Skip to content


म काठमाडौँ नयाँ सडकको बीचमा झाङ्गएिर बसेको पीपलबोट र यसले समय, मन र इतिहासमा उजागर गरेका केही बिम्ब अनि अभिव्यञ्जनाको विषयमा केही लेख्न लागेको छु । यो पीपलको रूख वरिपरि अल्झेका सम्झना छन् मेरा पनि । पीपलबोटमुनि सबैले बुद्धकै जस्तो ज्ञान पाउँदैनन् तर सानातिना झल्यास्स ज्ञानहरू सबैले पाएकै हुन्छन् यस्ता रूखका छहारीमुनि । सानै भए पनि मेरो निम्ति महत्वपूर्ण चेतना खुलेका छन् यस रूखमुनि । सबै कुरा लेख्न नसके पनि एक साहित्यिक कर्म गर्ने मानिस भएकोले यसको विषयमा केही कुरा मात्र भए पनि राख्ने जमर्को गरेको छु यस लेखमा ।

मलाई नयाँ सडकको यो पीपलबोटले अनेकौँ कुराका अर्थ उजागर गरिदिएको छ । पछिल्लो समयमा कुनै नागर सभ्यताभित्र कुनै विशेष थलो वा ‘स्पेस’का चर्चा भएका छन् । ठूलाठूला नगरहरूभित्र यस्ता गौँडावरिपरि कसरी विचार र साहित्यका कलेबर बनिएका छन् भन्ने कुराको अध्ययन गर्न मलाई खुब मन पर्छ । प्यारिसको प्याले घोयाल अथवा विशाल दरबार, लन्डनको केन्द्रवर्ती इलाका, अनि कलकत्ताका अड्डा भनिने थलोहरूको विषयमा साहित्यिक व्यक्तित्वहरू धेरै चर्चा गर्छन् आजकल । त्यसो त अरू पनि धेरै ठाउँका उत्तरऔपनिवेसिक चिन्तनसँग जोडिएका चर्चा छन् । ज्ञान र राजनीतिसँग जोडिएका थलोका चर्चा हुन्छन् । सुन्दर काल्पनिकी वा ‘युटोपिया’ र अतिरिक्त काल्पनिकी वा ‘हेटरोटोपिया’ भनेर आजकल यस्ता ठाउँहरूका चर्चा भएका छन् तर मेरो निम्ति भने पीपलको बोटले ज्ञान, काल्पनिकी, राजनीति, विद्रोह र काव्यका चेतनाको अभिव्यञ्जना बोकेको हुन्छ । पीपलबोट एक कविता हो । क्यानभासमा बनिएको एक अत्यन्त राम्रो चित्र हो जसको कलेबरमा पोतिएका अक्षर र मिसाएका रङ्गहरू यसै यसै वाचाल भएर उठ्छन् । अलिक मायाँ, सम्झना र सम्मानले हेरिबस्नु पर्ने रहेछ यसलाई । आजको वातावरण बिग्रेर त्रसित धरतीमाताको चिन्तामाथि पीपलबोटमुनि बसेर थोरै भए पनि ध्यान गर्नु ठीक विचारको अनुशील्ान गर्नुजस्तै हुनेरहेछ ।

मलाई पीपलको रूख पृथ्वी र आकाशको सिँढीजस्तो लाग्छ । घाम र जूनमुनि सौम्य पीपलको रूख समयको अवतार भएर उभिएको देखिआएको छु । बरको रूखलाई पनि पीपलको रूखकै एक अतिरिक्त अवतार मान्छु म । गाउँमा जन्मेर हुर्केको मानिस । धेरैथरि रूखहरूसँग परिचित छु । थिएँ भन्नु पर्छ किनकि रूख र वन अब सम्झना मात्र हुन थालेका छन् तर पीपलको रूख अहिलेसम्म किन स्मृतिमा बसिरहन्छ भन्ने कुरा बुझ्न मैले केही साहित्यिक काल्पनिकी र केही दर्शनहरूको सहारा लिएको रहेँछु । म दर्शनको कुरा त्यति गर्दिन किनकि दर्शन र रूखको सम्बन्ध गहिरो हुँदाहुँदै पनि कहिलेकाहीँ त्यो एक रूपकको सम्बन्धजस्तो मात्र हुनसक्छ । बुद्धले गयाको पीपलमुनि ज्ञान पाए । पीपलको रूखमुनि तिनले दर्शनको आधार भेटे । पीपल एक अभिव्यञ्जना भयो ज्ञान र समयको तर पछि आउनेहरूलाई पीपल एक थलो मात्र भयो । त्यसको छहारीमुनि बस्नु अनि त्यसले साधकलाई प्रभावित पार्नु ठूला कुरा हुन् भन्ने मानियो तर पछि गएर ती किन महत्त्वपूर्ण हुन् भन्ने कुराको स्मृति कमजोर भएर गयो ।

नयाँसडकको पीपलको रूखमुनि धेरै मानिसले बसेर गुजारा गरेका छन् । जुत्ताहरू मर्मत गर्ने, पालिस लाउने अनेकौँ उमेरका मानिसहरू त्यहाँ बस्छन् । माथितिर चौतारीमा पत्रिका बेच्नेहरूले यो देशका अनेकौँ इतिहासका अनुहारहरूलाई विज्ञापनका भाषामा उच्चरित गरेर बसेको मैले दशकौँदेखि देखेको छु । पत्रिका बेच्नेहरूलाई यो पीपलको छहारीले एक थलोको चेतना दिन्छ । त्यो थलो एक नागर रचनाभित्रको अड्डा हो । यसो भन्दा मलाई बङ्गालीहरूले कोलकातामा अहिले अड्डाहरूका खोजी र अध्ययन गरिरहेका कुराको प्रसङ्ग जोड्न मनपर्छ । यसो गर्नु अत्यन्त सान्दर्भिक लाग्छ । यस अड्डा विषयका चर्चा भएका छन् । किताबहरू लेखिएका छन् । तिनीहरू अड्डालाई उत्तरऔपनिवेसिक अध्ययनको विषय मान्दारहेछन् आजकाल । हिजोको सहरको स्मृतिको रूपमा लिँदा रहेछन् अड्डालाई । सन् सत्तरीदेखि झन्डै हराउँदै गएको कोलकाताको अड्डा संस्कृतिको विषयमा बङ्गालीहरूले नै के लेखेका रहेछन् भनेर खोज्दै जाँदा अनेकौँ कुरा भेटेँ । अड्डा साथीभाइ भेला भएर सहज अनुभूति साटासाट गर्ने थलो रहेछन् । सहर आधुनिक हुँदै जाने चरित्र देखाउने रूपक रहेछ अड्डा । यस्ता अड्डाहरूमा सहरका वा बाहिरबाट सहर पसेका केही बुद्धिजीवीहरू भेला भएर कुरा गर्ने गर्दा रहेछन् ।

उन्नाइसौँ सताब्दीदेखि औपनिवेसिक कालमा आधुनिकताको प्रवेश भएपछि कलकत्तामा अड्डाहरू जन्मेका रहेछन् । ती लोग्नेमान्छेका थलो रहेछन् । पुरुष, बुद्धिजीवी, ‘एलिट्’हरू भेला भएर आफ्ना सहज अनुभव साटासाट गर्ने रहेछन् अड्डाहरूमा । नारीहरू ती अड्डामा आउन नपाउने भएकाले तिनीहरू कहाँ हुन्छन् भन्ने कुराको ऐना पनि अड्डा नै भएका रहेछन् । नारीको थलो घर, भान्सा, अनि त्यस्तै परिवेश मानिएको रहेछ पुरुषले जितेको समाजमा । लोग्नेमान्छेहरू भेला हुने अड्डाहरू कोलकातामा बिस्तारै हराउँदै जानुका दुई कारण रहेछन् । पहिलो सहरमा भयानक ठूला घर बनिँदै गएपछि स-साना अड्डा बिलयन भएर गएछन् । अर्को नयाँ पुँजीवादी बजारले गर्दा अड्डाहरूको औचित्य समाप्त हुँदै गएछ । ती कुनै रेष्टुराँ वा कुनै कफी पसल वा खानेपिउने ठाउँमा गएर बिलयन भएछन् तर अड्डामा भेला हुनेहरूले बङ्गालको आधुनिक साहित्यको रचना गरे भन्ने देखिएको छ ।

हाम्रो नयाँसडकको पीपलबोट त्यस्तै थलो थियो । मैले यो थलोलाई साठीको दशकदेखि नै देख्तै आएँ । त्यो बेला कलेजका सुरुका वर्षमा पढ्ने ठिटाले बुझेको कुरा रमाइलो थियो । आज पनि मलाई त्यो कुरा रमाइलो र वाचाल लाग्छ । मैले पीपलबोटमा भेला हुने मानिसहरूमध्ये धेरैजसो साहित्यकार देखेँ । ती सबै पुरुष थिए । तेल लचेप्रै लाएर रुप्पी उर्फ सारुङ्को जस्तो सिनित्त कपाल कोरेका साहित्यकार बढी भेला हुन्थे त्यहाँ । युवक थिए धेरैजसो साहित्यकार । ती काठमाडौँ र काठमाडौँबाहिरबाट यहाँ त्रि-चन्द्र कलेज वा त्रिपुरेश्वरस्थित त्रिभुवन विश्वविद्यालयमा पढ्न आएका युवकहरू थिए । ती मानिस बाहिर गाउँघरका जमिन्दारका पुत्रहरू थिए । काठमाडौँका साहित्यकारसँग भेट्ने रमाइलो र सहज थलो थियो पीपलबोट अड्डा । ती पुरुष साहित्यकारहरूका भेट्ने अनेकौँ शैली थिए । एउटा शैली पीपलबोट अड्डामा आएर त्यसै उभिनु थियो । साहित्यकार निकै बेरसम्म उभिन्थे पीपलबोटमुनि । ती गलेका भए पनि उभिन्थे । भेला हँुदै गएपछि बिस्तारै त्यही अड्डामा पीपलको रूखको छहारीमुनि जीवनमा खासै विचलन नभएका र खासै योजना नभएका तर सिर्जनशील ती बोधिसत्वहरू चल्मलाउँथे । हाँस्थे । कुरा जमेर गर्थे । एकाध समयमा झगडा गरेको पनि देखेँ । अलिक स-साना मनका पोखरीमा ढुङ्गा हानेर ती तरङ्ग चलाउँथे । त्यो आफैंमा बुद्धि र भावनाको बिलास थियो । मैले ठिटौले चेतनाले देखेँ त्यो सबै । पछि परिपक्व भएपछि पनि त्यसका अनेकौँ चरित्रहरू देखेँ । तिनीहरू त्यो थलोमा कुनै स्मृतिहरू उप्काउन बसेका थिए । यस्तो लाग्थ्यो मानौँ कुनै समयमा विगत र आगतमा केही थियो र हुनेछ भन्ने चेतनाले बनाएको काल्पनिकीको खोजीमा निस्केका, कुनै यात्रा अन्त गरेका ती ड्रेक म्यागलेन र कुकहरू आफूले पार गरेका भू-भागको चित्र मनमा उजागर गरेर त्यसको महत्त्व बुझ्न त्यहाँ आउँथे । ती सिर्जनशील पुरुषवादी युवाहरूले कति यात्रा कहिले र कहाँ गरेका थिए भन्ने कुरा एक रूपकको विषय थियो । तिनका यात्राहरू लक्षणा मात्र थिए । कोलकाताका अड्डामा आउने पुरुष लेखक र बुद्धिजीवीका पनि त्यस्तै स्वप्नलोलुपता हुन्थे ।

मैले त्यो बेला नबुझेको एउटा कुरा रहेछ । पीपलबोट एक थलोको प्रतीक रहेछ । त्यो एउटा केन्द्र रहेछ, एक खुला ‘स्पेस’ । त्यसको वरिपरि अतिरिक्त थलोहरू बनिदारहेछन् । एउटा केन्द्रको, एउटा अड्डाको खोजी गर्नु अति आवश्यक रहेछ त्यसबेला । त्यसको वरिपरि अतिरिक्त थलोहरू जन्मिने रहेछन् । त्यस्ता अतिरिक्त थलोहरूको विषयमा पछि पो पढ्न पाएँ । त्यस्ता थलोको खोजी एक किसिमले अतिरिक्त काल्पनिकीको खोजी रहेछ । आजकल पश्चिमा र दक्षिण एसियाका आचार्य, समाजशास्त्री र साहित्यशास्त्री त्यस्ता थलोलाई ‘हेटरोटोपिया’ भन्दारहेछन् । त्यो कुरालाई जोडेर पीपलबोटलाई हेर्ने जमर्को गर्छु ।

जुद्धशमशेरले नब्बे सालको भुइँचालोले ध्वस्त भएको त्यो नागरखण्ड आधुनिक पारेर बनाए । घरहरू आधुनिक भए । काठमाडौँका बासिन्दाले त्यो नागरखण्डलाई आधुनिक भनेर स्वीकार गरे । नयाँ सडक भने त्यस खण्डलाई । अहिले पनि त्यो नयाँ सडकै हो । एउटा सानो पार्क बनियो उतातिर । भूगोलको डल्लो राखे त्यस पार्कमा र त्यसलाई ‘भूगोल पार्क’ भन्ने नाम दिए । पीपलको बोट एउटा केन्द्र ‘स्पेस’ भयो । त्यसको वरिपरि घर बनिए । त्यो भूगोलपार्कमा पछि एउटा लघुशङ्का गर्ने कुनो थियो । पहिलो कहाँ थियो मलाई थाहा भएन । त्यो कुनामा मानिसहरू निर्धक्क उभिन्थे । अर्द्धमुदित नयनमा उभिएका ती पुरुषहरूको मुद्रामा नयाँ सडकको अतिरिक्त काल्पनिकी देखिन्थ्यो । तिनले निसङ्कोच त्यो केन्द्रवर्ती थलोको प्रयोग गरेका थिए भन्ने सजिलै देखिन्थ्यो ।

पीपलको रूखमुनि नै भरेङ चढेर माथि गएपछि अर्द्धआधुनिक किसिमको इन्दिरा रेस्टुराँ थियो । त्यो नयाँ सडकको एक अतिरिक्त काल्पनिकी उजागर गर्ने थलो थियो । त्यहाँ मैले पहिलो पटक कफी खाएँ । प्रेममा दिल भत्केका, त्यो अतिरिक्त काल्पनिकी भएको थलोमा केही खोजी गर्न आएका बाहिरका भूमिपतिका काठमाडौँमा पढ्ने पुत्रहरू काल्पनिकीका खेती गर्ने दिलदार किसानहरू थिए । त्ाी पीपलको बोट परिपरि सपना छर्थे । राति जूनेलीमा होस् वा साँझमा होस्, ती खुलेर सपना छर्थे । ती के बाली उठाउँथे, मैले राम्ररी थाहा पाइँन । अझसम्म पनि त्यो मेरो खोजीको विषय भएकै छ । तिनले पीपलको बोट वरिपरि छरेका सपना हेर्न तिनका कविता पढ्नु पर्छ । तिनले त्यो पीपलको बोटमुनि भएर जाने काठमाडौँका अलिक राम्ररी मिलाएर लुगा लगाउने नारीलाई कविताका विषय बनाए । अतिरञ्जक हुन्थे कतिपय यस्ता कविता । त्यसो त यो कथा हेर्दै जाँदा तनहुँबाट काठमाडौँ आएका कवि भानुभक्त आचार्यले लेखेका कविता नै यस अतिरिक्त काल्पनिकीका पहिला बलिया प्रमाण हुन् । ठाउँलाई अतिरञ्जनाको रूपमा प्रयोग गर्नु, एकल ठाउँका अनेकौँ स्वरूपका कल्पना गर्नु, अतिरिक्त थलोहरूका कल्पनाले उड्नु, तिनको प्रयोग गर्नु छुट्टै काल्पनिकी वा ‘हेटरोटोपिया’ हुन् । भानुभक्तले काठमाडौँको केन्द्रमा आएर जुन कविता लेखे, त्यसमा बयान गरिएका अतिरिक्त नागर थलोहरूका नामैले पनि आश्चर्य मान्नुपर्ने हुन्छ आज आएर । अनेकौँ देशका साहित्यमा नगरका थलोहरूका बयान हुन्छन् । ती कुनै थान विशेषका बयान हुन्छन् । यथार्थिक बयान हुन्छन् तर कुनै भने अतिरञ्जकरूपले गरिएका अतिरिक्त थलोका बयान हुन्छन् । यस्ता अतिरञ्जक अतिरिक्त थलोका अभिव्यञ्जनालाई पहिलोपटक मिलाएर चर्चामा राखिदिए फ्रान्सेली दार्शनिक मिसेल फुकोले । उनले त्यसलाई ‘हेटरोटोपिया’ नाम दिए । मलाई त्यसका अनेकौँ व्याख्याहरू मन परेका छन् । मेरा पनि आफ्नै व्याख्या छन् ‘हेटरोटोपिया’का ।

मलाई फुकोको चर्चा पढेको बेला भानुभक्तको कान्तिपुरी कविताको सम्झना भएको थियो । मैले थाहा पाएसम्म भानुभक्तको कान्तिपुरी कविता अतिरिक्त नागर काल्पनिकीको पहिलो वाचाल वर्णन हो र पहिलो पाठ प्रमाण हो । समालोचकहरूले यो कुरालाई ध्यान दिएका छैनन् । पीपलबोटमा गएर ध्यानातित भयो भने अनि अहिले चलेका यी नागरचरित्रका अतिरिक्त काल्पनिकीहरूमाथि विचार गर्‍यो भने ती तनहुँका कविको कान्तिपुरी कविताको महत्व बुझिन्छ । तिनले काठमाडौँमा आएपछि केन्द्रवर्ती ठाउँ खोजे होलान् पहिले । तिनलाई कान्तिपुर नगरले झ्वाम्मै छोप्यो होला । तिनलाई यो सहरको नक्सा, बनावट थाहा थिएन भन्न सकिन्छ । ती एउटा थलो वा मानिसहरू भेला हुने अड्डामा पुगे होलान् । नेवार संस्कृति र समाजमा यस्ता अड्डाहरू कुनै पनि आधुनिक नागर अड्डामा पाइने चरित्रभन्दा भिन्न र सिर्जनशील देखिएका छन् । म यसमाथि खोजी गर्दैछु प्रदर्शनकारी संस्कृतिको निम्ति, कलाको अभिव्यञ्जना र नागरचरित्रका सम्बन्ध बुझ्नको निम्ति आजकाल ।

भानुभक्तको कविता पाठलाई आधार राखेर हेर्दा धेरै कुरा भेटिन्छन् । यस्तो एउटा कुनै विशेष थलोमा पुगिएपछि एउटा सहरभित्र अतिरिक्त थलोका काल्पनिकीहरू उजागर हुन्छन् । त्यो कुरा देखिएको छ । भानुभक्तलाई सहरले यसरी छोपेपछि सहरको केन्द्रमा मन गरेर ती अतिरिक्त थलोका काल्पनिकीमा उडे । देखियो । कान्तिपुरी नगरी केन्द्र भए पनि अतिरिक्त कल्पना गर्दा मात्रै उनले त्यस थलोको सामर्थ्य बुझे । तिनले कान्तिपुरीलाई अलकापुरी कान्तिपुरी भने । ‘लखनउ, पटना, मदरास सरि’ देखे उनले कान्तिपुरलाई । नेपाल देशमा नागरखण्डको यस्तो अतिरिक्त काल्पनिकी वा ‘हेटरोटोपिया’ भएको काव्य त्यस बेला त के निकै पछिसम्म पनि देखिएन । मेरो यस्तो विश्वास छ । भानुभक्तको यो कविता पढेका भए अतिरिक्त ठाउँसँग सपना हुन्छन् भनेर लेखिबस्ने मिसेल फुको दङ्ग पर्ने थिए भन्ने मलाई कताकता लाग्छ । भानुभक्तले मूल थलो देखे तर त्यो अदृश्य भयो र बहुल भयो । कान्तिपुर बुझ्न उनले नदेखेका पाठ र किंवदन्तीमा आएका सहरका कल्पना गरे । कुनै ठाउँमा देशलाई उनले सहर भने । ‘कहीँ भोट र लन्डन, चीन सरि’ भनेर लेखे उनले । ‘छ त कुन् सरि कान्तिपुरी नगरी ?’ भनेर उनले अतिरिक्त काल्पनिकीमा आएका सहरहरू राखेर चुनौती दिए । उनको काव्यचेतनामा कान्तिपुरी नगरी अतिरञ्जना भएर उठ्यो । त्यहाँ परम्परागत पहिरनमा चुल्ठोमा गुनकेसरीको फूल सिउरेर हिँड्ने नेवार नारीहरूलाई तिनले त्यो अतिरिक्त काल्पनिकी उजागर गर्ने सौन्दर्य शक्ति माने । उनको कान्तिपुरी वर्णन कुनै ठाउँको वर्णन पनि हो र अतिरिक्त काल्पनिकी वा ‘हेटरोटोपिया’ पनि हो ।

पीपलबोटमा फर्किन्छु । भानुभक्तको कान्तिपुरी नगरीको अतिरिक्त काल्पनिकी बोकेर मैले देखेको कान्तिपुरको त्यो ठाउँमा पुरुष कविहरू भेला हुन्थे । त्यो खण्डमा आएर कविता रच्ने, ‘नयाँसडकको हुस्से’, अनि ‘पीताम्बर पहिरनमा’ त्यो ठाउँमा आइपुगेका पश्चिमी देशका नारी र ‘अर्द्धनग्न हिप्पी कुमार’को वर्णन गर्ने आधुनिक कविहरूका काव्य पीपलबोट वरिपरि रचिएका अतिरिक्त काल्पनिकी हुन् । ज्ञानका क्षणहरू हुन् । ती अतिरिक्त काल्पनिकीहरू भानुभक्तले देखेको कान्तिपुरको अतिरञ्जनामा वर्णन भएका भूमि र नागर थलजस्तै तरल, बहुल र अस्थिर थिए । कान्तिपुरको वा कुनै देशको मूल थलो, अड्डा वा भूगोलमाथि कल्पना गरिएका काल्पनिकीहरूको त्यो चरित्र नित्य छ । अहिले झन् त्यसका धेरै अर्थहरू खुल्दै छन् ।

पीपलबोट एउटा थलो थियो । आधुनिक कान्तिपुरको एउटा अड्डा थियो । त्यसको वरिपरि भानुभक्तले जस्तो बाहिर नलगी, त्यसकै वृत्त परिपरि अतिरिक्त काल्पनिकी उजागर गर्ने गरी बनिएका थलोहरू थिए । पीपलबोटको उतापट्ट िएउटा आधुनिक शैलीका फोटा खिच्ने स्टुडियो खुल्यो । ब्ल्याक् एण्ड हृवाइटमा सुन्दर नारीका अनि पुरुषका टाइ लाएका फोटा त्यो स्टुडियोको विज्ञापनका निम्ति टाङ्गएिका हुन्थे त्यहाँ । यतातिर बुटमा पालिस लाउने अनि मर्मत गरिदिने सिल्पीहरू बसेका हुन्थे । अहिले पनि छन् । अनौपचारिक पहिरनमा लहरै बसेका ती मानिसहरूका अगाडि यसो मुड्का राखेका हुन्थे । अहिले पनि छन् । गम्भीर मुद्रामा लोग्नेमानिसहरू आउंथे । जुत्ता यसो पालिस लाउने अडेसो टेकेर ती बस्थे । अनि पालिस लाउनेहरू टाउको यताउता उतायता हल्लाएर पालिस लाउंथे । खल्तीबाट सिगरेट झिकेर अमुक जुत्ताधारी मानिस भावविभोर हुन्थ्यो त्यहाँ । उसको जुत्ताको प्रतीक्षामा ऊ एक अनन्त समयको यात्रा गर्थ्यो सायद । ऊ त्यो ठाउँमा बसेर भानुभक्तीय अतिरञ्जक अतिरिक्त काल्पनिकीका नगर र भूखण्डको यात्रा गर्थ्यो तर पीपलको रूखमुनिका ती अतिरिक्त काल्पनिकी उजागर गर्ने गराउने मानिसहरू भने बुद्ध थिएनन् । पीपलबोटको केन्द्रमा आएर अतिरिक्त काल्पनिकीका रचना गर्ने मानिस थिए ती । मैले देखेको र चाख लागेको विषय साहित्य नै थियो । यसको वरिपरि बस्ने साहित्यकारहरूले छलफल गरेका विषय साहित्य हुन्थे । केही साहित्यिक र अरू पत्रिकाहरू चौतारीको डीलमा राखेका हुन्थे । ‘रूप-रेखा’, ‘रचना’, ‘साहित्य’, ‘स्वास्नीमान्छे’ अनि ‘गोरखापत्र’ देखेको अनि किनेका सम्झना छन् । ‘मधुपर्क’ अलिक पछि आयो । अनि अरू पनि पत्रिका आए । त्यो चौतारी अहिले चित्रमय अनि अखबारी पत्रिकाहरूले भरिएको हुन्छ ।

पीपलबोटको वरिपरि अरू पनि व्यवसाय गर्ने मानिसहरू बढ्दै गए । माथि इन्दिरा रेष्टुराँमा चढेर जाँदा छेउको मुत्रालय बिस्तारै धेरै दुर्गन्धी हुँदै गयो तर पीपलको बोटमा निकै बेर उभिएपछि त्यहाँ उभिएर निवृत्त हुँदाको आनन्द बोकेका मानिसहरू आफूलाई त्यो थलोमा उभियो कि अदृश्य भएको अनुभव गर्थे, देखिन्थ्यो । अरूतिर टड्कारो भइरहेको मानिस त्यहाँ सायद एकछिन अदृश्य हुन जान्थ्यो ।

मैले पीपलबोटको त्यो केन्द्रवर्ती थलोलाई मेरो नागर जीवनको सबैभन्दा महत्वपूर्ण अभिव्यञ्जना उजागर गरिदिने स्रोत ठानेको छु । त्यसलाई आधार राखेर यताका र पश्चिमका नागर दर्शन र साहित्य रचनाका आधारहरू भेटेको छु मैले । अहिले मलाई अतिरिक्त थलो र ‘हेटरोटोपिया’का कल्पनामाथि खोजी गर्न मन पर्छ । उत्तरऔपनिवेसिक कालमा कोलकातामा अड्डाहरूका खोजी गरेका ग्रन्थहरू पढेको कुरा भनिसकेँ । हिजो युवक हुँदा पहिले नगरको केन्द्रमा आउँदा जुन उत्तेजनाले र खुसीले म भौँतारिएँ त्यो संवेदना अतिरिक्त काल्पनिकीको थियो । म भानुभक्तको अतिरिक्त काल्पनिकी के थियो भन्ने कुरा अहिले राम्ररी बुझ्न थालेको छु ।

त्यो पीपलको बोट आज अरू अनेकौँ पुँजीयुगका थलोहरूले लिन लागेका छन् तर मलाई अहिले पनि त्यो शान्त र महान् पीपलबोटमा पुग्दा हल्लाहरू एकाएक बन्द भएजस्तो लाग्छ । मेरा अतिरिक्त काल्पनिकीहरू उजागर हुन्ा थाल्छन् । केही महिनाअघिको मात्र कुरा हो । एक रात म अलिक ढिलो गरेर त्यही पीपलको बोट हुँदै आएको थिएँ । मलाई त्यहाँ पुगेपछि केही झल्यास्स ज्ञान भएजस्तो लाग्योे । एकाएक निकै कुराहरू बुझेजस्तो लाग्यो । पीपलको बोट त्यसरी नै चुपचाप जूनेलीमुनि उभिएको थियो । तल कोही थिएनन् । त्यहाँ एउटा अत्यन्त महान् आनन्द र ज्ञान भनिने उत्तेजना उजागर हुने सम्भावना थिए । बुद्धको पीपल वृक्ष, आमाले साँझ र बिहानको कोमल जूनेलीमा अर्घ दिएर राखेको घर छेउको पीपलको रूख, कोलकाताका अड्डाहरू र प्यारिसको पिगाल अनि प्याले घोयाल, टोकियोको लेखकहरू भेला हुने रोपोङ्गीका अड्डाहरू अनि यही पीपलबोटमुनि आएर साहित्यिक रचनामा नयाँ समयचेतना ल्याउने लेखक कविहरूका बिम्बहरू मेरो मनमा एकैसाथ वैरिएर आए । म त्यही अतिरिक्त र बहुल काल्पनिकीको चेतनाले ओतप्रोत भएर त्यो पीपल बोटमुनि स्थानहीन र समयहीन उभिइरहेँ । पीपलका पातहरू मध्यरातपछिको हावासँग सर्सराउन थाले । जाडोको अनुभवसहित अनिश्चित काल्पनिकीका किरिङमिरिङ रेखाहरू मनभरि कोर्दै त्यहाँबाट हिँडेँ ।

मण्डिखाटार, वैशाख २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *