२०६५ माघ २५ गते शनिबारको एक पत्रिकामा एउटा संवाद छापिएको थियो । मझपाताभरि वारपार ठूला अक्षरमा लेखिएको थियो- ‘आदिकवि होइन रामभक्त कवि’ लेखकले ‘सामन्तवादका पृष्ठपोषक कवि’ का बारेमा बनाएका अक्षरमा माधुर्य थियो तर विचारदाताका विचार काँचो हलुवाबेदजस्तो टर्रो थियो, त्यहाँ कुनै गहनता थिएन, गम्भीरता थिएन, तर्क थिएन ।
एक सय चालीस वर्षअघि स्वर्गे भइसकेका भानुलाई भन्छन्, ‘सामन्तवादका पृष्ठपोषक राजाहरूको सालिक तोड्नु अन्यथा हुँदैन भने तिनको स्वार्थ अनुकूल साहित्य सिर्जना गर्नेहरूको सालिक तोड्नु कसरी अन्यथा हुन्छ ?’ पढ्दा पढ्दै टक्क अडिएँ । दुई पाताभरि यस्तै गाली र आक्रोशबाहेक अरू केही थिएन मनमनै सोचेँ ‘उहिल्यै उहिल्यै प्लेटोले आदर्श गणराज्यबाट साहित्यकारहरूलाई देश निकाला गर्नुपर्छ भन्याथे रे, अब मेरो देश पनि गणराज्यै भइसक्या भएर यसो भन्या हुनन्, उनले मान्छ्यै खेद्नुपर्छ भने कमसेकम यिनले त सालिक तोड्नुपर्छ त भने ।
भ्ाानुलाई आदिकवि त के ‘आधिकवि’ समेत नमान्ने यी महामना निचाले उसो भए कसलाई आदिकवि मान्दारैछन् त ? गुनासो गर्नेसँग विकल्प त पक्कै होला । म त्यही खोजी खोजी पढ्दै थिएँ तर पूरै पढी सकेँ भेट्टाइन केही । एकपल्ट दोहोर्याउनु पर्यो भन्दै पढ्दै थिएँ विकल्प भेट्टाइहालेँ, ‘म यही हो आदिकवि भनेर भन्न सक्दिनँ, भन्नै नसक्ने पनि होइन तर सामूहिकरूपमा छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’ वाह ! कस्तो राम्रो विकल्प !
वस्तुतः उनले गुनासो मात्रै गरेको अवस्था पनि होइन । विकल्प पनि दिएका छन् । भानुलाई दिन सकिने सम्मान र उपाधिको लामो फेहरिस्त रैछ उनीसँग । यीमध्ये कुनै एक होइन सबै उपाधिले सम्मान गर्न चाहन्छन् उनी भन्छन्, ‘शासक वर्गका सांस्कृतिक हतियार, शासक वर्गका गायक, विभाजनकारी, सामन्तवादी, पछौटे, सामन्तवादका पृष्ठपोषक’?!
त्यसो त भानुलाई यसरी ‘सम्मान’ गर्ने उनी निचा एक्ला भने होइनन् । हृदयचन्द्रसिंह प्रधानले ‘बाहुनवादी, परम्परावादी, नारी स्वतन्त्रताका विरोधी, सती प्रथाका समर्थक, अप्रगतिशील’ को उपाधि दिएका छन् । रामकृष्ण शर्माले यसो भनेका छन्, ‘गजाधर सोतीकी घरबूढी अलक्छिन्की रहिछन् भनी रच्ने भानुले फेरि कुमारी चोक कुर्नुपर्ने थियो, न्यायालयमा जवाफदेही हुनुपर्ने थियो ।’ समालोचक ताना शर्माले भनेका छन,् ‘आदिकवि संज्ञा नै हटाइदिए सबैभन्दा वैज्ञानिक ।’
‘नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य हुन्’ म सानैदेखि यही पढ्दैछु, यही जान्दैछु, यही बुझ्दैछु अझ भनौँ परीक्षामा समेत यही लेख्दैछु । अझसम्म यसरी नै चिन्दैछु । स्कुल पढ्दाताक हाजिरीजवाफमा यो प्रश्न जहिल्यै सोधिएको हुन्थ्यो । म ‘भानुभक्त आचार्य’ भन्थेँ । प्रश्न सोध्नेले ‘सही जवाफ’ भन्थे । हामी जित्थिम् ।
हरेक जयन्तीमा रेडियो नेपाल भानुभक्तीय रामायणका मीठा र सुललित श्लोक सुरिलो स्वरमा लय हाली बज्थ्यो । म रामायणको किताब अघि राखी उस्तै गरी उही तालमा गाउने प्रयास गर्थे । आफूसँग भएको किताबका अक्षर रेडियोले बोलेपछि म छक्कै पर्थे, मख्खै पर्थे । ‘रेडियोले कसरी पढ्दो रैछ, कति छिटो पढ्दो रैछ, कहीँ कतै केही बिगारी पो हाल्छ कि’ म किताब खोलिहाल्थेँ । मेरो नाम पछिको थर कम्प्युटर गरिएको अक्षरमा देखेपछि अनि रेडियोले पनि बोलेपछि त मेरो खुटटा भुइँमै हुँदैनथ्यो । म खुसीले बुरूक्बुरूक उपि|mन्थेँ । कहिलेकाहीँ त दौँतरीहरूसित पनि गफ जोत्दिन्थे, ‘मेरै बाजे हुन् भानुभक्त ।’ एकपटक एकजना साथीको दाइले थापाएछन् अनि भने, ‘तेरा बाजे तनहुँमा, अनि तँचाहिँ सल्यानमा किन नि, कहिले जान्छस् उता ?’ त्यसपछि गफ कहिल्यै जोतिनँ ।
बाल्यकालमा पढेका- देखेसुनेका, जानेका कुराहरू गिदीबाट निकाली फाल्न गारो हुँदो रैछ । बाल्यकालको अमिट प्रभाव ‘डिलिट’ गरी निचालाई ‘पेस्ट’ गर्न मैले सकिनँ । भाषा साहित्यका विद्वान् हृदयचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, रामकृष्ण शर्मा, कमल दीक्षित, निनु चापागाईहरूलाई उच्च सम्मान गर्दागर्दै पनि मैले भानुलाई उहाँहरूले दिनुभएको जस्तो ‘सम्मान’ दिन सकिनँ, गर्न सकिनँ, चाहिनँ पनि । माफ गर्नुहोला गुरुहरू मैले तपाईहरूकै साहित्य पढेर सिकेको हुँ, जानेको हुँ ‘हरेकका गुण र दोष हुन्छन्, एकाङ्गी भएर विश्लेषण गर्नुहुँदैन’ भनेर । चेतन, अचेतन, अर्धचेतन कुनै पनि मनले भानुलाई आदिकवि भनी नै रहृयो, मानि नै रहृयो । त, म के गरुँ ?
भानुलाई आदिकवि भनी सम्मान गरेथे मोतीरामले पहिलो पटक संवत् १९४८ मा । उनले भनेका छन्, ‘गोषर्ा भाषामा हुनता धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी पद्य लेख्ने कविहरूमा पहिला आदिकवि भानुभक्त नै हुन् ।’
१९९७ मा दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीको सम्पादनमा ‘भानुभक्त स्मारकग्रन्थ’ प्रकाशित भएथ्यो । ‘हुकुम बक्सेको’ शीर्षकमा श्री ३ जुद्धको भनाइ छापियो, ‘अध्यात्म रामायणलाई सरस नेपाली भाषामा श्लोकबद्ध गरी उतारी रामरस फैलाउने कवि भानुभक्ताचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ ।’ ज्ञवालीले भानुलाई ‘शान्तिका पुजारी, धर्मका अवतार, प्रेमका मूर्ति, नेपाली जातिका गौरवसूर्य, नेपाली साहित्यका सूत्रधार, नेपाली जातिका धर्मगुरु’ भनेका छन् । मोतीले दिएको आदिकवि जुद्धको ‘हुकुम बक्सेेको’ पछि औपचारिकता पायो ।
इतिहासशिरोमणि बाबुराम आचार्यले वि. सं. २००३ मा भने- ‘कविमा हुनुपर्ने तिनै गुण लालित्य, सरलता र विचारको मौलिकता भानुका प्रसिद्ध ‘रामायण’ र अरू फुटकर कवितामा समेत पाइन्छन्, अपूर्व विशेषता र लक्षणले भरिएको हुनाले हाम्रा भाषाका आदिकवि भनेर यिनलाई कान्छी औँलामा गन्न सकिन्छ ।’ यस्तै गुरूप्रसाद मैनालीले भनेका छन् ‘रामायण लेखिनुपूर्व नेपाली भाषामा कुनै प्रख्यात ग्रन्थ रचना भएको पाइदैन, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य हुन् ।’
महाकवि देवकोटा भन्छन्- ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि’ । सिद्धिचरण भन्छन्, ‘टाढा देख्ने प्यारा कविजी’ । सम भन्छन्- ‘समाज सुधारक क्रान्तिकारी दोरङ्गी’ । बालचन्द्र शर्मा भन्छन्, ‘नेपाली कविका कवि हुनुका साथै नेपाली जनका पनि कवि’ । अङ्ग्रेजीका समेत विद्वान् ईश्वर बराल भन्छन्-‘रोमान्टिक कवि’ ।
यस्तै ठाकुर पराजुली भन्छन्, ‘भानुभक्तका समकालीन र उनका पूर्ववर्ती तथा उत्तरवर्ती कविहरूमध्ये अधिकांशलाई या त इतिहासले बचाउँदै आएको छ, या त पुस्तकालयले । तर भानुभक्तलाई बचाउन अहिलेसम्म न त इतिहासको शरण पर्नुपरेको छ, न त पुस्तकालय वा कुनै सङ्ग्रहालयको । उनी बाँचेका छन् आफ्नै शक्ति र सामथ्र्यले । नैसर्गिक प्रतिभा र सहज गुण भएका युग हाँक्ने प्रतिभालाई म आदिकवि मान्दछु ।’
‘रूख हल्लिरहेको थियो तर पात स्थीर थियो’ साहित्य लेख्ने, अनि ‘आदिकवि’को सीधा अर्थ खोज्नेहरूलाई के भन्ने ? भानुभक्तभन्दा पैले दुईचार जनाले कनिकुथी हल्काफुल्का कविता रचेका छन् भन्दैमा युग हाँक्न सक्ने सामथ्र्य भएका सहज प्रतिभावान् कविलाई आदिकवि नभनी कसलाई भन्ने ? निचाज्यू, तपाईलाई प्रश्न, सामन्तवादको पृष्ठपोषण गर्दै आदिकविले कुनचाहिँ सिर्जना रचेछन् ? झ्यालखानामा पर्दा पनि चाकडी नगरी ‘भोली भोली भन्दा भन्दै सब घर बितिगो..’ भनी लेख्नु के सामन्तवादको पक्षपोषण हो ? नेपाली भाषामा महाकाव्य लेखेर (अनुवाद होइन) भानुले कहाँ के विभाजन ल्याएका छन् ? भानु कुनचाहिँ शासक वर्गका गायक हुन् ? त्यस्तो के गीत गाएछन् हँ ? ‘रामायण’ र ‘बधूशिक्षा’ कसरी सबैभन्दा बढी हानिकारक भए ? ‘एम्ए नपढ्दासम्म मलाई भानुका रचना राम्रा लाग्थे पछि बुझ्ने भएपछि २०२६ सालदेखि तीता लागे’ भन्ने महानुभावलाई भानुले तीस वर्षको हाराहारीमा रचेको कविता राम्रो नराम्रो थापाउन एक्काईसौँ शताब्दीमा समेत एमए पढ्नुपर्ने, तपाईं बाइ सतेइस वर्ष पुग्नुपर्ने अनि भानुले चाहिँ दुई सय वर्षअघि नै प्रगतिशील कविता रचिदिनुपर्ने ? ‘रोज रोज दर्शन पाउँछु…’ जस्तो कुशल व्यङ्ग्यात्मक कविताले पनि नहुने, तपाईंहरूले जस्तो विता नै लेख्नुपर्ने ।
पैलोपल्ट स्कुल खुलेको जिल्लामा तपाईले त जन्मदै प्रगतिशील कविता रच्नुपर्ने हो अनि किन ‘गजाधर सोतीकी घरबूढी अलच्छिकि रहिछन्’ नारी दमनको पक्षपाती कविता कण्ठ गर्नुभा ? ‘म आफैं सामन्त परिवारमा हुर्केको बालक हुँ तर म अहिले सर्वहारा वर्गको पक्षमा कम्युनिस्ट आन्दोलनमा छु’ भानुलाई सुझाव पनि दिंदै भन्नुभो रैछ, ‘उनले पनि खोजी गरेको भए (मैले जस्तै) सही विचार फेला पार्थे किनभने त्यतिबेलाको नेपाली समाजमा अग्रगामी विचार पनि थियो, भन्ने विद्वान् समालोचक निनु चापागाईंलाई साधुवाद छ ।
वाल्मीकिलाई संस्कृतका आदिकवि भनिन्छ तर उनीभन्दा सयौँ वर्षअघि ऋग्वेद तयार भइसकेको थियो । जतिबेला नेपाली भाषालाई हेयका नजरले हेेरिन्थ्यो त्यतिबेला भानुले नेपालीमा महाकाव्य लेखे । मौलिक खण्डकाव्य लेखे । कविताका तीनै आयाम रचना गरे । स्रष्टा र सिर्जना उमेरले जेठोकान्छो हुँदैन । त्यसमा निहित गुनिलो मूल्य हो, उसको मूल्याङ्कनको कसी । भानु पहिला मौलिक कवि हुन् । सर्वसाधारण सबैले बुझ्ने सरल भाषामा कविता लेख्ने सबैका हृदयमा बसेका प्यारा कवि हुन् । व्यङ्ग्य कवि हुन् । आशुकवि हुन् । नेपाली साहित्यका ध्रुवतारा हुन् । राष्ट्रिय विभूति हुन् । महान् आदिकवि हुन् न कि ‘सामन्तवादका पृष्ठपोषक कवि’ ।
त्रिचन्द्र क्याम्पस, काठमाडांै
