म्याङ्लुङ अर्थात् बिराले ढुङ्गा

  • by


नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने कतिपय जिल्ला, जिल्ला सदरमुकाम, गाउँ विकास समिति तथा विभिन्न नठाउँका नाम स्थानीय भाषा र संस्कृतिका आधारमा राखिएका छन् । यस्ता ठाउँका नाममा स्थानीय जातिका मिथकहरू जोडिएका छन् । पूर्वाञ्चल विशेषगरी लिम्बू जातिको बाहुल्य भएको क्षेत्र हो । यसैले पनि यहाँका धेरैजसो स्थानका नाममा यही जातिको भाषा, सस्कृति र मिथकमा आधारित छन् । यी ठाउँका नाममा एक किसिमको मिथक जोडिएका कुरा स्थानीय तहमा मौखिक रूपमा हस्तान्तरित हुँदै आएको किम्बदन्तीहरूबाट थाहा पाइन्छ ।

मिथकमा सम्बन्धित जाति र संस्कृतिको लगाम हुन्छ । यही लगामले जातिगत विकास र संस्कृतिको संरक्षण गरेको हुन्छ । मिथकले सम्बन्धित जातिको सामूहिक अचेतनमा गहिरो जरा गाडेको हुन्छ । यसले आफ्नो जातिप्रतिको अपनत्व, संस्कृतिप्रतिको मोह र सोही आधारमा साहित्यको सिर्जना गराउँदछ । मिथक कुनै जातिको संस्कृति र धार्मिक अनुष्ठानसँग सम्बन्धित भएर आउने परम्परागत कथा हो अनि यसमा प्रयोग भएर आउने पात्रप्रति सम्बन्धित जातिले अगाध आस्था र विश्वास राखेको हुन्छ ।

हो, पूर्वमा यस्ता मिथकसँग सम्बन्ध जोडेर आएका विभिन्न स्थानहरू छन् । तीमध्ये तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ पनि एक हो । हुन त तेह्रथम जिल्लाको नाम पनि राणाकालीन समय र त्यसभन्दा अगाडि तेह्रवटा थुमको कर तथा राजस्व बुझाउने ठाउँ भएकाले त्यस ठाउँलाई तेह्रथुम भनिएको भन्ने किम्बदन्ती पाइन्छ । स्थानीय लिम्बूभाषामा थुमको अर्थ डाँडा हुन्छ । यस अर्थमा तेह्रवटा राजस्व बुझाउने ठाउँ भएकाले यस डाँडालाई तेह्रथुम भन्न थालियो र पछि सरकारले भौगोलिक विभाजन गर्दा यी समग्र डाँडालाई तेह्रथुम नाम दिइयो भन्ने किम्बदन्ती पाइन्छ । यो प्रसङ्ग यही तेह्रथुम सदरमुकाम म्याङ्लुङको नामकरणमाथि मिथकीय सम्बन्धको हो ।

तेह्रथुम लिम्बुहरूको बाहुल्य रहेको ठाउँ हो तर पनि यहाँ पृथ्वीनारायण शाहले व्यापारिक र व्यवसायिक प्रयोजका लागि काठमाडौँ उपतयकाबाट पठाइएका नेवार समुदाय, क्षेत्री, बाहुन र न्यून मात्रामा उत्तरी भेगमा शेर्पा र गुरुङ समुदायको बसोबास पाइन्छ । मोराहाङ, हाङसुरुङ, आङ्लावाङ, सिर्जुङ, खाम्लालुङ, आङ्दिम आदि लिम्बू जातिको भाषा संस्कृतिबाट राखिएका नाम हुन् । यी प्रत्येक नाम लिम्बू भाषाबाट राखिएको र यिनमा कुनै न कुनै किम्बदन्ती अवश्य रहेको पाइन्छ ।

कुरा म्याङ्लुङकै गरौँ । धेरै समय अगाडि तेह्रथुमका लिम्बूहरू ढाकर बोकेर नुन लिन धरान आएका थिए । त्यसबेला धरानबाट नुन लिएर र्फकंदा भेडेटार, मलघाट, धारापानी, धनकुटा, हिले, सिँजुवा हुँदै तेह्रथुमको ओख्रे प्रवेश गर्दथे । यही बाटो हुँदै पिँगुवा खोला तरेर उकालो लागेपछि डाँडाका टुप्पामा पुगेपछि रात परेछ र ती ढाक्रेहरू त्यहीँ बस्ने निधो गरेछन् । सबैले आ-आफ्नो ढाकर तोक्मामा अड्याई खकन र नाम्ल्ाो फुकालेर चौतारामा बिसाएछन् । त्यस चौताराका वरिपरि घारी नै घारी भएकाले केही ढाक्रे तोक्माले तितेघारी फाँड्दै चम्का बनाउन ढुङ्गा खोज्न थालेछन् । केहीले झिँजा दाउरा खोजेर ल्याए । अनि एउटाले सुरुवालको नेफाबाट झुलो झिकी चक्मक दर्शन ढुङ्गामा रगड्न थालेछ । झुलो चकमकबाट आगो निकालेर दाउरा बालेपछि चम्कामा खाना बसालेछन् । ती तीनवटा चम्कामध्ये एउटा चम्काको जति जति आगो दन्किँदै गयो त्यति त्यति हल्लिन थालेछ । त्यो देखेर अचम्म मान्दै सबैजना त्यो चम्कालाई हेर्न थालेछन् । भात छड्किन लाग्दा त त्यो चम्को पर्लक्क पल्टेछ र भात सबै घोप्टिएछ । दिनभरिको थकान र भोकले आतुर भएको झोँकमा एउटा ढाक्रेले दापबाट खुकुरी झिकेर त्यो चम्कालाई छप्काएछ । अचम्म के भएछ भने त्यो चम्काबाट रगतका सिर्का आएछन् अनि त्यो ढुङ्गा म्याङ म्याङ गर्दै गुड्किँदै तलतिर गएछ । यसपछि ढुङ्गा काट्ने ढाक्रे बेहोस भएछ । भोलि पल्ट बिहान सबै जना मिलेर त्यो ढुङ्गालाई खोज्न थालेछन् । रगतका टाटा पहिल्याउँदै जाँदा नागदह धाराका छेउमा उक्त रगताम्य भएको ढुङ्गा फेला परेछ र त्यसपछि पखालेर ल्याएर राति तिनीहरू बसेको ठाउँको वरपिपलका फेदमा देवी स्थापना गरेछन् । अनि पूजाआजा गरेपछि बेहोस भएको ढाक्रे पनि होसमा आएछ र पूजाआजा गरेछ । यही समयदेखि उक्त ठाउँमा पूजाआजा गर्ने परम्परा सुरु भयो र अहिले ती देवीलाई सिंहदेवीका नामले पूजा गर्ने गरिन्छ ।

यसरी धरानबाट नुन बोकेर आउँदा बास बसेको ठाउँमा भात पकाउँदै गर्दा चम्को उफ्रेर भात घोप्टिएको र त्यस चम्कालाई ढाक्रेले खुकुरीले हान्दा रगतको सिर्का आएको अनि त्यो ढुङ्गा म्याङ म्याङ गर्दै दौडिएकाले त्यस ठाउँको नाम ‘म्याङ्लुङ’ भन्न थालियो । लिम्बूभाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुङ्गो हुन्छ । संयुक्त अर्थमा म्याङ्लुङको अर्थ बिराले ढुङ्गा भए पनि पछि यसलाई सिंहदेवीका रूपमा मान्न थालियो । भौगोलिक विभाजन हुँदा सरकारले तेह्रथुम जिल्लाको जिल्ला सदरमुकामको नाम पनि म्याङ्लुङ नै राखेको छ । अहिले पनि उक्त म्याङ्लुङलाई सिंहदेवीका रूपमा पूजाआजा गरिँदै आएको छ । म्याङ्लुङ जस्तै पूर्वका अधिकांश ठाउँका नाम लिम्बूजातिको भाषा संस्कृति र मिथकका आधारमा राखिएको देखिन्छ ।

शनिबार गोरखापत्र
श्रावण १५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *