लेख्नेहरू हृवात्तै बढेका छन्, हास्य व्यङग्य लेख्नेहरू चाहि स्वात्तै घटेका छन् । हास्य व्यङग्यमै नाम कमाएर राम्रो ठाम पाएकाहरू नै यसैमा लागिरहन सकेनन् । हास्य व्यङग्यमै मात्र लागिरहने स्रष्टा खोज्नुपर्दा त उही बासुदेव लुइँटेल, सूर्यबहादुर पिवा, श्याम गोतामे, प्रकाशपे्रमी आदि जस्तालाई मात्र अघि सार्दा हुने अरू त … यी पनि बितिसके । हास्य व्यङग्यमै नाम कमाएका भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, रामकुमार पाँडे आदिजस्ता स्रष्टाले पनि कसैले कविता, समालोचना, कसैले उपन्यास, पत्रकारिता त कसैले भूगोल र अन्य क्षेत्र समातेर फुल टाइमर हास्य व्यङग्यकार हुन सकेनन् । र पनि अझै पनि भैरव अर्याल, केशवराज पिँडालीको नाम अब्बल नै ठहराइन्छ ।
अरूलाई हँसाउन खप्पीस, व्यड्ग्यले प्रहार गर्न पनि उत्तिकै सिपालु भैरव अर्याल बिचरा आफूचाहिँ त्यति हाँस्न सकेनन्, आफैँ नै आफै व्यङग्यको पात्र भएको दुखेसो पोखिरहन्थे रे ! राम्रा हास्य व्यङग्यकारमा दरिएका विष्णु नवीनपनि हाँसेर बाँच्न पाएनन् । धेरै लेखेपनि राम्रो लेख्ने हास्य व्यङ्ग्यकारका रूपमा चिनिएका श्याम गोतामे हिँड्दा हिँड्दैको मान्छे अल्पायुमै गए । पर जा तन्त्र लेखेर धेरै हास्य व्यङग्य पे्रमीको पे्रमी प्रकाशपे्रमी पनि अल्पायुमै गए । ‘जुँगा’ सङ्ग्रहका स्रष्टा हृदयचन्द्र सिंह प्रधान पनि धेरै बाँचेनन् । श्याम गोतामे प्रकाशपे्रमी हास्य व्यङग्यमै टिकिरहे पनि हृदयचन्द्र सिंह प्रधानले भने नाटक, उपन्यास, समालोचना आदिमा पनि आफूलाई सक्रिय राखे ।
‘ससुराली’ नाटक लेखेर हास्य व्यङग्यमा राम्रो नाम कमाएर भुँडे पण्डितका रूपमा परिचित पे्रमराज शर्मा गोरखापत्रको सम्पादक भएरै धेरै वर्ष बसे । ‘सिस्नु’ लेखेर हास्य व्यङग्यको सिस्नु लाउन सक्ने दाताराम शर्मा, ‘दमाहा’ लेखेर हास्य व्यङग्यमा दमाहा बजाउन सक्ने घटोत्कच शर्मा (बालमुकन्ददेवपाण्डे) जस्ता हास्य व्यङग्यकारहरू पनि गोरखापत्रमा पत्रकार भएर, प्रधान सम्पादक भएरै धेरै वर्ष बसे । गोरखापत्रमै जागिर खाने अनि श्रीमती हिरोइन, जनतालाई बकस भोक रोग र सकस जस्ता हास्य व्यङग्यात्मक उपन्यास लेख्ने शंकर कोइरालाले नाटक, कथा, अनुवाद, उपन्यासमै बढी समय दिए, हास्य व्यङग्यमा कम । धु्रवकृष्ण दीप पनि कवितामा, संस्कृतिमा बढी रमे, हास्य व्यङग्यमै मात्र जमेर बसेनन् । नेपाल आजाद सङ्घ (हास्य व्यङग्य नाटक) लेख्ने रूद्रराज पाण्डेको परिचय भने उपन्यासकारका रूपमा स्थापित भयो प्रसिद्ध बन्यो । भरतराज पन्तले पनि हास्य व्यङग्यमाभन्दा बढी काव्य, समीक्षामा समय र श्रम खर्चिए । ‘अब अगडि बढ्नु छ, अरू अगाडि लेख्ने रमेश विकल उपन्यास, कथा, नाटक, बालसाहित्यमा अघि बढे । यसपछि भने कृतिको रूपमा उनको हास्य व्यङग्य लेखन अघि बढेन । व्यङ्ग्य निबन्धमै केन्दि्रत रूद्र खरेलको पनि स्मरण गर्नुपर्ने हुन्छ यहाँ ।
च्याँखे धर्ना, मि.झप्पु सिं, पुछारको पातो जस्ता कृति लेखेर हास्य व्यङग्यमा राम्रो नाम कमाएका मोहनराज शर्माले त्योभन्दा बढी नाम समालोचना, कथा, उपन्यास आदिमा कमाए । लेखनमा पनि यी विषयमै बढी केन्दि्रत भए । हास्य व्यङग्यमा निरन्तर लागिरहने नरेन्द्रराज पौड्याल यात्रा संस्मरण, कथामा छरिए । चूडामणि रेग्मी, विष्णु प्रभात, हरि बन्दी, राजव, नरमेन्द्र लामा, लक्ष्मण लोहनी, उत्तमकृष्ण मजगैयाँ, नरनाथ लुँइटेल, लक्ष्मण गाम्नाने, होम सुवेदी, हृदयप्रसाद मिश्र, मुन पौडेल, चुडामणि खनाल, आर.सी.रिजाल, मदनमोहन मिश्र, भोगेन्द्र बस्नेत, चट्याङ मास्टर आदि । कैयौँका नाम लिन सकिन्छ । हास्य व्यङग्य साहित्यको सन्दर्भमा ‘गोर्खेलौरी’ लिएर देखापर्ने हरिकला उपे्रतीको पहिचान बेग्लै बनेको छ ।
हास्य व्यङग्य लेखेर मदन पुरस्कार, साझा पुरस्कार नपाए पनि कथा लेखेर हास्य व्यङग्यकार लोकेन्द्रबहादुर चन्दले मदन पुरस्कार पाएका छन् । राजनीतिमा पनि नाम कमाएका चन्द जस्तै अर्का स्रष्टा राजेश्वर देवकोटाको लेखन उपन्यास विधामा केन्दि्रत भएपनि हास्य व्यङग्यमा आफ्नो चिनारी प्रस्तुत गर्न सफल भएका छन् । उपन्यासकारका रूपमा उहाँले पनि मदन पुरस्कार पाइसकेका छन् ।
बेलाबखत हास्य व्यङग्यको क्षेत्रमा अनेकौँ पुरस्कार स्थापना भएपनि भैरव पुरस्कार गुठीको भैरव पुरस्कार, बासुदेव लुँइटेलको नाममा स्थापित बासुदेव लुइँटेल पुरस्कार आदिले मात्र निरन्तरता पाइरहेका छन् । कर र घट्दो ब्याजको मारमा परेर बासुदेव लुइँटेल पुरस्कार पनि प्रत्येक वर्षबाट घटेर दुई वर्षमा प्रदान गरिन थालिएको छ । यस वर्ष मह जोडी उक्त पुरस्कारबाट पुरस्कृत हँदैछ । हास्य व्यङ्ग्यकारले पाएको पुरस्कारमा ठूलो रकम (एकलाख ११ हजार १११ रुपियाँ) को पुरस्कार यही नै हो ।
हास्य व्यङग्य क्षेत्रमा एकताका कौवा प्रकाशनको सक्रियता उल्लेख्य थियो । प्रकाशन, लेखन, पुरस्कार सबै कुराले कमै निरन्तरता पाएकोले हो कि केले हो नेपाली साहित्यमा हास्य व्यङग्य लेखनमा एकनास लागिरहने स्रष्टापाउनै गाह्रो । पहिले एकसेएक हास्य व्यङग्यका कृतिहरू पढेर पेट मिचिमिचि हाँस्ने पाठकहरू अचेल टेलिभिजनबाट प्रसारित हुने हास्य व्यङग्यात्मक शृङ्खलामा झुम्मिन थालेका छन् । भुँडी हल्लाएर, लडीबुडी खाएर, आँखा डेढो पारेर, बोली बिगारेर अनि च्यातिएका लुगा र उल्टो टोपी लगाएर दर्शक हँसाउन सकिन्छ भने चोटिलो र स्तरीय हास्य व्यङग्य पस्कन किन श्रम गर्ने ? मह जोडी, सन्तोष पन्त, राजपाल थापा, बसुन्धरा भुषाल, आनन्द थापा आदिका प्रहसन अहिले उहिलेका कुरा जस्तै भए । हास्य व्यङग्य हेर्न र सुन्न नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने गाईजात्रा महोत्सवको क्रेज र महत्त्व के अहिले पनि त्यत्तिकै छ त ? गाईजात्राका अवसर पारेर निस्कने हास्य व्यङग्यका पत्रपत्रिकाको चासो र स्तर के अहिले पाउन सकिन्छ ।
यस्तै प्रश्न अचेल सुनिन थालेको छ । जयभुँडी, गलबन्दी, इतिश्री, खै खै, बाह्र मज्जा, उल्लिविल्ली, कायेन वाचा आदि जस्ता कृतिको खडेरी परेको हो कि हास्य र व्यङ्ग्य लेखनमा भन्दा बढी समाज र राजनीतिमा देखिएकोले हो अचेल हास्य व्यङग्य पनि फिका लाग्न थालेको छ । त्यसैले त धेरैको मुखबाट निस्किहाल्छ अहिले पहिलेको जस्तो हास्य व्यङग्य नै छैन …..’
गोरखापत्र, शनिबार
भाद्र १०, २०६७
