मुसलधारे पानी परिरहेको थियो । बाङ्गोटिङ्गो चिप्लो पहाडको बाटोमा मानिसहरूको लस्कर हिँडिरहेको थियो – हजारौँ लाखौँ । अग्रभागमा उमेर पाकेका, अनुभवी जस्ता देखिने, हँसिला जाज्वल्यमान अनुहार बोकेका मानिस थिए, पछाडि सर्वसाधारण – हामी जस्ता । मसंग भर्खरै हुम्लाबाट झरेका, चप्पल लगाएका, घुर्मैलो कपडा भिरेका, नेपाली नै बोले पनि त्यति प्रष्ट नबुझिने तर प्रसन्न साथी थिए । सुकिलो धोती लगाएका तराइका साथी लावा लस्कर देखेर अचाक्ली प्रसन्न देखिन्थे । अङ्गालाभरिकी श्रीमती र धुतुमुने छोरो घरमा छोडेर देश नयाँ बनाउन सकिन्छ कि भनेर नेपालका सबै जाति र भाषा भाषी युवाहरूको विशाल पङ्क्ति पछि पछि आउंँदै थियो । संसारको मुहार फेर्न हिँडेका, देशको काँचुली फेर्न हिँडेका, सबैको व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थमा रुपान्तरण गर्न मुठ्टी उठाएर कसम खाएका, जात, धर्म, लिङ्ग, क्षेत्रको कुनै परबाह नराख्ने, दाह्रीवाल दार्शनिकको वाक्य-वाक्य कण्ठ गरेका र श्वेत शार्दुलका पुस्तक हात-हातमा बोकेका मानिसको अविचलित ताँती थियो त्यो । घरवार छोडेर लागेका, जागीरलाई तिलाञ्जली दिएर महत्वपूर्ण आर्थिक अवसर छोडेर लामबद्ध साथीहरू देख्दा कसको मन आल्हादित हुदैनथ्यो र ! मत त्यो पङ्क्तिको कोरा केटा । मैले चर्चा गरेको सुन्थेँ –
– हुनपनि माइला दाइले पाइला नचालेको भए, झापाका योद्धाले कुर्वानी नगरेको भए, भीमदत्त पन्तको योगदान नथपिएको भए, हर्रेवर्रे काण्ड नघटेको भए,सामन्तहरूलाई सान्दार सास्ती नदिएको भए यो लस्करको गौरवमयी गाथा कसरी रचिन्थ्यो र !
उनीहरु भन्थे – अप्ठ्यारा मोडहरुमा यो पंक्तिले सफलतापूर्वक साहसिक यात्रा गरेको छ । हिँड्दै जाँदा बाटोको बारेमा अग्रपङ्क्तिमा आसिनहरूले ठूलठूला विवाद गरेको इतिहास सुन्दै सुनाउँदै हामी अगाडि बढ्दै थियौँ । एक दशक अगाडि केही साथीहरू अर्कै बाटो लागेछन् । त्यसताकाका मूलीले राम्ररी सम्झाउन सकेनन् क्यारे । विचरा ! केही जङ्गलमै हराएछन् । कोही मरणासन्न भएर मुल पङ्िक्तमै फर्के । मूल पङ्क्ति निकै अगाडि बढिसकेकोले फर्केका साथीहरूले पछि परियो भनेर बेला-बेला गुनासो गर्छन् भन्ने पनि गाँइगुईं चलिरहन्छ ।
हाम्रो पङ्क्ति अविरल अगाडि बढिरहेको थियो । हामी जस्ता पछि बस्नेहरूलाई अग्रपङ्िक्तमा के-के हुन्छ त्यति थाहा हुँदैन । बेला-बेलाका आदेशहरू, सूचनाहरू, समाचार हेरेर अनुमान लाउने मात्र हो । अग्रणी नेताहरूले जता लैजान्छन् सही दिशातिरै लैजान्छन् भन्ने अगाध आस्था र विश्वास छ, हाम्रो पङ्िक्तमा ।
एक दिन खुब खैला-वैला भयो । हिँडिरहेको लस्कर राम्ररी अगाडि बढ्न सकेन । अगाडि के भएछ भन्ने खुव खुल्दुली भयो । एकजना अगुवाले टाढैबाट भनेको सुनियो – बाटो असाध्यै खराव छ रे ! दाहिनेतिर पहिरो छरे, देव्रेतिर भीर । बीचमा सियो जस्तो गोरेटो मात्र छरे ! भीडबाट कसैले सोध्यो – कसरी अगाडि बढ्ने भन्नेमा अग्रणीहरुमा एकमत छकि छैन रे ! अर्कोले सुनायो – समस्या नै त्यही हो ! कोही अग्रणीहरू पहिरोतिर साइड च्याप्नुपर्छ भन्दा रहेछन् कोही भीरतिर । पहिरोतिर साइड च्याप्नुपर्छ भन्नेलाई हाम्रो पङ्िक्तका केहीबाट कटु आलोचना सुरू भयो । उनीहरूले तर्क अगाडि सारे – यो पहिरो बहुत खतरनाक छ ! या त यसले बगाएर भारत पुर्याउँछ या त कतै दल-दलमा फसाएर उम्कन दिँदैन ! यो पहिरोकै कारणले श्वेत शार्दुलजस्ता महान अग्रणीको ज्यान गयो । पितामहले नेतृत्व गरेको लोकपि्रय सरकार यही पहिरोले बगायो । हाम्रो पङ्िक्तका थुपैं साथीहरूले ज्यान गुमाउनु परेको छ । बरू भीरतिर साइड च्यापेर अगाडि बढ्नु पर्छ, भीरको भुईं त कडा छ । भीरको जग त मजवुत छ । हामै्र पङ्क्तिका अर्कोथरि साथीहरू यस तर्कको कटु आलोचक भएर निस्किए ! उनीहरूले जोडदार आफ्नो तर्क अगाडि सारे – भीरतिर साइड च्याप्ने भनेको समाप्तिको बाटो हो । यो भीर बहुत खतरनाक छ । रुकुमका गहकिला गौतम, कैलालीका चम्किला चौधरी, ओखलढुगाका अग्ला छवि जस्ता हाम्रा भरोसायोग्य साथीहरू यो भीरको शिकार भएका छन् । त्यसकारण भीर हाम्रो प्रमुख शत्रु दुस्मन हो, त्यतातिर त फर्केर पनि हेर्नु हुँदैन । हामी पहिरैतिर साइड च्यापेर अगाडि बढ्नु पर्छ जे पर्ला पर्ला ! पङ्िक्तका मानिसहरूबाट हो-हल्ला सुनियो – भीरतिर लाग्ने हो । पहिरोतिर लाग्ने हो आदि आदि ।
लाखौँ हजारौँका पङ्िक्तमा भुसको आगोजस्तै यो विवाद फैलियो । समाज परिवर्तनको लक्ष्य बोकेर मेचीदेखि कालीसम्मका, हिमालदेखि मधेश-तराईसम्मका सहयात्रीहरूको आस्था र विश्वासमाथि चिसो पानी खनिने पो हो कि भन्ने चिन्ता सर्वत्र फैलियो । मानिसहरूको उत्साह मर्यो । गन्तव्यको अगावै महान गतिरोध ।
यी सारा बहस विवादमा मुख्य अग्रणी, जसलाई यो पङ्िक्तले एक/डेढ वर्ष अगाडि चुनेको थियो, बोलेकै थिएनन् । उनी वडो गम्भीर मुद्रामा देखिन्थे । त्यो असङ्ख्य भीड, त्यो कहालीलाग्दो पहिरो र भीरबीचको चुनौतिपूर्ण सिन्के बाटो उफ !
मुख्य अग्रणी जुरुक्क उठे । त्यस्तो उकुसमुकुस वातावरणमा पनि उनको मुद्रामा चमक थियो । उनमा त्याग र वलिदानको भावना दृष्टिगोचर हुन्थ्यो । यो भीर-पैरो बहसमा उनलाई पंक्तिकै मानिसहरूले प्रशस्त शब्दास्त्र प्रहार गरेका थिए । हाँसेर पचाएका उनले केही बोल्न चाहेको प्रतीत हुन्थ्यो । यो देखेर पङ्िक्तमा सन्नाटा छायो । उनी बोल्न थाले –
“साथी हो ! (उनी पङ्िक्तका सबै साथीहरूलाई यस्तै भनेर संबोधन गर्छन् !) हामी यो समाज, देश परिवर्तन गर्न अगाडि बढेका हौँ । पद, प्रतिष्ठा, व्यक्तिगत हित हाम्रा प्राथमिकता होइनन् । जतिसुकै कठिन मोडहरूमा पनि हामी अगाडि नबढ्नुको कुनै विकल्प छैन किनभने हामी पछाडि हट्न सक्दैनौँ । गन्तव्यमा पुगी छोड्ने हाम्रो कसम कुनै हालतमा फिर्ता हुदैन । हाम्रो पङ्क्ति गरिव निमुखा र सर्वहाराहरूको विशालपंक्ति हो । तपाईंहरूलाई थाहै छ हामीलाई सामन्तहरूको गोली, जेल नेलले समाप्त गर्न सकेन – बरू विशाल हुन मद्दत गर्यो । हाम्रो कालजयी पङ्िक्त निर्माणमा हाम्रा साथीहरूले बगाएको रगत-पसिनाको लेखाजोखा छैन ।
अब म अहिले चर्केको भीर-पैरो विवादबारे केही भन्न चाहन्छु । भीर र पहिरो आजका हाम्रा वास्तविकता हुन् । भीरलाई गाली गरेर समथर मैदान बन्दैन न त पहिरोलाई गाली गरेर थामिन्छनै । तपाईंहरूले भीर र पहिरोका नराम्रा पक्षहरूको मात्र चर्चा गर्नुभो । के हामीलाई दाह्रीवाल दार्शनिकले यस्तै विश्लेषण गर्न सिकाउनु भएको छ ? श्वेत शार्दुलको जुन किताव तपाईंले आफ्नो साथमा बोक्नुभएको छ, त्यो पल्टाएर राम्ररी हेर्नुहोस् त ! यो साइड लाग्ने कुरा कहाँबाट आयो ? फेरि भीर र पहिरोको हाम्रो देशमा वेफाइदा मात्र छैनन् । राणा शासन त्यही पहिरोले बगाएको होइन ? राजतन्त्रको इहलीला समाप्त गर्न भीरले खेलेको भूमिका तपाईंले बिर्सनु भयो ? दाह्रीवाल दार्शनिक र हाम्रा अन्य अग्रजहरूले हामीलाई वस्तु, घटना र प्रकृयालाई द्वन्दवादी तरिकाले हेर्न र विश्लेषण गर्न सिकाउनु भएको छ । द्वन्दवादले हामीलाई कतै पनि साइड लाग्न सिकाएको छैन । अहिले साइड लाग्ने विवाद गर्नु भनेको कि भीरबाट खस्नु हो कि पहिरोमा फस्नु हो । त्यसकारण बाटो सिन्को जत्रै किन नहोस् तँछाड-मछाड नगरी सामूहिक भावनाले सन्तुलन नगुमाई अगाडि बढ्न सक्नुपर्दछ, भीर पहिरोले हामीलाई कुनै हानी गर्न सक्दैनन् । दृढ भएर अगाडि बढ्नुपर्दछ, यो कठीन यात्रा चाँडै पार हुन्छ । लौ अब अगाडि बढौँ, होसियार भएर अगाडि बढ्नुहोस् – साहस बटुलेर !
भीडका अधिकांशलाई चित्त बुझ्यो । पङ्िक्त अगाडि बढ्यो । केही मानिसहरू अझै ‘खै के – खै के ?’ भन्दै थिए । म पनि भीडसंगै एक पाइला मात्र के अगाडि बढेको थिएँ – झल्यास्स ब्यूझेँ ! रेडियोले संविधान निर्माण र शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको समाचार फुकिरहेको थियो ….. !
शनिबार, गोरखापत्र
श्रावण २९, २०६७
