तुम्लिङटार पुग्ने हतारोले म हतारहतार अगाडि बढिरहेको थिएँ ।

आकाश छ्याङ्ग थियो । चर्को घाम टाँगिएको थियो आकाशमा । शीतल चौतारीको कहीँकतै नामोनिसान थिएन । हल्का पातलो सिँयालसम्म पाउन पनि त्यतिबेला एकदमै गाह्रो थियो । कीरा जस्तो भएर टोकिरहेथ्यो गर्मीले ।

म लुखुरलुखुर झरिरहेको थिएँ ओरालो । ओरालो नझरी बेँसीमा पुगिँदैन । ओरालो नझरी तलतल बसेका किसानहरूका झुप्राहरूमा, तिनीहरूले काम गर्ने खेतका गह्राहरूमा, तिनीहरूका दुःखपूर्ण जिन्दगीहरूमा पुगिँदैन । त्यहाँसम्म पुग्न ओरालो झर्नै पर्छ । दुःख जहिले पनि दह बनाएर बसेको हुन्छ तलतल । दुःखलाई भेट्न, आत्मसात् गर्न जहिले पनि हामीले तलै जानुपर्छ तर ओरालो झर्दा मेरा गोडाहरू खाडलमा परेजस्ता हुन्छन् । कसैले तलबाट ताने जस्तो हुन्छ । मलाई आफ्नै शरीरले यामानको भारी भएर आफैँलाई किचे जस्तो हुन्छ । गाह्रो हुन्छ मलाई ओरालो हिँड्न ।

तर म सकेजति शक्ति लगाएर अगाडि बढिरहेको थिएँ ।

मेरा साथीहरू, तीन जना विदेशी र एक जना स्वदेशी मेरो आफ्नै दाइ – काकाको माइलो छोरा, निक्कै पर पुगिसक्नुभएको थियो ।

छक्क लागिरहेथ्यो मलाई आफैँलाई देखेर । अमेरिकामा जन्मेका, त्यहीँ हुर्केका मेरा तीन जना विदेशी साथी ठमाठम हिँडेर अगाडि गइसकेका थिए । पहाडमा जन्मिएर त्यहीँको हावापानीमा हुर्केबढेको मभन्दा ठूलो मेरो दाइ पनि उनीहरूसँग गफिँदै गफिँदै अगाडि बढिसक्नुभएको थियो । म भने पहाडमै जन्मिएको भए तापनि, सारा बाल्यकाल पहाडमै बिताएको भए तापनि साह्रै अप्ठ्यारोले अगाडि बढिरहेको थिएँ ।

त्यसो त उकालोचाहिँ मेरो स्वभाव हो । उकालो उक्लन पर्‍यो भने देख्नुको हुन्छ मेरो हिँडाइ । बाफ रे मान्छे हिँडेको हो कि चरा उडेको हो पत्तै पाइँदैन । थाकेर लखतरान भएको बेलामा पनि उकालो उक्लन मलाई जाँगरै लाग्छ, उस्तोविधि अप्ठ्यारो लाग्दैन । छिटोभन्दा छिटो टाकुरामा पुग्नु, त्यहाँबाट चारैतिर हेर्नु, सारा सौन्दर्यको रसपान गरेर मक्ख हुनु सायद मेरो कवि व्यक्तित्वको स्वभाव होला ।

मलाई टाकुरामा पुगेर आकाश भएर चारैतिर उड्न रहर लाग्ने भएर होला ।

म कहिलेकाहीँ आफूले आफँैलाई भन्छु, ‘मञ्जुल ! अँध्यारो उज्यालोको प्रेम हो । अँध्यारोको प्रेम भएको उज्यालो दिउँसोको झलमल्ल उज्यालोभन्दा सुन्दर हुन्छ । दिउँसोको उज्यालोको आनन्द लिन पनि त रातको गाढा अँध्यारोको अनुभूति हुनुपर्छ ।’

त्यसैले आवश्यक परेको बेला ओरालोमा अघि बढ्दा कठिन भए तापनि म आनन्दै लिने गर्छु ।

त्यो दिन पनि, त्यो क्षणमा पनि मलाई त्यस्तै भइरहेको थियो ।

तीन भाग ओरालो सकिएर एक भाग मात्र ओरालो बाँकी हुन लागेको बेलामा तलबाट माथितिर आइरहेका दुई जना बहिनीहरूलाई मैले भेटेँ । ती बहिनीहरू जवान थिए र कुरुस्तका भारी बोकेका थिए ।

त्यो हपहपी गर्मीमा एउटा सानो झोला बोकेर, एउटा हल्का गितार बोकेर ओरालो झरिरहँदा त मलाई गाह्रो भइरहेथ्यो भने कुस्त भारी बोकेर उकालो चढिरहँदा ती बहिनीहरूलाई कति गाह्रो भइरहेको थियो, सजिलै अन्दाज लाउन सकिन्थ्यो ।

ती बहिनीहरूको पिठ्युँमा कुस्तको भारी मात्र थिएन, दुवैका भारीहरूमाथि अलि ससाना भारीहरू पनि थिए । मैले बोक्ने हो भने त ती पोकाहरूमध्ये एउटा पोका नै पनि बोकिनसक्नुको हुन सक्थ्यो ।

त्यति मात्र कहाँ हो र ती दुई जना बहिनीहरूमध्ये एकजना बहिनीको दुवै हातमा एउटा बच्चा पनि थियो, छातीमा अलिकति आड लिएर बोकेको ।

पहाडमा मिजासिला मानिसहरूबीच बोलचाल गर्न पहिल्यैदेखि चिनजान भएको हुनु पर्दैन । बाटामा भेटिने यात्रीहरू पनि मजाले एकअर्कोसँग बोलचाल गर्छन् – जस्तो, कहाँबाट आउनुभयो ? कहाँसम्म जाने हो ? के कति कामले आउनुभएको थियो ? आज कहाँदेखि हिँड्नुभएको थियो ? कहाँसम्म पुग्नुपर्ने हो ? मन खुल्दै गएपछि अरू कुराकानीहरू पनि मजाले हुने गर्छन् ।

मैले पनि ती बहिनीहरूलाई भनेँ, ‘गह्रौँ रहेछ भारी । यो गर्मीमा उकालो उक्लिनुपर्ने !’

उहाँहरू मलाई हेरेर मुसुक्क हाँस्नुभयो । त्यतिबेला उहाँहरूका निधारमा आएका चिटचिट पसिनाहरू पनि मतिर हेरेर हाँसे ।

‘भारीमाथि भारी अझ बच्चा पनि बोक्नुभएको रहेछ ।’ मैले फेरि भनेँ ।

‘यो बच्चा निदा’को छ । बिउँझेको भए त निकै सजिलो हुन्थ्यो बोक्न । निदा’को बच्चा बोक्न त साह्रै गार्‍हो दाइ !’ बच्चा बोकेकी चाहिँ बहिनीले भनिन् ।

मैले बच्चा बोकेको थिएँ- निदाएको र ननिदाएको, दुवै तर मैले आमाले जस्तो गरी बाध्यतावश बच्चा बोकेको थिइनँ । त्यसरी बच्चा बोक्नु परेको रहेनछ मलाई । मैले जीवनमा जति पटक, जहाँजहाँ बच्चा बोकेको थिएँ आनन्दले बोकेको थिएँ । रमाएर बोकेको थिएँ । मैले बच्चा बोक्नुको गह्रुङ्गोपनको अनुभव गर्नै परेको रहेनछ । निदा’को र ननिदा’को बच्चाको गह्रुङ्गोपनको तुलना पनि गर्नु परेको रहेनछ ।

ती बहिनीको जवाफ सुनेर म त स्तब्ध भएँ ।

एकपल्ट केही साहित्यकारहरू-कवि, लेखक दुवैथरीलाई, मनकामना लैजाने कार्यक्रमको आयोजना गरिएको थियो । बसको राम्रो व्यवस्था थियो । घच्चपच्च थिएन । सबैजना दुई दुई जनाको सिटमा दुईदुई जना नै बसे तर कविवर माधव घिमिरेलाई चाहिँ अझ सजिलो होस् भन्नाका खातिर दुई जना बस्न मिल्ने ठाउँमा पनि उहाँलाई एक्लै बस्न दिइयो – मान गरेर ।

तर उहाँले त्यो कुरालाई सजिलो मान्नुभएनछ । भनिहाल्नुभयो, ‘खोई ! मेरो साथी को ?’

उहाँले मलाई आफूसँग बस्न बोलाउनुभयो । खुसी भएर रमाउँदै म उहाँ बसेको ठाउँमा गएँ । उहाँ मलाई असाध्यै माया गर्ने, मन परेको बाबा जस्तो लाग्छ नेपाली साहित्यमा । उहाँको पितावत स्नेह साह्रै मीठो लाग्छ ।

म उहाँको छेउमा गएर बसिसकेपछि, हाम्रो बसाइ सजिलो भइसकेपछि मैले उहाँलाई भनेँ, ‘म एउटा प्रश्न गरुँ तपाइँलाई ?’

‘हुन्छ ।’ उहाँले मुस्कुराउँदै भन्नुभयो ।

‘आकाश के हो ?’

उहाँ एकदमै मीठो हाँसो हाँस्नुभयो । मेरो हृदयको भित्रभित्रसम्म पुग्नेगरी उहाँले मलाई भन्नुभयो, ‘अब आकाशको बारेमा शृङ्खलाबद्ध कविता लेख्ने ?’

म पनि मीठोगरी हाँसेँ उहाँतिर हेरेर । जवाफमा शब्दले केही पनि भनिनँ ।

फेरि उहाँले मलाई सोध्नुभयो, ‘कुन हिसाबले जवाफ दिऊँ ? कविको हिसाबले जवाफ दिऊँ कि ? दार्शनिकको हिसाबले जवाफ दिऊँ कि ? खगोलशास्त्रीको हिसाबले जवाफ दिऊँ कि ? सामान्य मानिसको हिसाबले जवाफ दिऊँ ?’

अनि उहाँले मतिर हेरेर फेरि मीठो हाँसो हाँस्नुभयो ।

यो बेला ती बहिनीको जवाफले पनि मलाई त्यस्तै मीठो अनुभूति दियो । स्तब्ध बनायो ।

‘यो बच्चा निदा’को छ । बिउँझेको भए त निकै सजिलो हुन्थ्यो बोक्न । निदा’को बच्चा बोक्न त साह्रै गार्‍हो दाइ !’

यो उत्तरलाई को भएर सुन्ने ? दार्शनिक भएर सुन्ने कि ? साहित्यकार भएर सुन्ने कि ? समाजसेवी भएर सुन्ने कि ? वैज्ञानिक भएर सुन्ने कि ? राजनीतिज्ञ भएर सुन्ने कि ? कवि भएर सुन्ने कि ? को भएर सुन्ने ?

सामान्य मानिसहरू आफ्नो जीवनबाट प्राप्त महान् ज्ञानलाई सरल शब्दमा एकदमै सरल ढङ्गले व्यक्त गर्छन् । किनभने त्यो उनीहरूले जीवनबाट सिकेको कुरा हो । भोगेर सिकेको कुरा हो । त्यसमा साँच्चै मीठो सार हुन्छ ।

यो वाक्य सुनेदेखि म स्तब्ध छु । ती बहिनी, ती महान् गुरुलाई म कहिल्यै बिर्सन सक्दिनँ ।

म सारा ब्रहृमाण्ड भएर नबिउँझेको बच्चालाई बोकिरहेको थिएँ-दार्शनिक भएर, कवि भएर, समाजसेवी भएर ।

मेरो सारा देश नबिउँझेको बच्चा भएर त्यतिबेला मेरो काखमा सुतिरहेको थियो । अहिले पनि यो बिउँझेको छैन । सुती नै रहेको छ ।

नबिउँझेको बच्चा – मेरो प्यारो देश !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *