Skip to content


यो एक्काइसौँ शताब्दी हो । अहिले संसार अचम्मैसँग बद्लिएको छ । यति धेरै फैलिएको यो संसार पनि सानो भइसकेको छ । सानो छँदा टेबलमाथि राखिएको पृथ्वीको डल्लोलाई म खुब घुमाईघुमाई हेर्ने गर्थें । ईंटको आकारको नेपालसँगै भारत, चीन, रुस र अरू थुप्रै देशहरूका नामहरू पढ्दै जान्थेँ म । मेरो सानो चेतनामा त्यो भकुण्डो जस्तो गोलो पृथ्वीका उर्द्धरेखा र समानान्तर रेखा अनि नीलो जलराशिको पृष्ठभूमिमा माकुराको जालोजस्ता किरमिर कोरिएका देशहरूका अनेक आयतनका नक्साहरूले मलाई आकषिर्त गर्थ्ो ।

संसार जतिजति नौलो स्वरूप लिएर प्रस्तुत भइरहेछ यहाँका मानिसहरूको जीवनशैली पनि त्यतिकै द्रुतगतिले फरकफरक भइरहेको छ । प्रत्येक पुस्ताले आफूले भोगेका र देखेका कुराहरू बदलिएकै निष्कर्ष निकाल्छन् । तीन-चार पुस्ताको फरकलाई औसत व्यक्तिहरूले अनुभव गरिरहेका छन् । पहिलो पुस्ता भन्छ- हाम्रो पालामा यस्तो थियो, उस्तो थियो । उनीहरू वर्तमानमा भोग्नु परेको परिस्थितिलाई असहज ठान्छन् भने पछिल्लो पुस्ता आफूले बिताइरहेको समय स्वाभाविक हो र बितेको कुरा केवल एक कथिएको वर्णन हो भन्ने ठान्छन् । यो क्रम प्रत्येक पुस्ताको लागि यस्तै हास्यास्पद पदावली टेकेर अघि बढ्छ, स्वाभाविक हो । हामी आफैं पनि भन्ने गर्छौं हाम्रो पालामा यस्तो थियो, अहिले यस्तो भयो इत्यादि । यसप्रकारका यस्तो थियो र यस्तो भयोका अन्तरमा हामीले भोगेका भोगाइहरू पनि त कम चाखलाग्दा छैनन् ।

टेलिभिजनको पर्दामा आजकल देखिने एउटा विज्ञापनले मेरो ध्यान खुब तानेको छ । एउटी युवती पसिनाले लथपथ हुँदै, आँसु चुहाउँदै, तर्तरी नाक पारेर निसासिँदै पाखुराले निधार र आँखा छोप्न खोज्छे । उसका हातहरू ओख्लीमा कुटेको खुर्सानीको रागले रङ्गिएका हुन्छन् । तुरुन्तै दृश्य बदलिन्छ । बिजुलीले चल्ने भाँडामा राता खुर्सानीका ढिँडीहरू तँछाड मछाड गर्दै बररर उफ्रिन्छन् र धूलोपीठो भएर पछारिन्छन् । युवती खुर्सानीको त्यो अभूतपूर्व गति हेरेर मुस्काइरहन्छे । नेपथ्यबाट आवाज आइरहन्छ “यो हो साधारण जिन्दगी, यो हो एक्सप्रेस जिन्दगी” ।

यो विज्ञापनले मलाई खुब आकषिर्त गरेको छ । अहो, कति सरल जीवन पारिदिन्छन् आधुनिक उपकरणहरूले विज्ञापनको भाषामा जिन्दगी नै एक्सप्रेस भइदिन्छ तर साधारण जिन्दगी कति कष्टपूर्ण छ, देखिहाल्नुभयो । विज्ञापनका थरिथरिका प्रस्तुतिहरू केवल उपभोक्तालाई आकर्षणको लागि तयार गरिन्छन् । व्यापारको धर्म पनि त्यही नै हो । आफ्नो उत्पादनलाई कसरी आकर्षक बनाउने र बढीभन्दा बढी बिक्री गर्ने भन्ने कुरा न हो तर पनि जीवनलाई जोडेर बनाइएको यो दृश्य र यी शब्दहरूले मलाई साँच्चै छोएका छन् । के जिन्दगी वास्तवमा नै त्यति साधारण वा एक्सप्रेस हुन सक्छ र ? म आफूलाई त्यहाँ उभ्याउँछु र निक्र्योल गर्न खोज्छु- म कतापट्ट िपर्छुहोला भनेर-साधारण जिन्दगीको उहापोहमा अथवा एक्सप्रेस जिन्दगीको कित्तामा । साधारण जिन्दगी भनुँ भने आफूलाई आधुनिक उपकरणको आकर्षण र प्रयोगको उपभोक्ता भइसकेको पाउँछु । एक्सप्रेस जिन्दगी भनुँ भने लाग्छ म साधारण जिन्दगीको मोहलाई त्याग्नै सक्दिनँ । के छ होला त साधारण जिन्दगीको आकर्षण ?

एक समयमा मैले केही महिलावादी संस्थाहरूमा गोष्ठी र छलफलहरूमा भाग लिन पाएकी थिएँ । सचेत महिलाहरूका लेख, उच्च तहका सहभागिताहरू, जागरणको लागि गरिएका सराहनीय कामहरू, साहसका कथाहरूलाई जब म सम्झन्छु त्यतिबेला हाम्रो जस्तो देश, परिवेश र समाजमा रहेर ती नारीहरूले गरेका कामहरूप्रति म श्रद्धाले शिर झुकाउँछु तर पनि कताकता यहाँ पनि साधारण जिन्दगी र एक्सप्रेस जिन्दगीका भिन्नता झुल्के जस्तो लाग्छ, जसको परिभाषाले विज्ञापनमा भन्दा फरक सङ्केत राख्दछ मलाई ।

एकपटक एउटा छलफल कार्यक्रम थियो । त्यसको मुख्य विषय ग्रामीण महिलाहरूलाई कसरी सचेत गराउने, अमुक गाउँका महिलाहरूलाई जागरणको लागि कुन प्रकारको योजना लिएर जाने र कसरी ती योजनाहरूलाई प्रयोगमा ल्याएर उनीहरूको कष्टकर जीवनलाई सरल बनाउने भन्ने थियो । म एक पर्यवेक्षक, सहभागीहरूका छेउमा बसेर बडो उत्कण्ठासँग उनीहरूको छलफललाई सुनिरहेकी थिएँ । छलफलमा सहभागी सबैजसो महिलाहरू यति शिक्षित थिए कि लाग्थ्यो उनीहरूको मातृभाषा नै अङ्ग्रेजी हो र नेपाली दोस्रो भाषा, छलफलपछि मैले एउटा सानो जिज्ञासा राखँे । भनेँ, “तपाइँहरूका योजनाहरू अति नै प्रशंसायोग्य छन् तर यति राम्रोसँग, यति छिटोसँग बीस प्रतिशत मात्र कनिकुथी नेपाली मिसाएको अङ्ग्रेजी बोलीलाई हाम्रा गाउँले दिदीबहिनीहरूले के बुझ्लान र ?

वातावरणमा मौनता छायो । मलाई उनीहरूले यति धेरै वाक्यहरू फरर नेपालीमा बोल्न सक्ने एउटा अद्भूत प्राणी नै ठाने हुन् । हामीबीच एकछिन अचम्मको चुपचाप छायो । हूलबाट बिस्तारै एउटा आवाज निस्क्यो, “त्यस्तो हुँदैन । हामी त्यहाँ गएपछि नेपालीमा नै बोल्छाँै” ।

मलाई अझै चित्त बुझेको थिएन त्यसैले भनिहालँे, “हामीले राजधानीको सुविधा पाएका छौँ । राम्रो शिक्षाको अवसर पनि पाएका छौँ । त्यसैले हामी हाम्रा गाउँका दुःखी, निरक्षर, शोषित पीडित दिदीबहिनीहरूलाई सहयोग गर्न, सिकाउन जाँदैछौँ तर अहिले यहाँ पनि हामी सबै नेपाली दिदीबहिनी नै छौँ । त्यसैले छलफल नेपाली बोलीमा गर्दा झनै राम्रो हुँदैन र ? अहिले यहाँ विदेशी त कोही पनि छैन नि, हैन र ?”

त्यसपछि मैले फेरि त्यस्ता छलफलमा सहभागी हुने मौका पाएकी छैन । दोस्रो प्रसङ्ग मेरो लागि झनै अपि्रय भएको छ । एउटा संस्थाको छलफल कार्यक्रम थियो । मेरो लागि यो संस्था र यसका सदस्यहरू झनै आदरणीय थिए । कार्यक्रम एकघण्टा ढिलो सुरु हुनु त हाम्रो लागि कुनै नौलो कुरा होइन तर यहाँ त दुई घण्टा ढिला भइसकेको थियो । दुई घण्टाको प्रतीक्षापछि झण्डै एकैपटक ह्वार्र सहभागी सदस्यहरू आइपुगे । यतिबेला पनि म पर्यवेक्षककै रूपमा थिएँ । अहिले काठमाडौँमा गोष्ठी, सभा, समारोह, भोजभतेर अथवा कुनै पनि कार्यक्रममा ढिलो पुग्न छुट छ, आनन्दसँग । एउटै शब्दले त्यो छुटको लाइसेन्स दिलाइदिन्छ । त्यो हो ट्राफिकजाम । मैले सोचेँ, दिदीबहिनीहरू घरको धन्दामा अल्झे हुनन्, केटाकेटीको रोड्याइँमा फसे हुनन् अथवा अफिसबाट चाहेको समयमा निस्कन पाएन हुनन् । अझ भनौ अन्य कुनै कारण परेको होला तर निहुँ त उही ट्राफिक जाम नै देखियो त्यहाँ पनि ।

मेरो सोचाइ गलत सावित भयो । सहभागीहरू ढिला आइपुग्नाको कारण सुनेपछि म निराशाको पोखरीमा झ्वाम्मै खसेँ । नढाँटी भन्दा यो नेपालका शिक्षित र बौद्धिक वर्गका नारीहरूको जमघट थियो ।

देशभरका शोषित, पीडित, अशिक्षित, दलित नारीहरूको सामाजिक, आर्थिक, राजनीतिक उत्थानको लागि नारीहरू नै देशको निणर्ायक तहमा हुनु जरुरी छ भन्ने महसुस गरिएको समय थियो । त्यसैले नयाँ नेपालमा, गणतान्त्रिक नेपालमा नारीहरूले संसद्मा, संवैधानिक निकायमा, उच्च निणर्ायक पदहरूमा कस्तो सहभागिताको लागि आवाज उठाउने, कुन नीतिको उपयोग गर्ने र कसरी महिला वर्गको हकहित समानता र संलग्नताको कुरालाई अगाडि लैजाने भन्ने विषयको गम्भीर छलफल कार्यक्रम थियो त्यो तर “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने उखान झण्डै चरितार्थ भएजस्तै भयो त्यहाँ ।

कुनै एक भारतीय बाबा, धर्मगुरु अथवा महाराजजी यस्तै कसैको शुभ आगमन भएको रहेछ नेपालको राजधानीमा । उनको अमृतमय प्रवचनको अगाडि अन्य कुराको के महत्व पहिले आइपुगेका सहभागीहरू घण्टौँ पर्खिनु परेकोले थकित भइसकेका थिए भनेपछि आएका सहभागीहरू शरीर एक आसनमा बसेर थकित भए पनि भर्खर बाथटबबाट निस्किएर फूर्तिला भएजस्तै प्रफुल्लित देखिएका थिए ।

लौ अब सुरु भयो ती महाराजको व्यक्तित्व प्रवचन, अनि तिनको तेजिलो अनुहार, चम्किलो छाला, जादूमय बोली, सुन्दर आँखा, आदि आदि ।

म उनीहरूको व्यक्तित्वपूर्ण प्रवचन सुन्न भुलेर त्यो महत्वपूर्ण संस्थाको भविष्यको विषयमा पो सोच्न पुगेँछु । देशविदेश घुमेका, उच्चशिक्षा प्राप्त हाम्रा विदुषीहरूको अग्रगामी योजनाहरूलाई समेत नगण्य बनाइदिन सक्ने कस्ता शक्तिशाली रहेछन् ती अर्धन·ा बाबा । धन्य हुन् ती बाबा र धन्य हाम्रा बुद्धिजीवीहरू ।

मेरो आसय धर्म नमान्नु भन्ने कदापि होइन । म आफैं पनि पूजापाठ र भगवान्मा आस्था राख्छु तर त्यसको पनि आफ्नै सीमा हुनुपर्छ भन्ने मेरो तर्क हो । हाम्रो लागि वर्तमानको समय महत्वपूर्ण हो र त्यसको आधारमा भविष्यको चित्र आरेखित गर्नुपर्छ । कुन समयमा कुन काम बढी महत्वपूर्ण हो भन्ने कुरा छुट्याउनुपर्छ र त्यसैअनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता हो । म हाम्रा उच्चशिक्षित विद्वान् दिदीबहिनीहरूलाई हृदयदेखि नै भन्न चाहन्छु, साँच्चै तपाइँहरूको सानो विवेक र सहयोगले पनि पिछडिएका दुःखी, शोषित, पीडित देशभरिका महिलाहरूको हकहितको सम्बर्द्धन हुन्छ भन्ने त्यो नै महत्वपूर्ण काम हो र जीवनको सार्थकता पनि त्यही हो । कुनै महाराजजीहरूका प्रवचनहरूले तपाइँहरूलाई जति प्रफुल्लित तुल्याउँछन् त्योभन्दा सयौँ गुणा बढी आत्मसन्तुष्टि समाजको उन्नति र हितको कामले गर्नेछ । यो कुरा पक्का हो ।

यसै सन्दर्भमा म अर्को एक घटनालाई पनि सम्झिरहेँछु । एकपटक यस्तै एक अमुक बाबाको लागि आश्रम बनाउन त्यो पनि भारतीय भूमिमा, चन्दा सङ्कलन गर्ने काम तीव्ररूपमा भइरहेको थियो । धेरै चन्दा उठिसकेको पनि थियो ।

एउटा सूचना उड्दै मेरो कानमा पनि ठोकिन आइपुग्यो- चन्दा चार अङ्कभन्दा कमको हुनु नहुने भन्ने । मेरो मनमा लाग्यो यसरी उठेको चन्दा भारत लगेर आश्रम नामधारी महल बनाउनुभन्दा यहीँका बालबालिका अथवा वृद्धवृद्धाको कल्याणको लागि उपयोग गरे कस्तो राम्रो हुने थियो ।

घुम्दै फिर्दै एक दिन चन्दाको रसिद मेरो छेउ पनि आइपुग्यो । म नास्तिक नभए पनि यस्तो कुरामा भने त्यति सहज हुन सक्दिन तर चन्दा भनेको एक रुपियाँ पनि महत्वपूर्ण हुन्छ भन्ने अनुभव बटुलिसकेकी थिएँ मैले त्यो बेलासम्म ।

संवत् २०५९ सालको मङ्सिर २३ गतेको दिन तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजार जलेर नष्ट भयो । काठमाडौँ बस्ने तेह्रथुमवासीहरूले केही सहयोग गर्ने भावनाले चन्दा उठाउने निर्णय गरे । म त्यो आगोले जलेर भष्म भएको म्याङ्लुङ बजारलाई हेरेर भर्खरै काठमाडौँ फर्केकी थिएँ । त्यसैले मेरा आँखामा झिलिमिली म्याङ्लुङ बजार र अग्निले स्वाहा पारेको उजाड म्याङ्लुङ बजारका दुई विपरीत चित्र झल्झली आइरहेका थिए । म पनि दुई दिन अफिसबाट बिदा लिएर चन्दा सङ्कलन गर्ने काममा जुटँे । त्यतिबेला हामीले फैलाएको ठूलो चन्दा पात्रमा एक रुपियाँ मात्र पनि खसेको देख्दा मन खुसी हुन्थ्यो ।

फेरि अगाडितिरै फर्किऊँ । अमुक मन्दिर बनाउँने चन्दाको रूपमा मैले हात्ती त हैन एउटा गैंडा अगाडि सारेँ । त्यो तीन अङ्कको रकमले गर्दा हाम्रो मित्रता नै धरापमा पर्यो । मलाई आफ्नो साथीको त्यो प्रतिक्रिया देखेर असाध्यै नरमाइलो लाग्यो तर त्यस किसिमको कामको लागि मागेजति चन्दा नदिएकोमा मलाई पछुतो भने लागेन ।

मैले अनुभव गरेको छु यस्ता बाबा, महाराजहरूको आगमन भएपछि हाम्रा कतिपय दिदीबहिनीहरूको दैनिकीमा एउटा सुनामी नै आउने गर्छ । घर, परिवार, केटाकेटी, अफिस, उत्तरदायित्व एकातिर र बाबा, महाराजहरू एकातिर राखेर तौलँदा सायद दोस्रो कित्ताकै ओज बढी हुन्छ ।

विज्ञापनको दृश्यलाई ओझेलमा राखेर म केवल शब्दहरूलाई केलाउँछु । घर, परिवार, चुलाचौका, छोराछोरीकै मात्र वृत्तवरिपरि फन्को मारिरहेको जीवनलाई साधारण भन्नु हो भने पानी, बत्ती, टेलिफोन, स्कुल फिस बुझाउनेदेखि लिएर घर र अफिस, अझ त्यसमाथि बाबा-महाराजहरूका प्रवचनसमेत भ्याउनुपर्ने जिन्दगीलाई एक्सप्रेस जिन्दगी त भन्नुपर्ला नि । यही एक्सप्रेस जिन्दगी चलाउने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *