Skip to content


दिनहरू छिचोल्दै जाँदा गणनाभित्र हजारौँपटक बरालिन्छ मस्तिष्क ! सोचाइका तह-तह महिना, हप्ता, बार, घण्टा, मिनेट, सेकेण्ड हुँदै घडीका कुनाकाप्चा जोतिन्छन् । हरेक काँटाहरूमा अडिएको मन फन्का मार्न थाल्छ, घुमिरहन्छ जिन्दगी ! घडीसँगै घुमिरहेको मेरो जीवनको हिसाब बुझेर अत्तालिन्छु कहिलेकाहीँ । कहिलेकाहीँ घडीको बाटो नापेर लामो सङ्घर्ष पढ्दापढ्दै बीचैमा रोकिन्छु अनि ठोकिन्छु क्रमशः छोटिँदै गएको आफ्नो पूर्ण यात्राको पूर्ण बाटो सम्झिएर !

घडीको सम्झना र यसैमा जोडिएर थपिँदै जाने प्रसङ्गले यसको आकृति र समयको हिसाब मात्रै बुझेजस्तो लाग्दैन । यसको सम्झनाले हिँडेका बाटाहरूमा अडिएर सोच्नै पर्ने पनि बनाइदिन्छ । पुराना दिनहरूमा फर्काएर रोकिदिन्छ । तीतामीठा अनुभूतिमा डुबुल्की मार्न सिकाउँछ । यस्तो लाग्छ घडीले जीवन पढ्न धेरै सिकाउँछ, जिन्दगी हिँड्न धेरै सिकाउँछ !

मेरो हातको घडीलाई हेरेर म आज मेरै हातका घडीहरूमा जोडिएको छु । मङ्गलबारे हटियामा सजाएर राखिएको प्लास्टिकका काँटाहरूको सामान्य संयोजन नै त थियो नि, मेरा हातमा भित्रिएको पहिलो घडी । म आमासँग घडी किन्न बजार पुग्थेँ । माथि पाँचथरतिरबाट आएका लिम्बूदाइहरूका चुरा पसलभरि सजाइएको हुन्थ्यो हामीलाई हुने चिटिक्क परेका साना घडीहरू । अघिपछि पिताजीका हातमा सजिएको घडीभन्दा फरक लाग्थ्यो त्यो घडी मलाई । मेरा पिताजीको घडी दुई भद्दा काँटाहरूका माझमा एउटा मसिनो तर मिलेको रातो काँटालाई वरिपरि घुमाउन सक्षम थियो । हरेक बिहान सात बजे दम दिनुपर्छ अनि यसरी चल्छ भन्नुहुन्थ्यो र सधैँ मलाई भित्र कोठाबाट ल्याउन अह्राउनु हुन्थ्यो उहाँ । दिनदिनका ओसारपसारले त्यो घडीका थुपै्र आदत र रूपगुणसँग बानी परेको थिएँ म । जब बजारमा घडी किन्न आमासँग चुरा पसलका अघि उभिन्थेँ अनि झस्किन्थेँ दुई काँटाका ती नचल्ने घडीहरूलाई देखेर ।

मङ्गलबारे हटियामा मैले धेरैपल्ट लिम्बूदाइहरूलाई प्रश्न सोधेँ- यो घडी किन चल्दैन ? भनेर । प्रतिउत्तरमा हरेकपल्ट उनीहरू रातको ठीक १२ः०० बजेपछि मात्रै चल्छ यो घडी भन्दथे । त्यतिबेला घडी चलेको हेरेर सुत्ने मेरा सबै प्रयत्नहरू विफल बने । बिहान सबेरैसम्ममा त चल्छ होला नि ! जस्तो लागेर छिटोछिटो उठी धेरैपल्ट त्यो घडी हेर्ने प्रयास गरियो तर घडी चलेको कहिल्यै देख्न पाइएन । जति छिटो उठेर हेरे पनि घडी आफ्नै पारामा उही काँटा लिएर थन्किएको हुन्थ्यो ।

तीन कक्षा पास भएर चार कक्षामा भर्ना भइयो । दुई महिनासम्मको लामो जाडो बिदाका सम्पूर्ण दिनहरू खेलेर बित्थे मेरा । आलुबारीका डिलडिल र अलैँची बारीका घारी चहारेर बित्ने ती मेरा सबै दिनहरूले हातगोडालाई पूर्णरूपले फोहोरमैलाको कालो साम्राज्यमा लुकाएर हेर्नै नमिल्ने बनाइदिन्थे । फागुनको पहिलो सातातिर तातोपानीले बेसरी माडेर साथीभाइका माझमा देखाउन मिल्नेसम्मको बनाइदिनुहुन्थ्यो आमा । त्यसपछि केही सन्तोषको सास फेरेर हामी उकालिन्थ्यौँ विद्यालयको ठाडो उकालो । यस्तो प्रक्रिया छ कक्षामा भर्ना हुँदासम्म चलेर सातौँ श्रेणीको थालनीतिरबाट बन्द भयो ।

चार कक्षामा भर्ना भएर विद्यालयमा नियमित भएको दोस्रो महिनातिर मेरा लागि साँच्चैको घडी आयो । भोजपुरतिरका कार्की थरका भाँडा व्यापारीसित मेरा पिताजीले त्यति बेला गाउँतिर खुबै चलेको दामी घडी त्यति बेलाको राम्रै मूल्य तिरेर लिइदिनु भएको थियो । त्यस बेला हाम्रातिर त्यस घडीलाई ‘सिको फाइभ’ भनिन्थ्यो । हिजोआज पनि सहरमा यस्ता घडीहरू थुपै्र देखेको छु मैले । मेरा पिताजीले मेरा लागि खरिद गर्नुभएको त्यो घडी आजसम्म पनि मेरो साथमै छ । सहरका मानिसहरू यस्तो घडीलाई के भन्छन् कुन्नि तर म भने अझैसम्म पनि यसलाई ‘सिको फाइभ’कै नामले बोल्दै छु ।

मैलाले पुरिएका मेरा हातलाई बेस्सरी घोटेर आमाले त्यसको वास्तविक स्वरूप निकाल्ने प्रयत्न गर्नुभएको थियो । त्यति मजाले सफा हुन त सकेको थिएन मेरो हात तथापि दामी घडी भिर्न पाउँदै थियो त्यसले । पूर्णरूपले मैला निखि्रएर सफा भएको हात मात्र त्यस प्रकृतिको घडीका लागि योग्य हुने उद्घोष पिताजीको रहिआएकै थियो । जेजस्ता कुराहरू अघि सरे पनि पिताजीले नदेखेका बेला मेरा लागि भनी खरिद गरिएको त्यो घडी मैले मेरो देब्रे हातलाई अर्पण गरेँ । त्यो घडी मेरो हातका लागि आकारमा पनि ज्यादै ठूलो ठहरियो । हात सानो, घडी ठूलो मात्रै होइन कि घडीको सुरक्षाको मस्तिष्क पनि मेरो विकास भई नसकेको ठहर अग्रजहरूले गर्नुभएपछि घडीको असुरक्षाको खतराले पिताजीले केही वर्षका लागि त्यो घडी मीरा दिदीलाई दिनुभयो । मीरा दिदीका हातमा त्यो घडी खुब सुहाएको थियो । हामी मीरा दिदीलाई समय सोधेर विद्यालय जाने तयारीमा आफ्ना विशृङ्खलित कार्यक्रमलाई घिसार्थ्यौं । समयको महत्त्व बुझनिसकेको मलाई घडीको महत्त्व त थाहै थिएन । पाई हालेको घडी फुत्किनु कुनै नरमाइलोको कारणै थिएन मेरा लागि । म आफ्नै तालमा थिएँ तर पनि साथीभाइले खाली पिरियडमा कक्षा कोठामा प्रदर्शन गर्ने विभिन्न जातका मिल्के घडीहरूले भने आकषिर्त गरिरहन्थे मलाई । मिल्के घडीको प्रभाव बोकेर घर फर्किएका दिनमा म आमालाई झझ्ियाउँथेँ त्यसकै कुराले । पहिलेको जस्तै राम्रो घडी अब अर्को साल ल्याइदिने आमाको आश्वासनले भने म चुपचाप थन्किन्थेँ ।

कक्षा छका लागि झोला उचालियो र थालियो अर्को श्रेणीको अर्को यात्रा । झोला उचालेको केही दिनमै आमाकै भनाइअनुसारको घडी पिताजीले मेरा हातमा लगाइदिनुभयो । त्यो त्यही घडी थियो जसलाई त्यस दिनसम्म मीरा दिदी आफ्नो हातमा सजाएर हिँड्दै हुनुहुन्थ्यो । मेरो हात त्यति बढिहालेको त थिएन तथापि यताउति मिलाएर अब मेरै पारिदिनु भयो त्यस घडीलाई मेरा पिताजीले । त्यसको सट्टामा मीरा दिदीले कस्तो घडी पाउनु भयो त्यो चाहिँ मलाई सम्झना छैन ।

नयाँ र राम्रो घडीसँग मेरा दिनहरू कुद्न थाले अब । समयको महत्त्व बुझे पनि नबुझे पनि घडी अनुसारको जीवन चल्न थाल्यो मेरो, विद्यालयमा समकालीन र अग्रज पुस्ताका थुपै्र साथीहरूका घडीसँग जोडिएका विभिन्न प्रश्नहरूका जवाफ फर्काउन व्यस्त हुन थालेँ म । विभिन्न व्यक्तिका विभिन्न विचारहरू पनि सुन्दै हिँडियो । ‘मान्छेभन्दा ठूलो घडी’ भन्ने धेरैको घडीप्रतिको प्रतिक्रिया अझै सम्झना छ मलाई । यो घडी कसले किनिदिएको ? भन्ने प्रश्न पनि धेरैको चलेकै प्रश्न थियो । मलाई देख्ने बित्तिकै सोधिने यो प्रश्नका प्रश्न्ाकर्ताहरू निसङ्कोच यो प्रश्न तेस्र्याउँथे मलाई । उनीहरूलाई थाहा थियो कि यसले यो घडी आफैँ किनेको होइन । उनीहरूलाई यो पनि थाहा थियो कि-योसँग यस्तो घडी किन्न सक्ने कुनै किसिमको क्षमता पनि छैन । मलाई त झन् प्रश्न र उत्तरको आशय थाहा पाउने सामर्थ्य नै कहाँ प्राप्त थियो र?

भविष्यमा आउने हरेक पाइलाहरूसँग जोडिएर हिँड्दै जाँदा घडी मात्रै होइन अरू पनि धेरै चिजबिज खरिदको सामर्थ्य मलाई प्राप्त हुनेछ भन्ने विचार यो मस्तिष्कमा कति डुले, कति खेले तर यो त सब भ्रम मात्रै पो रहेछ । मेरा पिताजीको खरिदको सम्पूर्णता भिरेर जसोतसो हिँड्दैछु आजसम्म म । पिताजीकै दुःखको आर्जन खाएर साँगुरो दिनगिन्ती जोड्दै छु म त । मेरा पिताजी मलाई मात्र होइन एक दर्जनको सङ्ख्यामा रहेको हाम्रो परिवारको सहज व्यवस्थापनमा खरो उत्रिनुभएको छ तर किन आजसम्म पनि मलाई यो एक्लो यात्रा घिस्याउन मुस्किल परिरहेको छ ? त्यसैले त यतिबेला, बेरोजगारी उत्पादनको मेसिन लिएर चिप्लेकीराको गति हिँडिरहेको यो राज्य दुखिरहेछ मेरो परिवेशको देबे्र दाहिने छिचोलेर ! आश्वासनको बीउ छरी भ्रम सपार्न अभ्यस्त शासकको भाषण र फेरिएको हरेक अनुहार चहर्याइरहेछ विवशताको सम्पूर्ण आयतन ढाकेर । म मेरा पिताजीले खाई नखाई मेरा पाखुरामा भिराइदिएको उही पुरानो घडीसँगै बीचैमा अडिएको छु रमिताको थरीथरी अनुहार हेरेर !

घडीको आवश्यकता र संरक्षणको ज्ञान नभएकै बखतमा दामी घडी पाएँ तर के हो ? र कस्तो हो ? चालै पाउन सकिँन । प्लास्टिक पोको पारेर लात्ते भकुन्डोको खुबै अभ्यास गरिन्थ्यो जानीनजानी त्यो बेला । त्यही अभ्यासका क्रममा दर्जनौँपटक पुर्जा भाँचेर थन्काएँ मैले घडीलाई । अघिपछि, कसले समय सोध्ला र बताउँला भएको मेरो मन पुर्जा भाँचिएको बेखबर घडी भिरेर हिँड्नुपर्दा ज्यादै सङ्कटमा पर्दथ्यो । अन्दाजीमा बोलेको समयको हिसाब अलमलमा परेका बेला, धेरैको आपत्तिजनक, घडी बिगि्रएको पो छ कि ! भन्ने शङ्काका आवाजहरू उर्लिन्थे ।

निधारभरि चिसो पसिना उमारी पिताजीको नराम्रो झापड खाने डरले पानीपानी भएर सकेसम्म लुकाउँथे घडी बिगि्रएको अवस्था तर कति दिन लुकाएर चल्थ्यो र ? एक दिन त खुलासा भएरै छोड्थ्यो अनि त परिहालिन्थ्यो साह्रै अप्ठ्यारो फन्दामा । घडीका यस्ता दर्जनौँ अप्ठ्याराहरूकै कारणले त होला नि, अझैसम्म घडीप्रति कुनै उत्साह नजागेको मेरो ! पछिपछि त घडीविना पनि चलिहाल्छ नि ! भन्नेसम्म पुगियो तर परीक्षा हलको लेखाइलाई घडीको अभावले ज्यादै अव्यवस्थित बनाइदिएपछि यसको महत्त्व प्रष्टिन थाल्यो ।

छिप्पिँदो उमेरको सिँढीका बीचमा रोकिएर मानिस घडीको महत्त्व र समयको वर्गीकरण सिक्दो रहेछ । समय बित्दै जाँदा बेकाममा बितेको समयको महत्त्व बुझँिदै जाँदो रहेछ । त्यसैले त होला नि, मेरा पिताजीले मलाई कलिलै उमेरमा घडी भिराएर समयको महत्त्व सिकाएको । मैले बुझ्न नसकेको समयको गति आज बल्ल थाहा हुँदै छ मलाई । एउटा अनुभवको राम्रो सङ्ग्रह तयार भएपछि म पनि मेरा पिताजीजस्तै मेरा सन्ततिलाई यसको महत्त्व पाखुरामा पहिर्याइदिनेछु सायद ! तिनीहरू पनि उसरी नै बेवास्ताले यसलाई भाँचकुँच पारेर थुपारिदिनेछन् कुनाकुनामा । हिँड्दै जाँदा बीचैमा रोकिएर फेरि सोच्नेछन् तिनीहरू । अर्को अनुभव भिराउने तयारीमा तिनीहरू पनि जुट्नेछन् । अर्को अनुभवसँगै अर्को बेवास्ता पनि थपिँदै जानेछ । यसैगरी चल्दै जानेछ घडीमा समय र जिन्दगीका हिसाबकिताबहरू ! घडी हिँडेर निक्लिएका समयका बाटाहरू !

मेरा पिताजीले मलाई घडी सिकाउने अभ्यास खुबै गर्नुभयो । दामी घडी किनेर सिकाउनुभयो, बिगि्रएका घडीहरू कलिला हातहरूमा सुधारेर सिकाउनुभयो, आफ्नै हातको भन्दा धेरै जेठो घडी सुम्पिएर सिकाउनुभयो तर मैले समय सिक्न सकिनँ अनि घडी पनि बुझ्न सकिनँ । केवल उरन्ठेउलो रहर उरालेर कुदिरहेँ अप्ठ्यारा बाटाहरूमा म र खसेँ उठ्नै नसक्ने गहिरो खोँचहरूमा । त्यसैको परिणाम आज अप्ठ्यारो गतिको अनिश्चित यात्रामा छरपष्ट छु म । जीवनको नबुझनिे हिसाब सोचेर आधी बाटोमा अलमल्ल छु म । यात्रामा पाइलैपिच्छेका अवरोधहरू देखेर छक्क छु म !

आज म आफ्नो जीवनको बिगि्रएको हिसाबकिताब आफ्नै बिगि्रएको छडीमा नियालेर यो देशको उल्टोे घुमिरहेको घडीलाई विचार गर्दैछु । समय सुधार्न अग्रसर हरेक अनुभवीको अनुभवमा प्रत्येकपल्ट उल्टो घुम्दै छ मेरो देशको घडी । हामी निरीहहरू निधारका रेखाहरूमा निचोर्दै छौँ हाम्रो भविष्य र सोच्दै छौँ घडी, समय र जीवन !

हिजो मेरो बाल मनस्थितिलाई छलेर घडी बेच्ने मङ्गलबारे हटियाका लिम्बूदाइहरूलाई नजिकै राखेर सोच्दैछु आज म । उनीहरू घडी बेच्न नचल्ने घडीलाई हामी निदाएपछि चल्छ भनिदिन्थे । आज हाम्रो घडी राम्ररी चलाउन भनी उत्रिएका खेलाडीहरू जतिसुकै बेला पनि हामीलाई निदाउन बाध्य तुल्याइरहेछन् । हरेकपल्ट बिगि्रएको घडी सपार्छु भनी उक्लिएको एक नयाँ पात्र घडीको उल्टो गति बढाएर ओर्लिएको छ यहाँ । यस्तैहरूको होडबाजीले हाम्रो समय अलमलमा परेको छ । हरेक पटक सुधार्ने आश्वासनमा थिचिएर लथालिङ्ग बन्दै भताभुङ्ग मोडमा छरपष्ट जीवन बाँचिरहेको छ हाम्रो घडी र हाम्रो समय !

घडीमा समय नापेर हिसाबकिताब हिँड्दै जाँदा तीन सय वर्ष ढिलो भई सकेको हाम्रो मायालाग्दो घडीमा समय पढेर मौनमौन बन्दै छु म । तीन सय वर्ष छिटो घडीको रूप, अवस्था र तरिकाले कोरलेका पन्ध्र मिनेट छिटो हिँड्ने घडीहरूमा ठोक्किएर हाम्रो अवस्था र इतिहास बुझ्दैछु म । वर्तमानको गणित झनै डरलाग्दो बनेर उभिएको छ मेरा अघिल्तिर ।

हाम्रो घडीको जसोतसो गति र यसको गतिको प्रतिस्पर्धा युक्तिवाल छिमेकीका करेसामा पसारो परेको छ । तिनै युक्तिवालका बुद्धिले चल्ने बनेको हाम्रो घडी, उल्टो दिशाको घुमाइले शिथिलशिथिल काँटाहरूमा खुम्चिएको छ । कुनै उक्किएर उतै टाँसिने अभ्यासमा फैलिएको छ । खेलहरूमा निचोरिएको आयतन बाँचिरहेछ हाम्रो घडी, साँचो समय पर्खिएर !

यतिबेला, भित्तामा आँखा जोडेर अलमल छु म । हरेक सेकेण्डका छ्याछ्याकहरूले नाघ्दै जाने मेरो उमेरका धर्साहरू गन्दै च्यापैच्याप छिर्दैछु म । साइत पर्खिएर घडीमा टोलाइरहेका अनुहारहरूसँग मिसिएर जानीजानी नजानेको अभिनयमा छु अनि भ्रममा अल्झाउनेहरूको खेल बुझीबुझी नबुझ्नेहरूको लहरमा छु । समय सर्दैछ काटाँहरू उछिनेर । म हेर्दैछु मेरो जीवनको मधुरो गति । उत्तरतिरको दु्रत गतिमा दौडिरहेको घडीलाई हेरेर मन आत्तिन्छ । दक्षिणतिरको आह्रारिसे भाकामा विकसित गति पछ्याइरहेको घडीलाई बुझेर मन तर्सिन्छ । सोचाइ तरङ्गहरूमा फैलिरहन्छ-फैलिरहन्छ, विचार जन्मिरहन्छ एकपछि अर्को प्रश्नै-प्रश्नहरूमा-हाम्रो घडी किन यसरी ढिलो गइरहेछ, हाम्रो भविष्य अलमलमा पारेर ? एउटा उत्तरको खोजीमा यी सबैसँग मन डुलिरहेछ निराशाको भुमरी छिचोलेर !

नयाँबजार, इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *