गोरखापत्र संस्थानको सन्तान ‘मधुपर्क’, म ‘गोरखापत्रको पुरेत’ ! तपाइँहरूले बिर्सिसकेको भए सम्झाऊँ । उहिल्यै, आधा शताब्दीअघि मलाई ‘पुरेत’ भनी वरण गरेका हुन् त्यसबेलाका ‘सम्पादकबाजे’ प्रेमराज शर्माले । त्यस पुरेत्याइँलाई थमौती गर्दै गए गोपालप्रसाद भट्टराई, दाताराम शर्मा र भैरव अर्यालजस्ता ‘बाजे’हरूले ! गणतन्त्र आएपछि बडागुरुज्यूत्व खारेजीमा पर्‍यो, मेरो पुरेत्याइँ पनि के अड्थ्यो ? गयो ।

तर हुँदोरहेनछ । हिङ बाँध्या टालो, हिङ झिके पनि गन्हाउन छाड्दोरहेनछ ! त्यही गन्ध पहिल्याएर श्रीओम ‘बाजे’ले मलाई यसपालि निम्ता दिएका रहेछन् । पुर्खाको चलन हो, उहिलेका कुरा खुइले पनि ‘होमे र डोमेलाई नछाड्नू’ भन्ने अर्ती मानेछ बूढो गोपले र ‘मधुपर्क’ले सम्झेको रे ! सत्र पैसाको गोदानको जमानामा त निम्ता पाएपछि जजमानकोमा पुग्ने यो पुरेत कसरी नपुग्दो हो यो महँगीमा ! तर फसाद छ ! उहिलेको जस्तो भट्टयाएर नहुने । ‘हरिओम तत्सत् विष्णो ः आज्ञया प्रवर्तमानस्य’ भन्न नपाइने ! अबका जमाना विष्णुको आज्ञाले नहुने, जनताको आज्ञा चाहिने ! विष्णुको आज्ञा न जनताको आज्ञा, कवि लेखकहरू कसैको आज्ञामा चल्दैनन्, स्वच्छन्द हुन्छन्, आफ्नै आज्ञा मात्र मान्छन् रे । उनीहरूलाई कसैले यस्तो लेख उस्तो लेख भनेर हुन्न रे । आफ्नो मनखुसीमा जे मन लाग्यो, जैले मन लाग्यो तैले लेख्छन् रे । तर म आफू त्यस्तो आत्माभिमानी कवि-लेखक हुन सकिँन । (पुरेत मान्छेले बढी टाइँफाइँ गर्न पनि नहुने, अर्को पुरेत खोज्लान् भन्ने डर पनि हुने !) त्यसैले सम्पादकले अराएपछि अरोटबमोजिम गर्नैपर्ने बाध्यता छ मलाई । सो, यसपटक पनि पर्‍यो ।

यति सबैलाई भूमिका भनूँ । प्रस्तावना भनेर भव्य नाम दिए पनि हुन्छ यसलाई । अब खास निबन्ध सुरु गरुँ तर निबन्ध भनेको के ? मलाई साच्चै थाहा छैन ! त्यो जे भए पनि, मैले अब लेखेको कुरा निबन्धै हो भनेर मानिदिन तपाइँ पाठकलाई आग्रह गर्दछु । त्यसको कारण छ । निकै वर्षअघि एकपटक मैले रामलाल अधिकारीसँग जिरह गरेको थिएँ । नेपाली निबन्धकारहरूको नालीबेली भएको उनको ‘नेपाली निबन्ध यात्रा’ मा मलाई नभित्र्याएको देखेपछि जङ्गिएर मैले उनलाई सोधेँछु ‘म के ? निबन्धकार, साहित्यकार, समालोचनाकार, निराकार, बेकार, कुन चाहिँ कार’? उनले त्यसको जवाफमा मलाई उल्टो फुक्र्याएर निरुत्तर पारेका थिए । उनले यसो भनेका थिए-‘कमल दीक्षित ‘कार’ मात्र होइन, नेपाली साहित्यको अन्वेषणरूपी राजमार्गमा ऊ ‘कार’हरूको सुदक्ष चालक ! भविष्यका असङ्ख्यौँ अनुसन्धातालाई खाँदाखाँदै बोकेर दुगुर्ने ऊ त कारभन्दा ठूलो ‘बस’ हो र यस्ता ‘बस’ को कण्डक्टर र चालक दुवै ऊ’ ।

देख्नुभयो तपाइँहरूले, रामलालजीको यो प्रशंसाले म कति फुर्किएँछु ? आज तीस वर्षपछि पनि म त्यो उनले दिएको तक्मा ढल्काएर तपाइँहरू छेउ फुर्ति लगाउँदै छु । हो, फुर्ति लगाएको त हो मैले तर ‘ठूलो’ हुन होइन । नबुझेर हो, निबन्ध र प्रबन्धको फरक नबुझेर । मैले लेखेका लेखहरू वास्तवमा निबन्ध हुन् कि होइनन्-? कल्ले बताइदेला मलाई ? हामीले अचेल प्रबन्ध र निबन्धमा भेद देख्न छाडेका छौँ जस्तो लाग्दैछ मलाई । कमल दीक्षितले लेखेको ‘कालो अक्षर’ पनि निबन्ध, ‘बिर्सेको-सम्झेको’ पनि निबन्ध नै मानिन्छ । के मेरो ‘यस्तो पनि ‘ निबन्ध हो ? हुनसक्छ त्यो निबन्ध ? निबन्ध हुने गुण त्यसमा छैन ! केही खोज होला, केही नयाँ तथ्य पस्किएको होला त्यहाँ तर निबन्धकारिता ? छैन । मैले ‘अविरल गायन’ भन्ने एउटा लेख लेखेको थिएँ वि.सं. २०१७ सालमा । सुन्दरीजलको झरनाका विषयमा हाम्रा कुन-कुन कविले, कैले के लेखेर त्यसको बखान गरेका थिए भनेर त्यसको लेखाजोखा गरिएको छ त्यहाँ । केही विवरण छन् त्यसमा, अलिकति समीक्षाजस्तो पनि छ होला तर त्यो लेख पनि मेरो निबन्धै मानिएको छ ।

मैले कुनै किताप लेखेको छैन । त्यसोभन्दा तपाइँहरूले ‘स्वाङ पार्‍यो’ भन्नुहोला । होइन, सत्य कुरा गरेको हुँ । मैले किताब नै भनेर कुनै कृति तयार पार्न सकेको छैन ऐलेसम्म । लेखेको र सम्पादन गरेको समेत गरेर सत्तरी ओटा जति पुस्तक प्रकाशित भएका छन् मेरो नाममा तर ती सबै नै सङ्ग्रहहरू हुन्, समग्र किताब एउटै छैन । ती किताबहरूमा भएका सात/आठ सय ओटा लेखहरू निबन्ध हुन् कि होइनन् मलाई पक्का छैन तर हाम्रा समालोचक मित्रहरू तिनलाई निबन्धसङ्ग्रह नै भनिदिन्छन् । मलाई त आत्मासन्तोष हुन्छ त्यसले, तर के हाम्रा साहित्यका विद्यार्थीहरूलाई त्यसबाट दिग्भ्रम हुँदैन ? म चिन्तित हुन्छु कहिलेकाहीँ ।

निबन्ध भन्ने कुरा हामी पूर्वीयाको परम्परा नै होइन । यो पश्चिमबाट आयात गरिएको विधा हो । अमरकोषमा निबन्ध भन्ने शब्द नै देखिँदैन -यो मैले भनेको होइन, कुलचन्द्र गौतमले गरेको टीकाले बताएको हो ) । प्रबन्ध पनि छैन । कैलेदेखि यी शब्द पसे नेपाली भाषामा थाहा छैन तर सन् १९३२ मा टर्नरले नेपाली भाषाको शब्दकोश बनाउँदा यी दुवै शब्दहरू भित्र्याएका छन् । ‘निबन्ध’को अर्थ उनले (अङ्ग्रेजीमा) यस्तो दिएका

छन् ः ‘कल्पनात्मक वा वस्तुगत छोटो साहित्य रचना’ । ‘प्रबन्ध’ को अर्थ चाहिँ दिएको छः ‘विचारप्रधान रचना’ । भनेपछि निबन्ध वा प्रबन्धको फरक टर्नरले पनि उति ठूलो देखेका रहेनछन् । टर्नरका हिसाबले मेरा लेखोटहरू निबन्ध पनि कहलिन सक्ने भए, प्रबन्ध पनि ! यसले झन् हाम्रा साहित्यका विद्यार्थीलाई केही सहायता गर्ने भएन !

म भाषाविद् होइन, विदेशी भाषाको ज्ञाता त झन् हुँदै होइन । तैपनि मैले आफूसँग अन्य केही भाषाका कोशहरू सङ्कलन गरेको छु । हिन्दीको एउटा निकै पुरानो शब्दकोश छ मसँग, चार भाग भएको ठूलो, काशीको नागरी प्रचारिणी सभाको सन् १९२० को । त्यो पल्टाएँ मैले । हेरेँ त्यहाँ त ‘निबन्ध’ भन्ने प्रविष्टि नै छैन । बरु ‘प्रबन्ध’को अर्थमा ‘निबन्ध’ भन्ने शब्द परेको रहेछ, ‘विस्तार-लेख या काव्य, निबन्ध’ भनेर अर्थ दिएको छ । यो परिभाषाले पनि मलाई सघाएन र मैले बङ्गाली भाषाको कोश खोलेँ । त्यहाँ पनि त्यस्तै देखेँ । ‘निबन्ध’ को अर्थमा प्रबन्ध पनि दिएको छ, प्रबन्धको अर्थमा निबन्ध पनि । यसरी अन्योलमा परेपछि आफूसँग भएको एउटा गुजराती भाषाको शब्दकोश झिकेर हेरेँ । त्यहाँ चाहिँ अलिकति स्पष्ट पार्न खोजेको जस्तो लाग्यो निबन्ध र प्रबन्धको पार्थक्यबारे । ‘गाला विशाल शब्दकोश’ नाम राखेका छन् सम्पादक गालाले त्यस कोषको र गालासाहेबले निबन्धको अर्थ गुजरातीमा यसरी दिएका छन्- ‘व्यवस्थित चिन्तन प्रदान लेख’ भनेर । प्रबन्धलाई भनी उनले यस्तो भनेका छन्-‘दन्तकथा अनि इतिहासको मिश्रणवाला साहित्य कृति’ । इतर भाषाले त्यस्तो परिभाषा दिएको पढेर मेरो चित्त बुझेन र मैले हाम्रो आफ्नै प्रज्ञाप्रतिष्ठानले के भनेको रहेछ हेरुँ भनेर ‘नेपाली बृहत् शब्दकोश’ पल्टाएँ । त्यहाँ त मैले झन् गञ्जागोल पो देखँे । हाम्रा विद्वान् प्राज्ञहरूले निबन्ध र प्रबन्धको भेद बताउनेभन्दा शब्दजाल फेकेजस्तो पो लाग्यो । हो, होइन तपाइँ विज्ञहरूले नै निक्र्यौल गर्नुहोस् । प्रज्ञाको कोशले निबन्धको अर्थ दिएको छ ः ‘कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको साहित्यिक रचना’ । त्यसैसँग मिल्दोजुल्दो छ प्रबन्धको परिचय पनि । लेखेको छ ः ‘कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको सुव्यवस्थित रचना’ । यस्तो अन्योलको स्थितिमा म ‘मधुपर्क’लाई के निबन्ध लेखेर बुझाऊँ ? म साँच्चै अलमलमा परेको थिएँ । अनि मैले स्वर्गीय रामलाल अधिकारीले उसैबेला गरेको सजिलो पाराको पयो समाएँ । उनले भनेका थिए- ‘निबन्धलाई मैले केवल आत्मपरक लेख (निबन्ध)हरूको मात्र परिधिमा लिएको छु’ । मैले, अल्पबुद्धिले के बुझेँ भने लेखोटमा ‘म’ भयो भने ‘निबन्ध’, ‘म’ नभएको जति प्रबन्ध ! त्यसपछि मैले मेरा लेखहरूमा ‘म’ ले भर्न थालेँ र एउटा सङ्ग्रह तयार पारेँ- ‘उखान मिलेन’ भन्ने । त्यस किताबमा भूमिका लेखिदिन भनेर मैले दार्जीलिङ पठाएँ रामलाल अधिकारीकहाँ । उनले भूमिका मात्र लेखेनन्, मेरो विरुदावली गाएर लेखिदिए-मलाई आकाशमा पुर्‍याएर । त्यसको शीर्षक नै थियो ‘मेरो पनि अलिकति फुरफुर’ । त्यो शीर्षकमा श्र्लेष थियो, जुन मेरै निबन्ध ‘फुफुर्र्’ को आडमा हालिएको थियो !

यसरी दोहोर्‍याएर म ‘फुर्फुर्’ मा पुगेपछि मलाई एउटा ‘आइडिया’ फुर्‍यो । ‘मधुपर्क’लाई निबन्ध चाहिएको हो । ‘म’ नै ‘म’ ले भरेपछि निबन्ध भइहाल्ने भो र लेखेँ मैले यौटा । त्यही हो यो ‘निबन्ध’ । यतिसम्म हेर्ने धैर्य भएको भए तपाइँहरूले पढिसक्नुभयो यो ममय निबन्ध । अब गनिहेर्नुस् त यसमा छन् कतिओटा ‘म’ ।

९ चैत २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *