्त पुल भएर जाने ज्यापू, पुजारी, मूल पुजारी र कर्माचार्यहरू बडो होसियारीपूर्वक बिस्तारै हिँडेर जान्छन् । यही जात्राकैअवसरमा उन्मत्तभैरवको मन्दिरको गोप्य कोठाबाट उन्मत्तभैरवको मूर्तिलाई निकालिन्छ । सो मूर्ति सर्वसाधारणको दर्शनका लागि बाहिर राखिन्छ । यस्तै विभिन्न देवीदेवताको पूजाआजा र इष्टमित्रलाई भोज खुवाइने परम्परा रहेको छ । यस जात्रामा पुजारीहरूले ब्रहृमायणीमा राँगो र बोकाको बलि चढाउने नियम छ । त्यसपछि तान्त्रिक पूजा गरी बोकाको टाउको चढाएर होम गर्नुपर्ने विधि रहेको छ ।

त्यस्तैगरी जात्राअन्तर्गत् नै स्थानीय पोडेले नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा बाँसलाई बाटोको दुई छेउमा लगाई ब्रहृमायणीको देवघरदेखि पुण्यमाता खोलासम्म लगी स्थापना गर्ने गरिन्छ । त्यसैमाथि टेकेर पूजा गर्न पारि जाने प्रचलन छ । जात्राको आठौँ दिनमा चिरनबली र धिमेबाजा बजाइ सबै देवीदेवतालाई आ-आफ्नो मन्दिरमा पुनः प्रतिष्ठापन गरिन्छ । यसप्रकार यो जात्राले एकातिर सांस्कृतिक महत्त्वको बोध गराउँछ । अर्कातिर सामाजिक सहभागिता र बर्सात् मौसमको सङ्केत पनि गराउँछ । वास्तवमा हाम्रा प्रत्येक जात्रा-पर्व जीवनलाई समय र प्रकृतिसँग तादात्म्य राख्न प्रेरित गर्दै आउने गर्दछन् । त्यसैले कुनै पनि जात्रापर्व परम्परागत पद्धतिमै सीमित हुँदैनन् ।

यस्ता प्रत्येक पर्वले जीवनलाई सामाजिक र सांस्कृतिक स्वरूपमा गतिशील रहन पनि प्रेरित गर्दछन् । मित्रता, शान्ति र सामाजिक सद्भाव नै हाम्रा जात्रा चाडपर्वका विशेषता हुन् । पनौतीजात्रा पनि यिनै आशय र अर्थका साथ मनाइने एउटा मौलिक पर्व हो । आजका सन्दर्भमा यस किसिमको पर्वलाई बचाउनु भनेको सामाजिक सद्भावलाई कायम राख्दै सांस्कृतिक सिलसिलाको पद्धतिलाई निरन्तरता दिँदै जीवित राख्नु पनि हो । यही मान्यता र यही धारणाका साथ आज पनि पनौतीवासी यस जात्रालाई धुमधामले मनाउँदैछन् ।

शनिबार, गोरखापत्र
असार १२, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *