बालकृष्ण सम (वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आफ्नै शैली र शिल्प परिष्कृत छ । आफ्नो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ ।

बालकृष्ण सम बौद्धिक स्रष्टा हुन् । साहित्यका जुन कित्तामा पनि उनको बौद्धिकताको सशक्त अभिव्यक्ति घनिभूत भएको पाइन्छ । समको बौद्धिकता इतिहास, ज्ञानविज्ञान, पूर्वीय र पाश्चात्य दर्शनको सम्मिश्रण हो । समका कृतिको मर्म बुझ्न पाठमा परिपक्क मस्तिष्क,सूक्ष्म दृष्टि विन्दु र प्रचुर विश्लेषण क्षमताको खाँचो पर्दछ । ती कुराको अभावमा समका कृतिको विश्लेषण गर्न खोज्नु एउटा लठ्ठीले समुद्रको गहिराई नाप्न खोज्नुजस्तो हास्यास्पद हुन्छ ।

आफ्नो साहित्यिक यात्राका प्रारभ्भमा सम ईश्वरवादी र पछि अनिश्वरवादी देखिन्छन् । समलाई उनका २००४ देखि २०१९ सम्मका कृतिका आधारमा मूल्याङ्कन गर्ने गरिन्छ । किनभने यही अवस्था उनको कलम र कुची खारिएको पाइन्छ । स्वर्ग र देवता २००४ , नियमित आकस्मिकता ०५, आगो र पानी २०११ र चिसो चूल्हो २०१५ का सम विज्ञानका सहायताबाट पृथ्वीको काख सिङ्गार्न उत्कट अभिलाषा राख्ने मानवतावादी स्रष्टाका रूपमा देखिन्छन् । नित्सेको ईश्वर मृत्युको घोषणाको शङ्खनाद गरिएको अनीश्वरवाद, कार्लमार्कसको द्वन्द्वात्मक भौतिकवाद, चाल्स डार्विनको विकासवादको सिद्धान्त, रुसोको स्वतन्त्रतावादी सिद्धान्त आदिबाट उनका उत्तरवर्ति कृतिहरूले ऊर्जा प्राप्त गरेका छन् । समले विश्व इतिहासको भौतिकवादी व्याख्या गरेर ईश्वरविहीन र मानवकेन्दि्रत भएर सामाजिक जागृति र राष्टिय जागरणको शङ्खघोष ‘आगो र पानी’ खण्डकाव्यमा गरेका छन् ।’आगो र पानी’ समको एकमात्र खण्डकाव्य हो । त्यसैले उनका खण्डकाव्यगत प्रवृत्तिलाई केलाउन यसैको समग्रतालाई आधारशिला मानेर केलाउनुपर्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रमरम बौद्धिकता स्वीकारे जस्तै सम भावनाको बौद्धिक कोमलतालाई नै कविता मान्दछन् ।

इतिहास, दर्शन, ज्ञानविज्ञानलाई मूल विषयवस्तुका रूपमा ठड्याएर अनाख्यात्मक र चिन्तनपरक खण्डकाव्य लेख्ने समको खण्डकाव्यगत प्रवृत्ति देखिन्छ । समले आफ्ना अन्य कृतिमा अन्त्यानुप्राशविहीन अनुष्टुप छन्दको प्रयोग औधि मार्मिक रूपमा गरेका भएपनि ‘आगो र पानी’मा उनले गद्य शैलीको अङ्ंगिकार गरेका छन् । पूर्वीय साहित्य शास्त्रीहरूले खण्डकाव्यको संरचना गर्न निर्धारण गरेका सीमालाई भत्काएर पात्र , छन्द, लय र अनुप्रास आदिलाई त्यागेर पनि खण्डकाव्य लेखिनसक्छ भन्ने नवीन सोच र चिन्तन समको ‘आगो र पानी’ खण्डकाव्य मार्फत मुखरित भएको छ । खण्डकाव्यमा परम्परागत शैलीलाई तिलाञ्जली दिएर नमुनाका रूपमा विषयवस्तु र शैली दुवैलाई खरोरुपमा उतार्नसक्नु समको वैशिष्ट्य हो । समको आगो र पानीलाई निम्न आधारमा पनि विश्लेषण गर्न सकिन्छ —

चिन्तनशीलता

सम चिन्तनशील स्रष्टा हुन् । ‘आगो र पानी’ त्यस्तै प्रखर चिन्तनप्रवाहमा संरचना गरिएको कृति हो । नियमित आकस्मिकता २००५ भन्दा पहिलेका समको चिन्तन र त्यसपछिका समको चिन्तनमा ठूलो अन्तर देखिन्छ । काव्यसाधनाको विहानीमा सम पूर्विय आध्यात्मिक दर्शनबाट प्रभावित भएर ईश्वरवादी देखिन्छन् । विस्तारै आस्तिकता र नास्तिकताको द्वन्द्वमा रुमलिँदै मुटुको व्यथा १९८६ ध्रुव १९८६ हुँदै प्रल्हाद १९९५ पुग्दा त्यो द्वन्द्व नास्तिकतामा पूर्णविराम लागेको देखिन्छ ।

ब्ालकृष्ण समले आफ्नो घर घेरेको पर्खालमा २००४ भन्दा पहिले यस्तो लेखेका थिए —

यो कुनै वास हो नाथ , मेरो जीवन मार्गको
तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि

सम २००४ पछि नास्तिक भए । नास्तिक भएपछि उनले आफ्नो घर घेरेको पर्खालमा लेखिएका कुरालाई फेरि यसरी संशोधन गरे —

यो कुनै वास हो मेरो नित्य जीवन मार्गको
कतैतिर म हिँडने छु स्वप्न पूरा भएपछि

यी माथिका दुई उदाहरणबाट पनि सम २००४ सालपछि नास्तिक भएको कुरा पुष्टी हुन्छ । चिन्तनशील खण्डकाव्य ‘आगो र पानी’ वि.सं. २०११ सालमा लेखिएको हुनाले यसमा अध्यात्मवादको नामनिशान नभएर भौतिकवादको व्याख्या गरिएको छ । समेली चिन्तनभित्र ईश्वरको अस्तित्वलाई ठाडै नकारेर पृथ्वीमा मानवमात्रको सर्वोपरि महत्ता मानवतावादको स्थापना गरिएको छ । पृथ्वीको सर्वेसर्वा मानिसमात्र हो , स्वर्ग र नर्क भन्नेकुरा काल्पनिक मात्र हुन्, ती कहीं छैनन् ,मानिस पृथ्वीमा जन्मेर पृथ्वीमै विश्रान्त बन्दछ भनेर उनको मानवताभित्र स्वतन्त्रता र समानताको विगुल फुकिएको छ । परतन्त्र र निरंकुश कुशासनका बन्धनहरूलाई चुँडाएर मानवअधिकार र सुखशान्तिका लागि मानवमानववीच विद्यमान जातीय, धार्मिक,ऊच , निच आदि विविध भेदभावका कसिंगरहरूमा आगो सल्काएर समको चिन्तन विश्वभ्रातृत्वभावमा पुगेर पूर्णविराम भएको पाइन्छ । त्यस अवस्थामा युटोपिया अथात् युरोप र एसिया मिलेर बनेको एउटै सिङ्गो भूभागको सुमधुर कल्पनाका तानाबानाहर राज्य, शासकविहीन समाजको मीठो भाव यसरी प्रतिबिम्वित भएको छ —

कसैले शासित हुन नपरोस्
न शासन कसैले गर्नु परोस्
संसारका मानिस एक हुन्
पृथ्वी सबको साझा धन हो

यसरी समको आगो र पानीमा स्रष्टा समको चिन्तनशीलता मानवतावादी भएको पाइन्छ ।

सामाजिकता

स्रष्टा सम नेपाली कवि भएका नाताले काव्यमा नेपाली सामाजिक जनजीवनको पनि सग्लो चित्रण गरेका छन् । गरिबीको रापले पिल्सिएका नेपाली समाजका दीनहीन, झुत्राझाम्राले लाज ढाक्ने निराशा र अन्धकारमा बाँचेका नेपाली भरिया, दाउरे र ज्यामीहरुको जर्जर अबस्थाको पनि यहाँ मन छुने चित्रण पाइन्छ । यसरी चिन्तनशील खण्डकाव्यकार समले केही मात्रामा भएपनि सामाजिकताको जुन चित्रण गरेका छन् त्यसले नेपाली समाजमा उनको कदलाई बढाउने काम गरेको अनुभूति हुन्छ ।

भाषा शैली

समले आफ्ना कृतिमा माझिएको, पालिस गरिएको, अति मिलेको प्राञ्जल भाषा प्रयोग गर्ने गरेका छन् । ‘आगो र पानी’मा पनि त्यसैको पुनरावृत्ति भएको पाइन्छ । परिष्कारवादी काव्य शिल्पी समका कृतिमा परिपक्क शिल्पसज्जा पाइन्छ । स्वच्छन्दतावादी देवकोटाका काव्यमाझैँ वनफूलको सज्जा यिनका कृतिमा पाइँदैन । बरू काँटछाँट मिलाएर गमलामा सजाएर राखिएका फूलको शोभा नै समका कविता हुन् । कविताका वीचवीचमा वेद, उपनिषद् र सूक्तिहरुलाई उधृत गरेर कृतिलाई आश्वाद्य बनाएका हुन्छन् समले । सम महोदयका विषयमा भन्नैपर्दा अध्यात्मपरकतामा भन्दा वस्तुपरकतामा, हार्दिकतामाभन्दा बौद्धिकतामा रमाउने परिष्कारवादी काव्यधाराका ऊर्जाशील बौद्धिक प्रतिभाका रुपमा परिचित देखिन्छन् ।

‘आगो र पानी’का विशेषता

ऐतिहासिक ज्ञान र दार्शनिक दृष्टिकोणलाई ‘आगो र पानी ‘ खण्डकाव्यमा नवीन शिल्पका साथ नवीन विचारहरू पस्केका छन् । पूर्विय र पाश्चात्य साहित्य, दर्शन, इतिहासको गहिरो अध्ययन विश्लेषण गरेर व्यञ्जनापूर्ण सूत्रात्मक उक्ति , परिपक्क मस्तिष्क र परिस्कृत काव्यसाधनाको त्रिवेणी यसमा पाइन्छ । किनभने यसका दौंतरी ऋतुविचार र मुनामदनलाई हेरेपछि त्यो कुरा स्पष्ट हुन्छ । काव्यमा पूर्व र पश्चिममा भएका उज्याला र अँध्यारा सभ्यताहरु प्ाठकका सामु राखिदिएका छन् ।

खण्डकाव्यमा दुई भाग छन् अघिको र पछिको । दुवैमा २४/ २४ कविता छन् । अघिको खण्डमा देशविदेशको इतिहास र दर्शनवारे वर्णन गरिएको छ भने पछिको खण्डमा विश्वभ्रातृत्व, मानवतावादको मीठो सपना बुनिएकोछ । आगोलाई सेलाएर पानीलाई तताएर आगो र पानीको सम्झौता गराउने समको परिकल्पना यसमा पनि टसको मस भएको देखिंदैन ।

जङ्गली पात्र

आफ्नो मुखपात्रका रूपमा समले जङ्गलीपत्रलाई प्रस्तुत गरेका छन् । विश्वमा देखापरेका समस्त दर्शन र विचारधारा आगो र पानीका प्रतीक हुन् । आगो र पानीका सन्तुलनबाटै धर्तीका काखमा सृष्टिको विहानी उदाएको, मानवजीवन विकसित बनेको हुँदा विश्वमा देखापरेका विविध दर्शन र विचारधारावीच पनि समन्वय हुनुपर्ने समन्वयवादी दर्शन जङ्गलीपात्रबाट अभिव्यक्त गराएका छन् । मानवले ध्वंशात्मक प्रवृत्तिबाट बचाएर मानवमानवबीच विद्यमान घृणा, द्वेष र शत्रुताबाट मुक्त भई अजातशत्रु बन्नु पर्ने सन्देश दिइएको छ । जङ्गली पात्र भन्दछ –

कसैले शासित हुन नपरोस्
न शासन नै कसैले गर्न परोस्
न कसैको हार होस्
न कसैको जीत होस्
संसारभरिका मानिस एक हुन्
पृथ्वी सबैको साझा धन हो

समन्वयवादी दर्शनको भावभूमिमा लेखिएको समको ‘आगो र पानी’ त्यही सम्झौता, सहमति , सन्धि र समन्वयको मूल सन्देश दिन सफल काव्य हो ।

शनिबार गोरखापत्र
श्रावण १५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *