Skip to content


काठमाडौ, श्रावण ७, २०६७
अंग्रेजीको ‘सेक्स’ शब्द यौनमा मात्र सीमित छैन । अब यौनसँग कुनै सम्बन्ध नै नभएको सन्दर्भ र अर्थमा समेत सेक्स शब्द प्रयोग हुन थालेको छ । जस्तै, नयाँ डिजाइनको कुनै राम्रो मोटर कार वा मोटरसाइकलाई प्रशंसा गर्नुपर्दा सेक्सी कार वा सेक्सी बाइक भन्ने गरेको पाइन्छ । सेक्स शब्द कुनै पनि चित्ताकर्षक वस्तुको पर्यायवाची शब्द बन्न पुगिसकेको छ, जसको यौनसँग सम्बन्ध हुनुपर्छ भन्ने जरुरी छैन ।

तर यौन के हो भन्ने प्रश्नले अझै पनि स्पष्ट र सबैको चित्तबुभmदो जवाफ पाएको छैन । व्यक्तिको यौनप्रतिको दृष्टिकोण र अनुभूतिका आधारमा यो प्रश्न र त्यसको उत्तर निहित हुन्छ । यति हुँदाहुँदै पनि सृष्टिको मूल कारणमा यौनको भूमिका छ भन्ने सत्यमा चाहिँ द्विविधा छैन ।

अधिकांश मानिसले यौनलाई साँघुरो घेराभित्र राखेर हेर्ने गरेको पाइन्छ । जीवनका हरेक पक्षमा सफलता प्राप्त गर्न सकारात्मक दृष्टिकोण हुनुपर्छ भनिन्छ । यो सकारात्मक दृष्टिको घेरोमा यौन पनि पर्छ । यौन चाहना मानव जातिको अन्त्यहीन तृष्णा हो र उक्त तृष्णा मानव जातिको अस्तित्व रहेसम्म जारी नै रहन्छ । तर यही यौनको विषयमा कुरा गर्न हामी हिचकिचाउँछौं या कुरा गरिहाल्नुपरे पनि लाज/संकोचले रातोपीरो हुन्छौं । लेखक श्रीरामसिंह बस्नेतले आपmनो पुस्तक ‘यौनका सुख दु:ख’मा यिनै कुरालाई धक फुकाएर अभिव्यक्त गरेका छन् ।

पुस्तक हेर्दा पाठकले लेखकको मेहनत स्पष्ट देख्न सक्छन् । यौनको विषयलाई उनले गहकिलो र चाखलाग्दो तरिकाले केलाएका छन् । सरल भाषा र तिख्खर अभिव्यक्ति यसमा पाइन्छ । यो पुस्तकले यौनको विषयमा परामर्शदाताकै भूमिका निर्वाह गर्नसक्छ भनिदिँदा खासै फरक पर्दैन ।

यौनसँग सम्बन्धित विविध पक्षको जानकारी पुस्तकबाट पाउन सकिन्छ । पुस्तकले प्रेम र यौनकलालाई अलि बढी नै जोड दिएको छ । प्रेमबिनाको यौन, फूलबिनाको बगैंचाजस्तो हुन्छ । पुस्तकमा १६ शीर्षकअन्तर्गत यौनका विविध पक्षलाई केलाउने प्रयास गरिएको छ । यौन प्रवृत्ति र यौनकलालाई आमपाठकले बुझ्नेगरी यसरी अभिव्यक्त गरेका छन् मानौं यो पुस्तक नभएर कुनै एउटा दृश्यचित्र हो जसले एकै झलकमा सबै कुरा छर्लंग पारिदिन्छ ।

पेरुको मोसे संस्कृतिमा करिव इसं ३०० तिर बनेका माटाका भाँडाहरूमा मुखमैथुनका आकृतिहरू अहिले पनि हेर्न सकिने कुराको जानकारी दिँदै भारत वर्षका विभिन्न सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका भवन र स्मारकहरूमा रहेका मैथुनका चित्रहरूलाई समेत समावेश गरेका छन् ।

प्राचीन कुराबाट निस्केर तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्स्कीबीचको यौन क्रियाकलापको चर्चा गर्दै वात्सायनको कामसूत्रको पनि व्याख्या गरेका छन् ।

‘मानव सभ्यताको मुहारमा कालो दाग- बलात्कार’ शीर्षकले जो कोही पाठकलाई पनि एकपटक झस्काएरै छोड्छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित बलात्कारका घटनाका समाचारसँगै यसको जोखिमलाई न्यूनीकरण गर्ने केही उपायसमेत प्रस्तुत गरेका छन् । गत दसैंमा अछामको एउटा प्रहरी चौकीभित्र ६ जना सहकर्मी पुरुष प्रहरीद्वारा महिला प्रहरी सुन्तली धामीमाथि सामूहिक बलात्कार भयो । तर, राजनीतिक, आर्थिक, सामाजिक आदि पृष्ठभूमिका आधारमा बलात्कारीहरूले दण्ड नपाउनु एउटा विकराल समस्या हो ।

आत्मरतिदेखि सम्भोग क्रियासम्मका यावत् चरणहरूको व्याख्या यसरी गरेका छन् मानौं यो कुनै ‘गाइड’ पुस्तक हो । हुन पनि हो, आत्मरतिको सामाजिक वा आर्थिक यथार्थलाई उपेक्षा गर्न सकिँदैन । मानिसको शरीर र मानसिकताले यौन तृष्णाको अनुभव गर्न थाल्नु स्वाभाविक हो । यही कुरामा सही थाप्दै बस्नेत लेख्छन्, ‘तर यसलाई आफ्नो सीमाभित्र मात्र सीमित राख्नुपर्छ ।’

त्यसैगरी मानवीय सम्बन्धमा चुम्बनको महत्त्व अत्यन्तै बहुआयामिक छ भन्दै चुम्बनलाई श्रद्धा र प्रेमको सुकोमल अभिव्यक्तिको रूपमा परिभाषित गरेका छन् उनले । आदर, सद्भाव र वासनामा समेत चुम्बनको उच्च स्थान रहेको हुन्छ । चुम्बनबाट अभिव्यक्त हुने भावना सधैं एउटै हुँदैन । यो चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध र चुम्बन गरिने अङ्गमा निर्भर गर्छ भन्दै चुम्बनलाई १० प्रकारमा विभाजन गरेका छन् ।

पुस्तकमा कतै यौन अङ्गको परिचय दिएका छन् त कतै जीवन र यौनबीचको अन्तर्सम्बन्धलाई केलाएका छन् । अनि कतै पञ्चशील र अष्टशीलको सिद्धान्तले यौन अनुशासनलाई दिएको महत्त्वलाई थप उजागर गर्ने प्रयास गरेका छन् । अझ विश्वका चार धर्म (हिन्दु, बौद्ध, इसाई र इस्लाम) को दृष्टिकोणबाट पनि हेरेका छन्, यौनलाई ।

एकातर्फ विवाहपूर्वको यौनसम्पर्क र वैवाहिक यौनसम्पर्कका बारे चर्चा गरेका छन् भने अर्कोतर्फ गर्भधारण, शिशु प्रजनन र रजोनिवृत्तको । हरेक चर्चामा उनी विषयवस्तुको पिँधैसम्म पुगेका छन् । त्यसो त रजस्वला स्वप्नदोषको बारेमा पनि जानकारी दिन पछि परेका छैनन् उनी ।

उनले गरेको इडिपस प्रवृत्ति र फ्रायडको चर्चा अति नै ज्ञानबर्द्धक लाग्छ भने समलैंगिकताप्रतिको दृष्टिकोणचाहिँ समाजसापेक्ष । ग्रीकका महान् दार्शनिक प्लेटो, एरिस्टोटल आदि पनि समलैंगिकताको पक्षमा थिए भन्ने जानकारी पनि पाइन्छ, पुस्तकबाट ।

यद्यपि, उनले पुस्तकमा समावेश गरेका चित्रहरू- कतै विभिन्न आसनसहित सम्भोगमा लिप्त जोडी छन् त कतै पोर्नोग्राफिक वेबसाइटबाट डाउनलोड गरिएका नाङ्गा तस्बिरहरू । अनि कतै छन्, हस्तमैथुनमा लिप्त युवतीहरूका चित्र । यिनको पाठकले आलोचना गर्न सक्छन् ।

एकै वाक्यमा भन्दा, मानव जीवनमा अति नै महत्त्व राख्ने यौनजस्तो विषयमा समग्र जानकारी दिने भएकाले पठनीय पुस्तकको कोटीमा राख्दा नै उपयुक्त होला, यस पुस्तकलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *