‘अङ्कल तपाइँ के गर्नुहुन्छ ?’ एउटा अप्रत्याशित सोधाइले मलाई झस्क्याउँछ ।
‘नानी, म पत्रकारिता गर्छु,’ मेरो सरल जवाफ हुन्छ ।
सुदूर जिल्ला दार्चुलाको टुँडिखेलमा एउटा दुई दिवसीय कार्यक्रममा म पनि उपस्थित छु । राजधानीबाट गएका अरू केही साथी मसितै छन् । कार्यक्रममा दर्शक बनेका सयौं स्थानीय जनहरूमध्ये दुइटी किशोरी हाम्रो नजिक आइपुग्छन् । दुवै जना आफ्नो किशोरवयलाई छोडेर तरुणाइको मनमोहक सङ्घारमा उभिएका छन्, जुन कुरा उनीहरूको शारीरिक अवस्थाबाटै लख काट्न सकिन्छ । दुवै जना सुन्दर, स्वस्थ र भद्र देखिन्छन् । उनैमध्ये एउटी मसँग कुरा गरिरहेकी थिई ।
‘पत्रकारिता भनेको के ?’ उसको लगभग अबोध प्रश्न छ ।
‘ए, म लेख्ने काम गर्छु । समाचार लेख्छु, पत्रपत्रिकामा लेख्छु ।’
‘त्यसो भए मेरा लागि एउटा कविता लेखिदिनुस् न त !’
‘ला, अहिलेको अहिले नै त कविता लेख्न सक्दिन नानी, बरु समाचार, रिपोर्ट हो भने भर्खरै लेखिदिन्छु ।’ (कविता लेख्न केही मुड पनि त हुनुपर्यो नि ) !
‘छ्या तपाइँ पनि कविता कोर्न नसक्ने के पत्रकार…’ उसले च्याँठिदै भनी र मेरो छेउबाट उठेर अन्यत्र गई पनि हाली । म उसलाई भन्न चाहिरहेको थिएँ- शब्दहरू थुपारेर मात्र कहाँ हुन्छ र, कविता बन्न त त्यसमा केही भाव हुनुपर्छ, केही सार हुनुपर्छ, र कविता बन्न त शब्दहरूमा जीवनको कुनै न कुनै रूप बोलेको हुनुपर्छ तर ऊ त एक दुई तीन पाइला गर्दै मेरा आँखा अगाडिबाट अदृश्य हुँदै गइसकेकी थिई ।
टुँडिखेल- जहाँ हामी थियौँ- माथि उचाइमा थियो, कार्यक्रममा व्यस्त र मस्त थियो । त्यहाँभन्दा अलि तल, शैलपुत्री महाकाली नदी देख्न सकिन्थ्यो, जसमा हिउँजस्तो चिसो पानी एकतमास बगिरहेको थियो । मलाई ठम्याउन गाह्रो भएको थियो- हिउँ पग्लिएर बगिरहेको महाकालीको पानी र मेरो मनमध्ये कुन बढी चिसो भएको थियो होला समयको त्यस खास क्षणमा ।
र, अहिले -ठीक त्यसरी जसरी मालवाहक जहाज र गाडीहरू हुन्छन्, ढुवानी वाहकहरू हुन्छन्- म यतिबेला स्मृतिवाहकमा फेरिएको छु । पत्रवाहकले चिठीपत्र यताउता गराउँछ, संदेशवाहकले सन्देस यताउता गराउँछ, म भने आफैभित्र परिभ्रमण गरिरहेछु अनि वरदेखि परसम्म र यहाँदेखि त्यहाँसम्म स्मृतिवाहन गरिरहेछु । सबैका आ-आफ्नै स्मृतिहरू हुन्छन्, राम्रा-नराम्रा सबैथरि स्मृतिहरू हुन्छन्, त्यसैगरी मेरा पनि छन्, र, त, अहिले म आफ्नै स्मृतिहरू ओसारपसार गरिरहेको छु ।
मलाई थाहा छ- यो अनुभवहरूको जुलुस हो, कुनै ‘प्लेजर ट्रिप’ होइन, र, ‘ट्रयाजिक ट्रिप’ पनि होइन । यहाँ सुखानुभूतिहरू कम हुन सक्छन्, दुःखानुभूतिहरू अथाह । आफ्नै अतीतका अँध्याराहरू आँखासामु आएर पसारिन्छन् अनि मन-मस्तिष्क अनियन्त्रित र अनियोजित विचार-गुफाहरूभित्र मडारिन थाल्छ । सायद कल्पनाले पखेटा फटफटाउन थाल्छ र अन्तरदृष्टि भावतन्त्रहरूले भरिन पुग्छ ।
म एक नेपाली । एक स्वतन्त्र मुलुकको एक स्वतन्त्र नागरिक । समय-समयको कुरा हो, कुनै समय म फगत रैती थिएँ, अनि पछि म प्रजा भएँ । अचेल नव गणतान्त्रिक देशको नागरिक बनेको छु । मेरो जीवन-अनुभवले अनौठो नियति बेेहोरेको छ किनभने मुलुकको उत्पत्तिकालदेखि नै म यहाँको शासक पनि हूँ र शासित पनि । नेपाली इतिहासको उषाकालदेखि, आजभन्दा अढाइ-तीन सय वर्ष पहिलेसम्म पनि, यहाँ साना-तिना, भुरे-टाकुरे अनेकानेक राजा र राज्यहरू थिए । राजा पृथ्वीनारायण शाहले गरेको एकीकरण अभियानपछि अहिलेको ‘सुन्दर, शान्त, विशाल’ नेपाल राज्य अस्तित्ववान् भयो । (उनी दृश्यपटलमा नदेखिएका भए सायद अरू नै कोही योद्धाले, उनको ठाउँमा, इतिहासमा भविष्यको यो गोरेटो कोर्ने थियो होला ! युगहरूको भाका हो- इतिहासको प्रवाहलाई कसैले रोक्न सकेको छैन ! र, सक्दैन पनि !) ।
इतिहास बोल्दछ, पुस्तकका पन्नाहरूमा- यो देशले कहिल्यै प्रत्यक्ष विदेशी दासताको साङ्लो बेेहोर्नु परेन, कसैको पराधीन हुनु परेन, कसैसित निहुरिनु परेन । परतन्त्रताको पीडा कस्तो हुन्छ, हामीले अनुभव गर्नै परेन तर के यसो भन्दैमा म उबेलादेखि नै, साँचो अर्थमा, स्वतन्त्र रहँदै आउन पाएको छु त ? मैले यो स्वतन्त्रताको सीमारेखालाई कहाँबाट सुरू भएको मानीलिऊँ- सुगौली सन्धिमा हस्ताक्षर भएको क्षणलाई प्रारम्भ बिन्दु मानूँ, अथवा, त्यस खास क्षणभन्दा ठीक पहिलेसम्मको समयावधिलाई ? के मानी लिउ”m- सन् उन्नाइस सय पचासको नेपाल-भारत ‘शान्ति तथा मैत्री सन्धि’ ले मेरो स्वतन्त्रता र स्वाभिमानको जगेर्ना गरेको छ ? कहाँकहाँ गएर खोजुँ म यो हाम्रो स्वतन्त्रता- गोरखा राइफल्स र गुर्खा रेजिमेन्टहरूमा ? दशगजामा उभिएर ? टनकपुरमा तन्किएर ? अथवा, गण्डकी, कोशी र महेशपुर-सुस्ताहरूमा सुस्ताएर ? या फेरि, कालापत्थर र टिङ्कर भञ्ज्याङमा बिसाएर ? वा फेरि, कविहरूसित भाका मिलाएर- यही हो नेपाल… नेपालीको घर… नेपालीको घर…!
शङ्काका असिनाहरूले बेलाबखत मलाई रन्थन्याइदिन्छन् । छहारी फेला पर्दैन, र म ओत खोज्दै फेरि इतिहासको छायाँमुनि पुग्छु । आफैलाई लाग्छ, यो ओत त्यस्तै हो जस्तो शुतुरमुर्गले आफूलाई लखेटिरहेका बैरीहरूबाट लुक्न बालुवामा टाउको घुसार्ने गर्छ । समयले आफ्ना पाखुरा फिजाउँछ र मलाई आश्रय दिन्छ र थाल्छ अतीतका गौरवपूर्ण कथाहरू सुनाउन ।
म एक नेपाली । एक स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिक । मेरो अतीत कहाँबाट सुरू हुन्छ ? ‘ने मुनिबाट पालित’ भएकोले, अथवा, ‘गाईपालक ग्वालाहरूबाट संरक्षित र पछि अपभ्रंश भएर नेपाल नाम रहन गएको’ अथवा, ‘धेरै ऊन पाइने ठाउँ’ भन्नेजस्ता इतिहासका ठट्टाहरूबाट ? (भुरे-टाकुरे राजा रजौटाहरू पनि उदाइनसकेको समयमा, ऋषि-मुनिहरू कुनै डाँडा वा थुम्का वा गुफा वा एकान्त जङ्गलमा धुनी लगाएर बस्ने समयमा कसरी एउटा ऋषिले समग्र देशलाई पाल्छन् ? ऋषिद्वारा पालित आश्रम हुन्छ, देश होइन । र, नेपाल कहिल्यै आश्रमको स्वरूपबाट विकसित भएको कुनै ऐतिहासिकता फेला परेको छैन) । कवि भूपि शेरचनलाई सम्झन्छु, एकछिन टक्क अडिन्छु र गम खान्छु- उनले किन लेखे होलान् ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ भन्ने चर्चित कविता !
उफ ! यस्तो सोचाइले मथिङ्गल हल्लाइदिन्छ, र कहिलेकाहीँ त लाग्न थाल्छ- हामी केवल किंवदन्तीहरूमा बाँचिरहेका छौँ, पौराणिकतामा बाँचिरहेका छौँ, तथ्य र तथ्यहरूको खोज अनि जगेर्नाप्रति हामीलाई कुनै मोह छैन । सभ्य र सुसंस्कृत समाज त त्यो हो, जसले आफ्नो समयका खासखास घटनाहरूपछिका सन्ततिलाई जानकारी दिन प्रयास गरिरहन्छ । त्यस निम्ति सधैँ प्रयत्नशील पनि रहन्छ । व्यक्ति एवं समाजको उत्पत्ति, तत्काल प्रचलित रीतिरिवाज र विद्यमान अन्य कुराका रहस्य पत्ता लगाई भविष्यका लागि संरक्षण गर्न हमेशा उद्यत रहन्छ तर सायद हामी नेपालीहरूले हुर्काउँदै र बोक्दै आएको विराशत त्यस्तो होइन, बरू के हो भने, आफ्नै दर्शन (?) र सपनाहरूमा मस्त भई रमाउने र बाहिरको संसारको कुनै वास्ता नगर्ने । त्यसैले लाग्छ सायद हामी भविष्यका लागि पनि बाँचिरहेका छैनौँ, अझ, वर्तमानका लागि त बाँचेकै छैनौँ । हामी फगत बाँचिरहेका छौँ किनभने हामीले एकबारको मानव चोला पाएका छौँ । मानिसको जीवन तीतो औषधि हो- खान मन लागे पनि नलागे पनि खानै पर्ने ।
फेरि, म अनुभवहरूको जुलुसमा मिसिन पुग्छु, जहाँ अनेक प्रश्नहरू मेरा वरिपरि हिँडिरहेका हुन्छन्- मेरो विगत के हो ? मेरो आगत के हो ? म बाँचिरहेको क्षण के हो, र कस्तो हो ? के साँच्चै बौद्ध मुनि महामञ्जुश्रीले चोभारको डाँडो काटेरै ‘नेपाल खाल्डो’ मा जीवनको जग बसालेकै हुन् त ? के नेपाल खाल्डो भएर बग्दै आएका बागमती, विष्णुमती र टुकुचाहरू हाम्रै अतीत र वर्तमानका साक्षी होइनन् ? नेपाल खाल्डोभन्दा बाहिरैबाट बग्ने मेची, कोशी, महाकाली, गण्डकी, राप्तीसमेतका तमाम शैलपुत्रीहरू हाम्रै विगत र वर्तमानका प्रत्यक्षदर्शी होइनन् ? सगरमाथाको नेतृत्वमा उत्तरतिर ठडिएका श्वेत धवलक्रीटहरू हाम्रै हिजो र आजका अटल गवाह होइनन् ? के मेरो अतीत, साँच्चै नै, गौरवपूर्ण कथाहरूले सम्पन्न छ त ? हाम्रा पाखा पखेरा, तराई, पहाड र हिमालहरू किन केही बोल्दैनन् ? किन ?
बेलाबखत, अनुभव बोल्ने गर्छ र म सोच्ने गर्छु- मैले आजसम्म जे-जस्तो अवसर पाएर जेजति पढ्न सकेको छु, जे जति ज्ञानगुनका कुराहरू सिक्न सकेको छु, के ती सबै मैले टाउकोमा भारी बनाई कुनै फेरिवालाले जस्तै यताउता बोकेर हिँड्ने मात्र गरिरहेकेा छु ? के त्यो ज्ञानलाई मैले आफ्नो जीवन-दर्शन बनाउन सकेँ ? के त्यो ज्ञानलाई मैले जीवनका अँध्याराहरू छिचोल्ने दियालो बनाउन सकेँ ? के मैले आर्जेको ज्ञान र पाएको शिक्षाले समाज र देशवासीको दशा र दिशामा सकारात्मक परिवर्तन ल्याउन सकेँ ? अनि मैले पढेर, ज्ञान आर्जन गरेर के पाएँ त ? के फगत पढाइका लागि पढाइ मात्र ? के फगत ज्ञानका लागि ज्ञान मात्र ? के फगत ‘स्वान्त सुखाय’ मात्र ? हो, म बिल गेट्स र वारेन बफेट बनिन । गेहेन्द्रशमशेर वा उपेन्द्र महतो नै पनि बन्न सकिन किनभने मैले लेखक बन्ने बाटो समातेँ । मैले लक्ष्मीप्रसाद देवकोटालाई, हृदयचन्द्रसिंह प्रधानलाई, पारिजातलाई र ध्रुवचन्द्र गौतमलाई आफ्नो आदर्श बनाएँ, त के भूल गरेँ ? शङ्कर लामिछानेलाई, भूपि शेरचनलाई र कृष्णचन्द्रसिंह प्रधानलाई आफ्नो ‘आइकोन’ बनाएँ, त के गल्ती गरेँ ? के म उनीहरूको विपर्यासमा लाग्नु पर्ने थियो त ? मानौँ आफ्नै प्रतिरूप मेरा अगाडि उभिन आइपुग्छ र मलाई प्रश्नै प्रश्नहरूको चक्रवात्मा मिल्क्याइदिन्छ ।
निरुत्तर भई म फेरि अनुभवहरूको जुलुसमा हराउन थाल्छु ।
म एक नेपाली । एक स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिक । एक नेपाली शासक र अर्को नेपाली शासित भएको देश तर जहाँ शासक हुनेहरूले डर धाक र धम्कीले शासन चलाउने हठ कहिल्यै परित्याग गरेनन्, अनि शासित हुनेहरू निरन्तर डराएर कहिल्यै थाकेनन् । न शासक भइखाएकाहरूले राज्यप्रति समर्पित विश्वास जगाउन सके (प्रयास नै भएन !), न शासित भएकाहरूले राज्यप्रतिको अविश्वास नै हटाउन सके । मानौँ, सधैँ एउटा दूरी वा एउटा पर्खाल वा एउटा खाडल रहँदै आयो स्वदेशी शासक र स्वदेशी शासितबीच नै पनि । कारण के हुनसक्छ ? देश र देशवासीको स्तर उँभो उकास्ने चाहना र पेशागत अनुभव पृथक देखिए पनि यी कुरा एकआपसमा घनिष्ठ तवरले जोडिएका छन् । अनुभव बोल्छ- स्वदेशलाई बुझ्न स्वदेशी मुटु चाहिन्छ, आफ्नो देशलाई पढ्न आफ्नै आँखा चाहिन्छ । अरूको आँखा र अर्कैको चश्मा लाएर हेर्दा आफ्नो देशलाई हेर्न, पढ्न, जान्न, बुभ\mन र चिन्न सकिँदैन । कतै पढेको सम्झन्छु- कुनै देशको बौद्धिक उद्देश्य भ्रष्ट, लक्ष्यहीन र परावलम्बी छ भने सधैँ अन्य देशको भरमा मात्र आफ्नो देशको उद्दार हुने कल्पना गर्दै रमाउँछ भने, अनि ऋण-अनुदानसमेतका विदेशी सहायतामा आधारित योजनाहरूमा लीन रहन्छ भने त्यो देश र त्यस देशका जनसाधारणको हालत के होला ? ती सर्वसाधारणको अवस्था थप बिग्रँदै गएन भने, झन् बरबाद हुँदै गएन भने सायद त्यही मात्र पनि ठूलो कुरा मानिनु पर्ने हुन्छ ! अनि म आफैभित्र हराउन थाल्छु, आफैलाई लाग्न थाल्छ -यो अवस्था त, न कागको चाल न हाँसको, भन्ने स्थितिकै अभिव्यक्ति हुनुपर्छ !
अनुभवहरूको जुलुसमा यस्ता धेरै कुराहरू मिसिन आइपुग्छन्, अनेक पक्षविपक्ष सामेल हुन्छन् । जीवन मानौँ एउटा अविरल यात्रा हो- जहाँ अनुभवहरू, हरेक ‘यात्रु प्रतीक्षालय’ मा मानिसहरू ओर्लने र चढ्ने गरेजस्तै- आइरहन्छन्, गइरहन्छन् । यहाँनिर मलाई नोबेल साहित्य पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको सम्झना हुन्छ । उनी प्राचीनताका उच्च प्रशंसक थिए । उनी अक्सर भन्ने गर्थे- हाम्रा पुर्खाहरूले हाम्रालागि अरू सबै परम्पराहरू छाडेर गए, तर कुनै उच्च लक्ष्यका लागि ज्यान दिने परम्परा भने छाडेनन् । यहाँनिर, मलाई आफ्नो देशको इतिहासले मसित प्रश्न गरिरहेको पाउँछु- कुनै उच्च लक्ष्यका लागि ज्यान दिने परम्पराको त कुरै छाडौँ, यहाँ त देश र देशवासीको सर्वजन हितायको उच्च लक्ष्य र त्यसप्रतिको आस्थापूर्ण समर्पण नै पो कहाँ देखिएको छ र ?
जीवनबारे लेख्न के बूढो हुनै पर्दछ ? बुढ्यौली भनेकै परिपक्वता हो भने भन्नुपर्ने केही छैन तर यो यथार्थलाई म कसरी बिर्संु- आखिर बाँच्न त सबै बाँचेकै हुन्छन्, जिएकै हुन्छन् । मलाई लाग्छ, उनीहरू जीवन-अनुभवमा बूढो हुन सक्छन् तर जीवन दर्शन ? अहँ, जीवनदर्शन त कहिल्यै बूढो हुँदैन । जो बाँच्छन्, उनीहरूको बाँच्ने तरिका, जिउने स्तर र जीवन दर्शन अलगअलग हुनसक्छ तर फगत एकबार मात्र पाइने मानव जीवन उही हो । अनुभवहरूले यो जीवनलाई- बाँच्ने स्तरमा- पृथक्पृथक् देखाएका अवश्य हुन् तर जीवन आफैँमा पृथक् कहाँ छ र ? अनुभवहरू बोलेर मात्र कहाँ हुन्छ र ? जीवन बाँचेको आधारमा नयाँ अनुभवहरू सिर्जना गर्न सकिन्छ । सायद जीवनको सार पनि त्यही हो- लिन सक्यो भने जीवन अनुभव, लिन जानेन भने फगत अर्को एउटा हिजो, अथवा उहिले बितेको समय, जुन फर्केर आउँदैन । त्यसैले अनुभव सबै कुरा होइन, बाँचिरहेको वर्तमान ठूलो कुरा हो । जे छ, त्यो सबै वर्तमान नै छ । यही वर्तमानमा बाँच्न सक्नुपर्छ हामीले, यही वर्तमानमै बाँच्न सिक्नुपर्छ हामीले । यही वर्तमानले भविष्यको निर्धारण पनि गर्छ र अनुभवहरू सँगाल्ने आधार निर्माणको काम पनि ।
यति सबै लेखिसकेपछि, किनकिन लागिरहेछ, जीवन-अनुभवको लेखाजोखा गर्ने समय अहिल्यै भइसकेको छैन । धेरैधेरै कुराहरू त गर्नै बाँकी छन्, उमेरका अनेक खुड्किलाहरू चढ्नै बाँकी छन् तर पनि लाग्छ, जीवन भन्ने कुरा यस्तै हो- सधैँ अगाडि मात्र बढिरहने कुरा हो, एउटा त्यस्तो कुरा जुन कहिल्यै स्थिर हुँदैन, कहिल्यै गतिहीन र निष्त्रिmय हुँदैन । भोलि कहिल्यै आउँदैन- आज, एक दिनपछि, हिजोमा रूपान्तरित हुन्छ ! जति जिइयो, उत्ति अरू जिउन मन लाग्छ । लामालामा जीवन-बाटाहरू अझ तन्किँदै जान्छन्, दिनहरू साता र महिना गर्दै वर्षहरूमा रूपान्तरित हुँदै जान्छन्, अनुभवहरूको जुलुस पनि झन्झन् लम्बिँदै जान्छ ।
मैले तत्काल कविता कोरेर दिन नसक्दा मसित उदेक मान्ने तिमी किशोरी कहाँ छ्यौ, मलाई थाहा छैन । तिमीलाई मेरो सम्झना पनि छ वा मलाई पूरै बिर्सिइसक्यौ, मलाई त्यो पनि थाहा छैन तर म यति भने जान्दछु, तिमीले मसित ‘कविता कोर्न नसक्ने…’ भनेर जे भन्यौ- अरू जो सुकैले जस्तै- आफ्नो बुझाइअनुसार नै भन्यौ तर अचेल, जहिलेजहिले तिमीलाई सम्झन्छु, र तिमीसित भएका कुराहरूको सम्झना आउँछ, नानी, प्रत्येक पटक मेरो मनमा एउटा फरक प्रश्न उठ्ने गर्छ- जीवनबारे नबोल्ने निबन्ध पनि के निबन्ध ? के कविता ?
दर्लमडाँडा, पाल्पा
