नेपाली साहित्यमा निबन्ध/प्रबन्धको सुरुवात भैरव अर्यालले भनेझै भएको देखिन्छ । उनका अनुसार नेपाली निबन्धको इतिहास पनि नेपाली पत्रपत्रिकाको इतिहाससँगै जोरिएर सुरु भएको छ । निबन्ध वा प्रबन्धको नाम नलिएर पनि गोरखापत्रका प्रारम्भिक वर्षहरूमा र सुन्दरी एवं माधवीमा गद्यमा चाखलाग्दा टुक्राहरू प्रशस्त पाइन्छन्, वा पूरै अंशमा निबन्ध भन्न सकिने गद्यांश चन्द्रिकामा शम्भुप्रसाद ढुङ्गेलले नै लेख्नुभएको देखिन्छ र नेपाली साहित्यमा निबन्ध एक सिंहावलोकन, साझा निबन्ध, २०३० । यसरी १९७० को दशकमा निबन्धको रूपरेखा बस्न थालेको देखिन्छ । अझ गढेर हेर्ने हो भने शम्भुप्रसाद ढुङ्गेल अघि पनि यस्ता रचनाहरू भएका देखिन्छन् । १९७२ मा गोर्खाली साप्ताहिकले सुरुमै पद्मानाभ सापकोटाका जीवनीपरक निबन्ध र मातृभाषाजस्ता निबन्ध प्रकाशित भइसकेका छन् ।
आधुनिक निबन्ध साहित्यको कुरा गर्दा ‘शारदा १९९१’, उद्योग (१९९२) र ‘उदय’ (१९९३) मा सुुरुमै देखापर्ने केही निबन्धकारहरूका नाम लिनुपर्दा बालकृष्ण सम, बोधविक्रम अधिकारी, रुद्रराज पाण्डे, नरेन्द्रमणि आ.दी., प्रेमराज शर्मा, सिल्वाल पण्डित, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, आदिको नाम देखापर्छन् । पुस्तक सङ्ग्रहको रूपमा कुरा गर्दा महाकवि देवकोटाले १९९८ सालमा चौबीस पुस्तक योजनाअन्तर्गत अनुवाद गर्नुभएको ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ पहिलो सङ्ग्रह हो । त्यसपछि उहाँले नै लेख्नुभएको नेपाली निबन्धहरूको सङ्ग्रह लक्ष्मी निबन्धसङ्ग्रह नेभाप्रसबाट २००२ सालमा
प्रकाशनमा आयो । यही क्रममा हृदयचन्द्रसिंह प्रधानको भूस्वर्ग (२००३) तथा तीस रुपियाँको नोट (२००४) प्रकाशनमा आए । नेभाप्रसबाट पाठ्यपुस्तकको रूपमा समेत रहेको श्यामकृष्ण गौतमको निबन्धसङ्ग्रह (२००३) प्रकाशित भएको पाइन्छ । यी त भए एक व्यक्तिको अनेक निबन्धहरूका सङ्ग्रहको इतिहास । अब फर्कौं- धेरै व्यक्तिको एक निबन्धसङ्ग्रहतिर ।
२००९ सालमा रेडियो नेपालले पहिलो प्रकाशन मालाको रूपमा प्रकाशनमा ल्याएको सम्झना निबन्ध सङ्ग्रह सङ्क्षिप्त टिप्पणी । यस सन्दर्भमा डा. तारानाथ शर्माको भनाइ अघि सार्दछु ।
‘ एउटै निबन्धकारका आफ्नै मात्र सङ्कलनहरू प्रशस्त देखिए पनि समस्त प्रतिनिधि लेखहरूका एक-एक निबन्ध छनोट गरेर एउटै ग्रन्थमा भेला पार्ने प्रयास भने आजसम्मको नेपाली साहित्यको इतिहासमा आंशिकरूपमा भए पनि ईश्वर बरालबाट ‘सयपत्री’ र साझा प्रकाशनबाट साझा निबन्धमा मात्र भएको देखिन्छ (भूमिका) पच्चीस वर्षका नेपाली निबन्ध, नेराप्रप्र, २०३९ पृष्ठ .७) । यसका साथै डा. शर्माले- ‘सयपत्री’ र ‘साझा निबन्ध’ चोखा निबन्धको मात्र नभई प्रबन्ध र निबन्धलाई एकै ठाउँमा छ्यासमिस गरिएका उदाहरण हुन्-‘ समेत भन्नुभएको छ । यस दृष्टिकोणबाट हेर्दा ‘सम्झना’ ‘निबन्धसङ्ग्रह’ पनि चोखो रहेन र अर्को भाषा र साहित्यसम्बन्धी निबन्धसङ्ग्रह ‘नेपाली भाषा’ (२०१०) जुन नेपाली भाषा प्रचारक सङ्घ, करफोकबाट पारसमणि प्रधानको सम्पादनमा निक्लेको थियो तर यहाँ विचारणीय कुरा के देखिन्छ भने निबन्धका सुरुदेखि नै निबन्ध-प्रबन्धलाई समानरूपमा अथवा पर्यायवाची शब्दको रूपमा प्रयोग गरेको पाइन्छ- धेरै पछिसम्म । महाकवि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रह उदाहरणको रूपमा लिन सकिन्छ । यसैक्रममा रेडियो नेपालका त्यतिखेरका डाइरेक्टर देवेन्द्रराजको तजबिजमा ‘सम्झना’ निबन्धसङ्ग्रह प्रकाशनमा आएको हो ।
‘१९ जना लेखक साहित्यकारका २१ वटा प्रसारित भएका कलात्मक, साहित्यिक कृतिहरूको सम्झनाका रूपमा यो ‘सम्झना प्रकाशन गरिरहेका हौं-‘ भनिएको छ । ‘हाम्रो कुरामा’ यसमा साहित्य, संस्कृति, शिक्षा, सङ्गीत, दर्शन ‘भौतिक-विज्ञान’ अर्थशास्त्र तथा मानव सभ्यताका विषयमा लेखिएका रचनाहरू छन् ।
यी रचनाहरू छापिनका लागि नभई प्रसारण गर्नका लागि लेखिएका हुनाले पनि सम्पादनको अभाव खट्किन्छ । यसै पुस्तकको मूल्याङ्कन गर्दै दिग्गज समालोचक रामकृष्ण शर्माले लेख्नुभएको छ, ‘सांस्कृतिक र साहित्यिक निबन्धका माझबाट वैज्ञानिक विषय र अर्थशास्त्रका लेख झिकिएका भए यो प्रकाशनमा गाईजात्रेपना आउने थिएन । शुद्ध साहित्यिक निबन्धका सागरमा पौडी खेल्ने पाठक वैज्ञानिक लेखकसँग टक्कर खान आइपुग्दा पौड्याइको स्वाद घटेर जान्छ । यो प्रकाशन हरेक दृष्टिकोणले अध्ययनीय छ । कलेजको पाठ्यक्रमका पुस्तिका तालिकामा यो प्रकाशनले स्थान पाए साहित्यको अरू वेस सेवा भएको जाँचिएला-‘ र ‘प्रगति’ वर्ष १ अङ्क ३, भदौ(असोज २०१० पृष्ठ १८५) ।
‘सम्झना’ मा शुद्ध साहित्यिक लेख-निबन्धहरू एघार वटा छन्, संस्कृति सम्बन्धमा तीन र संस्कृत साहित्य र महाकविको सम्बन्धमा दुई निबन्ध प्रकाशित छन् ! बाँकी निबन्ध-प्रबन्धमा एक/एक वटा दर्शन, भौतिक विज्ञान, इतिहास आदि पर्दछन् । विविध स्वादका यी निबन्धहरू अहिले पढ्दा पनि उत्तिकै स्वादिला लाग्छन् । १९ जना निबन्धकारमध्ये एक जना पनि नारी लेखिका नपर्नु चाहिँ यसको खट्कँदो विषय बनेको छ ।
२००९ सालमा हजारप्रति छापिएको यो निबन्धसङ्ग्रहमा मूल्य भने अङ्कति छैन । कुनै बेला विश्वविद्यालयको सन्दर्भ सामग्रीको रूपमा रहेको ‘सम्झना’ निबन्धसङ्ग्रह दुर्लभ प्रायः छ ।
१९ चैत २०६६
