अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

‘अनि आज कताबाट यहाँ ?’ मैले सोधेँ ।

“सानो काम थियो ।” अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले ।

“हिँडिस्योस् ।” केही छिनपछि एउटी सुन्दर महिला हतारिँदै ऊ नजिक आई । ऊसँगै अर्की एउटी महिला पनि थिई ।

“एकछिन है !’ असहजता अनुभूत गर्दै ऊ महिलाहरू सँगसँगै लाग्यो ।

त्यसपछि फेरि अदालतको इजलासभित्र भेट भयो ऊसँग मेरो । सम्भवतः म अदालतमा छु भन्ने उसलाई थाहा थिएन । मलाई देखेपछि ऊ अझ गम्भीर भयो । स्पष्ट देखिन्थ्यो, उसका आँखाहरू रसिएका थियो । डम्म बादल लागेको आकाशझैँ धमिलिएको थियो उसको अनुहार । केहीछिनसम्म उसले मलाई हेर्न सकेन । मेरो अप्रत्यासित उपस्थितिले ऊ अप्ठयारो महसुस गरिरहेको थियो शायद ।

“तपाईंहरू मन्जर हुनुहुन्छ ?” न्यायाधीश सोधिरहेका थिए ।

“हजुर !” महिलाले सहमति जनाई ।

“अनि तपाईं ?” न्यायाधीशको प्रश्न फेरि ऊमाथि तेर्सियो ।

“हजुर ! म पनि सहमत छु ।” जवाफसँगै अझ धमिलियो ऊ र उसले पनि स्वीकृतिको टाउको हल्लायो ।

“ल सही गर्नुस् ।”

थररर कामेका हातले महिलासँगै रायकिताबमा सही गर्‍यो उसले । सही गरिसकेपछि अँध्यारो अनुहारसँगै उसले ट्याप्प मेरो पाखुरा समायो र अघि मैले भेटेकै ठाउँमा लिएर गयो । सम्भवतः सम्हालिने एउटा आड पनि खोजिरहेको थियो ऊ ।

“के हो ? केही बुझ्न सकिनँ ?” असहज र अप्ठ्यारो मान्दै सोधें उसलाई ।

“वनको चरी वनैमा उडाई दिएर मित्र ! ” प्रतीकात्मक भाषा बोल्यो उसले ।

“अनि ‘डिभोर्स’ नै गर्नुपर्ने स्थिति पर्‍यो ?” मैले फेरि सोधेँ

“हो, उसले त्यही चाहेकी थिई ।” थररर कामिरहेको थियो ऊ । सकि-नसकी बोल्यो उसले । बररर आँसु झार्‍यो र दह्रोसँग हात मिलायो र बाटो लाग्यो ।

अर्को कारूणिक दृश्यले अझ मर्माहत बनायो मलाई । “बाई पापा !” यो दुःखद घटनासँग अनभिज्ञ एउटा सानो फुच्चे आमाले समाएको हात फुस्काएर फर्की फर्की उसलाई हेर्दै हात हल्लाइरहेको थियो ।

शनिबार गोरखापत्र
श्रावण १५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *