Skip to content
KrishnaDharabasi


छापामार युद्धमा सामेल भएका युवायुवतीहरूका बारेमा युद्धबाहिर रहेको समाजले जहिले पनि रहस्यमयी अनुमान गरिरहेको हुन्छ । खास गरी उनीहरूसँग एकप्रकारको अज्ञात त्रास अनुभव गरिरहन्छ । छापामारहरूमा पनि जसका लागि लडिरहेका हुन्छन्, उनीहरूलाई नै तर्साएर आनन्द लिने बानी परेको देखिन्छ । हतियार साथमा भएपछि एकप्रकारको दम्भ हुनु त स्वाभाविकै हो । विजय मल्लको ‘कृष्णे र खुकुरी’ कथा एउटा सुन्दर बिम्ब हो हतियार दम्भको ।

तर यथार्थमा छापामार जीवनमा गएका युवाहरूभित्रका पीडा समस्या र द्वन्द्वात्मक भावुकताको अध्ययन छुट्टै तरिकाले गर्नुपर्ने देखिन्छ । उनीहरू छापामार दुनियाँमा जानुका पछि दबिएर रहेका कारणहरूको समाजशास्त्रीय अध्ययन आनावश्यक छ । अहिले दस वर्षे जनयुद्ध समापनको घोषणा गरिएको तर छापामारहरूको व्यवस्थापन हुन नसकेको समय छ । त्यसो त माओवादीइतरका अरू थुप्रै छापामार संगठनहरू अझै सक्रिय अवस्थामा छँदै छन् र त्यतातिर आकषिर्त भइरहेको युवा जमात छँदै छ । द्वन्द्व व्यवस्थापनका लागि सक्रिय भएका संगठन तथा व्यक्तिहरू बाह्य आर्थिक स्रोतका आन्तरिक उपभोक्ताभन्दा बढी देखिँदैनन् । यो शान्ति प्रक्रियाको दोसाँधेकालमा जति सक्रियतापूर्वक यस विषयमा सोचिनु र अध्ययन गरिनुपर्थ्यो त्यसप्रकारको काम हुनसकेको छैन । यसबाट थाहा हुन्छ- हाम्रो देशमा गम्भीरतापूर्वक कुनै पनि कुरालाई हेर्ने शैलीको विकास भएकै छैन ।

सन्दर्भ भर्खरै रत्न पुस्तक भण्डारबाट प्रकाशित भई मेरो हातमा आइपुगेको पुस्तक ‘छापामार युवतीको डायरी’ सँग छ । तारा राई नामकी एक किशोरीको छापामार जीवनको अनुभव समेटिएको यस पुस्तकले थुप्रै प्रश्नहरू उभ्याएको छ । पुस्तकभित्र उनले तीन महिना उन्नाइस दिन मात्र छापामार समाजभित्र बिताएको स्मरण गरेकी छन् तर छापामार जीवनमा प्रवेश गर्नुअघिका पारिवारिक, सामाजिक र वैयक्तिक मनोविज्ञानको साह्रै सरल अभिव्यक्ति पढ्न पाइन्छ । हाम्रो ग्रामीण जीवनभित्र रहेका आर्थिक, पारिवारिक, सामाजिक अभाव, गरिबी र भेदहरूबाट बालमस्तिष्कमा कस्तो प्रभाव परेको हुन्छ र त्यसले खोजेको निकासको मार्गको सुरुङ कुन दिशातिर खुल्छ भन्ने संकेत बुझ्न सकिन्छ ।

कक्षा ९ मा पढ्दापढ्दै १६ वर्षको उमेरमा ‘सबैजनाले हिँड्ने कुरा गरे, मनमा एक किसिमको उमंगजस्तो भयो र कता के भन्ने राम्ररी नठम्याएरै हुलमुलमै हिँडिदिएँ ।’ यति सजिलै त्यति अप्ठ्यारो बाटोमा जान प्रेरित हुने किशोर मानसिकतालाई यथार्थताको ज्ञान दिने वातावरण तयार नभए यस्ता गैरजिम्मेवारपूर्ण यात्रामा आउने पुस्ता पनि निरन्तर गइरहनेछ । हरेक संगठनको एउटा ‘मिसन’ हुन्छ । प्रभावित गर्न सक्ने विषयहरू हुन्छन् तर तिनका निश्चित लक्ष्यका प्यादा भएर सारा जीवन बर्बाद भएको थाह पाई पश्चात्ताप गर्ने भावी समाजलाई कसरी सम्झाउने ।

तारा राईले आफ्नो तीन महिना उन्नाइस दिनको मात्र अनुभवलाई पनि यो एउटा पुस्तकमा लिपिबद्ध गर्दा यतिको रोचक, कौतूहल र पीडादायी अनुभूति दिलाउन सक्छ भने दस वर्षसम्म निरन्तर लडेकाहरूसँग कस्ताकस्ता पीडा र वेदनाका कथा होलान् ? उनीहरूभित्रैका आन्तरिक समस्यादेखि शत्रु पक्षसँगका युद्धका कति रहस्य होलान् ?

आफूले हतियार चलाउनु नपरेको, सांगीतिक क्षेत्रमा काम गर्नुपरेको, मुटुको रोगले पीडित भएको, सेनाको कब्जामा परेपछिको आदि अनुभवलाई साह्रै नै आकर्षक र सरल ढंगले व्यक्त गरिएको छ । पूर्ण व्यवहारको अत्यन्तै मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

१६ वर्षको कलिलो उमेरमा आफ्नो सुनौलो प्राज्ञिक भविष्य निर्माण गर्ने बेलामा युद्धमा सामेल हुनुपरेको, त्यस युद्धको खासै परिणाम नआएको, युद्धकालमा सरकारी सुरक्षाकर्मीबारे पढाइएको गलत शिक्षा आदिलाई आफ्नो सोझो अनुभवका आधारमा उभ्याएकी छन् । यस पुस्तकमा ताराले कसैप्रति पनि पूर्वाग्रह वा रिस, आवेशहरू व्यक्त गरेकी छैनन् । मैले पढेका थुप्रै यस्ता पुस्तकमध्ये सबैभन्दा सरल र सन्तुलित कृतिका रूपमा यसलाई पाएँ ।

उनमा प्रशस्त लेखन सम्भावना देखिन्छ । यसप्रकारका अनुभवहरूलाई अरू कृतिहरूमार्फत पनि ल्याउन सुझाव दिन्छु र यस कृतिमार्फत नेपाली पाठकहरूमा छापामारहरूलाई हेर्ने दृष्टिकोणले व्यापकता पाउने अपेक्षा गर्न सकिन्छ ।

Jul 17 2010

1 thought on “छापामार युवतीको डायरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *