Skip to content


अहिले कलम उचाल्दा २०६६ साल माघको उत्तरार्द्ध छ, ‘उत्तरायण’ को सुरु गर्ने यो महिना सकिन पनि अब तीनैदिन मात्र बाँकी छ । आजै बाहिर चिसो बढ्दै जानुमा सबैतिर हिउँदे झरी सिमसिम बर्सिरहेका कारणले भएको बुझिन्छ । आफ्नै घरभित्र कैद छु म पनि । यही एकान्त समयको फाइदा उठाइ दुई-चार अक्षर कोर्ने विचार उदायो, तुरुन्तै । फेरि, ‘मधुपर्क’ को मीठो अनुरोधसमेत छ, आफ्नासामु । आगामी २०६७ को जेठ महिना निबन्ध विशेषाङ्कका रूपमा यसको जन्म वा प्रकाशन आफैँमा त्यो हुनेछ ‘मधुपर्क’ को ‘मधुपर्क’ । खुसी मेरो पहिले पुगोस्, त्यतै । न्वारानकालदेखि म यसको नजिकै छु र मेरा धेरै रचनाहरू समेत यतै फुरेका छन् । प्रसङ्गको सिरानी बलियो र हाम्रा स्नेह-सूत्रको निसानीसमेत यहीँ गहिरो र राम्रो । यतिबेला झरी नै भो साधन-साध्य मेरो ।

त, झरीसितै केही छिन बगौँ न अगाडि । एकप्रकार, तिर्खाएको ‘काठमाडौँ’ रसिलो-हँसिलो हुँदो छ, यसै अमृत वर्षाले । प्रकाशन र प्रसारणद्वारा देशका उँचा भू-भागमाथि बर्सेका हिमपातका खै-खबरहरूले मेरै मनमाथि पनि बर्साए हिउँमाथि हिउँ बेस्सरी । उता हिमाल पुर्‍यो वा उचाल्यो के भो कुन्नि ! होइन, झन् यसले केही अग्लो हुँदै उठ्यो हाम्रो सिङ्गो हिमाल । यसै विराट्-वैभवका धनी हामी नेपाली ‘सगरमाथा’ छ र हाम्रो शिर उँचो छ । यो झुक्तैन र ढल्दैन कबै । विपन्न हाम्रो शुभ-सम्पन्नता भन्नु यही । यसरी, हिउँ र पानीले बाँडे खुसी सबैतिर । थापेँ शिर झुकाइझुकाइ । लौ, म पनि बगेँ है, त्यतैतिर-यतैतिर । आज छु, म निर्वाध प्रवाहभित्र ।

यतिखेर सम्झन्छु, विदेश पुग्दाको कुनै घडी, आत्मपरिचयको सिलसिलामा ‘म सर्वोच्च सगरमाथा’ (एभरेस्ट) देखि आएको नेपाली हुँ’भन्थेँ त्यहाँ सगर्व उठी । सागर किनार, तातो बालुवा र होचा जमिनका ती बासिन्दा उत्सुकताले हिमाली गाथा बढी सुन्न चाहन्थे मबाट । त्यो उनको सपनी र मेरो विपनी । त्यत्तिखेर, हाम्रो धेरै हिमाली भू-भाग मैले टेकिसकेको समय नभए तापनि पढे-सुनेका अनि केही देखेका भरमा बताउँथेँ म फूर्तिसाथ । त्यसपछि सबै आफ्ना हिमाली जिल्लाहरू आज टेकिसकेको छु, बिस्तारै । नजिकै पुग्नेलाई हिमाल ‘आऊ-आऊ, आउन मेरो अँगालोमा’ भन्छ मायाले हामीलाई । जति हेर्‍यो उति धेरै देखियो, ‘रत्नगर्भा-हिमाल’ । यही जादूले नजिकैबाट गुज्जि्रएँ, म धेरैपटक उसैको । पछि हिमालकै मधुमय काखमा डेढवर्ष जति बसेँ र घुमेँ खुबै रमाइरमाइ । हिमालको छाती ठूलो, त्यहाँ म अघाइनँ कहिल्यै । अहिले उमेर र समयका कारण त्यो टाढा भए पनि हृदयले भने उसकै नजिक छु । यतैबाट गर्छ, त्यता शतशः नमन ! हिमपातको खबरले प्रसङ्ग यही उर्लियो यसरी । नजाने, न देख्नेका लागि कथा-व्यथा होलान् । त्यो बेग्लै । मेरो त मर्दैन माया त्यताको कहिल्यै ।

अर्को, मूलतः सृष्टि वैचित्र्यपूर्ण छ । विश्वको नै सर्वोच्च स्थानमा रहेको तिलिचोताल हाम्रै मनाङ जिल्लामा रहेको छ । गङ्गापूर्ण हिमाल मुन्तिरको अति सुन्दर ताल । त्यतैबाट निस्केकी हुन् मस्र्याङ्दी (गण्डकी) गड्गडाउँदै । नदी-नालाहरूको मूल मुहान हो हिमाल । एकछिन सोचौँ, नदी त्यसै बग्दैन होला अविराम गतिमा घाम-जून बोकी छङछङ हाँस्दै तलतिर । खासैमा धरतीको पिरती र तिर्खा हो नदी । विचारकका दृष्टिमा अझ देह, आत्मा मनको मिलन अथवा पावन सङ्गम हो नदी हाम्रै आफ्ना भित्रको पनि । हेराइ आ-आफ्नै ।

मन थामौँ, प्रसङ्ग अन्यत्र मोडिनुअघि । एक काठमाडौँवासीले भोगे देखेका थोरै कुरा । हेर्नोस्, झरीले झार्नुभन्दा उल्टो उचाल्छ मलाई माथिमाथि । जागिरे-जीविकाका क्रममा जुम्लादेखि मनाङ उक्लेको थिएँ २०४७/०४८ तिरै । अन्नपूर्ण हिमालको दोस्रो शिविरसँगैको त्यो मनोरम ठाउँ । केही असजिलो भैकन प्यारो भएको त्यो सदरमुकाम ‘चामे’ त्यस्तै हिउँदको पुस महिनाको मध्यतिरैको बेला थियो, पर्‍यो हिउँ नामी । जताततै बस्र्यो हिउँको सेतो फूल बररर । त्यो पानी परेको ठान्ने स्थानीय हिमाली बासिन्दा । लगातार चार दिनसम्म बाहिरी डुलाइ घुमाइ सबै बन्द भए हाम्रा चाहिँ । केवल द्विजदम्पतीको सर्वस्व बन्यो, एउटै निवासको भित्री कोठा । त्यहाँ पानीको पाइपसमेत जमेर लट्ठीले फोर्नुपर्ने बेग्लै स्थिति, तर परेछ जूनेली रात । केही हिउँ पग्लिदै जाँदा बन्यो, अकल्पित मधुरात । माथिको उज्यालोले तल आई हिउँको म्वाइँ खाँदा भो पूरै रात हीरै हीराको । त्यो अकल्पित एवं अमूल्य क्षण म आज बिर्सेर पनि बिर्सन सक्तिन अनिर्वचनीय धरती र आकाशको मधुमय सङ्गम ।

अर्को जलवायु परिवर्तनको चर्चित प्रसङ्गले घोच्छ-पोल्छ कताकता मेरो छाती । यो सम्भावित दुर्घटना मानव संहारक र विश्व विदारक बन्ने लाग्छ । अन्वेषक डा. तीर्थबहादुर श्रेष्ठको हिमाल पत्रिकामा प्रकाशित रचनाबाट केही पङ्क्ति यहाँ उद्धृत गर्नु मनासिव ठान्दछु । वातावरणविद् डा. श्रेष्ठका अनुसार ‘पृथ्वी आजभन्दा चार डिग्री सेल्सियसले बढी तात्यो भने यस ग्रहमा हिउँको अस्तित्व हुँदैन ।……. सबै हिमखण्डको हिउँ तरल पानी बनेर समुद्रमा ओइरिने छ । समुद्र सतहमाथि चढ्छ र थुप्रै देश डुबानमा पर्छन् । पृथ्वीमा पिउने पानी ज्यादै कम हुनजान्छ । यसरी हिमाल जोगाउने सन्देश सम्पूर्ण मानवजातिमा पुर्‍याउनु आजको माग हो । हामी प्रार्थना गरौँ, हिमाल बाँचोस् र नाचोस् । आफ्नो कुरो भनौँला सुरुमै भनेको पछि पो परिसकेँछु म । झरीले झारेछ मन तलमाथि चारैतिर ।

कलम स्रष्टा र मसी सृष्टि । परस्परको सम्बन्धमा गहिरो । यिनैका बीच फेरि प्रस्तुतिका मत भिन्नताले सहजता टाढा पर्न जाने । भावना आशावादी र तर्क बुद्धिवादी हुने धेरै । यसरी लेख-रचनाको शृङ्खला माथि-तल हुने अर्को । गतवर्षको सुरुमै मेरो नवौँ निबन्धसङ्ग्रह तर्क-वितर्कको प्रकाशनपछि मेरा कलमले लामो बिदा मनाउने निधो गरेकाले त्यसपछि उसलाई धेरै दुःख दिने काम पनि गरिनँ मैले । मनको उर्लिंदो छट्पटी थाम्थेँ, सम्झाइ बुझाइ । दुवैतर्फ एक अभिभावकको सामान्य भूमिका मात्र निर्वाह गरेँ मैले । आत्मपरक निबन्धका धरतीभित्रै यो कुरा पनि उदायो थोरै अहिले । मेरा पेसागत हिसाबले पनि प्राध्यापक र प्रशासकका बीच उठ्ने पृथक रङ्ग-तरङ्गहरूसमेत थामेको छ, यसै मेरो उमेरले । मन र उमेरको इशारामा चल्छ शरीर गुड्दै, म धपाउँदै छु, विस्तारै उमेर । यो मेरो यथार्थता ।

समग्रमा जीवन एउटा महाभारत सानोठूलो । अनेकताभित्रको एकता र जटिलता । हाम्रो साधारण जिन्दगीसमेत अनेक सृष्टि सङ्ग्रहहरूको पोको । वर्तमानकै हातमा खेल्दा रहेछन्, हिजो, आज र भोलिका कुरासमेत । आज घर मात्र सानो भएन हाम्रो मन पनि सानो भो । संवेदनाको क्षरण हुँदो छ । परिवारकै पर्याय फेरि अहिले कहाँ छ ? खोजौँ । कौटिल्य (चाणक्य) जस्ताले नदी किनारको कुटी नै किन रोजे हुन् ? भन्छु-हामी त सत्ता र भत्ताका अति नै भोका ।

एकातिर, सास फेर्दो छु धुलो-धूवाँले भरिएको सडकमा । चल्न बाध्य छन्, रगतले पोतेका र सास सुकाएका तिनै दुःखद धरतीमा । अर्कातिर राजनीति बग्दो छ, भाषणको आदर्श स्वर लहरीमा । चरित्र र संस्कारको पर्दा भने च्यातिएर उघ्रेको छ, निर्वाङ्ग नाङ्गोपारी । असभ्य भाषाका प्रयोक्तालाई सिधै भाषाको श्राप लाग्छ रे ! भनिन्छ । के भो ? धरती, आकाश र छाती भए मेरा सबै राता र अँध्यारा अहिले । भत्किँदो छ विश्वासको धरातल । नेपाल कतै नबनोस् पाताल प्रार्थना छ ।

लाग्यो, मृत्यु मङ्गलमय छ त्यसै भनेनन्, विश्वबन्द्य कवि स्व. रवीन्द्रनाथ टैगोरले । प्रायः अवसानपछि मूल्याङ्कति हुँदा गर्दा रहेछन्, सबै कुरा । स्व. लक्ष्मीप्रसाद देवकोटाको जीवितावस्था देखेका र हालै मात्र सम्पन्न शताब्दीपूजासमेतले यो कुरा छर्लङ्गन्िछ । कतै रोएर लेख अनि मरेर बाँच को सन्देश चरितार्थ हुने फेरि यतै आएर । श्राद्ध गर्ने हाम्रो राम्रो परम्परा छ । म त यो इमानदार र विवेकी नेपालीको तेस्रो नेत्र खुल्नाले सम्पन्न भयो भन्छु । विसर्जनको विशेषता नै अर्कै । भनिन्छ, कालकी पत्नी क्रिया । क्रियारूपी गोडा लिई सूर्यरूपी बत्तीले खोजीखोजी मार्छ रे काल हामीलाई । यही सृष्टिको अनन्तधारा ।

साँच्चै, जीवन र जीविकाका दुई किनार भई बगेका तीतामीठा अनुभूतिले सिँगारेको र थुप्रै कमी-कमजोरीले भरिएको आत्मकथनको यो सानो टपरी पाठकका अगाडि राखेको छु, कत्ति नढाँटी । यस्तै, आत्मनेपदी र परस्मैपदी रचनाका शैलीगत पृथकताभित्रैबाट छर्लङ्गिने हुन्छन् रे ! वास्तवमा यही त सिधै झरीको सङ्गीत र हिमाली छहरासँगै बज्यो, मेरो मन मुरली यत्ति ।

अन्त्यमा स्मित हाँस्य र समुन्नत भालको अपूर्व सुन्दर हाम्रो हिमालको अनुहार जताबाट भए पनि हेरौँ, एकैपटक सही । यो मेरो सबैमा सानो आत्म निवेदन त्यत्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *